― Advertisement ―

Intego को ‘सुपर स्ट्राङ्ग’ एन्टिभाइरसको विश्व कपको मूल्य कटौती भएको छ

इन्टेगोको एन्टिभाइरस उत्कृष्ट म्याक-समर्पित सुरक्षाको लागि हाम्रो शीर्ष छनोट हो, र Intego ले विश्व कपको लागि समयमै विशेष सीमित समय सबै Intego One योजनाहरूमा...
HomeLatest newsआफ्नै मिर्गौला प्रत्यारोपणको खर्च जुटाउन ‘पठाओ’ चलाइरहेका नारायण (भिडियो)

आफ्नै मिर्गौला प्रत्यारोपणको खर्च जुटाउन ‘पठाओ’ चलाइरहेका नारायण (भिडियो)


राष्ट्रिय

समाचार.

  • नारायण श्रेष्ठको दुवै मिर्गौलाले काम नगरेपछि मिर्गौला प्रत्यारोपण गर्नुपर्ने अवस्था आएको छ।
  • उनी हप्तामा दुई पटक डायलासिस गराइरहेका छन् र औषधि खर्च मासिक १५ देखि २० हजार रुपैयाँ छ।
  • मिर्गौला प्रत्यारोपणका लागि श्रीमतीले मिर्गौला दान गर्ने तयारी छ तर खर्च जुटाउन कठिनाइ छ।

जिन्दगी नै ऐठन परेजस्तो । दुवै मिर्गौलाले काम गर्दैन । चिकित्सकले भनेका छन्- अब एउटै उपाय बाँकी छ, मिर्गौला प्रत्यारोपण ।’ श्रीमतीको मिर्गौला लिएर प्रत्यारोपण गर्ने तयारी भएको छ । तर, त्यसका लागि कसरी खर्च जुटाउने ? यो समस्याको चाङ एकातिर छ ।

अहिले डायलासिस गरिरहेका छन् । त्यसपछि लगाउनुपर्ने इन्जेक्सनको खर्च धान्न कम्ता कठिन छैन । त्यसमाथि दुई लालाबालालाई काठमाडौंमा पालनपोषण गराउनुपर्ने जिम्मेवारी छ उनको थाप्लोमा । अहिले काठमाडौंको बसाइ खर्च जुटाउन उनी ‘पठाओ’ चलाउँछन् । अर्थात नियमित आयअर्जन छैन । ‘भगवान भरोसा’मा हुने कमाइले शहरमा परिवार पाल्नदेखि आफ्नै उपचार खर्च जुटाउनुपर्छ ।

यसरी दुःखजिलो गरेर सबै कुरा मिल्दै गएमा उनको मिर्गौला प्रत्यारोपण हुनेछ ।  मिर्गौला प्रत्यारोपण पछि के हुन्छ ? त्यसको कुनै टुंगो छैन । यदि मिगौला प्रत्यारोपण सफल भयो र त्यसले राम्ररी काम गर्न थाल्यो भने पनि उनका दुःखहरू सकिँदैन ।

लामो समय आराम गर्नुपर्ने हुन्छ ।  नियमित रूपमा महंगो औषधि खानुपर्छ, जुन नेपालीको औसत कमाइ बराबर हो । दुई लालाबालालाई खुवाउन, हुर्काउन, पढाउनका लागि के गर्ने होला ? उनी अहिले केही पनि सोच्न सक्दैनन् । मिगौला दिने श्रीमती र मिर्गौला लिने उनी दुवै सम्पूर्ण रुपले सही सलामत भए भने पनि औषधि खर्च धान्न सजिलो हुनेछैन ।

यी बाध्यताहरूको जिलीगाँठीले बाँधे पनि नारायणले हरेश भने खाएका छैनन् । उनलाई विश्वास छ, मिर्गौला प्रत्यारोपण हुनेछ । मेरो शरीरले राम्ररी काम गर्नेछ । एकदिन त सबैकुरा ठिकठाक हुनेछ ।

……….

साउदीको चर्को घाम र कामले पेलिरहेको थियो ।

त्यहीबेला एक दिन घरबाट वृद्ध बाले नारायण श्रेष्ठलाई फोनमा भने– छोरा घर फर्की, एकदमै न्यास्रो लागिरहेको छ ।

०६७ सालमा नारायण विदेश हानिएका थिए । कमाइ औसत नै थियो । उनको काम गोदाममा थियो । ५० डिग्री सेल्सियससम्म गर्मी भए पनि एसीको व्यवस्था थिएन । ठूलाठूला फ्यान थिए । तिनबाट चिसो कम, तातो हावा बढी आउँथ्यो ।

बाको कुराले उनी एकछिन रन्थनिए । यसपछि उनलाई परदेश बसिरहन मन भएन । गर्मीले जिउ त पोलिरहेको थियो, त्यसपछि मन पोल्न थाल्यो । मन शीतल बनाउन उनी २०७३ सालमा नेपाल फर्किए । धादिङ पुगे । विवाह पनि गरे ।

०७२ सालको भूकम्पले धेरै घर भत्काएको थियो । पुन: निर्माण खाँचो थियो । त्यसैमा केही गर्न सकिन्छ कि भनेर उनले एकजनासँग मिलेर डोजर किने ।

नेपाल फर्केको दुई वर्षपछि क्यान्सरले उनका बालाई लग्यो । त्यसबेलासम्म उनी गाउँमै रमाइरहेका थिए । छोराछोरी भइसकेका थिएनन् ।

२०७४ निर्वाचनको साल थियो । भोट हाल्न जाँदा उनलाई एउटा बाइकले सामान्य ठक्कर दियो। बहाना त्यति मात्र थियो । तर, एकाएक खुट्टा सुन्निएर आयो । केही दिनमा ठिक होला भनेर उनले कुरिहेरे । अहँ, फुलेर आएको खुट्टा कत्ति पनि निको भएन । उल्टै हिड्नै नसक्ने अवस्था भयो । त्यसपछि उनी जाँच गर्न काठमाडौं, वीर अस्पताल पुगे ।

अस्पतालको रिपोर्ट नसोचेको आयो । रिपोर्ट थमाउँदै डाक्टरले भने– तपाईंको दुवै मिर्गौला फेल भएछ ।

त्यसयता नारायणको दैनिकी फेरिएको छ । जीवनलाई लिएर हेर्ने दृष्टिकोणमा बदलाव आएको छ । गुजारा र रोगको उपचार गराउनु पर्ने चुनौती एकै साथ थपिएको छ । तर, उनी धेरै निराश सुनिँदैनन् । आशावादी लाग्छन् ।

मिर्गौलाको समस्या थाहा भएको ८ वर्षबितिसक्दा डायलासिस र औषधिले उनको जीवनलाई जसोतसो लम्बाइरहेको छ । अब औषधीय शक्ति ह्रास हुँदै र रोगको शक्ति बढ्दै गइरहेको छ । यस्तोमा अन्तिम विकल्प मिर्गौला प्रत्यारोपण हो । तर, हप्तामा केही दिन राइड शेयरिङ प्लेटफर्ममा काम गरेर जीवन धानिरहेका उनलाई प्रत्यारोपण र त्यसको अघिपछि हुने खर्च जुटाउनु फलामको चिउरा चपाउनुसरह छ ।

अहिले उनले पाटन अस्पतालमा हप्तामा दुई पटक डाइलासिस गराइरहेका छन् । डाइलासिस गरेको भोलिपल्ट ‘बेड रेस्ट’ गर्नु पर्छ । बाहिर काममा जान सक्दैनन् । बाहिर काममा नजानु भनेको उनका लागि अझै पैसाको अभाव हुनु हो ।

उनले डायलासिस सुविधा भने सरकारी कोटाबाट नि: शुल्क पाएका छन् । तर, मिर्गौलालाई सन्तुलनमा राखिराख्न विभिन्न औषधि खानुपर्छ । उनका अनुसार औषधिको खर्च मात्र मासिक १५ देखि २० हजार रुपैयाँ निस्किन्छ ।

त्यस्तै रगत बढाउने इन्जेक्सन पनि उनले हप्तामा दुई पटक लगाउनुपर्छ । एउटा इन्जेक्सनको मूल्य १५ सयदेखि २००० रुपैयाँसम्म पर्न जान्छ ।

यी सबैका लागि होस्टेमा हैंसे गरेर उनले खर्च त निकाल्छन् । तर उनका क्रमश: ७ र ३ वर्षको छोरीछोरा छन् । उनीहरूको खर्च छँदैछ । घर पनि चलाउनुपर्‍यो । श्रीमतीले बाहिर काम गरेर केही राहत त मिलेको छ । तर, उनलाई अहिले सबैभन्दा ठूलो चिन्ता मिर्गौला प्रत्यारोपणका लागि कसरी खर्च जुटाउने नै हो । खर्च कसरी उठ्छ, रोडम्याप छैन । उनले प्रत्यारोपणका लागि प्रक्रिया अगाडि बढाइसकेका छन् । धन्न ! उनलाई श्रीमतीले नै मिर्गौला दान दिँदैछिन् ।

000

गाउँमा व्यवसाय गर्न भनेर सहकार्यमा किनेको डोजरबाट उनले हात झिकिसकेका छन् । साझेदारलाई सबै सुम्पिसकेका छन् । यता धादिङको घरबारी पनि काकालाई जिम्मा लगाइदिएका छन् । मिर्गौलामा समस्या देखिएपछि खेतीपाती गर्ने उनको सामर्थ्यभन्दा बाहिरको कुरा भयो । अनि ‘बारी बाँझो नराख्नुस्, मलाई अन्न नदिए पनि हुन्छ’ भन्दै उनले आफ्नो जग्गा काकालाई जिम्मा दिए । बा नभएको घरमा ताल्चा लगाइदिए ।

त्यसयता आफ्नो उपचार पनि गर्ने, परिवार पनि पाल्ने भन्दै उनी काठमाडौं छिरेका थिए । ललितपुर एकान्तकुनाको अल्का अस्पितल नजिकैको एक गल्लीमा बस्छन् उनी । राइड शेयरिङको काम गर्नुअघि उनले एउटा कम्पनीमा काम गरेका थिए । त्यहाँ दुई वर्षसम्म काम गरिसकेका थिए । उनी मिर्गौला रोगी भएको थाहा भएपछि ‘त्यस्तो मान्छेलाई त हामी काममा राख्देनौं’ भनेर जागिरबाट निकालिदिए । त्यसपछि नै उनी राइड शेयरिङको काममा लागेका हुन् ।

सपना त उनको सुखी परिवारको थियो । तर, ब्रजपात परेजसरी उनलाई आजीवन औषधि खाइरहनुपर्ने रोग लाग्यो । आजकल कहिलेकाहीँ डाइलासिस गरेर घर फर्कँदा उनकी ७ वर्षीय छोरी निकै चिन्तित देखिन्छिन् ।

छोरी त्यति बुझ्ने त भएकी छैनन् । तर, बाबा बिरामी भएको देख्दा उनी बालसुलभ दु:ख देखाउँछिन् । बुझ्ने भएपछि के भन्दिहुन् ! नारायणलाई यो कुराले पनि बेलाबेला चिन्तित बनाउँछ ।

अब नारायणलाई वैशाखको पर्खाइमा छन् । यदि पैसा जुटेमा उनको मिर्गौला प्रत्यारोपण हुन्छ । भएन भने ? त्यो त खै उनले केही भन्न सकेनन् ।





Read More