― Advertisement ―

HomeLatest newsकाठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस मापन, ललितपुरमा २.८

काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस मापन, ललितपुरमा २.८



२२ पुस, काठमाडौं । काठमाडौंको न्यूनतम तापक्रम यस वर्षको हालसम्मकै कम मापन भएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान ८:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ३.० डिग्री सेल्सियस मापन भएको हो ।

महाशाखाका मौसमविदहरुका अनुसार यो काठमाडौंमा यस वर्षको हालसम्मकै सबैभन्दा कम तापक्रम हो । काठमाडौंमा आज बिहान ५:४५ बजेको न्युनतम तापक्रम ३.४ डिग्री सेल्सियस थियो ।

काठमाडौंको तुलनामा ललितपुरको सानेपा क्षेत्रको न्यूनतम तापक्रम झन् कम छ । मौसमविद उज्ज्वल उपाध्यायका अनुसार आज बिहान सानेपा क्षेत्रको न्यूनतम तापक्रम २.८ डिग्री सेल्सियस मापन भएको छ । यो अघिल्लो दिनको तुलनामा ०.५ डिग्री सेल्सियसले कम हो ।

काठमाडौं उपत्यकामा अहिले भने घाम लागेकाले केही न्यानो महसुस भएको छ । तर मौसमविदहरुका अनुसार केही दिनयता काठमाडौं उपत्यकामा न्यूनतम तापक्रम लगातार घट्दो क्रममा छ र जाडो बढ्दो छ ।

शनिबार काठमाडौंको न्यूनतम तापक्रम ४.७ डिग्री सेल्सियस थियो । आइतबार ४ र सोमबार ३.५ डिग्री सेल्सियस मापन भएको थियो । नेपालमा न्यूनतम तापक्रमको आधिकारिक तथ्यांक हरेक दिन बिहान पौने ९ बजे मापन गरेर सार्वजनिक गरिन्छ ।

मौसमविद डेभिड ढकालका अनुसार काठमाडौं उपत्यकामा आज यस वर्षको हालसम्मकै कम न्यूनतम तापक्रम मापन भए पनि यो सरदर भन्दा भने केही बढी नै हो । उनका अनुसार काठमाडौंमा जनवरी ६ तारिक अर्थात आजको सरदर न्यूनतम तापक्रम २.२ डिग्री सेल्सियस हो ।

न्यूनतम तापक्रममा केही दिनयता लगातार डिरावट आए पनि अधिकतम तापक्रममा भने खासै ठूलो उतारचढाव नआएको मौसमविद ढकालले बताए । तराई/मधेशका जिल्लामा हिजो घाम लागेका कारण अधिकतम तापक्रममा सामान्य वृद्धि देखिएको थियो । तराईका जिल्लाहरूमा बिहानीपख हुस्सु लाग्ने र मध्याह्नपछि खुल्दै जाने गरेको छ । तराई/मधेशमा हुस्सु केही दिन अवस्था यस्तै रहने सम्भावना रहेको मौसमविद ढकालले बताए ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More