― Advertisement ―

हामी आधिकारिक रूपमा अप्रिल 16 मा DJI Pocket 4 प्राप्त गर्दैछौं, तर यहाँ कसरी Insta360 ले यसलाई हराउन सक्छ।

O4 अप्रिल DJmockI मा अपेक्षा गर्नुहोस् 16भ्लगिङ क्यामेरा लामो समयदेखि चर्चामा छInsta360 ले Luna पनि चाँडै लन्च गर्दैछ DJI Osmo Pocket 4 अहिले लामो...
HomeLatest news‘कांग्रेसले विश्वासको मत नदिए अर्कै वातावरण बन्छ’

‘कांग्रेसले विश्वासको मत नदिए अर्कै वातावरण बन्छ’


राष्ट्रिय

समाचार.

  • नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवले संविधानको धारा १६८ को ३ बमोजिम मुख्यमन्त्री नियुक्त भएर सोमबार बिहान शपथ लिएका छन्।
  • प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट शपथ लिएका यादवले तीन विना विभागीय मन्त्री समेत नियुक्त गरिसकेका छन्।
  • सात दलले सर्वोच्च अदालतमा सरकार गठनविरुद्ध रिट दायर गरेका छन् भने प्रदेश प्रमुख सुवेदी भण्डारी पदमुक्त भइसकेकी छन्।

नेकपा एमाले संसदीय दलको नेता सरोजकुमार यादवले संविधानको धारा १६८ को ३ बमोजिम मुख्यमन्त्री नियुक्त भएर सोमबार बिहान शपथ समेत लिइसकेका छन् । सोमबार बर्दिबासको पानस होटलमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट शपथ लिएका उनले तीन विना विभागीय मन्त्री समेत नियुक्त गरिसकेका छन्।

प्रदेश प्रमुखको यो निर्णयबाट नेपाली कांग्रेस सहितका सातदल क्रुद्ध छन् । मधेशभवनमा आन्दोलन, तोडफोडदेखि कर्मचारीलाई कुटपिट घटनासमेत भइसकेका छन् । मधेश भवन अशान्त छ । सात दलले बुधबार सर्वोच्च अदालतमा सरकार गठनविरुद्ध रिट समेत दायर गरेको छ भने प्रदेशप्रमुख सुवेदी भण्डारी पदमुक्त पनि भइसकेकी छन् ।

यादव सर्वोच्चले आफ्नो नियुक्त सदर गरे कांग्रेस आफूलाई विश्वासको मत दिन बाध्य हुने बताउँछन् । उनले भने, ‘विश्वासको मत नदिए अर्कै वातावरण बन्छ । मेरो नियुक्ति र विश्वासको मत दुवै बाध्यात्मक हुन् ।’

यिनै पछिल्ला घटनाक्रम बारे मधेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवसँग अनलाइनखबरकर्मी शैलेन्द्र महतोले गरेको कुराकानीको अंशः

संविधानको धारा १६८ को २ बमोजिम नयाँ सरकार गठनको सम्भावना छँदैथियो । ठूलो दलको हैसियतमा मुख्यमन्त्री बन्न किन हतार गर्नु भयो ?

नेपाली कांग्रेसले विश्वासको मत दिएको भए सरकार किन ढल्थ्यो ? माओवादी केन्द्रका दुई सांसदले विश्वासको मत दिनुभएन । जनमतले १३ मत छ भनेर दाबी गरे ११ मात्र दिन सक्ने अवस्था आयो । जनमत र माओवादीको अन्तरद्वन्द र आन्तरिक असन्तुष्टिको कारण सरकार ढलेको हो । त्यसपछि न यो वातावरण सृजना भयो ।

ठूलो दल पनि एमाले, प्रदेश प्रमुख पनि एमालेकै कोटामा नियुक्त र सभामुख एमालेबाटै बनेको अवस्थामा फाइदा उठाउन खोज्नु भयो भन्ने आरोप छ नि ? 

दलीय अन्धभक्त केही व्यक्तिहरूको आरोप छ । यही कारण न कानुन बुझ्ने न संविधान, तिनीहरूको आरोप हो । तिनीहरूको लागि यो संयोग मात्र हो । जसपा नेतृत्वको सरकार बनाउँदा हाम्रो समझदारी थियो । त्यसबेला सभामुख एमालेको भागमा, उपसभामुख जनमतको भागमा गयो ।

त्यतिबेला एमालेले सरकारको नेतृत्व गर्दा त सभामुख जसपाको हुनुहुन्थ्यो । त्यो संयोग होइन र ? सरकार त भागबन्डामा न चलेको हो विगतबाट । पहिला प्रदेश प्रमुख अर्को हुनुहुन्थ्यो, सुमित्रा सुवेदी प्रदेश प्रमुख हुनुहुन्थेन नि !

उसो भए यो घटना संयोग मात्र हो भन्न खोज्नु भएको हो ?

हो । यो घटना संयोगसँग जोडिन्छ । यो भवितव्य मात्र हो । त्यसरी सबैलाई एउटै डालोमा राखेर हेर्नु ठीक होइन ।

मुख्यमन्त्रीको शपथ होटलमा लिनु कति उचित हो ?

तपाई जितेन्द्र सोनलको पक्षबाट बोल्दै हुनुहुन्छ । जितेन्द्र सोनललाई सोध्नु भयो, राति किन नियुक्ति लिनुभयो भनेर ?

सोनलजी मुख्यमन्त्री नियुक्त हुँदा त भोलिपल्ट दिउँसो प्रदेश प्रमुखको कार्यालयमा शपथ लिनु भयो नि, तर तपाईंले त होटलमा लिनुभयो ?

तपाईले (सोनललाई) दिउँसो हुँदाहुँदै राति किन नियुक्ति लिनु भयो भनेर सोध्नु भयो ? किनभने त्यतिबेला त्यो परिस्थिति थियो होला । उहाँको बाध्यता थियो होला । माननीय जितेन्द्र सोनलको जसरी नियुक्ति राति भयो, त्यसरी मेरो पनि राति भयो ।

शपथग्रहण मात्र एउटा विषय हो । तपाईंलाई थाहा छ- यो कार्यकालमा पहिलो पटक जसपाका नेता सरोज यादव मुख्यमन्त्री हुँदा शपथ कहाँ गर्नुभएछ, खुल्ला मञ्चमा । त्यसपछि कबर्ड हलमा ।

आखिरमा उहाँहरूले मधेश भवनभित्रै शपथ ग्रहण गर्नु भयो नि ? तपाई जस्तो होटलमा त होइन नि ?

सरकारको ठूलठूला कार्यक्रम होटलमा हुँदैन र ? होटलमा त बाध्यात्मक अवस्था न हो । प्रदेश प्रमुख बिरामी भएर जान लाग्ने बेलामा शपथ खुवाएर जानु भएन भने मै घेर्छु भनिसकेपछि यहाँ (मधेश भवनमा) उहाँको शपथ खुवाउने वातावरण छैन ।

मैले घेरेर मलाई शपथ नखुवाई जान दिन्नँ भनेपछि बर्दिबास आउनुस् भन्नु भयो । यहाँ ममाथि कुटपिट होला । अनि मैले होटलमा शपथ खानु अपराध हो त ? मैले यहाँ विवाद, आक्रमण गर्न नखोजेको हो ? के त्यो मेरो कमजोरी हो ? विस्तारै वातावरण सहज बन्दै जान्छ भनेर मैलो त्यसो गर्न नखोजेको न हो ।

एमालेले प्रदेश संसद विघटन गर्न खोजिरहेको आरोप दलहरूले लगाइरहेका छन् । मध्यावधितिर लान खोज्नु भएको हो ?

जसले यस्तो भनिरहेका छन्, त्यो दल र व्यक्तिलाई म भन्न चाहन्छु – संसद विघटन गर्ने मत त्यो दलहरूको होला । संसद विघटन गराउने, संघीयता नचाहनेमा त मधेशी दलहरू असफल भएको होइन ? संघीयतामा त राष्ट्रिय दलहरू एमाले र कांग्रेस नै सफल भएको हो नि !

संघीयता ल्याएको छु, मुख्यमन्त्री कार्यालय बनाएको छु भन्छ, त्यही कार्यालयमा ती दलहरूले आक्रमण गर्छन् । यो भनेको के हो, संघीयता नचाहेको न हो ।

तपाई मुख्यमन्त्री बन्नु भयो । त्यसपछिको घटनाक्रमहरू देख्नु नै भयो । आन्दोलनदेखि कर्मचारीमाथि कुटपिट, राष्ट्रिय झण्डाको अपमान भयो । के कारबाही हुन्छ ?

तपाईंकै अगाडि प्रदेश प्रहरीका प्रमुख डिआइजीलाई फोन गरेर मैले निर्देशन दिएको छु – ‘तपाईले राष्ट्रिय झण्डा फाल्ने, कर्मचारीलाई कुटपिट गर्नेलाई कारबाही गर्न सक्नु हुन्छ कि हुन्न ? मेरो निर्देशन छ- कारबाही गर्नुस् ।

गर्न सक्नु भएन भने म गर्न सक्दिनँ भन्नुस् । त्यसपछि म संघीय सरकारलाई भन्छु, मुख्यमन्त्रीको लेटरप्याडमा म पठाउँछु, तपाईको कर्मचारी यहाँ पर्फरमेन्स देखाउनु सक्नु भएन । अर्को कर्मचारी पठाउनुस् भनेर ।’

कुनै दल विशेषले भनेर धारा ३ मा जान्छ । कुनै संस्थाले न राय बनाएर त्यसको आधारमा पठाउने हो । संविधानले जे भन्छ त्यसमा लानु पर्‍यो ।

तपाईले आफ्नो पार्टीभित्र छलफल समन्वय गर्नु भयो कि भएन ? तपाईकौ पार्टीको प्रमुख सचेतक हरिनारायण महतोले एकदिन अघि दलको नेतालाई भेटेर उपधारा २ जीवित छ, ३ मा नजानुस् भनेर सचेत गराएको थिएँ भन्नु भयो ।

त्यो उहाँकोअध्ययनको अभाव हो । माननीय भइसकेपछि सबै जान्ने भन्ने छैन । अध्ययन नगरेको हुन सक्छ । उहाँले भन्नु नै भएको हो, मैले भनेँ- एमालेकै कारण धारा ३ मा जान्छ । कुनै दल विशेषले भनेर धारा ३ मा जान्छ । कुनै संस्थाले न राय बनाएर त्यसको आधारमा पठाउने हो । संविधानले जे भन्छ त्यसमा लानु पर्‍यो ।

तर दलभित्र त असन्तुष्टि देखियो नि ?

अहिले लोकतन्त्रमा दलभित्र पनि कुरा उठाउन पाइयो नि ! धेरै अराजक ढंगले कुरा उठायो भने त्यो कारबाहीको सिकार हुन्छ । कुरै बोल्न नदिने, कुण्ठित गरेर राख्ने भन्ने त हुँदैन नि !

सदनमा विश्वासको मत दिने बेला माओवादीका रहबर खन्सारी, माला रायले विद्रोह गर्नु भयो । त्यसको परिणाम आज छ । दुवै जनासँग एमालेको आन्तरिक समन्वय छ ?  

जितेन्द्र सोनलले विश्वासको मत पाउँछन् भन्नेमा एमाले ढुक्क थियो । तर जनमत र माओवादीभित्रको आन्तरिक विवादले न यो भयो । उहाँहरूको न अकर्मण्यता हो । एमालेले कुनै (भूमिका) खेलेको छैन । रहबर अन्सारीले बोलेरै राखिदिए नि !

तपाईंको नियुक्तिपछि प्रदेश प्रमुख भण्डारीलाई कारबाहीस्वरुप पदमुक्त गरिएको छ । यसलाई तपाईंले कसरी लिनु भएको छ ?

यो सरकार त बनेकै बेलादेखि संघीयताविरोधी हो । जग नै संघीयता विरोधी हो । यदि मेरो नियुक्तिलाई लिएर प्रदेश प्रमुखलाई पदमुक्त गरिएको हो भने यसअघि १३ जना राजदूतलाई किन हटाइयो ? त्यसलाई के मान्ने ?

त्यसो भए यसलाई नि संयोग मान्नु पर्छ ?

संयोग होइन, इन्टेनसन हो । जानजान पदमुक्त गरिएको हो । प्रधानमन्त्रीले प्रदेश प्रमुखलाई बोलाएर पनि सोध्न सक्नु हुन्थ्यो नि ! संघीयता जाओस् भन्ने संघीय सरकारको इन्टेशन हो । त्यसको विरुद्धमा हामी छौं ।

दलहरू सर्वोच्च अदालत पुगेका छन्, आज रिट दर्ता भएको छ ? अब के गर्नु हुन्छ ?

त्यो अधिकार हो । लोकतान्त्रिक प्रक्रियाभित्रै पर्छ । तर त्यहाँ निवेदन हाल्ने, यहाँ आन्दोलन गर्ने ? मुख्यमन्त्री कार्यालय पनि जलाउने ? यो दोहरो संस्कारले प्रदेशसभाको बदनाम गर्‍यो । संघीयताको बदनाम गरिरहेको छ । नियुक्ति असंवैधानिक हो भने त्यहाँ पुगिसकेपछि यहाँ किन टायर बालिरहेका छन् ?

यस्तो अवस्थामा काम अघि बढाउन तपाईंलाई चुनौती थपिएन नि ?

चुनौतपूर्ण छ नि ! नियुक्ति नै चुनौतीपूर्ण छ । शपथ नै चुनौतीपूर्ण छ । काम पनि चुनौतीपूर्ण हुन्छ ।

प्रदेशसभा अवरुद्ध भएको छैन । काम गर्दै जाँदा अनुकूलता पनि हुन्छ, प्रतिकूलता पनि थपिन सक्छ । काम गर्दा सरकारको नेतृत्व कस्तो छ, मन्त्रीहरूको नेतृत्व कार्यशैली, सुशासनप्रतिको व्यवहार कस्तो छ, त्यसले निर्धाण गर्ने हो ।

म आज नियुक्ति भएँ मेरो नामसँग, मेरो थरसँग धेरैको चित्त नबुझेको होला । अनि सडकमा आन्दोलन गर्न गएका छन् ।

विश्वासको मत पाउन चुनौती छ नि ? तपाईंको दल एमालेको २४ सिट, अन्य दलको एक/एक र सभामुख गरी २६ मत छ । अन्य सातदल विरुद्धमा छन् । ३० दिनभित्र ५४ मत पुर्‍याउन निकै ठूलो चुनौती छ नि !

सबै दलको म जिम्मा लिन्नँ । तर नेपाली कांग्रेस लगायतका दलहरू लोकतन्त्र र संघीयताप्रति विश्वास गर्छन् । सर्वोच्च अदालतको आदेश यो असंवैधानिक नियुक्ति हो भने आयो, खारेज गर भने छुट्टै कुरा । नियुक्ति सदर भयो भने उहाँहरूले मलाई विश्वासको मत नदिए फेरि अर्कै वातावारण सिर्जना हुन्छ। त्यसकारण मेरो नियुक्ति र मलाई विश्वासको मत पनि बाध्यात्मक हो।

प्रदेश सांसद रहबर अन्सारीले भने अनुसार १०७ प्रदेश सांसदको नैतिक धरातल छैन । पछिल्लो घटनाक्रम र विगतका पर्फरमेन्सले संघीयता खारेजीको कुरा उठिरहेको छ नि !

रहबर अन्सारीको धेरै कुरासँग म सहमत छु । प्रदेश सांसदका सबैको नैतिक धरातल गुमेको छ,यो सहीकुरा हो । मलाई मेरो इच्छा सोध्नु भयो भने म अब प्रदेशसभामा चुनाव लड्दिनँ । प्रदेश सभाकाका माननीयहरूको नैतिक पतन जुन देखिरहेको छु, आफ्नै सरकार ढाल्न पनि षड्यन्त्र गर्छन् ।

प्रदेश सभाकाका माननीयहरूको नैतिक पतन जुन देखिरहेको छु, आफ्नै सरकार ढाल्न पनि षड्यन्त्र गर्छन् ।

तपाई मुख्यमन्त्री बन्नुभयो । जनतामा प्रदेश सरकारप्रति बढिरहेको वितृष्णा, गुमिरहेको विश्वासलाई कसरी आर्जन गर्नु हुन्छ ?

साँच्चै प्रदेश सरकारप्रति जनतामा वितृष्णा छ । संघीयताप्रति जनताको प्रश्न चिह्न छ । यो वितृष्णाको बेलामा नेकपा एमालेले दाबी गर्दैन। धारा २ अन्तर्गत नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउँछ भनेर दाबी गरेको होइन ।

कुनै एउटा दलको कारणले गर्दा त्यो वातावरण बनेन । त्यसपछि बाध्यात्मक अवस्थामा म मुख्यमन्त्री बनेँ । मेरो पहिलो दायित्व हुन्छ- संविधान र संघीयताको रक्षा र जनतामा जागेको वितृष्णालाई सकरात्मक सन्देश दिने ।

काम गरेपछि वितृष्णा हट्छ, अब कामै गर्न दिएको छैन ।

नवनियुक्त मन्त्रीहरुलाई जिम्मेवारी कहिले बाँडफाँड गर्नु हुन्छ ?

प्रदेश प्रमुख नै परिवर्तन भइसक्यो । नयाँ प्रदेश प्रमुख आउँछन् । उहाँको शपथ भइसकेपछि उहाँहरूको कार्यभार सम्हाल्नु हुन्छ ।





Read More