― Advertisement ―

बिहीबार, अप्रिल १६ (खेल #७७४) का लागि NYT Strands संकेत र जवाफहरू

अर्को दिन खोज्दै हुनुहुन्छ?प्रत्येक NYT Strands को लागि एक नयाँ समय क्षेत्र जुन तपाइँको रातको मध्यमा देखा पर्दछ। कोही मान्छे सधैं 'आजको खेल' खेलिरहेका...
HomeLatest newsदुई वटा क्यान्सर जितेकी शोभा, साहस र धीरताको प्रतीक

दुई वटा क्यान्सर जितेकी शोभा, साहस र धीरताको प्रतीक


News Summary

Generated by OK AI. Editorially reviewed.

  • काठमाडौं चाबहिल निवासी शोभा कार्कीले दुईवटा क्यान्सरलाई जितेकी छिन् र आफ्नो अनुभवबाट क्यान्सर सचेतना फैलाइरहेकी छिन्।
  • उनले २००२ मा ब्लड क्यान्सर पत्ता लागेपछि वीर अस्पताल र भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराइन् र म्याक्स फाउन्डेसनबाट निःशुल्क औषधि पाइन।
  • २०१९ मा स्तन क्यान्सर पत्ता लागेपछि पाटन अस्पतालमा लम्पेक्टोमी, केमोथेरापी र रेडिएसन थेरापी गराइन् र अहिले पनि औषधि खाइरहेकी छिन्।

काठमाडौं चाबहिल निवासी शोभा कार्की आत्मविश्वासी र दृढ महिलाको रूपमा चिनिन्छिन् । दुईवटा क्यान्सरलाई जितेकी उनले जीवनमा धेरै उतार चढाव झेलिन् । भावनात्मक र आर्थिक कठिनाइसँग संघर्ष गर्दै जिउन सिकिन् । अहिले उनी धेरैका लागि प्रेरणा बनिरहेकी छिन् ।

सन् २००२, जतिबेला उनी त्रिचन्द्र कलेजमा केमिस्ट्री विषय लिएर पढ्दै थिइन् । उमेर थियो २३ वर्ष । त्यो समयपछि उनको जीवनले अप्रत्यासित मोड लियो ।

कलेजमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । शोभालाई पनि रक्तदान गर्ने इच्छा भयो तर आफ्नो ‘ब्लड ग्रुप’ थाहा थिएन । कहिल्यै जाँच गरेको भए पो । रक्तदान गर्नुअघि आफ्नो ब्लड ग्रुप थाहा पाउन उनी साथीहरूसँग वीर अस्पताल पुगिन् । ब्लड ग्रुपसँगै उनले अन्य जाँचहरू पनि गरेकी थिइन् ।

उनको डब्लुबिसी (ह्वाइट ब्लड सेल) काउन्ट १ लाख ९० हजार पुगेको देखियो, जुन समान्य अवस्थामा ४ हजारदेखि ११ हजारको बीचमा हुनुपर्छ । अवस्था असमान्य देखिएपछि डाक्टरले तुरुन्तै इमर्जेन्सीमा भर्ना हुनुपर्छ भने । शोभालाई अचम्म लाग्यो । केही नभएको मान्छे किन इमर्जेन्सीमा भर्ना हुनु ? उनले मनमनै प्रश्न गरिन् । परिवारमा सल्लाह गरेर आउने भनेर अस्पतालबाट निस्किइन् ।

घरमा यो कुरा सुनाउँदा परिवारले विश्वास गरेनन्, किनकि उनी सामान्य रूपमा हिँडडुल गरिरहेकी थिइन्, खाइरहेको थिइन्, कलेज गइरहेकी थिइन् । इमर्जेन्सीमै भर्ना हुनुपर्छ भनेपछि त्यत्तिकै बस्ने कुरा भएन उनी अर्को दिन बुबालाई साथमा लिएर साथमा अस्पताल गइन् । विभिन्न परिक्षण भयो । बोन म्यारो जाँच गरेपछि उनलाई ब्लड क्यान्सर भएको पत्ता लाग्यो ।

ब्लड क्यान्सरका सुरुवाती लक्षणहरू शोभाले लामो समयदेखि महसुस गरिरहेकी थिइन्, तर तिनलाई उनले सामान्य नै ठानिन् । एक-डेढ वर्षदेखि उनको शरीरमा निलो डामहरू देखिन्थे । ‘ठोक्किएर भएको होला’ उनी सोच्थिन् । पेट ठूलो हुनु, थकाइ लाग्नु, तौल घटेर मात्र ३५ केजी पुग्नु, छाला कालो हुनु र महिनावारीमा अनियमितता जस्ता लक्षणहरू पनि थिए जसलाई उनले बेवास्ता गरिरहेकी थिइन् ।

सुरुमा उनलाई विश्वास लागेन । ‘फिल्महरूमा ब्लड क्यान्सर भएका हिरो–हिरोइन मरेको देखाउँथ्यो तर म त हिँडिरहेकी छु, खाइरहेको छु मलाई कसरी ब्लड क्यान्सर हुन्छ ।’ मलाई डर लागेन’ उनी त्यो समय सम्झिन्छिन् ।

यो खबरले परिवारमा हलचल मच्चायो । आमाबाट भने गोप्य राखिएको थियो । आमा ब्रेन ट्युमरकी बिरामी थिइन् र सिजर अट्याक आउँथ्यो, त्यसैले छोरीको क्यान्सरबारे नभन्ने निर्णय भयो । यो गोपनीयता पाँच–छ वर्षसम्म कायम रह्यो । पछि, जब विहेको दबाब बढ्यो, तब मात्र आमालाई बताइयो । आमाले विहे गर्नुपर्ने भन्दै कर गर्न थालेपछि क्यान्सर भएको कुरा आमालाई भन्नैपर्ने अवस्था भयो ।

उपचारको यात्रा

वीर अस्पतालबाटै उपचार सुरु भयो । हाइड्रोक्स्युरिया औषधि दिइयो, अधिकतम ५०० एमजी डोजमा । यसले ब्लड काउन्ट केही घटायो, तर पूर्ण नियन्त्रण भएन । डाक्टरले भक्तपुर क्यान्सर अस्पताल रिफर गरे । त्यहाँ इन्टरफेरोन इन्जेक्सन सुरु भयो । इन्जेक्सनको मूल्य २५००–३००० रुपैयाँ थियो । दैनिक लगाउनु पर्थ्यो । लगाउनुअघि सिटामोल खानु पर्थ्यो, ज्वरो आउँथ्यो र शरीर दुख्थ्यो । यो पीडा शोभाका लागि नयाँ थियो । पाँच–छ महिनासम्म यो उपचार चल्यो । परिवारको आर्थिक अवस्था कमजोर थियो त्यसैले परिवारलाई यो खर्च बेहोर्न गाह्रो भइरहेको थियो ।

आठौं महिनामा भाग्यले साथ दियो । शोभाकी बहिनीको साथीले म्याक्स फाउन्डेसनबारे जानकारी दिइन् । यो फाउन्डेसनले सीएमएलका बिरामीहरूलाई निःशुल्क औषधि उपलब्ध गराउँथ्यो । नेपालमा विष्णु पौडेल सम्पर्क व्यक्ति थिए । डाक्टर म्याक्स सिमरम्यानले प्रमाणित गरेपछि औषधि मेलबाट आउन थाल्यो । यो ग्लिभेक नामको ओरल औषधि थियो, जसले शोभाको जीवन बचायो ।

२००३ देखि २०१४ सम्म उनले यो औषधि खाइन् । यसले उनको ब्लड काउन्ट नियन्त्रणमा ल्यायो । २०१४ मा जाँच गर्दा क्यान्सर नभएको पुष्टि भयो । पाटन अस्पतालका डाक्टर ज्ञान कायस्थले औषधि छोड्न सल्लाह दिएनन्, तर शोभाले साइड इफेक्ट (जस्तै थकान, जोर्नी दुखाइ) र कामको दबाबले गर्दा औषधि छाड्ने सल्लाह डाक्टरसँग गरिन् । नियमित जाँच र रिपोर्ट म्याक्स फाउन्डेसनलाई पठाउने क्रम जारी रह्यो । यो अवधिमा शोभाले आफूलाई क्यान्सरबाट मुक्त महसुस गरिन् ।

क्यान्सर हुँदा पनि शोभाको जीवनशैली सामान्य रह्यो । औषधिले कमजोर बनाउँदा पनि घरमा बस्दा झन् कमजोर भइन्छ भन्दै आमाले काममा पठाइन् । उनी ट्राभल एजेन्सीमा काम गर्थिन् । ‘औषधि खाँदा मात्र क्यान्सर भएको फिल हुन्थ्यो काममा फोकस हुँदा हुँदैनथ्यो’ उनी भन्छिन् । कामले उनलाई मानसिक रूपमा बलियो बनायो। उनी यात्रा व्यवस्थापन गर्थिन्, ग्राहकहरूसँग कुरा गर्थिन्, र जीवनको रुटिनमा डुबिन् । यसले क्यान्सरलाई ‘सामान्य’ बनायो । साथीहरू र सहकर्मीहरूबाट समर्थन मिल्यो, जसले उनको आत्मविश्वास बढायो ।

दोस्रो क्यान्सर

ब्लड क्यान्सरसँगको लामो लडाइँपछि त्यसलाई जितेर केही राहत महसुस गरिरहेकी थिइन् शोभाले । फेरि नयाँ चुनौती आइलाग्यो, स्तन क्यान्सर । क्यान्सरसँग लामो समय लड्दा र सचेतना कार्यक्रमहरूमा सहभागी हुँदा उनले स्तन क्यान्सरबारे थाहा पाएकी थिइन् । एकदिन आफैँले छामेर हेर्ने क्रममा आफ्नो स्तनमा गिर्खा फेला पारिन्, त्यो २०१९ मे  थियो । यो अप्रत्याशित भयो । फेरि नसोचेको चुनौती आइलाग्यो उनको जीवनमा ।

दुई सातापछि डाक्टरलाई देखाइन् । प्रारम्भिक चरणमै रहेछ । पाटन अस्पताल उपचार सुरु भयो । डाक्टरले ‘स्तन काटेर फाल्नुपर्छ भने । त्यो कुरा उनलाई चित्त बुझेको थिएन । चिकित्सकको सल्लाह लिनका लागि खोजीमा लागिन् । क्यान्सर सर्भाइबर सोसाइटीकी प्रमिता खनालको सहयोगमा डाक्टर प्रफुल्ल शाक्यलाई देखाइन् । उनको परामर्श शोभालाई चित्त बुझ्यो ।

उनको फेरि परीक्षण भयो । ट्रिपल पोजिटिव भएकाले छिटो फैलिने सम्भावना थियो, तर लम्पेक्टोमी केवल लम्प निकाल्ने प्रक्रिया पर्याप्त भयो । यसपछि ६ साइकल केमोथेरापी सुरु भयो । केमोले उनलाई कमजोर बनायो – कपाल झर्ने, वाकवाक लाग्ने, थकान । यसपछि रेडिएसन थेरापी भयो, जसले छालालाई प्रभावित गर्‍यो । अहिले उनी औषधि खाइरहेकी छिन् ।

यो उपचार ब्लड क्यान्सर हुँदा खाने औषधि भन्दा फरक थियो– बढी कठिन र शारीरिक रूपमा थकाउने । तर, शोभाले यसलाई पनि सामना गरिन् । परिवारको साथ, सर्भाइबर सोसाइटीको समर्थन र आफ्नो दृढताले उनलाई अगाडि बढायो ।

शोभाको सन्देश

दुई क्यान्सर जितेकी शोभालाई क्यान्सरबाट डर लाग्दैन, बरु उपचारको खर्चले तनाव हुन्छ । उनी भन्छिन्, ‘क्यान्सर भएपछि परिवारको आर्थिक अवस्था राम्रो छैन भने बिरामीले अब बाँचिदैन भन्ने सोच्छन् । तर, पछिल्लो समय यसरी डराउनु पर्ने अवस्था छैन । नेपालमै राम्रो उपचार छ, डाक्टरहरू उत्कृष्ट छन् ।’

क्यान्सर भएपछि भारत वा विदेश गए मात्रै उपचार हुन्छ भन्ने बुझाइ गलत भएको उनले स्पष्ट पारिन् । ‘मैले मेरो दुवै क्यान्सरको उपचार नेपालमा नै गरें, राम्रो पनि भयो’ उनी सुनाउँछिन् ।

उनी क्यान्सरबारे सचेतना कार्यक्रमहरूमा सक्रिय छिन्, जहाँ आफ्नो कथा साट्छिन् ।

शोभाको सन्देश स्पष्ट छ- क्यान्सर हुँदैनमा जीवन सकिँदैन । यसले अरुलाई सहयोग गर्नुपर्छ भन्ने नयाँ बाटोमा आफूलाई लगेको उनी बताउँछिन् ।

क्यान्सर देखिएका बिरामीलाई सरकारबाट १ लाख सहयोग र मासिक ५ हजार उपलब्ध हुन्छ । बीमा पनि प्रयोग गर्न मिल्छ । बिमा समिति र संचय कोषका स्किमहरू छन्। ‘आफन्त र साथीभाइलाई बताउनुपर्छ, लुकाउँदा सहयोग मिल्दैन । रोग लुकाएर आर्थिक सहयोग मात्र मागियो भने आफन्त टाढा हुन्छन्, तर बताएपछि सहयोग आउँछ’ शोभा भन्छिन् ।

क्यान्सरबारे उनको अनुभवले भन्छ- गरेको काम नछाड्ने, राम्रो खानपिन गर्ने, राम्रो डाक्टर छान्ने र फलोअप गर्ने हो भने क्यान्सर जितिन्छ ।





Read More