राष्ट्रिय
समाचार.
- नेपाली महिला क्रिकेट टोलीका निवर्तमान मुख्य प्रशिक्षक मनोज कटवालले आधिकारिक रूपमा राजीनामा दिएको घोषणा गरेका छन्।
- नेपाल क्रिकेट संघले नयाँ मुख्य प्रशिक्षक हर्षल जयन्त पाठकलाई नियुक्त गरेपछि कटवालले राजीनामा दिएका हुन्।
- कटवालले सामाजिक सञ्जालमा राजीनामा पत्रमा महिला क्रिकेटको दीर्घकालीन विकासमा काम गरेको र नयाँ नेतृत्वमा टिमले प्रगति गर्ने विश्वास व्यक्त गरेका छन्।
१० पुस, काठमाडौं । नेपाली महिला क्रिकेट टोलीका निवर्तमान मुख्य प्रशिक्षक मनोज कटवालले आधिकारिक रूपमा राजीनामा दिएको घोषणा गरेका छन् । कटवालले बिहीबार बेलुकी सामाजिक सञ्जालमा स्टाटस राखेर राजीनामा दिएको बताएका हुन् ।
नेपाल क्रिकेट संघ (क्यान)ले नयाँ मुख्य प्रशिक्षकका रूपमा हर्षल जयन्त पाठकलाई नियुक्त गरेर पत्रकार सम्मेलन पनि गरिसकेपछि कटवालले आधिकारिक रूपमा राजीनामा दिएका हुन् ।
‘उहाँ अस्थायी रूपमा मात्र नियुक्त हुनुभएको थियो, क्यानले नयाँ मुख्य प्रशिक्षक नियुक्त गरिसकेर पत्रकार सम्मेलन पनि गरिसकेपछि मनोज जी स्वत: मुख्य प्रशिक्षकको रूपमा रहनुभएन, त्यही भएर उहाँले राजीनामा बुझाउनुभएको हो’ क्यानका प्रवक्ता छुम्बी लामाले भने, ‘उहाँले अब नयाँ प्रशिक्षक आएपछि म रहिनँ भनेर आफैं भन्नुभएको कुरा राम्रो पनि हो।’
गत पुस १ गते हर्षल नयाँ मुख्य प्रशिक्षकका रूपमा नियुक्त भएका थिए । यसअघि अन्तरिम मुख्य प्रशिक्षकको रूपमा रहेका कटवालकै प्रशिक्षणमा नेपाली महिला टोली पहिलोपटक टी-२० विश्वकप छनोटको एसिया चरण पार गरेर ग्लोबल छनोटमा पुगेको थियो ।
कटवालले राजीनामाको लामो पत्र सामाजिक सञ्जालमा नै लेखेका छन् । ‘नेपाल महिला क्रिकेट टिमको मुख्य प्रशिक्षकको पदबाट औपचारिक रूपमा राजीनामा दिने निर्णय गरेको छु। नेपाल क्रिकेटको सेवा गर्नु र प्रतिभाशाली तथा समर्पित खेलाडीहरूसँग काम गर्न पाउनु मेरो लागि ठूलो सम्मान र गर्वको विषय रह्यो। यस अवधिमा प्राप्त विश्वास, सहयोग र जिम्मेवारीका लागि म क्रिकेट संघ नेपाल, खेलाडीहरू, सहायक स्टाफ तथा सबै सरोकारवालाप्रति हार्दिक आभार व्यक्त गर्दछु’ उनले लेखेका छन् ।
‘मेरो कार्यकालमा प्रदर्शनसँगै अनुशासन, मानसिक बल र नेपालमा महिला क्रिकेटको दीर्घकालीन विकासमा पनि संयुक्त रूपमा काम गर्न पाएकोमा गर्व छ। यो निर्णय सजिलो थिएन, तर अब नयाँ नेतृत्वमा टिमले अझ राम्रो प्रगति गर्ने समय आएको विश्वास लिएको छु’ उनले थप लेखेका छन्, ‘म सधैं नेपाल महिला क्रिकेटको समर्थक रहनेछु र टिमको उज्ज्वल भविष्यको कामना गर्दछु। देशको महिला क्रिकेट विकासमा सानो योगदान दिन पाएकोमा कृतज्ञ छु।’


