तिनाउमा निर्माण हुने सिग्नेचर पुलको सांकेतिक स्केच
राष्ट्रिय
समाचार.
- सरकारले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवल–गोरुसिङ्गे–चन्द्रौटा खण्डमा तिनाउ नदीमा चार लेनको सिग्नेचर पुल निर्माणका लागि ठेक्का आह्वान गरेको छ।
- सडक विभागले तिनाउ नदीमा २३०–२४० मिटर लम्बाइको कलात्मक र पर्यटकीय आकर्षक सिग्नेचर पुल डिजाइन एन्ड बिल्ड मोडेलमा बनाउने योजना बनाएको छ।
- पूर्व–पश्चिम राजमार्गको बुटवल–चन्द्रौटा सडक खण्डलाई चार लेनमा स्तरोन्नति गर्दै वन्यजन्तुमैत्री डिजाइन सहित निर्माण गरिँदैछ र नारायणी नदीमा सिग्नेचर पुलको काम सुरु भइसकेको छ।
१९ मंसिर, काठमाडौं । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवल–गोरुसिङ्गे–चन्द्रौटा खण्डमा पर्ने तिनाउ नदीमा ‘सिग्नेचर पुल’ निर्माण गर्न सरकारले ठेक्का आह्वान गरेको छ ।
चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा सरकारले नारायणी नदी र तिनाउ नदीमा सिग्नेचर पुल निर्माण सुरु गर्ने उल्लेख छ । सोही अनुसार नारायणी नदीमा पुल निर्माण सुरु भएको छ भने तिनाउमा पुल निर्माण गर्न ठेक्का आह्वान गरिएको छ ।
सडक विभागले शुक्रबार तिनाउ नदीमा सिग्नेचर पुल निर्माण प्रयोजनका लागि बोलपत्र आह्वान गरेको छ ।
यो सडक खण्ड विस्तार यतिबेला कार्यान्वयन चरणमा छ । विश्व बैंकको आर्थिक सहयोगमा सडक विस्तारको काम जारी छ । सोही विस्तार अन्तर्गत तिनाउमा सिग्नेचर पुल निर्माण गर्न लागिएको हो ।
सडक विभागले ‘डिजाइन एन्ड बिल्ड’ मोडेलमा यो पुलको ठेक्का दिन लागेको हो । बुटवलस्थित चेनेज ५८९–००० मा यो पुल पर्छ । सिग्नेचर पुल सामान्यतया कलात्मक र आकर्षक हुन्छ । जसले सहरको शोभा बनाउनुका साथै पर्यटकीय आकर्षणका रूपमा समेत प्रयोग गर्ने गरिन्छ ।
सडक विभागका अनुसार तिनाउ नदीमाथि चार लेनको पुल बन्ने छ । जसको लम्बाइ २ सय ३० देखि २ सय ४० मिटरसम्म हुनेछ । सडक विभागले यसअघि नै गरेको विस्तृत अध्ययन र पुलका डिजाइनका नमुना समेत तयार पारेको छ ।
सडक विभाग महानिर्देशक डा. विजय जैसीका अनुसार नारायणी र तिनाउ नदीमा उस्तै प्रकृतिका आकर्षक पुल बनाउने योजना सहित अहिले ठेक्का आह्वान गरिएको हो ।
सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख तथा उपमहानिर्देशक अर्जुनप्रसाद अर्यालका अनुसार अहिले पूर्व–पश्चिम राजमार्गको पुल भएकै स्थानको छेउमा नयाँ पुल बनाउने योजना छ ।
‘सुरुमा पुरानो पुल भत्काएरै नयाँ बनाउने योजना थियो,’ उनले भने, त्यसले यातायात व्यवस्थापनमा समस्या हुने र पुरानो पुलको आयुसमेत बाँकी रहेका कारण छेउमा अर्को संरचना बनाउने निर्णय गरिएको हो ।’
सिग्नेचर पुल बन्दा त्यस क्षेत्रमा पर्यटकीय गतिविधि समेत हुने भएकाले यस्ता संरचनालाई विशेष प्राथमिकता दिन थालिएको उनले बताए । यस पुलको लागत भने सार्वजनिक गरिएको छैन ।
अहिले बुटवल–गोरुसिङ्गे ५० किलोमिटर सडकमा ठेक्का आह्वान भई काम थालिएको छ । गोरुसिङ्गे–चन्द्रौटा बाँकी १९ किलोमिटर सडकको समेत ठेक्का आह्वान तयारी भइरहेको प्रमुख अर्यालले जानकारी दिए ।
अहिले दुई लेन रहेको पूर्व–पश्चिम राजमार्गलाई विभिन्न खण्डमा छुट्याएर चार लेनमा स्तरोन्नति गरिँदैछ । सोही अनुसार ५० किलोमिटर सडक खण्डको निर्माणका लागि चिनियाँ कम्पनी शान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र आशिष निर्माण सेवा जेभीले ठेक्का पाएका छन् ।
सरकारले बुटवल–चन्द्रौटा सडकलाई अधिकतम वन्यजन्तुमैत्री आयोजनाका रूपमा कार्यान्वयन गर्दैछ । सोहीकारण यहाँ अधिकतम पुल, कल्भर्ट र अन्डरपास रहने गरी डिजाइन गरिएको छ ।
उता, नारायणी नदीमाथि बन्ने सिग्नेचर पुलको भने हालैमात्र काम सुरु गरिएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल खण्डमा यो पुल बन्दैछ ।
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

