― Advertisement ―

सावधान, ह्याकरहरूले मालवेयर वितरण गर्न, पैसा र डाटा चोरी गर्न एप्पल खाता सूचनाहरूको दुरुपयोग गर्दैछन्

Scammers'ph डोमेनमा कलब्याक प्रयोग गरी ईमेल पठाउनुहोस् सन्देशहरूप्रविधिले नक्कली खरिद अलर्टहरू इम्बेड गर्न Apple ID सिर्जना क्षेत्रहरू प्रयोग गर्छपीडितहरू कलिङ स्क्यामरहरू, जसले त्यसपछि संवेदनशील...
HomeLatest news४० वर्षसम्मका उम्मेदवार ३१ प्रतिशत – KhabarHost

४० वर्षसम्मका उम्मेदवार ३१ प्रतिशत – KhabarHost



८ माघ, काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि पुस्तान्तरणको बहस चल्दै आएको छ । तर चुनावी प्रतिस्पर्धा भने पुरानो पुस्ता मात्र अघि बढाउने प्रबृत्ति थियो । तर अहिले उम्मेदवार दिन युवाहरू पनि अघि बढेको देखिन्छ । पछिल्लो उदाहरण हो– २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेवारका रुपमा अघि सरेका नयाँ अनुहार र उमेर समूह ।

२७५ सदस्यीय प्रतिनिधिसभामा ११० जना समानुपातिक निर्वाचन प्रणालीमार्फत आउँछन् भने १६५ जना प्रत्यक्ष निर्वाचित हुन्छन् । निर्वाचन आयोगका अनुसार प्रत्यक्ष तर्फ मात्रै तीन हजार चार सय ८७ जना उम्मेदवार छन् । यसमध्ये ४० वर्षसम्मका उम्मेदवारको संख्या एक हजार ८० जना रहेको छ । यो ३१.०२ प्रतिशत हो ।

एकै व्यक्तिहरू दशकौँसम्म सत्ता र नेतृत्वमा रहँदा युवाले अवसर नपाएको गुनासो चुलिँदै गएको पृष्ठभूमिमा गत २३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो ।

आन्दोलनका क्रममा २४ भदौमा तत्कालीन सरकार ढल्यो । २७ भदौमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बन्यो । सोही दिन अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन भयो र नयाँ चुनावको घोषणा भयो ।

त्यसपछि जेनजी आन्दोलनको प्रभाव कुनै औपचारिक संगठनको ब्यानरमा सीमित रहेन । सामाजिक सञ्जाल, कलेज–विश्वविद्यालय, नागरिक बहसमा राजनीतिमा पुस्तान्तरणको विषय स्थापित भयो । त्यसको प्रभावमा राजनीतिक दलहरू पनि परे । पुराना दलभित्र आन्तरिक लोकतन्त्रको अभ्यास भए ।

नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीको महाधिवेशन त भए तर, जेनजी आन्दोलन अगाडि नै नेतृत्व दोहोरिए । नेपाली कांग्रेसमा भने तत्कालीन सभापति शेरबहादुर देउवा नेतृत्वको ठूलो टिम नै पार्टीको नेतृत्व तहबाट बाहिरिएको छ । २०६३/०६३ सालको जनआन्दोलन वरिपरिबाट उदाएका ४९ वर्षीय गगन थापा कांग्रेसको नेतृत्वमा आएका छन् ।

दलहरूको आन्तरिक लोकतन्त्रमा जे जस्ता फेरबदल भएता पनि चुनावमा युवा उम्मेदवार उठाउनुपर्ने दबाबमा सबै दलहरू थिए । त्यही दबाबको परिणामस्वरूप प्रतिनिधि सभा सदस्यको उम्मेदवारमा नयाँ र युवाले अवसर पाएका छन् ।

निर्वाचन आयोगका तथ्यांकअनुसार यसपटक कुल उम्मेदवारमध्ये ३१.०२ प्रतिशत उम्मेदवार ४० वर्षसम्मको उमेर समूहका छन्, जुन अघिल्ला चुनावको तुलनामा उल्लेखनीय वृद्धि हो ।

कुन दलमा कस्तो प्रभाव ?

सबै भन्दा धेरै ४० वर्षसम्मका युवालाई उम्मेदवार बनाउने दल हो– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) । यो वैकल्पिक राजनीतिको वकालत गर्दै आएको दल पनि हो ।

२०७९ असारमा जन्मिएको रास्वपाले सोही वर्षको मंसिरमा भएको आमचुनावमा भाग लियो र प्रतिनिधिसभामा चौथो दलको रुपमा उदायो । उक्त निर्वाचनबाट आएको प्रतिनिधिसभाले पाँच वर्षे कार्यकाल पुरा गर्न पाएन ।

२१ फागनुमा हुने निर्वाचनमा फेरिपनि युवा मतदाताको मत तान्न यो पार्टीले युवाहरूलाई अधिकतम अवसर दिएको छ । रास्वपाले प्रत्यक्ष तर्फ १६४ क्षेत्रमा उम्मेदवारी दिएको छ । त्यसमध्ये ७० जना उम्मेदवार ४० सम्मका छन् ।

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट ३८ जना उम्मेदवार ४० वर्षसम्का छन् । साम्पाङ २०७९ को स्थानीय चुनावमा स्वतन्त्र रुपमा चुनाव जितेर धरानको मेयर भएका थिए । श्रम संस्कृति साम्पाङको नेतृत्व ०८२ साल कात्तिकमा दर्ता भएको नयाँ दल हो ।

प्रगतिशील लोकतान्त्रिक पार्टीका ३० जना उम्मेदवार ४० सम्मका छन् ।

रास्वपा र श्रम संस्कृति दुवै दल नयाँ भएकाले युवाले अवसर दिनेमा जोड दिएका छन् । त्यसको दबाब अन्य दलहरूलाई पनि पर्‍यो । त्यसैले पुराना दलहरूले पनि युवा उम्मेदवारीलाई प्राथमिकता दिएको देखिन्छ ।नेकपा एमालेका तर्फबाट प्रत्यक्षतर्फ १६५ क्षेत्रमै उम्मेदवारी परेको छ । त्यसमध्ये १३ जना उम्मेदवार ४० वर्ष वा यो भन्दा कम उमेरका छन् ।

नेपाली कम्युनिस्ट पार्टीबाट १६४ क्षेत्रमा उम्मेदवारी परेको छ । यसमध्ये २० जना ४० वर्ष मुनिका उम्मेदवार छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट ३३ जना ४० वर्ष मुनिका उम्मेदवार रहेका छन् ।

उल्लेख्य संख्यामा स्वतन्त्र

४० वर्ष मुनिका उम्मेदवारहरूमा उल्लेख्य संख्यामा स्वतन्त्र उम्मेदवार रहेका छन् । ४० वर्ष वा ४० वर्ष भन्दा कम उमेरका कुल उम्मेदवारको संख्या एक हजार ८२ छ । यसमा स्वतन्त्र उम्मेदवारको संख्या मात्रै ५७१ छ । यो ६१.७८ प्रतिशत हो ।

स्वतन्त्र उम्मेदवारीको संख्याले निर्वाचनमा मतदाताहरूको आकर्षण त देखाउँछ । तर, चुनाव जित्ने सम्भावना एकदमै कम हुने बताउँछन् राजनीतिशास्त्रका प्राध्यापक कृष्ण पोखरेल । उनी भन्छन्, ‘कहीँ जनाधार छ भने स्वतन्त्र पनि उठ्छन् र चुनाव जित्छन् । तर यो स्वतन्त्रको विजयी नगण्य मात्रामा रहन्छ ।’

पोखरेलका नजरमा नेपालमा आम निर्वाच्नमा स्वतन्त्र उम्मेदवारी पर्नुका मुख्यतः दुई कारण छन् ।

पहिलो : एकथरी मानिसहरूलाई राजनीतिमा चर्चित हुन मन लाग्छ । अलि अलि पैसा छ भने उठिहाल्छन् ।

दोस्रो : राजनीतिक दलले टिकट नदिएको आक्रोशमा स्वतन्त्र उठ्ने प्रवृति छ ।

राजनीतिमा चर्चित हुन मन लागेर होस् वा दलले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिने प्रवृति होस् यी दुवैको उम्मेदवारी मनको शान्तिको लागि रहने गरेको प्राध्यापक पोखरेल बताउँछन् ।

यसबाहेक डमी उम्मेदवारका रुपमा समेत कतिपयले स्वतन्त्र उम्मेदवार खडा गर्दछन् । यस्तो अभ्यास नेपालमा भन्दा ज्यादा भारतमा देखिने गरेको पोखरेलको अनुभव छ ।

‘भारततिर स्वतन्त्र भनेको मत गणनामा प्रतिनिधि राख्नका लागि डमी उम्मेदवार बनाउने प्रवृति पनि छ । आफूलाई जित्न सजिलो हुन्छ भनेर अर्को स्वतन्त्र उठाउने अभ्यास पनि छ ।’

नेपालमा पनि यदाकदा डमी उम्मेदवारको चर्चा हुने गरेको छ ।

सबै उमेर समूहमा महिला न्यून

जुनसुकै उमेर समूहमा महिला उम्मेदवारको संख्या भने ज्यादै न्यून छ ।

४० वर्ष र ४० वर्ष मुनिका उम्मेदवारमा महिलाको संख्या १४५ अर्थात्, १३.४० प्रतिशत छ । जबकी यो उमेर समूहमा पुरुषको संख्या ९३७ अर्थात्, ८६.५९ छ ।

निर्वाचन आयोगका अनुसार कुल तीन हजार चार सय ८७ मा महिला उम्मेदवारको संख्या ३९५ छ । बाँकी तीन हजार ९२ जना पुरुष उम्मेदवार छन् । अर्थात्, कूल उम्मेदवारमा महिला उम्मेदवार केवल ११.३२ प्रतिशत छन् । कूल उम्मेदवारमा पुरुष उम्मेदवारको संख्या ८८.६७ प्रतिशत छ ।

जेनजी आन्दोलनको जगमा हुन लागेको निर्वाचनमा दलहरूले जेनजीलाई समेत उम्मेदवार बनाएका छन् । जेनजी उमेर समूहका व्यक्तिहरू स्वतन्त्र रुपले समेत उम्मेदवार भएका छन् । जेनजी उमेर समूहमा समेत महिला उम्मेदवारको संख्या न्यून छ ।

विभिन्न राजनीतिक र स्वतन्त्रबाट जेनजी उमेर समूह्का १५७ जना उम्मेदवार छन् । जसमा जेनजी महिला उम्मेदवारको संख्या केवल १५ (९.५५ प्रतिशत) र बाँकी ४२ जना पुरुष उम्मेदवार (९०.४४ प्रतिशत) रहेका छन् ।

अध्यापक डा. मिना पौडेल महिला उम्मेदवार कम हुनुमा समय नभएर चेतना महत्वपूर्ण रहेको बताउँछिन् ।

‘जेनजी पनि यही समाजका उत्पादन हुन् । यही समाजमा सामाजिकरण गरेर हुर्काइएका हुन्’ उनी भन्छिन्, ‘जबसम्म महिलाको सार्वभौम अस्तित्वलाई र विचारलाई स्वीकारिन्न । तबसम्म उनीहरुलाई साहायकको रुपमा राखिन्छ । महिलालाई मूलधारमा नल्याउने र आउन नदिने मुल कारण यही हो । यो संरचनात्मक कारण हो ।’

जेनजीले राजनीतिमा पुस्तन्तरणको बहस छेडेता पनि महिला र पुरुषबीच समानताको बहस जुन तहमा हुनुपर्ने थियो त्यो हुन नसकेको उनलाई लाग्छ । फेरि पनि संरचनात्मक रुपमै परिवर्तन नहुँदासम्म महिलाको उपस्थिति र नेतृत्वको विषय व्यवहारमा देखिन गाह्रो हुने उनको बुझाइ छ ।

‘हिजो आन्दोलनमा नेतृत्व गरेको भन्नुको अर्थ छैन । नयाँ र पुराना भन्नुको पनि अर्थ छैन । किनभने यो चेतनाको कुरा हो’ उनी भन्छिन्, ‘उमेरको हिसाबले नयाँ पुस्ता हो । तर, हुर्काइ र चेतानामा हिजोकै निरन्तरता छ । जो विभिन्न रुपमा प्रकट हुन्छ र हुँदै आएको छ ।’





Read More