― Advertisement ―

यो सानो AMD PC ले भर्खरै ठूलो 397B AI मोडेल चलाएको थियो जसलाई एक वर्ष पहिले GPUs भरिएको सर्भर कोठा चाहिन्छ।

AMD को Ryzen AI Halo भर्खरै $ 4,000 मा बिक्रीमा गयो, जसले रोचक Nvidia को थोरै मूल्यवान DGX स्पार्क अफरसँग कसरी तुलना गर्छ...
HomeLatest newsएमसीसीको ठेक्का पहिलोपटक पूर्ण नेपाली कम्पनीले पायो

एमसीसीको ठेक्का पहिलोपटक पूर्ण नेपाली कम्पनीले पायो



६ पुस, काठमाडौं । मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)को अनुदानमा निर्माण हुने विभिन्न परियोजनामध्ये सडक सुधार परियोजनाको ठेक्का सम्पूर्ण रुपमा नेपाली कम्पनीले पाएको छ ।

एमसीसी अनुदानमा निर्माण हुने ४० किलोमिटर लामो धानखोला–लमही सडक रिसाइक्लिङ परियोजनाको ठेक्का ग्लोबल टेन्डरमार्फतर शर्मा–कुमार जेभीले जितेको हो ।

एमसीए– नेपालले एमसीसीको अनुदान र नेपाल सरकारको लगानीसमेतमा कार्यान्वयनमा प्रसारणलाइन, सबस्टेसन तथा सडक सुधारका योजना कार्यान्वयन गरिरहेको छ । त्यसमध्ये सबस्टेसन र प्रसारण लाइनका ठेक्का यसअघि नै लागिसकेका थिए ।

नेपालमा पहिलोपटक पाइलटका रुपमा निर्माण गर्न लागिएको फुलडेप्थ रिक्लेमेसन एन्ड सुपरपेव अस्फास्ट प्रविधिमा आधारित सो सडकको ठेक्कामा सोमवार हस्ताक्षर हुँदैछ ।

यो सडक निर्माणका लागि सन् २०२४ को अक्टोबरमै बोलपत्र आह्वान भएको थियो ।

त्यसमा ११ वटा निर्माण कम्पनीले प्रस्ताव हालेकोमा शर्मा–कुमार जेभीले सो परियोजनाको ठेक्का हात पारेको हो ।

शर्मा कन्स्ट्रक्सन र कुमार निर्माण सेवा प्रालिको संयुक्त लगानीको शर्मा–कुमार जेभी एमसीसीले कार्यान्वयन गरिरहेका परियोजनामध्ये निर्माणको ठेक्का पाएको पहिलो पूर्ण नेपाली संयुक्त उपक्रम हो ।

यसअघि प्रसारण लाइन परियोजनामा पनि विदेशी कम्पनीसँगको जेभीमा नेपाली कम्पनीहरू छनोट भए पनि पूर्ण रुपमा नेपाली कम्पनीमात्रै संलग्नले टेन्डर हात पारेको भने यो पहिलो भएको सरकारी स्रोतले अनलाइनखबरलाई बतायो ।

शर्मा–कुमार जेभीले यो ठेक्का भ्याटबाहेक २ करोड ८ लाख अमेरिकी डलर (करिब ३ अर्ब रुपैयाँ)मा हात पारेको हो ।

यो सडक निर्माणका लागि नेपालसहित भारत तथा युक्रेनका कम्पनीले पनि प्रतिस्पर्धा गरेका थिए । त्यसमध्ये शर्मा–कुमार जेभी, कालिका कन्स्ट्रक्सन, तुँदी–आशिश जेभी र स्वच्छन्द–रमन जेभी गरी चारवटा कम्पनीहरू पूर्ण नेपालीको स्वामित्वका थिए । त्यसबाहेक अन्य केही नेपाली कम्पनीले भारतीय र युक्रेनियन कम्पनीसँगको संयुक्त लगानीमा पनि प्रतिस्पर्धा गरेका थिए ।

११ कम्पनीमध्ये प्राविधिक र वित्तीय रुपमा भएको मूल्यांकनमा शर्मा–कुमार यो कामका लागि छनोट भएको हो ।

नेपालमै पहिलोपटक प्रयोग गर्न लागिएको फुलडेप्थ रिक्लेमेसन एन्ड सुपरपेव अस्फास्ट प्रविधिमा आधारित ठेक्का नेपाली कम्पनीले नै पाउनु महत्त्वपूर्ण भएको अर्थ मन्त्रालय स्रोतले बतायो ।

अमेरिकी सहयोग नियोग एमसीसीको ५५ करोड डलर र नेपाल सरकारको १९ करोड ७० लाख योगदानमा ऊर्जा तथा सडक पूर्वाधार निर्माणको काम भइरहेको छ ।

सुरुमा एमसीसीले नेपालको प्रसारण लाइन, सबस्टेसन तथा सडक सुधार आयोजनाका लागि भन्दै ५० करोड डलर अनुदान दिने गरी नेपाल र अमेरिकाबीच सम्झौता (कम्प्याक्ट) मा हस्ताक्षर भएको थियो । त्यसमा नेपाल सरकारले १३ करोड डलर योगदान गर्ने उल्लेख थियो । एमसीसीको सहयोगमा बन्ने परियोजनाका लागि त्यति रकम अपुग हुने भएपछि नेपालले आफ्नो योगदान बढाएर १९ करोड ७० लाख डलर पुर्‍याएको छ ।

त्यति रकमले पनि प्रसारण लाइन परियोजना लागत अनुसार अपुग हुने भएपछि गत जनवरी २ मा एमसीसीको बोर्डले नेपाललाई थप ५ करोड डलर दिने भनेर निर्णय गरेको थियो । त्यसबारे उसले अमेरिकी कंग्रेसलाई पनि जानकारी गराएको थियो ।

तर, डोनाल्ड ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेपछि एमसीसीको सहयोगको पनि पुनर्मूल्यांकन चलेको थियो । त्यस क्रममा साउनको दोस्रो साता अमेरिकाले नेपालमा एमसीसीले कार्यान्वयन गरेका परियोजना र ५० करोड अनुदान निरन्तर हुने जानकारी गराए पनि ५ करोड डलरबारे भने उल्लेख गरेको थिएन ।

गत मंसिर ३ गते नेपालस्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी गर्दै थप ५ करोड डलर पनि नेपालले प्राप्त गर्ने जनाएको थियो ।

नेपालमा एससीसीका अनुदानमा बन्ने परियोजनामध्ये तीन वटा सबस्टेसन तथा ३१५ किलोमिटर प्रसारण लाइनको ठेक्का लागिसकेको छ ।

न्यु बुटवल सबस्टेसनदेखि भारतीय सीमासम्मको १८ किलोमिटर प्रसारण लाइन निर्माण समेत आरम्भ भइसकेको छ ।

एमसीसीको अनुदानमा तनहुँको दमौली, नुवाकोट रातमाटे सबस्टेसन र नवलपरासीमा ४०० केभी क्षमताको सबस्टेसन निर्माण हुँदै छ ।

त्यसबाहेक चारवटा खण्डमा विभाजन गरी ३१५ किलोमिटर प्रसारण लाइन पनि निर्माण हुँदै छ ।

५ वर्षमा निर्माण सम्पन्न हुनैपर्ने, नभए अमेरिकी अनुदान फिर्ता जाने प्रकृतिको एमसीए परियोजना १३ भदौ २०८० बाट कार्यान्वयनमा गएको थियो ।

परियोजना कार्यान्वयन अर्थात् ‘इन्ट्री इन्टु फोर्स’ मा गएको मितिदेखि काउन्टडाउन सुरु हुन्छ र ५ वर्ष अवधिमा खर्च नभएको रकम अमेरिकाले फिर्ता लैजान्छ ।

परियोजना इन्ट्री इन्टु फोर्समा गएको २ वर्ष ८ महिना ८ दिन भइसकेको छ ।

एमसीसीको ५५ करोड डलर अनुदान प्रतिबद्धतामध्ये सन् २०२३ र २०२४ मा गरेर ४७ करोड १३ लाख डलर (करिब ६६ अर्ब रुपैयाँ) को दायित्व सिर्जना भइसकेको अमेरिकाको फरेन एसिस्टेन्स डट जीओभीले जनाएको छ ।

एमसीसी कम्प्याक्टमा २९ भदौ २०७४ मा नेपाल सरकार र एमसीसीबीच हस्ताक्षर भएको थियो । तर, त्यो सम्झौता कार्यान्वयन गर्ने विषयमा नेपालमा लामो समयसम्म राजनीतिक तहमा विवाद भएपछि कम्प्याक्टलाई नेपालको संसद्ले अनुमोदन गर्न साढे ४ वर्षभन्दा बढी समय लाग्यो ।

१५ फागुन २०७८ मा मात्रै नेपालको संसद्बाट व्याख्यात्मक घोषणा सहित एमसीसी कम्प्याक्ट अनुमोदन भयो । र, सम्झौता भएको ६ वर्षपछि १३ भदौ २०८० बाट एमसीसी परियोजना कार्यान्वयनमा गएको छ ।





Read More