― Advertisement ―

YouTube दर्शकहरूले कष्टप्रद Shorts असक्षम पार्ने ‘अद्भुत’ नयाँ विकल्पको प्रशंसा गर्छन् — यो कसरी गर्ने भन्ने यहाँ छ

एउटा नयाँ समय सीमा सुविधा YouTube मा प्रयोगकर्ताहरूलाई प्रभावकारी रूपमा हटाउन अनुमति दिन्छ। पूर्णतयानयाँ शून्य-मिनेट टाइमरले प्रयोगकर्ताहरूको गृह फिडहरूमा Shorts लाई देखाउनबाट रोक्छयो अझै...
HomeLatest newsहर्मीतको अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिमको रवाफ

हर्मीतको अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिमको रवाफ


हर्मीत सिंहको अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिमले रवाफ जमाउँदै राजधानीको टोलीलाई हारको बाटो देखायो । ब्याटिङमा विस्फोट गराएका हर्मीतले बलिङमा पनि ‘गेम चेन्जिङ’ प्रदर्शन गरे ।

राष्ट्रिय

समाचार.

  • सुदूरपश्चिम रोयल्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग क्रिकेटमा काठमान्डु गोर्खाजलाई हराएर विजयी सुरुवात गर्‍यो।
  • अमेरिकी खेलाडी हर्मीत सिंहले ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै खेलको प्लेयर अफ द म्याच घोषित भए।
  • काठमान्डु गोर्खाजले जोखिमपूर्ण ब्याटिङ गर्दा खेल गुमाएको काठमान्डुका प्रशिक्षक मोन्टी देसाइले बताए।

३ मंसिर, काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा बुधबारको खेल रोमाञ्चक रह्‍यो । गत संस्करणको उपविजेता टोली सुदूरपश्चिम रोयल्सले काठमान्डु गोर्खाजलाई हराएर प्रतियोगितामा विजयी सुरुवात गर्‍यो ।

सुदूरपश्चिमको यो जित त्यति सजिलै प्राप्त भएको जित भने होइन । खेलको सुरुवातमा खराब अवस्थामा भएपनि उतारचढावका बीच अन्त्यमा शानदार पुनरागमनका साथ सुदूरपश्चिमले प्रतियोगितामा सुखद सुरुवात गरेको छ ।

सुदूरपश्चिमको यो रवाफमा नायक बनेका थिए अमेरिकी खेलाडी हर्मीत सिंह । पछिल्लो समय उत्कृष्ट लयमा रहेका हर्मीतले आजको खेलमा पनि त्यसलाई निरन्तरता दिए ।

हर्मीत सिंहको अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिमले रवाफ जमाउँदै राजधानीको टोलीलाई हारको बाटो देखायो । ब्याटिङमा विस्फोट गराएका हर्मीतले बलिङमा पनि ‘गेम चेन्जिङ’ प्रदर्शन गरे ।

पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई हराएको काठमान्डु गोर्खाज आजको खेलमा भने सुदूरको ‘तुफान’ सामू घुँडा टेक्न बाध्य भयो ।

कप्तान करण केसीले ४ विकेट लिँदै बलिङ आक्रमणको नेतृत्व गरेपनि ब्याटिङमा हतासिएर लय गुमाउँदा काठमान्डु गोर्खाजले खेल नै गुमाएको हो ।

हर्मीतले देखाएको कौशल

खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमको सुरुवात खराब भयो । सुदूरले पहिलो ओभरमै २ ब्याटरको विकेट गुमायो ।

करण केसीको बलमा जोश ब्राउन एलबीडब्लु धरापमा परे भने विनोद भण्डारी क्याचआउट भए । यो दशा त्यतिमै सकिएन । करणकै अर्को ओभर एवं खेलको तेस्रो ओभरमा अस्ट्रेलियन पावर हिटर क्रिस लिन पनि सस्तैमा पेभिलियन फर्केपछि सुदूर ३ ओभरमा ४-३ को अवस्थामा थियो ।

पावरप्लेको अन्तिम बलमा इशान पाण्डे पनि ११ रनमा आउट भए भने १०औं ओभरमा आरिफ शेख र १४औं ओभरमा नरेन साउद पनि आउट भएपछि सुदूर ७२-६ को अवस्थामा पुगेपछि क्रिजमा हर्मीतको प्रवेश भयो ।

हर्मीतले १६औं ओभरमा मिलिन्द कुमारलाई ३ छक्का प्रहार गरे । त्यस ओभरमा सुदूरले कुल २१ रन जोड्यो । १७औं ओभरमा हर्मीतले एक चौका र ३ छक्का प्रहार गरे । त्यतिबेलासम्म सुदूरको स्कोर १२५ पुगिसकेको थियो ।

१९ बलमा अर्धशतक पूरा गरेलगत्तै हर्मीत क्याचआउट भए । सुदूरले २० ओभरमा १४७ रन बनाएर डिफेन्ड गर्न सकिने माहोल बनाएको थियो ।

बलिङमा पनि हर्मीत चम्किए । १० ओभरको समाप्तिमा ३ विकेट गुमाएर ८७ रन बनाएको काठमान्डुले त्यसपछि लय गुमायो । १२औं ओभरमा हर्मीतले सेट ब्याटर आकाश त्रिपाठीलाई आउट गरे भने लगत्तै आदिल आलमलाई पनि एलबीडब्लुमा फसाए । त्यही ओभरमा खेल परिवर्तन भयो र काठमान्डु ९६-६ को अवस्थामा पुग्यो जहाँबाट पुनरागमन गर्नै सकेन ।

यही खेल कौशल प्रदर्शन गरेका हर्मीत खेलको प्लेयर अफ द म्याच घोषित पनि भए ।

हर्मीतबाहेक स्कट कुग्लेइन र हेमन्त धामीले पनि २-२ विकेट लिएका थिए । हेमन्तले ओपनर बेन चार्ल्सवर्थ र भीम सार्कीलाई सस्तैमा आउट गरेर काठमान्डुलाई ब्याकफूटमा राखेका थिए ।

त्यस्तै कुग्लेइनले मिलिन्द कुमार र करण केसीलाई आउट गर्दै सुदूरका लागि जितको अन्तिम ढोका खोले ।

खेलपछि कुरा गर्दै सुदूरपश्चिमका प्रशिक्षक जगत टमाटाले हर्मीतको प्रशंसा गर्दै उनलाई दिइएको भूमिका र जिम्मेवारी राम्रोसँग निभाएको उल्लेख गरे ।

‘हामी संकटपूर्ण अवस्थामा भएपछि दीपेन्द्र र हर्मीतलाई २० ओभर खेल्नुपर्छ भनेर भनेका थियौं, दीपेन्द्रले पनि आफ्नो भूमिका निभाए । हर्मीतले पनि धेरै राम्रो गरे’ टमाटाले भने ।

हतासिएको काठमान्डु

काठमान्डु गोर्खाजले सहज रूपमा जित्न सक्ने खेल हतासिएर गुमायो । अन्तिम ६० बलमा ६१ रन आवश्यक हुँदाको अवस्थाबाट काठमान्डुले खेल गुमायो ।

१० ओभरको समाप्तिमा ८७-३ को अवस्थामा रहेको काठमान्डुका लागि आकाश त्रिपाठी र जोन सिम्पसन खेलिरहेका थिए । ११औं ओभरमा सिम्पसन इशान पाण्डेको बलमा रिभर्स खेल्ने धुनमा एलबीडब्लु आउट भए । जबकि काठमान्डुलाई यो जोखिम लिन आवश्यक नै थिएन ।

१२औं ओभरमा त खेलको मोमेन्टम नै परिवर्तन भयो । हर्मीत सिंहले आकाश र आदिललाई आउट गरेपछि सम्पूर्ण दबाब काठमान्डुमा थुप्रिएको थियो ।

सिम्पसन आउट भएपछि क्रिजमा आएका मिलिन्द कुमारले आकाश त्रिपाठीलाई साथ दिइरहेका बेला आकाश कभरमा पावरलेस शट खेलेर क्याचआउट भए । मिलिन्दले त्यहीबेला अचम्मित भएर शट खेल्न आवश्यक नरहेको संकेत गरेका थिए । यो जोखिम लिन पनि काठमान्डुलाई आवश्यक देखिएको थिएन ।

६ विकेट गुमिसकेपछि काठमान्डुका ब्याटरमा दबाब थपिएको थियो । १५औं ओभरमा मिलिन्द पनि ठुलो शट खेल्ने क्रममा आउट भए । त्यसपछिको ओभरमा राशिद खान एलबीडब्लु आउट भए भने करण केसी ठुलो शट खेल्ने क्रममा क्याच आउट भए ।

यसरी अनावश्यक दबाब लिएर जोखिमपूर्ण शट खेल्दा काठमान्डु गोर्खाजले राम्रो अवस्थाबाट खेल गुमायो ।

खेलपछि काठमान्डुका प्रशिक्षक मोन्टी देसाइले पनि हर्मीतको प्रदर्शनको तारिफ गरे । उनले १० ओभरपछि ब्याटरले केही लय गुमाएको बताए ।

‘साझेदारी बन्नुपर्थ्यो, किनभने १४८ चेज गर्न सकिने योगफल थियो’ उनले भने ।





Read More