― Advertisement ―

मार्वलको वोल्भरिनमा एक्स-मेन अवस्थित छैन किनभने म्युटेन्टहरू यस संसारमा सुरक्षित छैनन्, इन्सोम्नियाक भन्छन् – ‘हामी मानिसहरूलाई सम्झाउन चाहन्छौं कि म्युटेन्टको लागि अस्तित्व सुरक्षित छैन।...

Insomniac मा खेलहरू अवस्थित छन् भन्छन्। Marvel's Wolverine किनकि म्युटेन्टहरू यस संसारमा सुरक्षित छैनन्कथा निर्देशक वाल्ट विलियम्स भन्छन् कि म्युटेन्टहरू बाहिरका हुन्, र लोगानको...
HomeLatest newsएउटा अमर भान्से – KhabarHost

एउटा अमर भान्से – KhabarHost


राष्ट्रिय

समाचार.

  • रामभक्त नामका बाहुन बाजे कंगालकोट नगरमा भोजभतेरको जिम्मा लिएर खाना पकाउने काम गर्थे तर उनी घोटाला गरेर नमिठो खाना पकाउँथे।
  • रामभक्तले आफूलाई ‘राजभान्से’ प्रचार गराएर नगरवासीलाई बेवकूफ बनाउँदै भोजभतेरमा गुणस्तरहीन खाना खुवाउँथे र विरोध गर्नेहरूलाई दमन गर्थे।
  • शेखर र अन्यले रामभक्तलाई भोजभतेर नदिँदा उनले भान्साघर भत्काएपछि उनको साख घट्यो र अन्ततः नगरले उनलाई भोजभतेरको जिम्मा दिन छाड्यो।

कंगालकोट नामको एउटा सानो नगरीमा एकजना रामभक्त नामका बाहुन बाजे बस्थे । खाना पकाउनु उनको पेशा थियो तर उनी मुखैमा हाल्न नसकिने नमिठो पकाउँथे । यसको कारण थियो-उनलाई नुनमा पनि घोटाला गर्नुपर्थ्यो । तेलमा खेल र झेल गर्नुपर्थ्यो ।

मसलामा कमिशनको कला नदेखाए असहज लाग्थ्यो । इन्धनबाट आफू र आफ्ना भुसतिघ्रेका लागि धनको जोहो गर्नैपर्ने वाध्यता थियो । खाद्यान्न, फलफूल तथा तरकारीको त झन् कुरै गर्नु परेन । अन्य मेवा, मिष्ठान्न र पकवान्नमा त झन् किन छोड्थे र ! फलत: उनले पकाएको खानेकुरा कहिले अलिनो, कहिले विलिनो, कहिले काँचोकचिलो हुन्थ्यो। अलिक खान हुने पकाए भने आधा मान्छेले खाइसकेपछि खानेकुरा नै सिद्धिन्थ्यो । बाँकीलाई पुग्दैनथ्यो।

तर, दुनियाँभरमा आफू जत्तिको मिठो र गुणस्तरीय खाना पकाउने कोही छैन भनेर गफ दिन्थे । आफ्नो पाककला देखेर दुनियाँ चकित छ पनि भन्थे । यो विश्व ब्रम्हाण्डले सबैभन्दा स्वादिष्ट भोजन पकाउने भान्सेको रूपमा आफूलाई चिन्ने भन्दै आत्मविज्ञापन गर्थे । आत्मरति लिन्थे ।आत्मतारीफ गर्थे । सोझासाझा नगरवासीले पत्याइ पनि दिन्थे।

उनको वरिपरि परिक्रमा गर्ने लठैतहरूले त ताली नै ठोकिदिन्थे । जयजयकार गरिदिन्थे । उनीबाट असीमित लाभ लिने लोभीपापीहरूले उनको जयजयकार गर्नु खासै अनौठो पनि भएन । बाजे एकदमै मिठो पकाउँछन् भनेर तिनले बारम्बार चर्चा गरिदिरहन्थे । फुर्क्याइरहन्थे । जयजयकार गर्थे । त्यो उनीहरूको ड्यूटी नै थियो । ड्यूटी तोक्ने क्रममै एक दिन रामभक्त बाजेले भने, ‘अब यतिले मात्र मात्र हुँदैन केटा हो । मलाई राजभान्से भनेर प्रचार-प्रसार गर्न पनि थालिहाल ।´

बाजेको आदेश मुताबिक केटाहरू खटिए । त्यो स्वभाविक पनि थियो किनभने केटाहरूले रामभक्त बाजेको `सिता´ खाएपछि उनको `गीता´ गाउनु अनौठो थिएन । त्यसैले उनीहरूले नगरभरी ‘राजभान्से’ भनेर पोस्टर टाँसे । माइक फुक्दै हिंडे ।

उनी नगरवासीलाई यसैगरी बेबकूफ बनाइरहन्थे । नगरवासीको एउटा हिस्सा यसैगरी बेबकूफ बनिरहन्थ्यो । यसरी ठग्न सकेकोमा बाजे एकदमै प्रफुल्ल हुन्थे । गौरवान्वित हुन्थे । फलत: उनको पाकशालामा खानेकुरा कम, गफ र खुराफातका मिठामिठा परिकारहरू पाक्थे । गफैको बलमा, खुराफातकै सहारामा सोझासाझा दुनियाँलाई उल्लू बनाउँदै नगरभरीको भोजभतेरको भान्साको जिम्मा लिन सफल थिए उनी।

विवाह, पास्नी, ब्रतबन्ध आदिका भोजभतेरको जिम्मा उनैलाई दिनुपर्थ्यो । नत्र बेपत्तै रिसाउँथे । गर्न हुने, नहुने सबै हर्कत गर्थे । त्यो क्षमता उनीसँग धेरै समयसम्म रह्यो । यहाँसम्म कि बिहेको भोजभतेर रैछ भने त बिहे नै पनि भाँडिदिन्थे । बिहे भाँड्नमा त उनले कीर्तिमान नै कायम गरेका थिए । उनलाई भोजभतेरको जिम्मा दिँदा पनि नगरवासीलाई दु:ख, नदिँदा पनि दु:ख । यो थियो नगरवासीको नियति । जे गरेपनि दु:खै पाउने भएपछि धेरैले रामभक्त बाजेलाई जिम्मा दिएरै दु:ख पाउने बाटो रोज्दथे ।

जिम्मा लिएको त्यही भोजको खानपिनमा चुहावट, मिसावट, रोकावट आदि अनेक-अनेक कृत्य गरेर उनले आफ्ना समर्थक, भक्तहरू पालेका थिए । चाहेका भए रामभक्तले मिठो खुवाएरै दुनियाँलाई आफ्नो काबुमा राख्न सक्थे । उनले पकाएको खानेकुराको बास्नाले नगर नै मगमग हुने सम्भावना थियो । तर यो हुन पाएन । किनभने उनलाई कर्ममा कम र गफमा ज्यादा रुचि थियो । खाना पकाउने कलामा कम घोटालामा ज्यादा विश्वास थियो । उनको घोटाला र गफकारिताले पूरै नगर नै ह्वास्सै गन्हाएको थियो । वरपरका अरू नगरमा पनि त्यो दुर्गन्ध फैलिन थालिसकेको थियो।

उनले नजानेर, नसकेर अथवा पाककला नभएर नमिठो पकाएका थिएनन् । मिठो पकाउन जान्दथे तर पकाउँदैनथे । मिठो पकाउँदा एक त मेहनत ज्यादा गर्नुपर्थ्यो । पसिना बगाउनुपर्थ्यो । दोस्रो, भान्साभित्रको उनको गोरखधन्दा गोलखाडी जान्थ्यो । गोरखधन्दा चौपट भएपछि आसेपासे भड्किन्थे । भुसतिघ्रे र भक्तहरू भोकभोकै पर्थे । खान पाउञ्जेल रामभक्तको जयजयकार गर्ने तमाम लठैतहरू खान नपाएपछि आफूले बोकेको लाठो रामभक्ततिर नै उजाउने भय पनि थियो। यसो हुँदा ‘राजभान्से’ को हैकम गुम्थ्यो ।

त्यसैले, भोजभतेरको किनमेलदेखि खानपिन सम्पूर्ण प्रक्रियासम्मै घोटाला गर्नु रामभक्त बाजेको नसैर्गिक हक जस्तै थियो । न्यून गुणस्तरीय सरजाम प्रयोग गर्नुलाई उनी आफ्नो मौलिक अधिकार ठान्थे । मौलिक अधिकार ठानेरै हुनुपर्छ उनी आफूले घोटाला नगरेकोमा बडो स्पष्ट थिए । उनकासामु कसैले ‘तपाइँले घोटाला गर्नुभो बाजे’ भन्यो भने रिसले चुर हुन्थे । आमा, बाउ, श्रीमती, यहाँसम्म कि कलिला लालाबाला समेतको कसम खान्थे । होइन कि झैं पार्थे । किनभने जेलाई दुनियाँले घोटाला भन्थ्यो त्यो उनको नजरमा आफूले गर्दाको हदसम्म पुण्य कर्म थियो ।

यति धेरै उपक्रम गर्दा पनि कसैले नपत्याएर फेरि प्रश्न उठायो भने त्यसको सातो खान्थे । आफ्ना भुसतिघ्रे लगाएर हुर्मत लिन्थे । ‘मर्मत’ गराउँथे । उनका भक्त र लठैतले त प्रश्न उठाउने कुरै थिएन । यसरी उनको भान्सामा कसैले खानेकुराको गुणस्तरबारे प्रश्न उठायो भने त्यो व्यक्ति रामभक्त बाजे र उनका चेला चपेटाहरूको सबैभन्दा ठूलो दुश्मन हुन्थ्यो।

यत्तिकैमा नगरमा जसवीर साहूको छोराको बिहे आयो । सो बिहेको भोजमा जसवीरले रामभक्तलाई भान्से नराख्ने निधो गरे । यो कुरा थाहा पाएपछि रामभक्त निक्कै मुर्मुरिए । आफ्ना चाटुकारहरूको भेला गराएर त्यो भोजको जिम्मा आफैंले पाउन के-के तिकड्म गर्न सकिन्छ त्यस विषयमा छलफल गरे । छलफलमा पहिला बिहे भाँडिदिने धम्की दिने, त्यतिले नमाने साँच्ची नै भाँडिदिने निर्णय गरे । बिहे भाँड्नमा उनको विचित्रको कला थियो । अघिल्लो पटक पाण्डेजीले यस्तै जिम्मेवारी नदिंदा उनका छोराको बिहे भाँडेका थिए । केटालाई भिरिंगी लागेको छ भनेर बिहेको अघिल्लो दिन केटीको घरमा हल्ला फिजाइदिएका थिए । बिहे भाँडिने धम्की सुनेपछि जसवीर उनै पाण्डेजी सम्झेर डराए । अन्ततोगत्वा रामभक्त बाजेलाई नै भान्साको जिम्मेवारी दिन बाध्य भए ।

जसवीरका छोराको बिहेमा पनि उनको भान्सेगिरी राम्रै चल्यो । खानै मुश्किल पर्ने नमिठो गुणस्तरहीन खानालाई पनि उनका आसेपासेहरूले `राजभान्सेले पकाएको खाना आहा ! कत्ति मिठो !´ भन्दै खाए । खुवाए । जसले नमिठो भन्यो तीनलाई मुक्का खुवाए । जसोतसो जसवीरको छोराको बिहे भोज पनि सकियो । अब नजिकै आउँदैथ्यो शेखरको छोरीको बिहे । रामभक्तको चर्तिकला देखेर वाक्क भएका शेखरले बरू बिहे भाँडिए भाँडियोस् तर रामभक्तलाई भान्से नलाउने अडान लिए । रामभक्तको आक्रोश चुलियो । उनी सरासर शेखरकहाँ गए र बिहे भाँडेदिने धम्की दिए । शेखर डराएनन्।

उनले ठाडै भने- भाँडे भाँड तर म तिमलाई भोजभतेरको जिम्मा दिन्न बाजे ।

शेखरले भोजको जिम्मा अर्कै भान्सेलाई दिए । भोलिपल्ट रामभक्त बाजेले त्यो अर्को भान्सेलाई भेटेर थर्काउनुसम्म थर्काए । भने- मैले पकाउन पाइनँ भने चुल्होसुल्हो सबै भत्काइदिन्छु। र, तिम्रा बंगारा पनि भत्काइदिन्छु ।

बंगारा त भत्काए भत्काएनन् थाहा भएन तर चुल्हो चाहिँ नामोनिशान नरहने गरी भत्काइदिए । भान्साघर पनि भत्काइदिए । भत्केको भान्साघर र चुल्हो शेखरले पुनर्निर्माण गरे तर रामभक्तले फेरि पनि भत्काइदिए । दुई-दुई पटक भान्साघर भत्काएपछि बाजेलाई निकै आत्मगौरव प्राप्त भएछ क्यारे ! आफूले आफूलाई राजभान्से मात्र नभएर ‘महान् राजभान्से’ करार गरे । त्यसको प्रचार-प्रसारमा केटाहरू खटाइहाले। यो भान्साघर भत्काएपछि उनको साख बेपत्तै गिरिरहेको थियो । तर आफ्नो साख गिरेको उनलाई रत्तिभर पर्वाह थिएन ।

रामभक्तको जति साख गिरे पनि आफन्त र नातागोताले त उनैलाई जिम्मा दिन्थे । यत्तिकैमा उनका एक धनाढ्य आफन्तको छोराको ब्रतबन्धको भव्य भोजको जिम्मा रामभक्तले पाए । त्यो भोजमा पनि अरू भोजमा जस्तै भयो । नानीदेखि लागेको बानी आफन्त भएकै भरमा कसैले किन छाड्थ्यो र ! रामभक्तले पनि छाडेनन् ।अरू भोजमा जे-जे हुन्थ्यो त्यो भोजमा पनि सबै दोहोरियो ।

यो कुरा नौजवान केटाकेटीहरूले पनि टड्कारै देखे । तिनले भोज खानै नसकेर ‘कस्तो नमिठो पकाएको ?’ भनेर रामभक्तलाई प्रश्न गरे । र्‍याखर्‍याख्ति पारे । उनको पहिलादेखिकै घोटालाका फेहरिस्त सुनाउन थाले । हिसाबकिताब माग्न थाले । यो सुनिरहँदा रामभक्तको रिसले सीमा नाघ्यो । सही नसक्नु भो। ‘तिमेरू ठेट्नाले मलाई औंलो ठड्याउने ?’ भन्दै प्रश्न उठाउने सबै केटाकेटीलाई एक-एक गर्दै टाउको फुट्नेगरी हिर्काए । दर्जनौं केटाकेटी ठाउँको-ठाउँ ढले । होहल्ला भो। भोजस्थल रणमैदानमा परिणत भो । खानेकुरा सबै पोखियो । खेर गयो ।

अलि शान्त भएपछि भोजका आयोजक आफन्तले रामभक्तलाई सोधे- ‘त्यसो किन गरेको?’

रामभक्तले उल्टै थर्काउँदै भने- ‘राजाभान्सेले पकाएको खानालाई ती छिचिमिराहरूले नमिठो भन्ने, घोटाला गर्यो भन्ने, मसँग हिसाबकिताब माग्ने ?’

‘मलाई जे भनेपनि सहन्थें तर मैले पकाएको खानालाई जेपायो त्यही भनेको म सहन सक्दिनँ’ उनी कड्किए ।

रामभक्तको तर्क सुनेर ती आफन्त ट्वाँ परे !

यो घटनापछि उनलाई गाउँमा कसैले पनि भोजभतेरको जिम्मा दिनै छाडे । आफन्तले पनि दिन छाडे । भोजभतेरको जिम्मा पाउन छोडेपछि उनका भक्तहरू पनि एक-एक गर्दै घट्न थाले । एक किसिमले उनी एक्लिन थाले ।

आफ्ना बचेखुचेका र विगतमा उनीबाट अति लाभ लिएका एकाध चाटुकार लिएर उनी नगरभरी नारा लाउँदै हिंडे- `राजभान्से रामभक्त- अमर रहून् ।’
अन्यमा,
ती अति लाभान्वित भक्तहरूले पनि उनलाई छाडे । कंगालकोट नगरमा उनी एक्लै `यो दुनियाँमा म जत्तिको मिठो पकाउने कोही छैन´ भन्दै फलाक्दै हिंड्न थाले । यसपछि जीवनपर्यन्त भान्साबिनाका ‘महान् राजभान्से’ भएर त्यत्तिकै परलोक भए ।

आज पनि कंगालकोट नगरीले रामभक्तलाई सम्झिरहन्छ । कसैले बेपत्तै नमिठो पकायो भने `कस्तो रामभक्तेको जस्तो खाना´ भनेर उनको नाम लिइरहन्छ । यसरी उनी कंगालकोट नगरमा अमर भए ।





Read More