― Advertisement ―

यस पूर्व-निर्मित गेमिङ पीसीमा RTX ५०६० र Best Buy मा ३२GB DDR5 RAM सँग $200 छुट प्राप्त गर्नुहोस्

हालसालै राम्रो मूल्यमा PC पार्ट्सहरू फेला पार्न गाह्रो भइरहेको छ, विशेष गरी चलिरहेको RAM संकटको साथ। धन्यबाद, तपाईंले अहिले नै सबै समस्याहरू बाइपास...
HomeLatest newsजेनजी आन्दोलनपछि ट्राफिक अनुशासनहीनता बढ्यो – KhabarHost

जेनजी आन्दोलनपछि ट्राफिक अनुशासनहीनता बढ्यो – KhabarHost



नेपाल प्रहरीको तथ्यांकअनुसार देशभर दैनिक ८० सवारी दुर्घटना हुन्छन् । जसमा १२१ जना घाइते हुन्छन् भने ७ जनाको मृत्यु हुन्छ । काठमाडौं उपत्यकामा मात्रै दैनिक सरदर २७ दुर्घटना हुने गरेका छन् । यो तथ्यांकले सवारी दुर्घटना दर अत्यासलाग्दो देखाउँछ ।

अत्यधिक दुर्घटना हुने गरेपछि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले समेत बढी दुर्घटना हुने ठाउँहरूलाई ‘ब्ल्याक स्पट’को रूपमा लिँदै दुर्घटना न्यूनीकरणको काम गरिरहेको छ ।

दुर्घटना न्यूनीकरणकै लागि अहिले उपत्यका ट्राफिक प्रहरीले सप्ताहव्यापी कार्यक्रम चलाइरहेको छ । ट्राफिक सप्ताह २०८२– ‘दुर्घटना न्यूनीकरण विशेष अभियान’ भनेर चलाइएको यो अभियान र सवारी दुर्घटनामा केन्द्रित रहेर उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा एसएसपी नवराज अधिकारीसँग अनलाइनखबरका नारायण अधिकारीले कुराकानी गरेका छन् । प्रस्तुत छ, एसएसपी अधिकारीसँग गरिएको कुराकानीको सम्पादित अंश :

ट्राफिक प्रहरीले उपत्यकामा ट्राफिक सप्ताह मनाइरहेको छ । यो सप्ताहको खास उद्देश्य के हो ?

ट्राफिक सप्ताह दुर्घटना न्यूनीकरण विशेष अभियान भनेर किन ल्याइयो भन्दै धेरैले प्रश्न गर्नुभएको छ । २३ र २४ को जेनजी आन्दोलनका क्रममा ट्राफिक कार्यालयदेखि सडक बत्ती, पूर्वाधारहरू पूर्ण रूपमा जलेर नष्ट भए । केही प्रहरीको निधन भयो । केही घाइते भए । हाम्रा सम्पूर्ण बर्दी जले । त्यो अवस्थामा पुगेको ट्राफिक नागरिककै सहयोगमा उठेर अहिले यो ठाउँमा आएको छ ।

नागरिककै सहयोगमा ट्राफिक कार्यालयहरू बने । हामी उठ्यौं । तर हामी मात्रै उठेर नहुने रहेछ । सडकको अनुशासनहिनता झन् डाउन हुँदै गयो । जति पनि सडक प्रयोगकर्ता हुनुहुन्छ, अधिकांशले ट्राफिक नियम पालन नगरेको देखियो । दुर्घटनाको दर पनि बढेको देखियो । त्यसैले दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सप्ताह कार्यक्रम ल्याइएको हो ।

तपाईंले जेनजी आन्दोलनपछि ट्राफिक नियम वा अनुशासन उल्लघंनमा बढोत्तरी भएको संकेत गर्नुभयो । यसको कारण के हुनसक्छ ? जेनजी आन्दोलनअघि र पछिमा के फरक छ ?  

जेनजी आन्दोलनपछि नागरिक अनुशासनमा कमी भएको देखिन्छ । अनुशासनको कमी भइसकेपछि ट्राफिक नियम उल्लघंन हुने नै भयो । गाडी चलाउनेले अनुशासन कायम गर्नुपर्ने होइन र ? सवारी जहाँ पायो त्यहीं रोक्ने, झार्ने त होइन होला नि । पिक एन्ड ड्रप स्टेसन तोकेको ठाउँमा रोक्नुपर्ने होला । कतिसम्म भने, अहिले जेब्रा क्रसिङमै रोक्ने गरेको समेत देखियो ।

जेब्रा क्रसिङमै पैदल यात्रीलाई ठक्कर दिएको अवस्था पनि छ । अनि दुई पांग्रे सवारी चालकलाई हेर्नुस् त, उहाँहरूलाई जहाँ पनि छिर्नुपर्छ । अलिकति पनि धैर्य नगर्ने अवस्था छ अहिले ।

जेनजी आन्दोलनमा प्रहरीको मनोबल गिराइएको थियो । प्रहरीले त्यतिबेला सबथोक गुमाएको थियो । ट्राफिकको मनोबल गिरिसकेपछि सडक प्रयोगकर्ताबाट सडक अनुशासन उल्लंघन बढी भएको हो कि ?

तपाईंले भनेको त्यो मनोविज्ञानले सुरुमा काम गरेको देखिन्छ । जेनजी आन्दोलनअघि ट्राफिक सडकमा आयो वा कारबाही गर्न खोज्यो भने ट्राफिकसँगै झगडा गर्ने, बाझ्ने, नियम उल्लंघन गर्दा पनि चिट् नकाट्न दबाब दिने अवस्था थियो ।

जेनजी आन्दोलनपछि भने धेरै जाडो भएकोले एक गिलास खाएर आएको, बाटो खाली भएकोले ८० को स्पिडमा कुदाएँ त के भयो भन्ने सोच थियो । त्यसलाई अहिले डाउन गर्दै ट्र्याकमा ल्याउँदैछौं ।

ध्वनि प्रदूषण गर्दै आतंक मच्चाउने बाइकहरू थिए । त्यस्ता १५/१६ सय बाइकलाई कारबाही अघि बढाएर अब ट्राफिकले कारबाही गर्छ भन्ने पार्‍यौं, यसले पनि लयमा फर्कन ठूलो सहयोग गर्‍यो ।

अहिले ट्राफिकको मनोबल उच्च भइसकेको छ । ट्राफिक नियम उल्लंघन गरेवापत हुने कारबाहीलाई अहिले हामी कारबाही मात्रै नभई सचेतना कारबाही भन्छौं ।

यो साताव्यापी कार्यक्रममा दुर्घटना न्यूनीकरणका लागि तपाईंहरूले कसरी काम गर्नुभएको छ ?

यो सात दिनको अवधिमा सम्पूर्ण ट्राफिक प्रहरी, सवारी–सवारीमा, टोल–टोलमा, घर–घरमा कुन माध्यमबाट पुग्न सकिन्छ भनेर काम गरेका छौं । दुर्घटना न्यूनीकरणका लागि जनचेतना जगाउने काम गरेका छौं । लापरबाहीपूर्ण र तीव्र गतिमा सवारी नचलाउन, मापसे (मादक पदार्थ सेवन) गरेर नचलाउन र जथाभावी ओभरटेक नगर्न प्रशिक्षण गराइरहेका छौं ।

अर्कोतर्फ, काठमाडौंको सडक जाम, लेनको पालना नभएको, ट्राफिक लाइटको पालना नभएको देखिएको छ । रेड लाइट बलेको छ, त्यहाँ ट्राफिक देखिएन भने हुइँक्याएर अघि बढ्ने चलन छ ।

सवारी साधन जाँचका लागि हामीसँग भेइकल फिटनेस सेन्टर छैन । काठमाडौंबाट झापा पुग्ने नाइट बस ठिक छ कि छैन भनेर जाँच गर्ने भेइकल फिटनेस सेन्टर खै ? ट्राफिकले ब्रेक ठिक छ, चक्का ठिक छ ? स्टेरिङ ठिक छ ? भनेर कसरी पत्ता लगाउने ?

सार्वजनिक बसहरू, राइडर सर्भिसका मजदुर साथीहरू चोकमा आएपछि पोको परेर बस्नुहुन्छ । यसले गर्दा सवारी व्यवस्थापन गर्न गाह्रो हुने र जाम हुने गर्छ । यस्ता घटना दुर्घटनाका कारण बन्छन् । दुर्घटना न्यूनीकरणका लागि आम नागरिक सडक प्रयोगकर्तालाई सुसूचित गर्न आवश्यक देखिएकाले अहिले यिनै कामहरू भइराखेका छन् ।

ट्राफिकको मनोबल उठिसकेको छ, हामी तपाईंका लागि सडकमै छौं भन्ने प्रमाण देखाउनु पनि अभियानको उद्देश्य हो । यो अभियानमा स्टिकरहरू टाँस्ने, पर्चा, पम्प्लेटिङ गर्ने, माइकिङ गर्ने, सचेतना फैलाउने, यातायात व्यवसायीहरूसँग अन्तर्क्रिया गर्ने, अन्य स्टेकहोल्डहरूसँग छलफल गर्ने, रोड व्यवस्थित गर्ने, ट्राफिक संकेत, लाइटहरू मर्मत गर्ने कामहरू हुन्छन् ।

विगतमा पनि दुर्घटना न्यूनीकरणका लागि भन्दै विभिन्न कार्यक्रम हुन्थे । तर दुर्घटनाको दर घट्नुको साटो किन बढिरहेको छ ?

तपाईंले भनेको कुरामा म सहमत छु । मुख्य कुरा नागरिक सचेतना हो । दुर्घटना बढ्यो भनेर नै हामीले सचेतना कार्यक्रम ल्याएका हौं । दुर्घटना जतिसक्दो न्यूनीकरण गर्ने प्रयास भइराखेको छ ।

सबैभन्दा उच्च जोखिममा दुई पांग्रे सवारी साधन देखिन्छन् । लापरबाही गरेर चलाउने, आफैं ठोक्किने गर्दा मृत्यु भएको देखिन्छ ।

अर्कोतर्फ, निरक्षर मान्छेलाई सचेत गराउन धेरै सजिलो हुँदो रहेछ । तर सचेत मान्छेलाई सम्झाउन अफ्ठ्यारो हुँदोरहेछ । उपत्यकामा सबै पढे–लेखेका मान्छे बस्छन् । सडक अनुशासनहिनतामा पढे–लेखेका युवाहरू नै बढी देख्छु ।

जेनजी आन्दोलनमा ट्राफिक प्रहरी कार्यालय ध्वस्त भए । बिना युनिफर्म, चप्पल लगाएर ड्युटीमा खटिनुपर्ने अवस्था थियो । त्यो अवस्थाबाट ट्राफिक प्रहरी चाँडै लयमा फर्केको देखिन्छ । यो कसरी सम्भव भयो ?

म आफैं पनि आन्दोलनको चपेटामा सामान्य घाइते भएको थिएँ । त्यतिबेला रोक्न खोज्दाखोज्दै पनि दु:खद घटना भयो । सम्पूर्ण चिजहरू जलेर नष्ट भए । भोलिपल्ट बिहानै कार्यालय आइयो । नागरिकहरू त त्यतिबेला घरघरमै हुनुहुन्थ्यो । विस्तारै सवारीहरू चल्न थाले । सवारी चल्न थालेपछि टुलुटुलु हेरेर बस्न सकिएन ।

फाटेको चप्पल र बचेको कपडा लगाएर हामीले ड्युटी निभायौं । ट्राफिक व्यवस्थापनमा लाग्यौं । होजियारीसँग सम्पर्क गरेर कपडा सिलाउन लगायौं । उहाँहरूले एक हप्तामै सिलाएर ट्राफिकका युनिफर्म दिनुभयो । म आफैं पनि चोकचोकमा खटिएँ । प्रहरी कर्मचारीलाई हौसला दिइयो ।

हौसला बढाउन ब्रिफिङ पनि दियौं । नागरिकलाई पनि विस्तारै प्रहरी त चाहिने रहेछ भन्ने पर्‍यो । नागरिकको ठूलो सहयोग मिल्यो । विभिन्न संघसंस्थाको सहयोगमा पार्टेसन गर्नेदेखि पुनर्निर्माणको काम गरेर अफिस खडा गर्‍यौं । छोटो समयमा भाइब्रेट रूपमा हामी सडकमा आयौं ।

तपाईंले भने जस्तै नेपाल प्रहरीको डाटा हेर्दा दुर्घटनाको दर ५९ प्रतिशत मोटरसाइकलकै देखिन्छ । मोटरसाइकलको संख्या धरै भएकाले दुर्घटना दर पनि बढेको हो वा अरू पनि कारण छन् ?

प्रत्येक वर्ष ६० हजारभन्दा बढी मोटरसाइकल काठमाडौंमा थपिन्छन् । अहिले राइडर सर्भिस पनि त्यत्तिकै मात्रामा छन् । राइडर सर्भिसमा पनि दुई/साढे दुई लाख मोटरसाइकल थपिएका छन् भ्यालीमा ।

हाम्रो इम्पोर्ट पोलिसीमै केही परिवर्तन गर्नुपर्छ । कतिपय देशमा जति बटारे पनि ४० को स्पिडभन्दा माथि जाँदैन । तर हाम्रोमा जति बटार्‍यो उति कुद्ने भयो । हाम्रो भूगोललाई आवश्यक पर्ने कस्ता मोटरसाइकल हुन्, त्यस्ता मात्रै आयात गर्नुपर्‍यो ।

जति बटार्‍यो त्यति कुद्ने मोटरसाइकल ल्याउँदा बच्चाबच्ची दुर्घटनाको सिकार हुन्छन् । किनकि, उनीहरूलाई कुद्ने मोटरसाइकल फेस भइसकेको छ । तीव्र गतिमा चलाएपछि म दुर्घटनामा पर्न सक्छु भन्ने डर त हुनुपर्‍यो नि । त्यो देखिँदैन ।

लाइसेन्स नै नभई मोटरसाइकल चलाउनेहरू पनि धेरै छन् । लाइसेन्स लिनेलाई पनि सवारी नियम थाहा छैन । मापसे गरेर चलाउनेहरू पनि त्यति नै मात्रामा छन् । उनीहरू चेकिङ छल्दै हुइँकिएर भाग्छन् । आफ्नै लागि चेकिङ हो भन्ने बुझाइ नै भएन ।

मोटरसाइकल एक पटक किनेपछि थोत्रो नहुन्जेलसम्म चलाइराख्ने बानी पनि छ । ब्रेक लाग्छ कि लाग्दैन, लाइट बल्छ, बल्दैन जाँच गरिँदैन । हेल्मेट ट्राफिक पुलिसको लागि लाइदिनुपरे जस्तो गर्छन् । मोटरसाइकलमा श्रीमान्–श्रीमती बस्दा श्रीमतीले हेल्मेट लगाउने चलन छैन । पल्टियो भने श्रीमतीको पनि टाउको बचाउनुपर्छ भन्ने सोच्नुपर्‍यो ।

दुर्घटनाको मुख्य कारण के चाहिँ के होला ?

दुर्घटनाको मुख्य कारण लापरबाहीपूर्वक सवारी चलाउनु हो । ६७ प्रतिशत दुर्घटना लापरबाहीले भएका छन् । मोटरसाइकलको मात्रै यो दर हेर्ने हो भने ८० प्रतिशतभन्दा बढी छ । सडकको अवस्था, सवारीको अवस्थालगायत कारणहरू भने त्यसपछि आउँछन् ।

तपाईंहरू नागरिककै सुरक्षाका लागि भनेर सडकमा खटिनुभएको छ । तर कतिपय घटनाका तस्वीर, भिडियोहरू हेर्दा ट्राफिकको व्यवहारलाई लिएर प्रश्न उठ्ने गरेको पनि देखिन्छ नि ?

हामीले यस्तै व्यवहार नहोस् भनेर प्रत्येक १५ दिनमा विभिन्न लटमा उहाँहरूलाई ब्रिफिङ गराउँछौं । ट्राफिक आचरण, व्यवहार र नैतिकताका कुराहरूबारे ब्रिफिङ गराउँछौं ।

सार्वजनिक भएका त्यस्ता भिडियो, तस्वीर देखाएर कहाँ कमजोरी भयो भनेर सोध्छौं । ट्राफिकको दोष देखिएमा कारबाही पनि गर्छौं । अहिलेको मुख्य उद्देश्य भनेकै नागरिकमैत्री ट्राफिक प्रहरी हो । अहिलेको सप्ताहमा पनि त्यो कुरा समेटेका छौं । नागरिकमैत्री ट्राफिक अनि ट्राफिकमैत्री नागरिक हुनुपर्‍यो भन्ने हो ।

कहीँ कतै त्रुटि भए होलान् । त्यो मानवीय स्वभाव नै हो । समाज जस्तो छ, त्यही समाजको चरित्र हाम्रो अनुहारमा आउने हो । ट्राफिकको यस्तै व्यवहार हुनसक्छ भनेर पनि होला विश्वका केही देशहरूमा सडकमा ट्राफिक नै देखिँदैनन् । टेक्नोलोजीले काम गर्छ ।

ट्राफिकलाई सडकको रेफ्री मानिन्छ । गल्ती गर्‍यो भने ट्राफिकले सिटी फुक्दै रोक्छ, चिट काट्छ । तर यहाँ ट्राफिक रेफ्री मात्रै नभएर न्यायाधीश नै बने । गल्ती बिना पनि फैसला सुनाउँछन्, पुवनरावेदन गर्ने ठाउँसम्म छैन भन्ने गुनासो छ नि ?

अहिले उपत्यकाका धेरै ठाउँमा सीसी क्यामेरा छ, कभरेज हुन्छ । कसले के गल्ती गरेको हो हेर्न मिल्छ । ट्राफिकको गल्ती हेर्न एक जना सिनियर अफिसरको कमान्डमा उजुरी छानबिन शाखा पनि छ ।

बिना गल्ती चिट काटेको वा व्यवहारको सम्बन्धमा उजुरी गर्न सकिन्छ । त्यो चिट कटाइ गलत देखियो भने फिर्ता हुन्छ । हामी फिर्ता गर्छौं । गुनासो गरिएको ट्राफिकलाई बोलाएर सोधपुछ गर्छौं । उजुरी गर्नेलाई बोलाएर आमने सामाने कुरा गराउँछौं । गल्ती अनुसारको कारबाही हुन्छ । पहिला यस्ता गुनासो धेरै आउँथे । अहिले कम भएको छ ।

जाँचका क्रममा नागरिकबाट ट्राफिकमाथि दुर्व्यहारका घटना पनि देखिन्छन् । यसलाई कसरी हेर्नुहुन्छ ?

कहिलेकाहीँ यस्तो हुन्छ । किनभने, ट्राफिक सिंगल ड्युटीमा खटिएको हुन्छ, गु्रपमा हुँदैन । एक जना भएको ठाउँमा गम्भीर प्रकृतिको गल्ती गरे पनि बोल्दा ट्राफिक निकै सजग हुनुपर्ने अवस्था आउँछ । झगडा नै गर्न आउनेहरू पनि हुन्छन् । कतिपय अवस्थामा भाग्दै ज्यान जोगाउनुपर्ने अवस्था पनि ट्राफिकको छ ।

काठमाडौंको जाम घटाउन दीर्घकालीन रूपमा के गर्न सकिन्छ ?

काठमाडौंमा दैनिक १८ लाखभन्दा बढी सवारी गुड्छन् । बाटो भने असाध्यै साँघुरो छ । काठमाडौं कल्चरल सिटी, पुरातात्विक शहर हो । अरू देशमा रोड प्लानिङ गरेर, इन्जिनियरिङ गरेर सिटी बनाइएको हुन्छ । हाम्रोमा पहिला गाउँ, बजार हुँदै शहर भएको देखिन्छ । अनि, त्यही गाउँकै बाटोमा अहिले पनि कुदिराखेका छौं । यो हाम्रो ठूलो चुनौती हो ।

पहिला शहरमा मात्रै सवारी हुन्थ्यो, अहिले दूरदराजमा बाटो पुग्यो, सवारी पुगे । ट्राफिक अब जीवनशैली बनिसक्यो । ट्राफिक नियम शैक्षिक पाठ्यक्रममै समेटिनु आवश्यक छ ।

उपत्यकामा अत्यधिक जाम हुने ठूला चोकहरूको संख्या १७६ छ । यीमध्ये जम्मा २ वटा मात्रै फ्लाइ ओभर छन्, बालकुमारी र कलंकीमा । यो अवस्थामा सवारी रोक्नैपर्छ । पालो सिस्टममा पठाउनै पर्छ । त्यसले गर्दा जाम हुनु स्वाभाविक हो ।

जाम धेरै हुनुमा तीन वटा ‘ई’ ले काम गरेको छ– इन्जिनियरिङ, एजुकेसन र इन्फोर्समेन्ट । मेकानिकल इन्जिनियरिङ हेर्ने हो भने सवारीको अवस्था कस्तो छ, हाम्रो यो रोडलाई मिल्ने सवारी छन्, छैनन्, कस्ता मोटरसाइकल भित्रिएका छन् भन्ने कुरा हेर्नुपर्ने हो ।

सडकमै बसेर ट्राफिकले सिटी फुक्नुपर्ने अवस्था छ भन्नुभयो । हामी प्रविधिमा पछि परेका हौं ?

साउथ एसियाको तुलनामा हामी राम्रै छौं । प्रविधिमा हामी फड्को मार्दै थियौं, सबै जलिहाल्यो । जेनजी आन्दोलनसम्म ट्राफिक बत्ती ७२ ठाउँ सञ्चालनमा थिए । अहिले ३४ वटा मात्रै छन् । जेनजी आन्दोलनअघिसम्म हामी ६०० भन्दा बढी सीसी क्यामेराबाट मोनिटरिङ गर्थ्यौं । अहिले १६० वटा मात्रै छन् ।

जाम म्यानेजमेन्टमा सीसी क्यामेराले ठूलो काम गरेको थियो । सीसी क्यामेराकै सहयोगमा कन्ट्रोल रुमबाट हेरेर काम गर्थ्यौं । कन्ट्रोल रुमबाट हेर्ने अनि त्यहीअनुसार परिचालन हुन्थ्यौं । हामीले ड्रोनलगायतका प्रविधिबाट काम गरेका छौं ।

त्यस्तै, ब्रेथलाइजर, बडी वन कम्यामेराको सहयोगमा पनि काम गरेका छौं । बडी वन क्यामेरा लगाएर फिल्डमा खटिएपछि सम्पूर्ण गतिविधि रेकर्ड गरेर ल्याइन्छ । यस्ता धेरै चिजहरू जले । तिनलाई रिकभर गर्न धरै समय लाग्ने देखिएको छ ।

अहिले मापसेसँगै लापसे गरेका घटनाहरू देखिन थालेका छन् । लापसेको दर बढ्न थालेको हो ?

हामीले लापसेको बारेमा धेरै कम बोल्ने गरेका छौं, किनभने चेकिङ गर्न जाँदा सबैभन्दा बढी समस्या कहाँ रोक्ने भन्ने हुन्छ । लापसे गरेर सार्वजनिक बस, स्कुल बस चलाउने गरेको भेटिएको छ । त्यस्तो देखिएमा ट्राफिक कार्यालयमै ल्याएर सवारीसमेत सार्वजनिक गर्ने गरेका छौं । ताकि व्यवसायीले पनि मैले कस्ता चालकलाई गाडी चलाउन दिएको छु भन्ने जानकारी होस् । व्यवसायीले कमाइदेओस् भन्ने मात्रै सोच्नु भएन । करोडौं मूल्यको सवारी कसले चराइराखेको छ भन्ने जानकारी उहाँहरूले पनि लिनुपर्‍यो ।

मापसे, लापसे दुवैलाई हामीले कडाइ गरेका छौं । बेलुकामा चाहिँ नाइट अवेरनेस चलाइएको छ । स्लो ड्राइभिङ गर्न अनुरोध गर्ने, ड्रिंक एन्ड ड्राइभ नगर्न अनुरोध गर्ने, जिगज्याक नचलाउन, डिम लाइट प्रयोग गर्न भनेका छौं । जसरी घरबाट निस्कनुभएको थियो, त्यसरी नै घर पुग्न अनुरोध छ ।

पहिला शहरमा मात्र सडक थियो, त्यहाँ मात्रै ट्राफिक सचेतना फैलाउँदा पुग्थ्यो । अहिले दूरदराजमा पनि सडक पुगेको छ, सवारी पुगेको छ । शैक्षिक पाठ्यक्रममा ट्राफिक सचेतनाको विषय समेटिन ढिला भए जस्तो लाग्दैन ?

एकदमै जरुरी भइसक्यो । म चितवनको प्रहरी प्रमुख हुँदा सवारी दुर्घटनामा बालबालिकाको धेरै मृत्यु भएको वा घाइते भएको देखेपछि पाठ्यक्रम नै बनाएको थिएँ । त्यसपछि पालिकाहरूसँग समन्वय गरेर प्रस्तुति पनि गरियो ।

ट्राफिक नियम पालना गरे दुर्घटना न्यूनीकरण हुने भन्दै ट्राफिक नियम सिकायौं । साइबर अपराधदेखि लागुऔषधका विषयहरूसमेत ती पाठ्यपुस्तकमा समेटिएका थिए । पछि पालिकामार्फत विद्यालयहरूसँगसमेत सम्झौता गरेर स्कुलमा अध्ययन गराउने व्यवस्था पनि मिलायौं । त्यसपछि देशैभरि गर्नुपर्छ भनेर प्रहरी हेडक्वार्टरमार्फत परिपत्र पनि भएको थियो ।

जेनजी आन्दोलनसम्म ट्राफिक बत्ती ७२ ठाउँ सञ्चालनमा थिए । अहिले ३४ वटा मात्रै छन् । जेनजी आन्दोलन अघिसम्म हामी ६०० भन्दा बढी सीसी क्यामेराबाट मोनिटरिङ गर्थ्यौं । अहिले १६० वटा मात्रै छन् ।

तर, नेपाल प्रहरीको क्षमताले मात्रै पनि नहुँदो रहेछ । पाठ्यक्रम विकास केन्द्र अलग भएको कारणले हाम्रो एकल प्रयासले त्यो सम्भव भएन । यद्यपि, यो विषयमा अहिले पनि हामीले पहल गरिराखेका छौं ।

काठमाडौं उपत्यकामा त महानगरपालिकासँग सम्झौता गरेर ‘बुक फ्री डे’ भनेर प्रत्येक शुक्रबार ट्राफिक सचेतनासम्बन्धी पढाउने गरेका छौ ।

सडक गाउँ–गाउँ पुग्यो । तर ट्राफिक पुगेन भन्ने गुनासो पनि छ नि ?

सबैले नेपाल प्रहरी पनि ट्राफिक हो भन्ने बुझ्नु पर्‍यो । ट्राफिक पनि नेपाल प्रहरीकै एउटा अंग हो ।

आगामी दिनमा दुर्घटना न्यूनीकरण गर्न के गर्न सकिन्छ, केही नीतिगत सुधारका विषयहरू छन् कि ?

सुधार गर्नुपर्ने पहिलो काम ट्राफिक नियम उल्लंघन गर्नेलाई जरिबानाको स्तर बढाउनुपर्छ । सामान्य गल्ती गरे सम्झाइबुझाइ गर्ने र गम्भीर गल्ती गर्नेलाई जरिबानाको स्तर बढाउनुपर्छ ।

अर्को कुरा सवारी साधनको जाँचका लागि हामीसँग भेइकल फिटनेस सेन्टर नै छैन । काठमाडौंबाट झापा पुग्ने नाइट बस ठिक छ कि छैन भनेर जाँच गर्ने भेइकल फिटनेस सेन्टर खै ? ट्राफिकले गुरुजी ब्रेक ठिक छ, गुरुजी चक्का ठिक छ ? गुरुजी स्टेरिङ ठिक छ ? गुरुजी तपाईं ठिक हुनुहुन्छ ? भनेर कसरी पत्ता लगाउने ?

हामीले चालक दुई जना भए/नभएको हेरौंला तर त्यो गाडी दुरुस्त छ/छैन ट्राफिकको आँखाले हेरेर थाहा हुँदैन । भेइकल फिटनेस सेन्टर चाहियो ।

तेस्रो कुरा, पुराना भेइकल विस्थापित गर्न सक्नुपर्‍यो । जस्तो दिल्लीले १५ वर्ष पुराना सवारी चलाउन नदिने निर्णय गर्‍यो । अनि हामी चाहिँ २० वर्षसम्म पनि सवारी कुदाइराखेका छौं । अब सवारीलाई टाइममै स्क्राइब नगरे दुर्घटना झनै बढ्छ ।

रोडहरुको इन्जिनियरिङ व्यवस्थापन राम्रो हुनुपर्‍यो । यहाँको सडकलाई सुहाउँदो सवारी आयात गर्नुपर्‍यो ।

ट्राफिक नियमका कुरा त भइहाले, लाइसेन्स सिस्टममा पनि ट्रायल परिवर्तन गर्नु आवश्यक देखिन्छ । रोडमै लगेर प्राक्टिकल्ली ट्रायल लिने व्यवस्था हुनुपर्छ । ट्रायल लिनुभन्दा अघिको एजुकेसन पनि परिवर्तन हुनुपर्छ । खाली त्यो टिक लगाएर ७/८ वटा प्रश्न पास गरेको मान्छेले ट्राफिक नियम कति बुझेको हुन्छ ?

अन्त्यमा, ट्राफिक प्रहरीको तर्फबाट भन्नुपर्ने केही कुरा छन् ?

अहिले ट्राफिकले आम नागरिकका लागि सप्ताह लगाएर पूजा गरिराखेको छ । मेरो अनुरोध छ, तीव्र गतिमा सवारी नचलाउनुहोस्, आभेरटेक नगर्नुहोस् । मापसे, लापसे गरेर सवारी नचलाउनुहोस् ।

जथाभावी पिक एन्ड ड्रप नगर्नुहोस् । र, सडक दुर्घटना मैले चलाएको सवारी साधनबाट म कसैलाई पनि ‘हार्म’ गर्दिनँ र म आफू पनि बाँच्छु, अरूलाई पनि बचाउँछु भन्ने मर्म मनमा राख्नुहोस् ।

यो सचेतना अभियान यहाँको घर भित्र पुगोस् । कोही पनि सवारी प्रयोगको कारण चोटपटक वा दुर्घटनामा नपर्नुहोस् । सबैले सडक अनुशासन कायम गरौं भन्ने आग्रह गर्न चाहन्छु ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More