― Advertisement ―

‘पूरा 40-घण्टा हप्ता अब 60 मिनेट लाग्छ’: Ahrefs’ नयाँ एआई एजेन्टहरूले ‘सधैं-अन’ मार्केटिङ समर्थनको वाचा गर्छन्

Ahrefs ले एउटा नयाँ उपकरण बजारमा ल्याएको छ। Letaido सँग Ahrefs डेटामा स्थानीय पहुँच हुनेछयसले हरेक हप्ता प्रयोगकर्ताहरूको घण्टा बचत गर्न मद्दत गर्ने प्रतिज्ञा...
HomeLatest newsपर्यटन प्रवर्द्धनका लागि रेसुङ्गा क्षेत्रमै बस्यो नगर कार्यपालिका बैठक

पर्यटन प्रवर्द्धनका लागि रेसुङ्गा क्षेत्रमै बस्यो नगर कार्यपालिका बैठक



२७ कात्तिक, गुल्मी । रेसुङ्गा नगरपालिकाको कार्यपालिका बैठक पहिलोपटक रेसुङ्गा क्षेत्रमा बसेको छ । रेसुङ्गा क्षेत्रको विकास, संरक्षण र पर्यटन प्रवर्द्धन तथा प्रचारका लागि बैठक आयोजना गरिएको हो ।

गुल्मी जिल्लाको महत्वपूर्ण धार्मिक एवं पर्यटकीयस्थल रेसुङ्गा क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षण बढाउने उद्देश्यले रेसुङ्गा नगरपालिकाले सञ्चालन गरेको ‘जाऔं, हिँड रेसुङ्गा’ अभियानलाई थप सशक्त रूपमा अघि बढाइरहेको छ । यस अभियानले देशभित्रका साथै विदेशका पर्यटकहरूलाई पनि रेसुङ्गा भ्रमण गर्न प्रेरित गर्दै सकारात्मक सन्देश फैलाएको छ ।

रेसुङ्गा क्षेत्रमा हाल पूर्वाधार विकाससँगै प्राचीन, ऐतिहासिक, धार्मिक, सामाजिक तथा पुरातात्विक महत्वका स्थलहरूको संरक्षण, सम्बर्द्धन र प्रचार–प्रसारका कार्यहरू निरन्तर भइरहेका छन् ।

कार्यपालिका बैठकको अवसरमा क्षेत्रको सरसफाइ, झाडी फाँड्ने, झार गोड्ने लगायतका कार्यमा सहयोग पुर्‍याउने संघ-संस्था र व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीका अनुसार, रेसुङ्गा क्षेत्रको विकास, संरक्षण र पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिँदै बैठक रेसुङ्गामै आयोजना गरिएको बताए । उनका अनुसार, यस अभियानले देश तथा विदेशमा रेसुङ्गा क्षेत्रको पहिचानलाई अझ प्रष्ट पार्दै सकारात्मक सन्देश पुर्‍याउने अपेक्षा गरिएको छ ।

गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष मृगेन्द्र श्रेष्ठले रेसुङ्गा क्षेत्रको विकास र आकर्षण विस्तारमा धेरै समय नलाग्ने विश्वास व्यक्त गरे । उनले नगरपालिकाले अपनाएका विभिन्न गतिविधिहरू प्रभावकारी ढंगले अघि बढिरहेका भन्दै निकट भविष्यमा रेसुङ्गा प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्ने बताए ।

रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले पनि नगरपालिकाले ‘जाऔं, हिंड रेसुङ्गा’ अभियानलाई अझ प्रभावकारी बनाउँदै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा विशेष ध्यान दिइरहेको बताए । उनका अनुसार, कार्यपालिका बैठक रेसुङ्गा क्षेत्रमा आयोजना गर्नु स्वयं क्षेत्रको धार्मिक, ऐतिहासिक र पर्यटकीय महत्वलाई उजागर गर्ने प्रतीकात्मक कदम भएको बताए ।

नगरपालिकाले यस अभियानमार्फत लाखौं पर्यटक रेसुङ्गा भित्र्याउने लक्ष्य लिएको छ । धार्मिक दृष्टिले पनि रेसुङ्गा अत्यन्त महत्वपूर्ण स्थल हो ।

विभिन्न वेद-पुराणका अनुसार, त्रेतायुगमा ऋष्यशृङ्गले यही क्षेत्रमा कठोर तपस्या गरेका थिए । अयोध्याका राजा दशरथलाई सन्तान नहुँदा ऋष्यशृङ्गलाई अयोध्या बोलाई पुत्रेष्टि यज्ञ सम्पन्न गराइएको थियो ।

जसको प्रभाव स्वरूप राम, लक्ष्मण, भरत र शत्रुघ्न जन्मिएको धार्मिक आख्यानमा उल्लेख छ । यही कारणले रेसुङ्गालाई पवित्र तीर्थस्थलको रूपमा मानिन्छ ।

रेसुङ्गाको उच्च भूभागबाट धवलागिरिदेखि मनास्लुसम्मका हिमशृङ्खलाको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ । सदरमुकाम तम्घासबाट करिब ३० मिनेटको यात्रापछि रेसुङ्गा पुग्न सकिन्छ ।

हाल सडक कालोपत्रे भएकाले यातायात सहज भएको छ । रेसुङ्गा नगरपालिकाको यो पहलले धार्मिक, ऐतिहासिक र प्राकृतिक सम्पदाको संरक्षणसँगै पर्यटन प्रवर्द्धनमा नयाँ अध्याय थपेको छ ।





Read More