― Advertisement ―

सुरक्षा विशेषज्ञहरूले आईओएसमा आन्तरिक टनेल आईपी फिंगरप्रिन्टिङबाट बच्नको लागि प्रोटोन ‘केवल VPN’ हो भनेर प्रकट गर्दछ।

प्रोटोनले आईओएसमा औँला प्रिन्टनेल रिसर्च गर्ने VPN अनन्य रूपमा भन्नुहुन्छ Mullvad अन्य पोर्भाइडरहरू मध्ये एक हो जुन त्रुटिको लागि जोखिममा रहन्छ समस्या आईओएस नेटवर्किङ...
HomeLatest newsराष्ट्रिय सभा चुनावमा कांग्रेस-एमाले तालमेल, भावी संसद्को समीकरण मिलाउने खेल

राष्ट्रिय सभा चुनावमा कांग्रेस-एमाले तालमेल, भावी संसद्को समीकरण मिलाउने खेल



२३ पुस, काठमाडौं । राष्ट्रिय सभामा रिक्त हुन लागेको १९ मध्ये १८ सिटमा बुधबार उम्मेदवारी परेको छ । एउटा सिट राष्ट्रपतिबाट मनोनित भएकाले सरकारको सिफारिसमा फेरि राष्ट्रपतिबाटै मनोनित भएर पूर्ति हुनेछ ।

निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार १८ पदका लागि ४४ जनाले दिए उम्मेदवारी दिएका छन् ।

निर्वाचन कार्यक्रम अनुसार बिहीबार उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २५ र २६ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी नामावली प्रकाशित हुनेछ ।

पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान हुनेछ ।

कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा उम्मेदवारी दिएका सुनीलबहादुर थापा निर्विरोध भइसकेका छन् । बाँकी १७ पदका लागि आगामी माघ ११ मा निर्वाचन हुनेछ ।

निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेले चुनावी गठबन्धन गरेका छन् । नेपाली कम्युनिस्ट पार्टी एक्लै चुनावी मैदानमा छ ।

मधेश प्रदेशमा जनता समाजवादी पार्टीका तर्फबाट ३ सिटमा उम्मेदवारी परेको छ भने एउटा सिटमा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार महन्थ ठाकुरलाई समर्थन गरेको छ ।

राष्ट्रिय सभा निर्वाचनमा यही चार दल प्रमुख दल हुन् । नेपाली कांग्रेस र नेकपा एमाले पहिलो र दोस्रो ठूलो दल हो । यो चुनावमा पहिलो र दोस्रो ठूलो दलले नै चुनावी गठबन्धन गरेका हुन् ।

कांग्रेस र एमाले नै गठबन्धनमा किन ?

नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल संविधान निर्माण गर्ने शक्तिहरूबीच राष्ट्रिय सभाको निर्वाचनमा तालमेलको प्रयास भएको बताउँछन् ।

‘हामीले प्रचण्डजीहरू समेतको तालमेल गर्न खोजेका थियौं । अन्तिममा उहाँहरू बाहिरिनुभयो’ उनी भन्छन्, ‘तथापि, अहिलेको कांग्रेस, एमालेसहितको तालमेलमा मधेश केन्द्रित दल पनि सामेल छन् ।’

कांग्रेसले मधेश प्रदेशमा लोसपाका उम्मेदवार महन्थ ठाकुरलाई समर्थन गरेको छ । यसैलाई केन्द्रित गर्दै पौडेलले मधेश केन्द्रित दल समेत तालमेलमा रहेको बताएका हुन् । तर, मधेश केन्द्रित अर्को दल जसपा नेपालले आफैँ उम्मेदवार खडा गरेको छ ।

राष्ट्रिय सभामा भएको कांग्रेस र एमालेको चुनावी गठबन्धन प्रतिनिधिसभाको गठबन्धनको रिहर्सल हो ? यसको जवाफ भने कांग्रेस र एमालेका नेताहरूले प्रष्ट रुपमा दिइरहेका छैनन् ।

२१ फागुनका लागि हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि आगामी माघ ६ गते उम्मेदवारी दर्ताको कार्यतालिका छ । राष्ट्रिय सभाको निर्वाचन भने आगामी माघ ११ मा हुँदैछ । यसकारण अहिलेको गठबन्धनलाई कतिपयले प्रतिनिधिसभाको निर्वाचनसँग समेत जोडेर हेरेका छन् ।

कांग्रेससँग आगामी दिनको सहकार्यको बाटो खुला गरेको बताउँछन् एमालेका उपमहासचिव लेखराज भट्ट ।

कांग्रेससँगै गठबन्धन किन गर्नुपरेको ? जवाफमा उपमहासचिव भट्ट भन्छन्, ‘हिजो पनि सहकार्य गरेकै दल हौं । अहिले राष्ट्रिय सभामा कांग्रेस छोडेर नयाँ दलसँग मात्रै तालमेल गर्न नयाँ ढंगले छलफल गर्नुपर्ने हुन्थ्यो । यसकारण कांग्रेससँगै भयो र यसमा शेरबहादुर देउवाजीसँगको विश्वासको कुरा पनि भयो ।’

अब यही गठबन्धन प्रतिनिधिसभाको चुनावमा हुने हो ? जवाफमा उनी त्यसका लागि मार्ग प्रशस्त गर्ने काम राष्ट्रिय सभाको गठबन्धनले गरेको बताउँछन् । उनले अनलाइनखबरसँग भने,’अहिलेको सहकार्यले अगाडिको बाटो पनि देखाउने त भयो नै । सहकार्यको बाटोका लागि मार्ग प्रशस्त गर्‍यो, त्यसका लागि आधार तयार गर्‍यो, जमिन तयार गर्‍यो भन्ने लाग्छ ।’

अघिल्लो सरकारमा कांग्रेस र एमाले सँगै थिए । विघटित प्रतिनिधिसभामा पहिलो र दोस्रो दल नै मिलेर सरकार बनाउँदा उनीहरूले संविधान संशोधन गर्ने विषयलाई प्रमुख आधार बनाएका थिए ।

१७ असार २०८१ मा कांग्रेस सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व आलोपालो गर्ने गरी ७ बुँदे समझदारी गरेर ३० असार २०८१ मा सरकार बनाएका थिए । सहमतिअनुसार पहिलो चरणमा ओली प्रधानमन्त्री बनेका थिए । तर, यो गठबन्धनले पुरा कार्यकाल पार गर्न पाएन ।

गत २३ र २४ भदौमा जेनजी आन्दोलन भयो । आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री ओली राजीनामा दिन बाध्य भए । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । यो बेला हुन लागेको राष्ट्रिय सभाको निर्वाचनमा कांग्रेस र एमालेले चुनावी गठबन्धन गरेका हुन् ।

प्रचण्डलाई धक्का

कांग्रेस र एमालेले राष्ट्रिय सभा निर्वाचनमा चुनावी गठबन्धन गरेपछि त्यसको धक्का नेपाली कम्युनिस्ट पार्टीलाई लागेको छ । किनभने ११ माघको निर्वाचन पछाडि राष्ट्रिय सभामा नेकपाको हैसियत बदलिनेछ ।

हाल राष्ट्रिय सभामा नेपाली कम्युनिस्ट पार्टी सबैभन्दा ठूलो दल हो । साविकको माओवादी केन्द्रको १७ र साविकको नेकपा एकीकृत समाजवादीका ८ गरी २५ सिट सहित नेपाल कम्युनिस्ट पार्टी पहिलो दलको रुपमा छ । बिदा हुन लागेका १९ जनामा नेकपाका ८ (माओवादी केन्द्रका ७ जना छन् । नेकपा एकीकृत समाजवादी १ जना) रहेका छन् । यसो हुँदा नेकपाको सांसद संख्या १७ मा झर्नेछ ।

मतभारका दृष्टिमा नेकपाले ११ माघको निर्वाचनबाट राष्ट्रिय सभामा सिट थप्ने सम्भावना कम छ । किनभने कांग्रेस र एमाले मिल्दा उनीहरू सातै प्रदेशमा स्पष्ट बहुमतमा छन् । यद्यपी राष्ट्रिय सभाको चुनावमा गोप्य मतदान हुन्छ ।

राष्ट्रिय सभा सदस्यको निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता हुन्छन् । सात वटै प्रदेशमा ५५० प्रदेश सभा सदस्य छन् । ७५३ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी एक हजार ५०६ मतदाता रहन्छन् ।

कोशी प्रदेशबाट ३ जना, मधेश प्रदेशबाट ४ जना, बागमती र गण्डकी प्रदेशबाट २र२ जना, लुम्बिनी प्रदेशबाट ३ जना, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट २/२ जना राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुँदैछ ।

कांग्रेस र एमाले मिल्दा उनीहरूभित्रबाटै अन्तर्घात भएर नेकपालाई भोट गएन भने यही गठबन्धनका उम्मेदवारले सबैतिर जित निकाल्न सक्नेछन् । मधेश प्रदेशमा रहेको तेस्रो शक्तिलाई समेत समेटेकाले यसलाई अझ मद्दत गर्नेछ ।

यसो हुँदा आगामी फागुन २० पछि राष्ट्रिय सभामा कांग्रेस सबैभन्दा ठूलो दल बन्नेछ ।

५९ सदस्यीय राष्ट्रिय सभामा हाल कांग्रेसका १६ जना सांसद छन् । उनीहरू कोही पनि आगामी फागुन २० मा बिदा हुने छैनन् । अहिले भागवण्डामा पाए अनुसार ९ सिटमा नै जित निकाल्दा कांग्रेस २५ सिट सहित पहिलो दल बन्नेछ ।

दोस्रोमा नेकपा नै रहनेछ । किनभने एक सिट नजिते पनि नेकपाको १७ सिट यथावत रहनेछ ।

तेस्रोमा एमाले रहनेछ । आगामी फागुन २० मा बिदा हुने राष्ट्रिय सभा सदस्यहरूमा एमालेका ८ जना छन् । कांग्रेस सँगको तालमेलमा ८ जना नै उम्मेदवार भएकाले एमालेले आफ्नो सिट संखया यथावत राख्नेछ ।

आगामी फागुन २० मा लोकतान्त्रिक समाजवादी पार्टीका एक जना बिदा हुँदैछन् । अहिले मधेश प्रदेशबाट उम्मेदवगार रहेका लोसपाका महन्थ ठाकुरलाई कांग्रेस, एमाले र जसपाको समर्थन छ । यसो हुँदा लोसपा पनि राष्ट्रिय सभामा शून्य हुने छैन ।

हाल ३ जना सांसद रहेको जसपा नेपालका एक जना बिदा हुँदैछन् । सिट थप्न नसके २ मा झर्नेछ ।

अर्थात्, कांग्रेस र एमालेको गठबन्धनले नेकपालाई धक्का लागेको छ । नेकपाका नेता प्रकाश ज्वाला मतभारका आधारमा प्रमुख शक्तिहरू मिलेर जाने प्रयास भएको बताउँछन् ।

उनी भन्छन्, ‘मतभार र सम्मानका आधारमा सिट भागवण्डा गरौं भनेको हो । तर, त्यस्तो वातावरण भएन र हामी एक्लै मैदानमा छौं । पछि चुनावी परिणाम कस्तो आउँछ भन्ने भन्दा ठूलो कुरा दलहरूबीचको सहकार्य र सहकार्यको आधार नै हो ।’

कुन प्रदेशमा कसको कति मतभार ?

कोशी प्रदेशमा एमालेको ४२१० र कांग्रेसको ३७२२ मतभार जोड्दा ७२२ हुन्छ । जुन कूल मतभार १०१३५ को दुई तिहाइ बहुमत हो । यो प्रदेशमा नेकपाको १६२३ मतभार छ ।

मधेश प्रदेशमा पनि कांग्रेस र एमाले बहुमतमा छन् । यो प्रदेशमा कांग्रेसको ३१०४ र एमालेको २४०८ जोड्दा ५५१२ मतभार हुन्छ । यो जम्मा मतभार १०८३९ को बहुमत हो । मधेश प्रदेशमा नेकपा चौथो छ र यसको १३४६ मतभार छ ।

बागमती प्रदेशमा कांग्रेसको ४०१३ र एमालेको २५७१ मतभार छ । दुवै जोड्दा ६५८४ मतभार पुग्छ । यो बागमती प्रदेशको जम्मा मतभार १०३३५ को बहुमत हो । बागमती प्रदेशमा नेकपा दोस्रो ठूलो दल हो । यहाँ नेकपाको मतभार २७३८ रहेको छ ।

गण्डकी प्रदेशमा कांग्रेसको मतभार २७०४ छ । एमालेको २४५८ छ । दुवै मिल्दा ५१६२ पुग्छ । यो पनि कूल मतभार ६४१) को दुई तिहाइ मत हो । यहाँ नेकपाको १०१३ मतभार छ ।

लुम्बिनीमा कांग्रेसको ३१७९ र एमालेको २८१० मतभार जोड्दा ५९८० हुन्छ । यो पनि कूल मतभार ८७५३ को दुई तिहाइ मत हो । यहाँ नेकपाको १३९६ मतभार छ ।

कर्णालीमा पनि कांग्रेस र एमाले मिल्दा (१८६३ र ११९५ मतभार) ३०५८ मतभार पुग्छ । यहाँ ५१२२ कूल मतभार हो । यो प्रदेशमा दोस्रोमा रहेको नेपाली कम्युनिस्ट पार्टीको १८४४ मतभार छ ।

सुदूरपश्चिममा कांग्रेसको २५५८ मतभार छ । यसमा एमाले १५३३ थपिए ४०९१ पुग्छ । यहाँ जम्मा ६१५३ मतभार छ । जसको दुई तिहाइ मतभार कांग्रेस र एमाले मिल्दा पुग्छ । यहाँ नेपाली कम्युनिस्ट पार्टीको १३६५ मतभार छ ।





Read More