― Advertisement ―

Intel 486 प्रयोगकर्ताहरूले सेवानिवृत्तिको सामना गर्छन् किनभने लिनक्स कर्नेलले आधुनिक कम्प्युटिङ वातावरणमा दशकौं पुरानो प्रोसेसरहरूसँग अनुकूलता छोड्छ।

Linux 4 मा विकासकर्ताहरूले समर्थन हटाएका छन्। CPULinus Torvalds भन्छन् कि त्यहाँ 486 अनुकूलता कायम गर्न शून्य वास्तविक कारण छIngo Molnar ले लिनक्स कर्नेलहरूमा...
HomeLatest newsबाबुराम ‘ब्याक’ भएपछि दबाबमा प्रलोपा, दलहरुसँग छलफल गर्न समिति गठन

बाबुराम ‘ब्याक’ भएपछि दबाबमा प्रलोपा, दलहरुसँग छलफल गर्न समिति गठन


डा. बाबुराम भट्टराई



१७ माघ, गोरखा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको प्रतिस्पर्धाबाट डा. बाबुराम भट्टराई पछि हटेपछि उनको दल प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) अन्य दलको दबाबमा परेको छ ।

प्रतिस्पर्धामा रहेका अन्य दलले समर्थनका लागि दबाब बढाएपछि प्रलोपाले ती दलहरुसँग छलफल गर्न ‘राजनीतिक संवाद समिति’ बनाएको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा डा. बाबुराम भट्टराई आबद्ध प्रलोपाको प्रत्यक्षतर्फ गोरखामा कुनै उम्मेदवार छैनन् । दर्ता गरिसकेको मनोनयन फिर्ता लिएपछि दुवै निर्वाचन क्षेत्र प्रलोपा उम्मेदवारविहीन छन् ।

गोरखा–२ बाट डा. भट्टराई स्वयंले उम्मेदवारी दिएका थिए भने १ बाट गोपालबाबु श्रेष्ठको उम्मेदवारी परेको थियो । तर दुवैले उम्मेदवारी फिर्ता लिए । उम्मेदवार नभएपछि प्रत्यक्षतर्फ प्रलोपाले कसलाई सहयोग गर्ला ? भन्ने आमचासोको विषय बनेको छ । अझ विशेष गरी गोरखा–२ जहाँ प्रलोपाको साथ चुनाव हारजितको प्रमुख कारण समेत बन्न सक्छ ।

उम्मेदवारी फिर्ता लिएका डा. भट्टराईले अबको समर्थन कसलाई ? भन्नेबारे प्रष्ट धारणा राखेनन् । आफूहरुलाई समर्थन गर्दै भट्टराईले उम्मेदवारी फिर्ता लिएको भन्दै सामाजिक सञ्जालमा पोष्ट्याउन अन्य दलहरुबीच होडबाजी चल्यो । हचुवाको भरमा पार्टीपिच्छे समर्थनको प्रचारबाजी हुन थालेपछि प्रलोपाले विज्ञप्ती नै जारी गरेर प्रत्यक्षतर्फ हालसम्म कुनै उम्मेदवारलाई समर्थन नगरेको जानकारी गरायो । ‘उपयुक्त’ उम्मेदवारलाई सहयोग गर्ने गरी पार्टीबाट निर्णय हुने समेत विज्ञप्तीमा उल्लेख भयो ।

सहयोगका लागि अन्य राजनीतिक दलबाट दबाब आउन थालेको प्रलोपा गोरखा जिल्ला इन्चार्ज यानप्रसाद भट्ट बताउँछन् । ‘आफ्नो उम्मेदवार नभएपछि कसैलाई जिताउनु पनि छैन, हराउनु पनि छैन,’ उनले अनलाइनखबरसँग भने, ‘कसैसँग नजिक, कसैसँग टाढा हुँदैनौं, सबैलाई समान व्यवहार गर्छौं ।’ हाल कसैलाई सहयोग नगर्ने पार्टीको अडान रहे पनि आगामी परिस्थिति र घटनाक्रम अनुसार निर्णय गरिने उनले जानकारी दिए ।

दलहरुसँग छलफलका लागि प्रलोपा जिल्ला समन्वय समिति गोरखाले भट्ट नेतृत्वको तीन सदस्यीय राजनीतिक संवाद समिति गठन गरेको छ । मत दिने क्रममा पार्टीको साझा धारणा बनाउनका लागि समिति गठन गरिएको बताइएको छ ।

‘प्रत्यक्षतर्फ हाम्रो उम्मेदवार नभएपछि अन्य दलहरुले आफ्नो उम्मेदवारलाई सहयोग गरिदिनुपर्‍यो भनेर प्रेसर दिएका छन्, त्यही छलफल पनि ‘वान डोर सिस्टम’ बाट होस् भनेर यो समिति गठन भएको हो,’ भट्टले भने ।

रास्वपालाई सहयोगको संकेत गरेको भन्ने भ्रमबाट मुक्त हुन समेत उनले आग्रह गरे । उनले भने, ‘बाबुराम भट्टराई जीले विकल्पको रुपमा नयाँ शक्ति आउनुपर्छ भन्नुभएको थियो त्यही भनाइलाई लिएर धेरैले रास्वपालाई समर्थन भनेर अनुमान गरेका हुन् तर त्यस्तो होइन ।’

प्रत्यक्षतर्फ खाली भए पनि समानुपातिकतर्फ प्रलोपाकै चुनाव चिह्नमा मतदान गर्न पार्टीले आग्रह गरेको छ ।

शनिवार दुवै क्षेत्रमा प्रलोपाले निर्वाचन परिचालन समिति गठन समेत गरेको छ । क्षेत्र नम्वर १ मा यानप्रसाद भट्ट र २ मा नारायण खत्रीको संयोजकत्वमा १०१ सदस्यीय समिति गठन भएको हो ।

भट्ट पार्टी केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज हुन् भने खत्री जिल्ला संयोजक हुन् ।





Read More