― Advertisement ―

HomeLatest newsसूर्यलाई विरासतको साथ, बदलावको नाराले देला माथ ? – KhabarHost

सूर्यलाई विरासतको साथ, बदलावको नाराले देला माथ ? – KhabarHost



१३ माघ, प्युठान । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिंदै जाँदा एकमात्र निर्वाचन क्षेत्र रहेको प्युठानमा चुनावी सरगर्मी तीव्र बन्दै गएको छ । एक लाख ६५ हजार बढी मतदाता रहेको यस जिल्लामा फरक पृष्ठभूमि, अनुभव र रणनीति बोकेका नेताहरू मैदानमा उत्रिएसँगै प्रतिस्पर्धा थप रोचक बनेको छ ।

प्युठानमा क्रियाशील पाँच राजनीतिक दलले यसपटक आक्रामक प्रचार रणनीति अपनाएका छन् । नेकपा एमालेबाट उम्मेदवार बनेका सूर्य थापा लगातार दोस्रो पटक संसद् यात्रा तय गर्ने लक्ष्यसहित चुनावी मैदानमा छन् ।

नेपाली कांग्रेसबाट प्राडा. गोविन्दराज पोखरेल, नेपाली कम्युनिस्ट पार्टी(नेकपा)बाट कृष्णध्वज खड्का र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट नवप्रवेशी सुशान्त वैदिक उम्मेदवार बनेका छन् ।

२०७९ को निर्वाचनमा प्युठानबाट एमालेका थापा ४१ हजार ११८ मतसहित विजयी भएका थिए । उनले तत्कालीन पाँच दलीय गठबन्धनको सहयोगमा उम्मेदवार बनेकी राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललाई पाँच हजारभन्दा बढी मतान्तरले पराजित गरेका थिए । पौडेलले ३५ हजार ८१४ मत प्राप्त गरेकी थिइन् ।

झिमरुक गाउँपालिका–१, सौतामारेमा जन्मिएका थापा पत्रकारिताबाट सक्रिय राजनीतिमा प्रवेश गरेका नेता हुन् । हाल एमालेको केन्द्रीय सदस्य तथा प्युठान इञ्चार्ज छन् ।

थापालाई यसपटक अघिल्लो आफ्नै जितको विरासत जोगाउने चुनौती छ । संगठनात्मक रूपमा प्युठानमा एमाले कांग्रेसभन्दा बलियो मानिन्छ । अहिले एमालेभित्र आन्तरिक एकता मजबुत रहेको नेताहरूले दाबी गरेका छन् ।

यद्यपि थापामाथि चुनौती पनि उस्तै छ । रास्वपा सभापति रवि लामिछानेसमेत मुछिएको सहकारी सहकारी ठगी प्रकरणको संसदीय छानबिनको नेतृत्व गरेका थापाको चर्चा त्यसयता अझ बढी छ । यहीकारण उनी रास्वपा समर्थक र नेता–कार्यकर्ताबाट आलोचनाको केन्द्रमा पनि छन् ।

यसपटक कांग्रेसले अघि सारेका पोखरेल बौद्धिक र प्राज्ञिक नेता मानिन्छन् । ऐरावती गाउँपालिका–५, घुइँबाङका पोखरेलको पृष्ठभूमि प्रत्यक्ष राजनीतिभन्दा प्रशासनिक र नीतिगत क्षेत्रसँग जोडिएको छ । प्राध्यापन पेशामा २२ वर्ष बिताएका पोखरेल त्यसपछि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको कार्यकारी निर्देशक(ईडी), राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लगायतका निकायमा रहेर कार्यकारी भूमिका निर्वाह गरेका छन् । यस्तै सुशील कोइराला प्रधानमन्त्री हुँदा एक वर्ष चार महिना राष्ट्रिय योजना आयोगको उपाध्यक्षसमेत बनेका थिए ।

पछिल्ला निर्वाचनमा देखिएको मत आँकडामा एमाले निकै शक्तिशाली देखिन्छ । २०७९ को समानुपातिक मत परिणाम हेर्दा त्यो बेला एमालेले ३३ हजार ८०४ मत प्राप्त गरेको थियो । जुन दोस्रोमा रहेका कांग्रेसभन्दा १५ हजार ९५३ मत बढी हो

त्यसपछि पोखरेल २०७४ को प्रतिनिधिसभा निर्वाचनमा प्युठानबाट चुनाव लडे । त्यो बेला राष्ट्रिय जनमोर्चाकी उम्मेदवार दुर्गा पौडेलसँगै पराजित भएका थिए ।

पोखरेल कांग्रेसभित्र डा. शेखर कोइराला पक्षीय नेताका रूपमा चिनिन्छन् । १४औँ महाधिवेशनबाट उनी केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

प्युठान कांग्रेस अहिले सबै गुट एकजुट भएको नेताकार्यकर्ताले दाबी गरेका छन् । यसैले पोखरेलले बलियो दाबेदारी प्रस्तुत गरेको विश्लेषण भइरहेको छ ।

कांग्रेसभित्र घातअन्तर्घातका सिलसिला पनि लामै छन् । त्यसको चिन्ता अहिले पनि स्थानीय कार्यकर्ता र कांग्रेस मतदातामा देखिएको छ ।

नेकपाबाट उम्मेदवार रहेका खड्का प्युठान नगरपालिका विजुवारस्थित पुण्यखोलाका हुन् । उनी २०७० को संविधानसभा निर्वाचनमा पराजित भएका थिए । २०७४ को प्रदेशसभा निर्वाचनमा भने उनी प्युठान ‘ख’ बाट विजयी भए । त्यसपछि लुम्बिनी प्रदेश सरकारमा अर्थ तथा सहकारी मन्त्री बनेका थिए ।

खड्का शालीन र बौद्धिक छविका नेता मानिन्छन् । २०३५ देखि विद्यार्थी राजनीति सुरु गरेका खड्का २०५२ मा तत्कालीन नेकपा माओवादीले सुरु गरेको सशस्त्र संघर्षमा भूमिगत भएर लागेका थिए । २०५७ यता भने उनी निरन्तर पार्टीको केन्द्रीय सदस्य छन् ।

दर्जन बढी वाम दल मिलेर बनेको नेकपा यो निर्वाचनमा उत्साहित छ । यसैले प्युठानमा अनुभवी नेता खड्काको उम्मेदवारीलाई बलियो रूपमा हेरिएको छ । स्थानीय नेता–कार्यकर्ता पनि हौसिएर चुनावी मैदानमा उत्रिएका छन् ।

प्युठान राष्ट्रिय जनमोर्चाको पुरानो र बलियो संगठन भएको जिल्ला मानिन्छ । जनमोर्चाले यसपटक झिमरुक गाउँपालिका बांगेमरोठका तिलकबहादुर जिसी उम्मेदवार बनाएको छ । २०३६ को जनमत संग्रहपछि राजनीति लागेका जिसी २०७४ मा झिमरुक गाउँपालिका उपाध्यक्ष निर्वाचित भएका थिए । कुनै समय प्युठानमा एकछत्र प्रभाव जमाएको जनमोर्चा अहिले अस्तित्व जोगाउने संघर्षमा छ ।

यस्तै यसपटक देशैभर हौसिएर चुनावी मैदानमा ओर्लिएको रास्वपाले अघि सारेका वैदिकको पृष्ठभूमि राजनीतिक होइन । लुम्बिनी प्रदेशका तत्कालीन मुख्यमन्त्रीहरू डिल्ली चौधरी र जोखबहादुर महरासँग अर्थ सल्लाहकार भएर काम गरेका उनी लन्डन स्कुल अफ इकोनोमिक्स र नर्वेबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् । उम्मेदवारी दर्ता गर्नभन्दा केही समयअघि मात्रै रास्वपा प्रवेश गरेका वैदिकलाई विपक्षीले ‘अवसरवादी’ भनेर आलोचना पनि गरिरहेका छन् ।

प्युठानमा यसपटक प्रत्यक्षतर्फ १४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । अन्य उम्मेदवाहरूमा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)बाट धनेश्वर पण्डित, प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)बाट श्यामलाल गहतराज, मंगोल नेशनल अर्गनाइजेशनबाट हर्कबहादुर पुन, नेकपा संयुक्तबाट नवीन कक्षपति, नेशनल रिपब्लिक नेपालबाट तारासिंह थापामगर, नेपाली जनता दलबाट विमलप्रसाद पोखरेल, नेकपा माओवादीबाट सीता बिक, आम जनता पार्टीबाट रोमबहादुर थापामगर उम्मेदवार छन् ।

आँकडामा एमाले अब्बल

पछिल्ला निर्वाचनमा देखिएको मत आँकडामा एमाले निकै शक्तिशाली देखिन्छ । २०७९ को समानुपातिक मत परिणाम हेर्दा त्यो बेला एमालेले ३३ हजार ८०४ मत प्राप्त गरेको थियो । जुन दोस्रोमा रहेका कांग्रेसभन्दा १५ हजार ९५३ मत बढी हो ।

कांग्रेसले त्यो बेला १७ हजार ८५१ समानुपातिक मत प्राप्त गरेको थियो ।

यस्तै तत्कालीन नेकपा माओवादी केन्द्रले १३ हजार ३०३, राष्ट्रिय जनमोर्चाले नौ हजार ९५९ र रास्वपाले पाँच हजार ८५१ मत प्राप्त गरेको थियो ।

पुरानो विरासत र समानुपातिक मतलाई मात्रै आधार मानेर हेर्दा यसपटकको सही मूल्यांकन हुन नसक्ने धारणा राख्नेहरू पनि छन् । पछिल्लो समयका विकसित घटनाक्रम र मतदाताको फेरिँदो ‘मुड’ले आगामी समीकरण तय हुने देखिन्छ ।





Read More