― Advertisement ―

हामी आधिकारिक रूपमा अप्रिल 16 मा DJI Pocket 4 प्राप्त गर्दैछौं, तर यहाँ कसरी Insta360 ले यसलाई हराउन सक्छ।

O4 अप्रिल DJmockI मा अपेक्षा गर्नुहोस् 16भ्लगिङ क्यामेरा लामो समयदेखि चर्चामा छInsta360 ले Luna पनि चाँडै लन्च गर्दैछ DJI Osmo Pocket 4 अहिले लामो...
HomeLatest newsराकेशको सपनामा दागिएको त्यो एक गोली – KhabarHost

राकेशको सपनामा दागिएको त्यो एक गोली – KhabarHost



१ मंसिर, काठमाडौं । सबै ठिकठाक हुँदो हो त राकेश महतो यतिबेला लोकसेवा आयोगको परीक्षामा भिडिरहेका हुन्थे । या लोकसेवा पास गरेर सरकारी जागिर सुरु गर्थे । अनि, अभाव र गरिबीले थिचिएको परिवारलाई खुसी बाँडिरहेका हुन्थे ।

तर, नियतिले त्यसो हुन दिएन ।

२३ भदौको जेनजी आन्दोलनका क्रममा राकेशको कम्मरमा गोली लाग्यो । त्यो एक गोली, जसले उनको सुनौलो भविष्य भताभुङ बनाइदियो । र, रुमानी सपना चकनाचुर बनाइदियो ।

यतिबेला राकेश लम्पसार छन्, अस्पतालको शय्यामा । उनको कम्मर मुनिको भाग चल्दैन । दुःखजिलो गरेर पढ्ने, जागिर खाने अनि परिवारलाई सुख दिने लक्ष्य थाती नै रहे । अब त्यो लक्ष्य पूरा हुन्छ वा हुँदैन ? यसको कुनै जवाफ छैन ।

सर्लाहीका राकेश गरिब परिवारमा जन्मिए । दुःख र अभाव झेल्दै हुर्किए । भोकसँग जुध्दै स्कुल गए । यी सबै सहनुको एउटै कारण थियो, ‘कुनै दिन ठूलो हुनेछु, जागिर खानेछु, आमाबुबाको दुःख सधैका लागि हटाउनेछु । तर आज उनी स्वयं दुःखको भुमरीमा छन् ।

राकेश सरकारी सेवामा जान चाहन्थे । त्यसैका लागि ६ वर्षअघि उच्चशिक्षाका लागि बिरानो शहर काठमाडौं आए । बीबीएसमा अध्ययनरत राकेश दुई वर्षदेखि निरन्तर लोकसेवाको तयारीमा जुटेका थिए । लगनशिलताको फल पनि देखिन थालेको थियो । पहिलो पेपरमा तीन पटक नाम निस्किसकेको थियो ।

‘यसपालि त जसरी पनि निकाल्छु भनेर सोचेको थिएँ । तर भाग्यले अर्कै खेल खेल्यो,’ यति भन्दै गर्दा राकेशका आँखा रसाए ।

त्यो कालो दिन

त्यो दिन सामाजिक सञ्जाल बन्द थियो । देशमा व्याप्त भ्रष्टाचारको अन्त्य र सुशासनको माग गर्दै युवाहरू सडकमा ओर्लिएका थिए । गरिब र निमुखाका लागि शिक्षा र स्वास्थ्यको हालत दयनीय थियो । परिवर्तनको आकांक्षा लिएर हजारौं युवा माइतीघर परिसरमा जम्मा भएका थिए ।

राकेश पनि सुन्दर नेपालको सपना बोक्दै माइतीघरको भिडमा मिसिएका थिए । दिउँसो बानेश्वर चोकमा शान्तिपूर्ण आन्दोलन चलिरहेको थियो । राकेश संसद् भवनको मुख्य गेटभन्दा थोरै अगाडि उभिएका थिए ।

तर, अचानक गोली चल्न थाल्यो । चारैतिर भागदौड मच्चियो । राकेश पनि डरले थुकुच्कै बसे । त्यही बखत कम्मरमा चर्को पीडा भयो । यसो हेर्दा कम्मरबाट रगत बगिरहेको थियो ।

साथीहरूले घाइते राकेशलाई हतारहतार ट्रमा सेन्टर पुर्‍याए । दुई दिनसम्म होस आएन । जीवन र मृत्युबीच लडिरहेका राकेशको शल्यक्रिया भयो । डाक्टरले मेरुदण्डमा रहेको गोली निकाले ।

आईसीयूमा २५ दिन राखेर उपचार भयो ।

तर, डाक्टरले एक महिनापछि परिवारलाई भने, ‘बचाउन त सफल भइयो । तर उहाँको दुवै खुट्टा जीवनभर चल्दैन ।’

यो सुन्नासाथ राकेशका दाजु छाँगाबाट खसेझैं भए । आमा रुँदै भुइँमा ढलिन् । बुवाको आँखाबाट आँसु बगे । पूरै परिवार पीडामा डुब्यो ।

डाक्टरले थोरै आशा दिलाए, ‘थेरापी गराउनुभयो भने केही सुधार हुनसक्छ । तर लामो हिँडाइका लागि ह्विलचेयरकै आवश्यकता पर्छ ।’

नयाँ जीवनसँग जुध्दै

एक महिना अघिदेखि राकेश स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्र (बनेपा) मा उपचार गराइरहेका छन् । बेडमा सुतिरहन्छन्, यताउता हिँड्न ह्विलचेयरको सहारा चाहिन्छ । खुट्टा र कम्मरमा निरन्तर पीडा भइरहन्छ । कम्मरमुनिको भाग पूर्ण रूपमा अचल छ ।

पढाइ अधुरै छ । लोकसेवाको तयारी रोकिएको छ । विवाह भएको छैन । आर्थिक समस्या दिनदिनै बढ्दै गएको छ । उपचार खर्च धान्न गाह्रो भइसकेको छ ।

तर, राकेशको हौसला अझै जीवित छ । उनी हारेका छैनन् ।

‘खुट्टा नचले पनि हात र दिमाग त चलिरहेछ नि !,’ उनी भन्छन्, ‘अझै पनि केही गर्न सक्छु भन्ने आँट छ ।’

त्यस दिनको घटना सम्झँदा राकेशको मन भारी हुन्छ । अहिलेसम्म मानसिक आघातबाट बाहिर निस्कन सकेका छैनन् । कहिलेकाहीं एक्लै रुन्छन् ।

‘यति धेरै साथीहरूको ज्यान गयो, हजारौं घाइते भए,’ उनी भावुक सुनिन्छन्, ‘आफ्नै आँखाले हेरेको त्यो घटना जीवनभर बिर्सन सक्दिनँ ।’

अहिले राकेश आफ्नो नयाँ जीवनसँग जुध्न थालेका छन् । उनको अदम्य हिम्मतले साथ दिइरहेको छ ।

‘भाग्यले साथ दियो र त बाँचे नि ! अब पढाइलाई नै निरन्तरता दिन्छु । सरकारी जागिरमा नाम निकालेर छोड्छ,’ राकेश थोरै मुस्कुराउँछन् ।

सरकारप्रति निराशा

जेनजीको सरकार बनेको छ । तर राकेशको स्वरमा गहिरो निराशा छ । प्रदेश खारेजी, भ्रष्टाचारलाई कारबाही, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री– यी मागहरू अझै अधुरै भएको उनी बताउँछन् ।

डेढ महिना भइसक्यो सरकार बनेको । तर परिवर्तन कतै नदेखिएको उनले महसुस गरेका छन् ।

‘हामीले आन्दोलन परिवर्तनका लागि गरेको हो,’ राकेश भन्छन्, ‘मलाई त कहिलेकाहीँ सरकार बनाउँदा गल्ती भएछ जस्तो लाग्छ । यतिकाले बलिदान दिए, हजारौं घाइते भए । केको लागि ?,’ उनी प्रश्न गर्छन् ।

राकेश बनेपा बसेको एक महिना हुन लाग्यो । अहिलेसम्म सरकारका कुनै मन्त्री आएनन्, सम्बन्धित साधारण अधिकारी पनि आएनन् । कसैले खोजी गरेका छैनन् । तिमीलाई कस्तो छ ? कसरी खर्च चलाइरहेका छौ ?, कसैले सोधिखोजी गरेका छैनन् ।

राकेश जीवनभरको अपाङ्ग भएका छन् । तर सरकारले अहिलेसम्म घाइतेको वर्गीकरण नगरेकोमा उनी दुखेसो पोख्छन् । उनका अनुसार दीर्घकालीन रूपमा अशक्त हुनेहरूको छुट्टै व्यवस्था हुनुपर्थ्यो ।

राकेशको पढाइ अधुरै छ । लोकसेवाको तयारी रोकिएको छ । आर्थिक समस्या दिनदिनै बढ्दै गएको छ । उपचार खर्च धान्न गाह्रो भइसकेको छ ।

‘म जीवनभर अपाङ्ग भएँ । सरकारले केही राहत दिनुपर्छ । तर त्यो आश्वासन पाइएको छैन,’ उनी भन्छन् ।

पीडा र निराशाका बीचमा पनि राकेशको आँखामा अझै सपना छन् । शरीरले साथ नदिए पनि मनले हार मानेको छैन । ह्विलचेयरमा बसेर पनि केही गर्न सकिन्छ भन्ने विश्वास उनीसँग छ ।

‘म हार मान्दिनँ । परिस्थिति जस्तोसुकै भए पनि अगाडि बढ्नेछु । मेरो सपना अझै अधुरो छ,’ उनी दृढताका साथ भन्छन् ।

आन्दोलनमा घाइते भएका हजारौं युवाहरू अझै पनि फ्लोअपका लागि अस्पताल गइरहनुपर्छ । कतिपयलाई पुनर्स्थापनाकै आवश्यकता छ । तर त्यसका लागि सरकारको नजर नपुगेको उनी बताउँछन् ।

दाजु राजेशसँग राकेश ।

‘भाइ जीवनभरको अपाङ्ग भयो, राज्यले रोजगारीको व्यवस्था गर्नुपर्छ’

दाइ राजेशले राकेशको हेरचाह गरिरहेका छन् । तीन महिना बितिसक्दा पनि केही सुधार भएको छैन ।

राजेशलाई अब चिन्ता छ– यस्तै हो भने जीवन कटाउन मुस्किल पर्नेछ ।

अस्पतालमा रहँदासम्म केही सहयोग र सरकारको उपचार खर्च हेरको छ । तर, भोलिका दिनमा ? उनी नाजवाफ छन् ।

राजेश एक्लैको कमाइले घरको गुजारा चल्थ्यो । उनी काठमाडौंमा रहँदा घरमा भएका बुढा बाआमा र कलिला सन्तानको मायाले रातभर निदाउन सक्दैनन् ।

‘तीन महिनादेखि भाइको रेखदेखमा छु । बुढा भएका आमा–बुवाले के खानुभएको होला,’ राजेश भावुक हुँदै भन्छन्, ‘ भाइको हालत यस्तो छ । कोही सोच्न सकेको छैन ।’

राजेशले कक्षा ८ मा हुँदै पढाइ छाडे । घरको आर्थिक अवस्था कमजोर हुँदा कमाउन भारत गए ।

‘सबै दाजुभाइ यस्तै नहोउन् भनेर भाइ (राकेश)लाई पढाएँ,’ उनी भक्कानिए, ‘तर भाइ जीवनभरको अपाङ्ग भयो ।’

सरकारलाई राजेशको प्रश्न छ, ‘सरकारकै गोलीले भाइको यो हालत भयो । उसको जिन्दगीभरको खर्च र सम्मान कसले बेहोर्छ ? सरकारले केही व्यवस्था गर्छ कि गर्दैन ?’

घरको अवस्था दयनीय छ । बर्खामा घरको छानो चुहिन्छ । दाजुभाइले नै कमाउन थालेपछि घर बनाउने सोच थियो । राजेशले लामो सुस्केरा हाले, ‘बुढा बा–आमा, श्रीमती–छोराछोरी सबै मलाई हेरेर बसेका छन् । एक्लै यहाँ भाइलाई कुरेर बसेको छु ।’

चिकित्सक भन्छन्– जीवनभर नै ह्विलचेयरको सहारा चाहिन्छचिकित्सकका अनुसार गोलीले राकेशको मेरुदण्ड (एलथ्री) पूर्ण रूपमा भाँचिएको र त्यस भित्रको स्पाइनल कर्ड (सुसुम्ना नसा) मा करिब ९० प्रतिशत क्षति पुगेको छ । नसामा क्षति भएकोले कम्मरमुनिको भाग र दुवै खुट्टा अचल भएको छ ।

स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्रका मेडिकल डाइरेक्टर डा. राजु ढकालका अनुसार राकेशको खुट्टामा स्पर्श अनुभूति न्यून छ ।  दिसा–पिसाबमा पूर्ण नियन्त्रण छैन भने कम्मरमुनिको भागमा सधैं करेन्ट लागेजस्तो झमझमाउने र दुख्ने समस्या छ ।

‘स्पाइनल कर्डमा धेरै क्षति भएको छ । उनी पहिलेको जस्तो सामान्य अवस्थामा फर्किँदैनन्,’ डा. ढकाल भन्छन्, ‘जीवनभर ह्विलचेयरको सहारामा नै जीवन चलाउनुपर्ने हुन्छ ।’

डा. राजु ढकाल ।

तर, राकेशलाई केन्द्रले पूर्ण रूपमा आत्मनिर्भर बनाउन तालिम दिने काम गरिरहेको छ ।

छालाको हेरचाह गर्ने, ह्विलचेयर चलाउने, लुगा लगाउने–फेर्ने, खाना पकाउने–खाने जस्ता दैनिक कामहरू, मांसपेसी बलियो बनाउने व्यायाम र मनोवैज्ञानिक तथा भावनात्मक परामर्श दिने काम भइरहेको छ ।

‘शारीरिक आघातमा छन् । तर मानसिक आघात नहोस् भनेर आत्मविश्वासी बनाएर पठाउन चाहन्छौँ,’ डा. ढकालले भने, ‘ह्विलचेयरमै बसेर पढ्न, काम गर्न र सामान्य जीवन जिउनका लागि आत्मबल दिने काम गरिरहेका छौं ।’

केन्द्रले राकेशको सम्पूर्ण उपचार र पुनर्स्थापना निःशुल्क गरिरहेको छ । डा. ढकालका अनुसार राकेशलाई अझै डेढ–दुई महिना राखेर आत्मनिर्भर बनाएर मात्र घर पठाउने योजना छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More