News Summary
Generated by OK AI. Editorially reviewed.
- माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भदौ २३ गतेको जेनजी आन्दोलनमा सरकारले गरेको दमन नेपाली इतिहासमा कहिल्यै बिर्सन नसकिने परिघटना भने।
- प्रचण्डले सरकारलाई खबरदार गर्दै भने, ‘युवाहरूले गर्ने आन्दोलनमा बल प्रयोग नगरियोस्, दमनको बाटो नअपनाइयोस्, यति दमन गरियो भने त्यसको परिणाम भयानक हुनेछ’।
- उनले २६ गते राति ९ बजेदेखि बिहान साढे ३ बजेसम्म राष्ट्रपति भवनमा सबै राजनीतिक दल र राष्ट्रपतिसँग वार्ता गरी देशलाई दुर्घटना हुनबाट बचाउन सहजीकरण गरेको बताए।
५ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनको क्रममा भदौ २३ गते सरकारले गरेको दमन नेपाली इतिहासमा कहिल्यै बिर्सन नसकिने परिघटना भनेका छन्।
महोत्तरीको रामगोपालपुरमा बुधबार आयोजित कार्यक्रममा उनले भने, ‘२३ गते जेनजी पुस्ताका नयाँ युवाहरूले गरेको आन्दोलन र त्यो आन्दोलन दबाउन तत्कालीन सरकारले गरेको बर्बर दमन र नृशंस हत्या नेपालको इतिहासमा एउटा कहिले नबिर्सिने परिघटनाको रूपमा स्थापित भई नै सकेको छ।’
प्रचण्डले आफ्नो चेतावनीका बाजुद सरकार दमनमा उत्रिएको र युवाहरूको हत्या भएको जिकिर गरे ।
‘युवाहरूको असन्तोष खासगरी सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्धबाट आक्रोशित युवाहरू आन्दोलनमा आउने घोषणा गरेका थिए,’ उनले थपे, ‘मैले सरकारलाई खबरदार! युवाहरूले गर्ने आन्दोलनमा बल प्रयोग नगरियोस्, दमनको बाटो नअपनाइयोस्, यति दमन गरियो भने त्यसको परिणाम भयानक हुनेछ भनेर मैले स्ट्याटस लेखेको थिए।’
युवाले आन्दोलनको घोषणा गरेलगत्तै तत्काल सामाजिक सञ्जामाथिको प्रतिबन्ध हटाउन आग्रह गरेको उनले स्मरण गरे। ‘यी युवाका मागहरु जायज र सही छन् किनकि ति मागहरु माओवादी केन्द्रले १० वर्षदेखि उठाउँदै आएकै माग थिए,’ उनले भने।
आन्दोलनको पहिलो दिन नै तत्काल केपी ओलीले राजीनामा नदिए परिणाम अझ भयानक हुन्छ भनेर वक्तव्य दिएको स्मरण गरे।
‘हामीले भने अनुसार, खबरदारी गरेअनुसार ओलीले राजीनामा दिएको भए २४ गतेको विध्वंस रोकिन्थ्यो,’ उनले भने, ‘ओलीको अहंकार, दम्भ, मनोगत र प्रतिशोधी भावनाले २४ गते नेपालमा भयानक विध्वंस भयो। केही घन्टा त परिस्थिति यस्तो भयो, नेपाल राज्य विहीनताको जस्तो स्थिति देखा पर्यो। तर हाम्रो पार्टीलाई र त्यसको नेतृत्वको हैसियतले मलाई संयोग भनौं या अवसर भनौं, म त्यस्तो परिस्थितिमा पनि सबै राजनीतिक दलहरुसँग निरन्तर संवाद गर्ने, राष्ट्रपति र प्रधानसेनापतिसँग निरन्तर वार्ता र संवाद गर्ने अवसर मलाई प्राप्त भयो।’
उनले आफूले देशलाई दुर्घटना हुनबाट बचाउन केही न केही सहजीकरणको भूमिका खेलेको जिकिर गरे। उनले २६ गते राति ९ बजेदेखि बिहान साढे ३ बजेसम्म राष्ट्रपति भवनमा वार्ता गरेको बताए।
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

