― Advertisement ―

एआई सिल्वर बुलेटको पीछा गर्न रोक्नुहोस्

बोर्डरूमहरूमा, AI अझै पनि एक चाँदीको बुलेटको रूपमा फ्रेम गरिएको छ जसले लागत घटाउनेछ र प्रतिस्पर्धात्मक फाइदाहरू रातारात परिभाषित गर्नेछ।यद्यपि यो धेरै पहिलेको कुराकानीको...
HomeLatest newsनेपाललाई ‘युक्रेन’ बनाउन खोजिएको झलनाथ खनालको आशंका, राष्ट्रिय एकताको आह्वान

नेपाललाई ‘युक्रेन’ बनाउन खोजिएको झलनाथ खनालको आशंका, राष्ट्रिय एकताको आह्वान



१७ पुस, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी नेता झलनाथ खनालले नेपाललाई ‘युक्रेन’ बनाउने योजनाबद्ध प्रयास भइरहेको आशंका गर्दै समस्त कम्युनिष्ट, वामपन्थी, प्रगतिशील, देशभक्त र लोकतन्त्रप्रेमी शक्तिहरूबीच राष्ट्रिय एकता निर्माणको आह्वान गरेका छन् ।

अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा जारी शुभकामना सन्देशमा खनालले अन्तर्राष्ट्रिय साम्राज्यवादी शक्तिहरू र देशभित्रका उनीहरूका दलालहरू नेपाललाई अस्थिरता, हिंसा र विध्वंसतर्फ धकेल्न सक्रिय रहेको आरोप लगाएका हुन् । विदेशी पैसा र प्रलोभनका आधारमा सबै राजनीतिक दल र नेताविरुद्ध दुष्प्रचार गर्दै नेपाली समाजलाई परिवर्तनको मार्गबाट विचलित गराउने प्रयास भइरहेको उनको भनाइ छ ।

शुभकामना सन्देशमा खनालले लेखेका छन्, ‘अन्तर्राष्ट्रिय साम्राज्यवादी शक्तिहरू र देश भित्रका उनीहरूका दलालहरू नेपाललाई “युक्रेन” बनाउन योजनाबद्ध ढंगले लागेका छन् । उनीहरू नेपाली जनतालाई सबै नेताका विरुद्ध, नेपाली समाजलाई परिवर्तन गर्दै आइरहेका पार्टीहरूको विरुद्ध, देशका विरुद्ध र समाजवादका विरुद्ध विदेशी पैसा र प्रलोभनका आधारमा दुष्प्रचार गरिरहेका छन् र मुलुकलाई हिंसा र विध्वंसतिर लान खोज्दैछन् ।’

उनले विश्व शक्ति सन्तुलनमा तीव्र परिवर्तन भइरहेको उल्लेख गर्दै पश्चिमी शक्तिको प्रभुत्वमा रहेको पुरानो विश्व व्यवस्था विघटन हुँदै गएको र न्याय तथा समानतामा आधारित नयाँ विश्व व्यवस्था क्रमश: निर्माण भइरहेको दाबी गरेका छन् । यही विश्व ऐतिहासिक प्रक्रियाको असर नेपालमा पनि परेको भन्दै देश गहिरो सामाजिक–आर्थिक संकटबाट गुज्रिरहेको खनालको भनाइ छ ।

शुभकामना सन्देशमा खनालले देशमा दीर्घकालीन दिशाहीनता, अविकास, कुशासन, भ्रष्टाचार, बेरोजगारी र युवाको पलायनका कारण संकट चुलिँदै गएको उल्लेख गरेका छन् । गत भदौ २४ गते ‘जेन्जी आन्दोलन’को नाममा भएको तोडफोड, आगजनी र लुटपाटले मुलुकलाई थप महासंकटतर्फ धकेलेको उनले बताएका छन् ।

वर्तमान राजनीतिक अवस्थाबारे टिप्पणी गर्दै खनालले संविधान मिचेर भए पनि नयाँ सरकार बनेको र प्रतिनिधिसभा निर्वाचनको घोषणा भएको बताए । निर्वाचन अपरिहार्य भए पनि शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित निर्वाचनका लागि आवश्यक पूर्वाधार अझै तयार नभएको उनको ठम्याइ छ ।

उनले निर्वाचनसँगै संविधान परिमार्जन, सामाजिक–आर्थिक संरचनामा रूपान्तरण, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार, राष्ट्रियता सुदृढीकरण, परराष्ट्र नीति सन्तुलन, सुशासन स्थापना, भ्रष्टाचार नियन्त्रण र युवाका लागि रोजगारी सिर्जना जस्ता मुद्दा एकैसाथ समाधान गर्नुपर्नेमा जोड दिए ।

यी कार्यभार पूरा गर्न व्यापक राष्ट्रिय एकता आवश्यक रहेको भन्दै खनालले १७ वटा वाम समूहलाई एकताबद्ध गरेर नयाँ नेपाली कम्युनिष्ट पार्टी निर्माण गरिएको जानकारी पनि दिए । चार आधारभूत सिद्धान्तका आधारमा सबै वाम र कम्युनिष्ट शक्तिलाई कार्यगत एकता वा वाममोर्चामा आबद्ध गराउने लक्ष्य लिइएको उनको भनाइ छ ।

नयाँ वर्ष २०२६ लाई एकता, परिवर्तन, सुदृढीकरण र रूपान्तरणको वर्ष बनाउन सबै देशभक्त र लोकतान्त्रिक शक्तिहरू एकजुट हुनुपर्ने खनालको आह्वान छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More