― Advertisement ―

रोमानियाली ह्याकरहरूले व्यक्तिगत र भुक्तानी जानकारीलाई लक्षित गर्दै ठूलो फिसिङ जाल बनाएपछि लाखौंले नक्कली बुटहरूका सौन्दर्य प्रस्तावहरू प्राप्त गरे।

नक्कली इमेल ठेगानाहरू मार्फत लाखौं ठूलो संख्यामा पुग्यो। अभियानह्याकरहरूले उनीहरूको धोखाधडी बुट चेकआउट पृष्ठ होस्ट गर्न सरकारी वेबसाइट प्रयोग गरेरोमानियाली आक्रमणकारीहरूले सम्झौता गरिएको व्यापार...
HomeLatest newsअब पार्टी गगन-विश्वले हाँक्छन् – KhabarHost

अब पार्टी गगन-विश्वले हाँक्छन् – KhabarHost



२७ पुस, काठमाडौं । मञ्चमा नेताहरू भाषण गरिरहेका छन् । दर्शकदीर्घमा कांग्रेसका शुभेच्छुकहरू कान ठाडो पारेर सुनिरहेका छन् । यही भिडमा छन् बीपीकालीन कांग्रेस शुभेच्छुकहरू ।

उनीहरूको साझा निष्कर्ष छ- बीपीले बनाएको जस्तो कांग्रेस अब रहेन । तर सँगै भरोसा पनि छ, युवामाथि ।

कांग्रेस नेता बीपी कोइरालाका अनुयायी हुन्, ८१ वर्षीया डमराकुमारी अर्याल । उनी विशेष महाधिवेशनमा बीपीको बारेमा केही बोल्छु भनेर आएकी हुन् । तर उनी मञ्चमा पुग्न सकिनन् । मञ्चको एक छेउमा बसेर उनी नेताको भाषण सुनिरहेकी थिइन् ।

‘बीपीको बारेमा बोल्न नाम टिपाउन खोजेको, माथि जान सकिनँ,’ उनले भनिन्, ‘कांग्रेस कस्तो थियो, कस्तो भयो । चित्त दुखेको छ ।’

अर्यालका श्रीमान्‌लाई बीपीले कांग्रेस बनाएका थिए । ‘मेरो श्रीमान् बीपीका चेला । कांग्रेसको धेरै बैठक मेरो घरमा हुन्थ्यो । तर अहिले कांग्रेसको हालत ठिक छैन,’ उनले सुनाइन् ।

बीपीको समयको जस्तो कांग्रेस बनेको उनी हेर्न चाहन्छिन् । ‘बीपीले बनाएको जस्तो कांग्रेस बनाउन युवा आउनुपर्छ । गगन-विश्वले कांग्रेस बनाउन सक्छन्,’ उनले भनिन्, ‘बीपीले हेर्नुहुन्छ…। कांग्रेस राम्रो बनोस् भनेर बत्ती बालेर बसेको छु ।’ उनी अबको आशा र भरोसा गगन-विश्वमा देख्छिन् ।

मञ्चको मध्यभागमा थिए, स्याङ्जाका ७० वर्षीय कृष्ण न्यौपाने । आफू ज्येष्ठ नागरिक भए पनि पार्टीमा युवा आउनुपर्छ भनेर शुभेच्छा प्रकट गर्न भृकुटीमण्डपमा आएको उनी बताउँछन् ।

‘वृद्ध भए पनि युवाले देश र पार्टी हाँक्नुपर्छ भनेर आएको हुँ । २५ वर्षदेखि कांग्रेसमा आवद्ध भएँ । अब युवा आएर देशमा शान्ति र विकास ल्याउनु पर्‍यो । जेनजी आन्दोलनपछि आमूल परिवर्तन भएकाले देश हाँक्ने युवाले हो । युवाको चाहनामा सहमति जनाउन यहाँ आएको हुँ,’ उनले भने ।

अब पुराना नेताले सन्यास लिनुपर्ने विचार उनको छ । ‘५ पटक प्रधानमन्त्री भएका र पटकपटक मन्त्री भएका पुराना नेताले विश्राम लिनुपर्छ । अब कांग्रेस हाँक्ने गगन-विश्वले हो,’ उनले भने।

न्यौपानेले यसो भन्दै गर्दा मञ्चबाट कांग्रेसका नेता गोपालमान श्रेष्ठ भाषण गरिरहेका थिए । ‘पार्टीभन्दा माथि उठेर युवालाई हस्तान्तरण गर्नुपर्छ,’ श्रेष्ठले युवालाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ भनेपछि न्यौपाने उत्साहित भएर ताली पिटिरहेका थिए । युवालाई नेतृत्व हस्तान्तरण नगरे पार्टी झन् कमजोर हुने भृकुटीमण्डपमा आएका ज्येष्ठ सदस्यहरूको बुझाइ छ ।

कृष्ण न्यौपाने

धादिङका ९३ वर्षीय नेत्रप्रसाद तिवारीलाई हिजो रातभर निद्रा लागेन । उनलाई आजको विशेष महाधिवेशन कस्तो हुने हो भन्ने चिन्ता थियो । ७९ वर्षीय श्रीमतीलाई साथमा लिएर उनी भृकुटीमण्डप आइपुगेका छन् ।

‘रातभर सुतेको छैन । कस्तो होला अधिवेशन भनेर चिन्ता लाग्यो । आज त राम्रो भयो । अब भोलि के हुन्छ भन्ने छ,’ उनले भने ।
भोलि देउवाले यहाँ आएर नेतृत्व हस्तान्तरण गर्नुपर्ने राय उनको छ । ‘जन्मँदै कांग्रेस भएको हो । तर देउवाले कांग्रेस बिगारे । कहिले सूर्यमा, कहिले हँसिया हथौडामा भोट हाल्न लगाउँछन् । फेरि सूर्यलाई पो भोट हाल्ने भन्दैछ । अन्त भोट हाल्न हातै जाँदैन । अब गगन-विश्व आउनुपर्छ,’ उनले भने ।

नेत्रप्रसाद तिवारी दम्पत्ति

राणा-राजा फालेको कांग्रेस जोगाउने दायित्व गगन-विश्वको काँधमा आएको उनको भनाइ छ।

६२ वर्षीय ध्रुवप्रसाद पहाडी भृकुटीमण्डपमा युवाहरूको भाषण सुन्दै थिए । उनी युवाहरूले पार्टीमा यो तहको ‘लोकतान्त्रिक विद्रोह’ गरेको भन्दै खुसी सुनिए ।

सिन्धुलीका पहाडी २०४२ सालमा जिल्ला कमिटी सदस्य थिए । उनै पहाडी अहिले आफू महाधिवेशन प्रतिनिधि नरहे पनि भृकुटीमण्डपमा आएका थिए । ‘म प्रतिनिधि त अहिले छैन । तर युवाहरूले यत्रो आँट्दा हामीले साथ दिनुपर्छ भनेर आएँ । विशेष महाधिवेशन सफल पार्न आएँ,’ उनले भने ।

पहाडीले अनलाइनखबरसँग कुरा गर्दै गर्दा स्टेजमा गोपालमान श्रेष्ठ बोलाइए । ७८ वर्षीय गोपालमानको भाषण सुन्नुपर्ने भन्दै उनले थपे, ‘एकछिन है, गोपालमान के भन्छन् सुनौँ । पाकाको कुरा सुन्ने, युवालाई अघि बढाउने समय अब आएको छ ।’

ध्रुवप्रसाद पहाडी

स्टेजबाट गोपालमानले पनि अब पार्टीमा कुनै गुट नरहेकोले देशको लागि एकताबद्ध हुनुपर्ने बताए । सोही कुरामा लय मिलाउँदै पहाडीले भने, ‘ठिक हो । तर देशको लागि अब युवा नै चाहिन्छ । हामी बुढा भयौं, यी नयाँ प्रविधि र समयलाई हामीले भन्दा उनीहरूले नै बुझ्छन् ।’

राजनीतिक सङ्कटमा देश गुज्रेको अवस्थामा अतिरिक्त समय दिएर पनि खट्न सक्ने र युवा भावना बुझ्ने नेतृत्व देशलाई चाहिएको पहाडीको बुझाइ छ । नयाँनयाँ प्रविधिको चुनौती सामना गर्ने र समयानुकूल निर्णय दिन सक्ने नेतृत्व आजको आवश्यकता भएको बताउँदै उनले नेपाली कांग्रेस र देशको नेतृत्वमा गगन थापा र विश्वप्रकाश शर्मा जस्ता युवा देख्न चाहेको उनले बताए ।

‘अस्ति भर्खर भदौमा त्यत्रा युवाले विद्रोह गरेका हैनन् ? यति छिट्टै बिर्सन मिल्छ ? त्यो आन्दोलन मेरै पुस्ताको नेताका अकर्मण्यताले निम्त्याएको हैन ?,’ प्रश्न गर्दै पहाडीले भने, ‘जेनजीको आन्दोलन नभएको भए अर्को आन्दोलन हुन्थ्यो । किनकि, मुलुकमा ठूलो निराशा जन्मिएको थियो । निराशालाई आशामा बदल्न अब युवा चाहिन्छ । कम्तीमा पुराना दललाई पनि यतिसम्म भए पनि सोच्ने बनाएकोमा जेनजीलाई धन्यवाद ।’

नुवाकोटका तिवारी दम्पती पनि भृकुटीमण्डपमा देखिए । ६७ वर्षीया टीकाकुमारी तिवारी र ७० वर्षीय टङ्कबहादुर तिवारी काङ्ग्रेसी तन्नेरी नेताले आह्वान गरेको विशेष महाधिवेशनको उद्घाटन सत्र हेरिरहेका थिए । ‘देश बदल्न युवा आउनैपर्थ्यो, ढिलो भए पनि बल गरेर ठिक गरे’ भन्दै श्रीमान्-श्रीमती गन्थनमा व्यस्त थिए ।

टङ्कबहादुर तिवारी दम्पत्ति।

टीकाकुमारीको कुरा स्पष्ट छ- अब देशलाई समयको गति छाम्न सक्ने नेता चाहिएको छ । आफू महाधिवेशन प्रतिनिधि नरहे पनि युवाहरूको यो बलमा साथ दिन उपस्थित भएको उनले बताइन् ।

‘म महाधिवेशन प्रतिनिधि हैन, कांग्रेस सदस्य मात्र हो,’ टीकाकुमारीले भनिन्, ‘अहिले एकदम राम्रो लागिरहेको छ। हाम्रा पुस्ताका नेताले गर्न सकेनन् । त्यसैले त्यत्रा युवा मरे । अब तिनै युवाको भावना बुझ्न यी युवा नेतृत्वमा चाहिएको छ ।’

गगन र विश्वप्रकाश जस्ता नेतालाई नेतृत्वमा देख्न चाहेकी उनलाई युवाहरू विदेशी रहेकोमा चिन्ता छ । सुशासन नपाएको गुनासो छ । टीकाकुमारीले अनलाइनखबरसँग थप भनिन्, ‘केही गर्छन् कि ? राम्रो गर्छन् कि ? भन्ने आश छ । त्यसैले त यो हेर्न हामी श्रीमान्-श्रीमती नै आएका हौँ नि ।’

टीकाकुमारी पञ्चायतकालीन स्थानीय चुनावमा वडासदस्य लडिसकेकी पात्र हुन् । त्यसैले अब आफूहरूको समय गइसकेकाले युवाहरूलाई अघि बढाउन ढिला गर्न नहुने उनले बताइन् ।

उनीसँगै रहेला टङ्कबहादुर तिवारी पनि ७० वर्षका भइसके । २०२८ सालदेखि नै कांग्रेसको सक्रिय सदस्यता लिएका उनमा अब नयाँ युवा नेताले केही गर्छन् कि भन्ने अपेक्षा छ ।

‘पुरानामा सत्तालिप्सा धेरै भयो । अधिवेशन नगर्ने, आन्तरिक लोकतान्त्रिक प्रक्रिया नमान्ने र युवा आन्दोलनको भावना बुझ्न नसक्ने नेता समय सापेक्ष छैनन्,’ टङ्कबहादुरले भने ।

उनले बीपीकालको कांग्रेस देखेका छन् । बीपी कोइरालाको मृत्यु भएपश्चात् उनको मलामीसम्म गएका छन् । काङ्ग्रेस भएकै कारण माओवादीबाट लखेटिएका थिए ।

आफ्नो विगत स्मरण गर्दै टङ्कबहादुरले भने, ‘मैले बीपीको समयको कांग्रेस देखेको छु । यो अवस्थामा उहाँ हुनुहुन्थ्यो भने जेनजी आन्दोलनपछि नै महाधिवेशन गर्नुहुन्थ्यो होला । विधान मिच्ने दुस्साहस गर्नुहुन्थेन । तर शेरबहादुरहरूले बीपीको नाम बेचे, बीपी बुझेनन् ।’





Read More