― Advertisement ―

चीनले भर्खरै अन्तरिक्षबाट ठूलो ट्याङ्कर ट्र्याक गर्‍यो, र अमेरिकी नौसेना स्टिल्थको प्रभाव अचानक धेरै गम्भीर छ

चीनले सफलतापूर्वक ट्र्याकिङ गरेको छ। समुद्री लक्ष्यहरू सार्दै कक्षाबाट निरन्तर निगरानीले तल्लो पृथ्वी उपग्रह नक्षत्रहरूमा निर्भरता कम गर्दछतीन उपग्रहहरूले उच्च-मूल्य नौसेना सम्पत्तिहरूको निरन्तर विश्वव्यापी...
HomeLatest newsनेतृत्वको जाम तोड्ने प्रयासमा एमाले प्रतिनिधि – KhabarHost

नेतृत्वको जाम तोड्ने प्रयासमा एमाले प्रतिनिधि – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेकपा एमालेको महाधिवेशन मंसिर २७, २८ र २९ गते भक्तपुरको खुल्लाचौरमा उद्घाटन भएर काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र हुँदैछ।
  • एमाले महाधिवेशनमा केपी शर्मा ओली मूल नेतृत्वमा रहन खोज्दैछन् भने वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन्।
  • महाधिवेशनमा पुराना र नयाँ अनुहार दुवैलाई नेतृत्व तहमा समावेश गर्ने र ४० वर्ष मुनिका युवालाई कम्तीमा १० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्ने योजना छ।

२२ मंसिर, काठमाडौं । नेकपा एमालेका महाधिवेशन प्रतिनिधिहरू पार्टी नेतृत्व चयनको संघारमा छन् । मूल नेतृत्वमा केपी शर्मा ओली तेहेरिन खोज्दैछन् भने वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन् । दुवै नेताहरू चुनावी रणनीतिमा व्यस्त छन् ।

एमालेको मूल नेतृत्वमा जो आए पनि त्यसपछाडिको नेतृत्वमा नयाँ अनुहारको जबरजस्त प्रवेश हुनुपर्ने एमाले महाधिवेशन प्रतिनिधिहरूको जोड छ ।

प्रतिनिधिहरू पनि बहुपक्षीय छलफलमा छन् । एमाले मुख्यालय च्यासलमा सोमबार पनि धेरै प्रतिनिधिहरू नेतृत्वको बहस गरिरहेका थिए ।

महाधिवेशन प्रतिनिधिहरू मूल नेतृत्वमा कसलाई ल्याउने भन्नेमा मात्रै सीमित थिएनन् । मूल नेतृत्वबाहेक पार्टीको पदाधिकारी, पोलिटब्युरो,स्थायी समिति र केन्द्रीय समितिमा लामो समयदेखि रहेका नेताहरूलाई फेर्ने र नयाँ अनुहार पठाउने वा जाने कसरतमा देखिन्छन् ।

केन्द्रीय सदस्य नबिना लामा नेतृत्व तहमा नेताहरू लामो समय नरहन, समय र समाज अनुसारका व्यक्ति आइरहनु भनेर भगिरथ प्रयासमा रहेको बताउँछिन् ।

उनी प्रश्न गर्छिन्, ‘एउटै व्यक्ति कार्यकारी पदमा कतिपटक दोहोरिइरहने ? चाहे त्यो निर्वाचन क्षेत्रमा होस्, सांसद होस्, केन्द्रीय अध्यक्ष होस्, महासचिव होस् वा जिल्लाको अध्यक्ष नै किन नहोस् ।’

एकै व्यक्ति एकै पद वा जिम्मेवारीमा दुई, तीन वा कति चोटी रहन पाउने हो त्यो निक्र्योल गर्न सक्दा लोकतन्त्रको सही अभ्यास हुन सक्ने उनको मत छ ।

एमालेको महाधिवेशन यही मंसिर २७, २८ र २९ गते हुँदैछ । भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौरमा उद्घाटन भएर काठमाडौंको भृकुटीमण्डपमा हुने बन्दसत्रले नेतृत्व तहमा रहेका नेताहरूको तोड्न सक्छ त ? जवाफमा लामा त्यति उत्साहित सुनिन्नन् ।

‘मलाई लाग्छ लगभग फेरि पनि नेतृत्व तहमा उही अनुहार आउन सक्दछन् । तर, उही अनुहार भएपनि आजको समाजको जोल्दो बल्दो मुद्दालाई सम्बोधन गर्ने, अहिलेको युवाहरुको आवाज, सडकको आवाज र समावेशी आवाजलाई सम्बोधन गर्न सक्ने कुरामा जोड दिनुपर्छ र यो निकै चुनौतीको विषय हो ’ उनले अनलाइनखबरसँग भनिन् ।

तथापि, पुराना र नयाँ अनुहार दुवै पार्टीको नेतृत्व तहका कमिटीहरूमा अटाउने गरी पहलकदमी भइराखेको छ । नेतृ लामा थप्छिन्, ‘मलाई लाग्छ– यो महाधिवेशनले नेतृत्व तहमा पुरानो र नयाँ अनुहारहरू बराबार आउनु पर्छ । यो कुरामा हाम्रो जोड हो ।’

आन्तरिक प्रतिस्पर्धा खुला

नविना लामा जस्तै सुनिन्छन्– एमालेको सुदुरपश्चिम प्रदेश कमिटी सदस्य तिर्थराज भट्टराई पनि । उनका अनुसार नयाँ तरिकाले सबै उमेर समूहका प्रतिनिधिहरु, सबै उमेर समूहका नेताहरुले केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्न पाउने सुनिश्चितता पार्टीले गर्न लागेको छ ।

‘महाधिवेशन प्रतिनिधि चयन हुँदैदेखि नै युवा कलस्टर राखिएको छ । ४० वर्ष मुनिको युवा कलस्टर अन्तर्गत म आफू स्वयं कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधित्व गर्दै छु’ नेता भट्टराई अनलाइनखबरसँग भन्छन्, ‘केन्द्रीय कमिटीमा सम्भवत १० प्रतिशत ४० वर्ष तलको युवाहरुलाई सुनिश्चित गर्ने योजनाबारे छलफल भइरहेको छ ।’

बहालवाला केन्द्रीय समितिमा समेत युवा नेताहरू छन् । महेश बर्तौला, सुनिता बराल लगायतका नेताहरू केन्द्रीय समितिमा रहेको नेताहरू नै देखाउँछन् ।

अब फेरि पनि केन्द्रीय समितिमा ४० वर्ष मुनिका युवाहरू समेट्दा मात्रै पुग्छ कि त्यसभन्दा माथिल्लो तहका संरचनामा समेत युवाको प्रतिनिधित्व हुनुपर्दछ ?

जवाफमा कोशी प्रदेश कमिटीको सदस्य बिमला दाहाल घिमिरे सबै कमिटीमा युवा र नयाँ अनुहार सहितको समावेशिता हुनुपर्ने पार्टीको मूल्य र मान्यता रहेको बताउँछिन् । ‘हाम्रो पार्टीको नम्र्स नै हो– समावेशी प्रतिनिधित्व, महिला, दलित, पिछडा वर्ग सबैको सहभागिता हरेक इकाइमा गर्नुपर्छ । यसअनुसार पार्टीको केन्द्रीय संरचनामा पनि निर्णय हुन्छ’ घिमिरेको विश्वास छ ।

तथापी, आन्तरिक प्रतिस्पर्धालाई सबैले स्वीकार गर्नुपर्ने उनको आग्रह छ ।

‘पार्टी भित्रको सौन्दर्यता चाहिँ के हो भने आन्तरिक प्रतिस्पर्धामा जो उत्कृष्ट हुन्छ त्यो आउँछ नै’ उनी थप्छिन्, ‘तर विभिन्न सेक्टरहरु छुट्याएको छ । समावेशीको छुट्टै छ, दलितको, महिलाको छुट्टै छ । त्यहाँ भित्र पनि त आन्तरिक प्रतिस्पर्धा त हुन्छ नै । फेरि पनि प्रतिस्पर्धामा को उत्कृष्ट हुन्छ त्यो नै नेता हुन्छ ।’

यसरी एकातिर नेताहरू प्रतिस्पर्धामा जोड दिइरहेका छन् भने अर्कोतिर सहमतिको प्रयास गर्नेहरू पनि छन् । सहमतिको प्रयास गर्ने नेताहरू केपी ओलीलाई मूल नेतृत्व स्वीकार गरेर बाँकीमा छलफलको प्रस्ताव राखिरहेका छन् ।

अध्यक्षमा ओली, बाँकीमा सहमति !

एमालेको महाधिवेशन जेनजी आन्दोलनपछि हुन लागेको छ । यसकारण जेनजी पुस्ताको भावना र मर्मलाई एमाले महाधिवेशनले कसरी लिएको छ भन्ने चासोपूर्वक हेरिएको छ ।

एमाले नेताहरू पनि जेनजी आन्दोलनको मागप्रति सहमत छन् । भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापनामा एमाले सँधै प्रतिबद्ध रहेको र यसकै लागि राजनीतिमा रहेको बताउँछन् ।

तर, एमालेको नेतृत्व कस्तो आउने, कस्तो नेतालाई एमालेका कार्यकर्ताले नेता बनाउने भन्ने विषय पार्टीको आन्तरिक जीवनको विषय भएकाले बाह्य हस्तक्षेप स्वीकार्य नरहेको जवाफ फर्काउँछन् । जेनजी आन्दोलनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नरुचाएको भन्न पनि चाहँदैनन् ।

जेनजीले एमालेको मूल नेतृत्व रुचाएनन् भन्ने विषय ठाडै अस्वीकार गर्छन् एमाले बागमती प्रदेश कमिटी सदस्य रामहरी बजगाईं ।

‘जेनजीको आन्दोलनमा एमालेको पनि महत्वपूर्ण समर्थन हो, जेनजीको मागप्रति एमालेले कहिले वेवास्ता गरेको छैन’ बजगाईं भन्छन्, ‘जेनजीले भने जस्तै भ्रष्टाचारको सन्दर्भमा, सुशासनको सन्दर्भमा एमालेले पहिलेदेखि नै आवाज उठाउँदै आएको छ ।’

जेनजी आन्दोलनकै कारण एमाले अध्यक्ष केपी शर्मा ओली सत्ताच्युत हुन पुगे । २३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो ।

त्यसक्रममा ओली प्रधानमन्त्रीबाट राजीनामा दिन बाध्य भएका थिए । प्रतिनिधिसभाबाटै अर्को सरकार बन्न सकेन । त्यसपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ ।

यो पृष्ठभूमिमा हुन लागेको एमाले महाधिवेशनमा एकाथरी महाधिवेशन प्रतिनिधिहरू फेरि पनि ओलीलाई नै नेतृत्वमा तेहेर्‍याउन खोज्दैछन् । यस्तो प्रयासमा रहेकाहरूको तर्क छ– ‘जेनजी आन्दोलनमा घुसपैठ भयो र लोकतन्त्र/गणतन्त्र माथि क्षति पुर्‍याउने प्रयास भयो । यस अन्तर्गत ओली प्रधानमन्त्रीबाट हट्नु परेको हो ।’

फेरि पनि ओलीलाई नै मूल नेतृत्वमा स्थापित गर्ने र बरु त्यसभन्दा तलका पदाधिकारी, अन्य संरचना र केन्द्रीय कमिटीमा नयाँ अनुहार पुर्‍याउने प्रयासमा ओली पक्षधर नेताहरू छन् । यस्तोमा पुराना नेताहरू आफैँ रहिरहन खोजिरहेका छन् । नयाँ नेताहरू थप जिम्मेवारी लिन खोज्दैछन् ।

एमालेले विगतमा ७० वर्षको उमेरहद र अध्यक्षमा दुई कार्यकालको प्रावधान लागू गरेको थियो । तर, ओलीलाई अध्यक्षमा तेस्रोपटक ल्याउन समस्या भएपछि यसअघि २२ भदौमा सम्पन्न एमालेको विधान महाधिवेशनले ७० वर्षे उमेरहद र दुई कार्यकालको प्रावधान हटाइसकेको छ ।

नयाँ र पुराना पनि भिड्दै

ओलीले आफू अनुकूल विधान बनाउन खोज्दा साथ दिनेहरू ओलीकै टिममा रहेर ११औं महाधिवेशनपछि पनि नेतृत्वको परिपरि रहिरहने प्रयासमा छन् । तर, ओली पक्षधरकै युवा नेताहरू ओलीलाई मूल नेतृत्व स्वीकार्ने तर पदाधिकारी लगायतका टिममा नयाँ अनुहार आउनुपर्ने अडानमा छन् ।

नयाँ र पुराना नेताहरूको यस्तो रस्साकस्सीलाई उनीहरू स्वयं स्वाभाविक पनि मान्दछन् ।

एमालेका पोलिटब्यूरो सदस्य लिलाबहादुर थापा मगर भन्छन्, ‘नेतृत्वका कुराहरु, नेतृत्व परिवर्तनका कुराहरु पुनर्संरक्षित भएर जानुपर्छ । अर्थात्, हामी सहमतिमा जानुपर्छ भन्ने मेरो भनाइ छ ।’

सहमतिमा जान सके सबैले जित्ने र सबै उमेर समूहको प्रतिनिधित्व सबै निकायमा सुनिश्चित गर्न सकिने उनको विश्वास छ ।

‘नेतृत्व तहमा सबै प्रकारका युवाहरू आउनु पर्‍यो, अनुभवी आउनु पर्‍यो, समावेशी प्रकारको नेतृत्व र काम गर्ने प्रकारको नेता आउनुपर्‍यो’ महाधिवेशन प्रतिनिधि मगर भन्छन्, ‘विचारमा, दर्शनमा, राजनीतिमा, संगठनमा नेतृत्वको सही विकास हुन जरुरी छ । यसकारणले अहिले सहमतिमा जानुपर्छ ।’

सहमतिमा जाँदा पुराना र नयाँ नेताहरू तथा गुटगत अभ्यास गर्न खोज्नेहरू सबैलाई समेट्न सकिने उनको विश्वास छ । उनी भन्छन्, ‘पार्टीमा लोकतान्त्रिक विधि पनि बाच्नुपर्छ, गम्भीर बहस, छलफल हुनुपर्छ । नयाँ नेतृत्वलाई कसरी विकास गर्न सकिन्छ भनेर अन्तक्र्रिया आवश्यक छ । पुरानाहरुलाई कसरी संरक्षण गर्न सकिन्छ ? यो मिश्रण बनाएर जानुपर्छ । किनभने हामी सबैको एउटै लक्ष्य हो–मुलुकलाई समृद्धि गर्ने ।’

अर्थात्, पार्टीलाई एक बनाएर जानुपर्नेमा पोलिटब्यूरो सदस्य मगरको जोड छ । अन्यथा, पार्टीमा विभाजन आउन सक्ने र त्यो मुलुककै दीर्घकालीन हितमा नहुने उनको चिन्ता छ ।

उनी भन्छन्, ‘एमालेविरुद्ध चौतर्फी घेराबन्दी छ । यस्तो बेला एमाले टुट्न हुँदैन, फुट्न हुँदैन, विकृत भएर जान हुँदैन । एक ढिक्का भएर जान भयंकर कसरत भइरहेको छ ।’

तस्वीर/भिडियो : शंकर गिरी/अनलाइनखबर 





Read More