― Advertisement ―

HomeLatest newsनेदरल्यान्ड्सविरुद्ध खेल्दा कमजोरी सुधारको अपेक्षा

नेदरल्यान्ड्सविरुद्ध खेल्दा कमजोरी सुधारको अपेक्षा


तीन दिनको आरामपछि नेपालले आफ्नो दोस्रो खेलमा नेदरल्यान्ड्ससँग बिहीबार खेल्दैछ र कमजोरी सुधार गरेर पहिलो अंक जोड्ने लक्ष्यमा हुनेछ ।

राष्ट्रिय

समाचार.

  • आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्ससँग खेल्दै छ ।
  • नेपालले समूह चरणको शीर्ष ३ मा पर्न कम्तीमा २ खेल जित्नुपर्ने छ भने नेदरल्यान्ड्सले एक जितले अघिल्लो चरणमा पुग्नेछ।
  • नेपालले नेदरल्यान्ड्ससँग बिहीबार त्रिवि क्रिकेट मैदानमा खेल्दैछ र कमजोरी सुधार गरेर पहिलो अंक जोड्ने लक्ष्य राखेको छ।

७ माघ, काठमाडौं । आईसीसी महिला टी-२० विश्‍वकप ग्लोबल छनोटको पहिलो खेलमा थाइल्यान्डसँग पराजित भएपछि नेपाली टिमकी कप्तान इन्दु बर्माले मिडल अर्डर फितलो हुँदा राम्रो योगफल बन्न नसकेको र हार बेहोरेको बताएकी थिइन् ।

तीन दिनको आरामपछि नेपालले आफ्नो दोस्रो खेलमा नेदरल्यान्ड्ससँग बिहीबार खेल्दैछ र कप्तान इन्दुले उल्लेख गरेको उक्त कमजोरीसँगै अन्य केही ‘लूपहोल’ मा पनि सुधारको अपेक्षा रहनेछ ।

प्रतियोगिताको समूह ‘बी’ मा रहेको नेपालले दुई खेल लगातार जितिसकेको नेदरल्यान्ड्ससँग बिहीबार विहान ९ बजेदेखि त्रिवि क्रिकेट मैदानमा खेल्नेछ ।

समूह चरणको शीर्ष ३ मा पर्नका लागि नेपालले बाँकी ३ वटा खेलमध्ये कम्तीमा पनि २ वटा खेल जित्नुपर्ने अवस्था छ ।  नेदरल्यान्ड्स भने अब एक जितले मात्र पनि अघिल्लो चरणमा पुग्नेछ ।

नेपालले बिहीबारको खेलमा आफ्ना कमजोरीहरू सुधार गर्नुपर्ने देखिन्छ । इन्दुले भनेबमोजिम नेपालको ब्याटिङ मात्र नभएर बलिङ पनि फितलो देखिएको छ ।

नेपालले अभ्यास खेलहरूमा पनि राम्रो ब्याटिङ गर्दागर्दै बलिङमा कमजोर देखिएको थियो । थाइल्यान्डसँगको पहिलो खेलमा पनि त्यस्तै देखियो । सुरुवाती ओभरमा राम्रो ब्याटिङ गरेको नेपालले त्यसपछि लय गुमाएको थियो अनि बलिङ पनि फितलो हुँदा योगफल जोगाउन सकेन ।

यता नेदरल्यान्ड्सले पहिलो खेलमा जिम्बाबे अनि दोस्रो खेलमा स्कटल्यान्डलाई हराएको छ । स्कटल्यान्डसँग मंगलबार भएको खेलमा नेदरल्यान्ड्सले अन्तिम ओभरमा ११ रन डिफेन्ड गरेर खेल जितेको थियो ।

नेदरल्यान्ड्स पनि यो जितको लयलाई कायमै राख्ने लक्ष्यमा हुनेछ । यस्तोमा यूरोपको बलियो टोलीमध्ये एक नेदरल्यान्ड्सलाई हराउन चुनौतीपूर्ण हुनेछ । यद्यपी नेपाल आफ्ना कमजोरी सुधार गरेर पहिलो अंक जोड्ने लक्ष्यमा हुनेछ ।

कप्तान इन्दु बर्माले बाँकी खेलहरूमा कमजोरी सुधार्दै लाने बताएकी छन् । ‘सबैले आफ्नो भूमिका निभाउन केही गाह्रो भएको हो, भूमिका राम्रोसँग निभाउन सके सुधार हुँदै जानेछ’ कप्तान इन्दुले भनेकी छन् ।

हेड टु हेड

महिला टी-२०आई वरियतामा नेदरल्यान्ड्स १४औं स्थानमा छ । नेपाली टोली २१औं स्थानमा छ ।

नेदरल्यान्ड्स यूरोपियन छनोट डिभिजन वानको उपविजेताका रूपमा ग्लोबल छनोटमा प्रवेश गरेको थियो भने नेपाल एसिया छनोटको उपविजेताका रूपमा ग्लोबल छनोटमा आएको हो ।

नेपालले नेदरल्यान्ड्ससँग खेलेका ३ वटै खेलमा पराजित भएको छ । नेपालले यी ३ वटै खेल गतवर्ष जनवरी-फेब्रुअरीमा नेपालमै भएको त्रिदेशीय शृंखलामा खेलेको थियो । त्यो नै नेदरल्यान्ड्ससँग नेपालको पहिलो भेट थियो ।

त्यसबेला नेपाल पहिलो टी-२०आई खेलमा २० रनले पराजित भएको थियो भने दोस्रो खेलमा १५ रनले अनि तेस्रो खेलमा १० विकेटले पराजित भएको थियो ।

टिम कम्बिनेसन र सम्भावित ११

नेपालले पहिलो खेलमा खेलाएको टोलीकै साथमा नै दोस्रो खेल खेल्ने उच्च सम्भावना छ । यद्यपी कम्बिनेशन मिलाउन भने चुनौती देखिन्छ ।

पहिलो खेलमा अनुभवी अलाउन्डर सीता रानामगर नवौं नम्बरमा ब्याटिङमा आएकी थिइन् । बलिङमा २ विकेट लिएको भएपनि सीताको ब्याटिङ पोजिसनबारे भने प्रश्‍न खडा भएको छ । सीताले टप वा मिडल अर्डरमा खेल्दा एक खेलाडी तल्लोक्रममा आउनुपर्ने हुनसक्छ ।

लगातार दुई जित निकालेको नेदरल्यान्ड्स त्यही टोलीका साथ मैदान उत्रिने सम्भावना छ ।

नेपाल : इन्दु बर्मा, पूजा महतो, सम्झना खड्का, बिन्दु रावल, रुबिना क्षेत्री, कविता कुँवर, रिया शर्मा, सोमु विष्ट, सीता राना मगर, काजल श्रेष्ठ, कविता जोशी

नेदरल्यान्ड्स : बाबेट डे लिड, हिथर सिगर्स, स्टेर कालिस, सिल्भर सिगर्स, कारोलिन डे लाङ, आइरिस ज्विलिङ, हाना लान्धीर, सन्या खुराना, रोबिन रिके, फ्रेडरिक ओभरडाइक, इसाबेल भान डर वोनिङ

प्रभाव पार्न सक्ने खेलाडी

नेपालका लागि ब्याटिङमा टप अर्डरका सम्झना खड्का र बिन्दु रावलले राम्रो प्रदर्शन गरेका छन् । उनीहरूबाट भोलि पनि राम्रो सुरुवातको अपेक्षा रहनेछ ।

पहिलो खेलमा रुबिनाले केही शानदार शटहरू खेलेकी थिइन् । संयमित भएर खेल्न सके रुबिनाबाट म्याच विनिङ प्रदर्शनको अपेक्षा गर्न सकिन्छ ।

नेदरल्यान्ड्सका लागि लागि टप अर्डर ब्याटर हिथर सिगर्स र स्टेर कालिसको प्रदर्शन राम्रो हुन सक्छ । कालिसले अघिल्लो खेलमा स्कटल्यान्डविरुद्ध ८७ रनको शानदार पारी खेलेकी थिइन् ।

यस्तै बलिङमा कारोलिन डे लाङ अनि सिल्भर सिगर्सको जोडी घातक साबित हुन सक्छ ।

खेल : नेपाल विरुद्ध नेदरल्यान्ड्स
समय : विहान ९ बजे
स्थान : त्रिवि क्रिकेट मैदान
मौसम : सफा

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More