― Advertisement ―

एप्पलले अन्ततः म्याक मिनी प्रयोगकर्ताहरूलाई आज जटिल ह्याक वा समाधान बिना बाह्य GPU हरू प्रयोग गरेर पूर्ण एआई पावर खोल्न दिन्छ।

TinyGal मा प्रत्यक्ष रूपमा चलाउन मिल्ने GPUs मोडेल Macsप्रयोगकर्ताहरूले अब सुरक्षाहरू बाइपास नगरी AMD र Nvidia कार्डहरू प्रयोग गर्न सक्छन्TinyGPU ले MacOS 12.1 र...
HomeLatest newsहेट स्पीच र निषेध होइन, मतबाकसमा भिडन्त – KhabarHost

हेट स्पीच र निषेध होइन, मतबाकसमा भिडन्त – KhabarHost



सरकारका राजनीतिक संवाद–शृंखला अनि निर्वाचन आयोगको चुनावी कार्यतालिका पछ्याउँदै उत्साहपूर्ण दल दर्ता भएको देख्दा लाग्छ– चुनाव फागुनमा सम्भव छ । फेरि सिमरादेखि धनगढीसम्मका हिंसा, तनाव तथा अराजनीतिक घटना हेर्दा त्यसै वाक्यमा प्रश्नचिह्न थप्न मन लाग्छ– चुनाव फागुनमा सम्भव छ ?

चुनावमै जान भनेर दलहरू खुलेका खुल्यै छन् । एकअर्कासँग मिलेका मिल्यै छन् । दल मिल्नेदेखि चुनाव चिह्न साझा गर्ने क्रम चलिरहेको छ । समीक्षा बास्कोटा र रञ्जु दर्शनाले हाँक्दै आएको विवेकशील पार्टीले रास्वपासँग मिल्ने निर्णय गर्‍यो । माधवकुमार नेपालदेखि मधेशवादीसम्म, सन्तोष परियारदेखि सुदन किरातीसम्मले नयाँ–नयाँ मोर्चाबन्दी गरिरहेका छन् । कुलमान घिसिङदेखि हर्क साम्पाङसम्म, खगेन्द्र विश्वकर्मादेखि रेशम चौधरीसम्म चुनावकै तयारीमा छन् । मिराज ढुंगानाको चुनाव हुँदैन भन्ने उदास अभिव्यक्तिलाई बिर्सने हो भने देशमा त चुनावै चुनावको माहोल पो छ !

कतिसम्म भने ७ मंसिरबाट आँधीबेहरी ल्याउने हुँकार पिटिरहेका दुर्गा प्रसाईं यतिबेला सरकारसँग दोहोरो संवाद शुरु गरिरहेका छन् । उत्तेजक बोली–व्यवहारको शृंखलापछि हिरासत परेका उनी बाहिर निस्के । सरकारी मान्छेहरूले उनलाई जिस्क्याइदिएका पनि हुन्– सडकमा अनेक थोक गर्नुभन्दा चुनाव जितेर मन्त्री बन्नु नि !

यस्तै क्रममा गृहमन्त्री अर्यालसँग मंसिर १० गते बुधबार साँझ हामी अन्तरंग संवादमा थियौं । उनी भनिरहेका थिए– शान्तिपूर्ण राजनीतिक संवादमा हाम्रो प्राथमिक रुचि छ । तर हिंसा चाहिरहेका कतिपय समूह छन् । ती जेनजी हुन् या नन्–जेनजी हुन्; राजनीतिक कोर्समा गइसकेपछि सबैलाई एउटै कुरा लागू हुन्छ । हिंसा अराजकतालाई छुट छैन ।

हुन त सुदन गुरुङलाई लाग्छ– यी गृहमन्त्री अर्याल एमालेले एमालेबाट एमालेका लागि काम गर्ने गृहमन्त्री हुन् । उता एमाले अध्यक्ष केपी ओलीलाई लाग्छ– यी गृहमन्त्री बाबु जेनजीका केटाकेटी उफ्रिएर फ्याट्ट मन्त्री बनाइदिएका व्यक्ति हुन् । खासमा यस्तो संकटका बेला गृहमन्त्री बनेका ओमप्रकाश अर्याल कसैका नहुन सक्छन्, तर सबैका हुन सक्छन् ।

हामीले पहिले पनि भनेका छौं– यो सरकार जेनजी विद्रोहका कारण बनेको सरकार हो, तर आफैंमा विद्रोही सरकार होइन । यो तटस्थ सरकार हो, त्यो तटस्थता कायम राखिराख्यो भने चुनाव हुन सक्छ, समयमै ।

सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् ।

प्रश्न यति मात्रै छ, त्यो तटस्थता चुनाव हुने बेलासम्म कायम रहिरहला ? किनभने गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोग र यसको स्वीकार्यतालाई लिएर काफी प्रश्नहरू उठिरहेका छन् । सेना, प्रहरीदेखि राजनीतिक दलसम्म आपसी विश्वास जित्दै अनुसन्धान बढाउन आयोगलाई परिस्थिति सहज देखिएको छैन ।

अहिले कट्टर दक्षिणपन्थी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र लेफ्ट लिवरल जोरआन ममदानी बीचको पछिल्लो दिल्लगी चर्चामा छ । चर्चामा नहोस् पनि किन ! न्युयोर्कको मेयर चुनावअघि उनीहरूले एकअर्कालाई के मात्रै भनेनन्, एकअर्कालाई कमजोर पार्न केसम्म गरेनन् ! अहिले त ममदानीले ट्रम्पलाई फासिस्ट भनेको सम्झना पत्रकारले गराइदिंदा ट्रम्पले हो भन्देऊ न, के फरक पर्छ र टाइपको जवाफ पो दिइदिए ।

ट्रम्प र ममदानी भेट्दाखेरि जुन मिलनसारिता देखियो, त्यसले हामीलाई एक पुुराना नेपाली कविको पंक्ति सम्झाउँछ ।

कवि भीमनिधि तिवारीको सुस्वादु पंक्ति छ–

ओठले नहाँसे पनि दाँतले हाँस्नुपर्छ

मनले बहिष्कार गरे पनि मुखले नमस्कार गर्नुपर्छ ।

यति कुरा त दुर्गा प्रसाईंले पनि बुझिसक्न लागे । म बुझिसके नै त भन्दिनँ । सांसद बनिसकेका सीके राउतले मौका पाउँदा विखण्डनलाई बल पुग्ने अभिव्यक्ति दिन थाल्दै गर्दा दुर्गा आफैंले चाहिं धेरथोर राजनीति बुझिदिए भने त्यसलाई उपलब्धि नै मान्नुपर्ने हुन्छ ।

र एमाले, जसले मंसिर ९ गते मंगलबार एकातिर निर्वाचन आयोगमा दल दर्ता गरायो, अर्कातिर उसैले त्यही दिन संसद् ब्युँताउन सर्वोच्च अदालतमा रिट हाल्न थाल्यो । एमालेको एउटा खुट्टा नयाँ संसद्तर्फ अघि बढेको छ, अर्को खुट्टा पुरानै संसद्तर्फ । तर आशा गरौं, ताजा जनादेश नै उसको प्राथमिकता हुनेछ ।

कतै नाराजुलुस छ, कतै भिडन्त । कतै रंग पोतिएको छ, कतै सडकको शान्ति खल्बल्याउने प्रयासहरू । भनिदिनुहोस् त अगुवाज्यूहरू ! यसले चुनावको वातावरण बनाउँछ ?

यो किन पनि आशा गर्नुपर्ने हुन्छ भने, ठिक यही बेला एमाले समर्थित भोलेन्टियरहरू, अनि जेनजीका नाममा खुलेका विभिन्न समूहका बीचमा सडकमा परस्पर भिडन्त चलिरहेका छन् । बुधबार धनगढीमा, मंगलबार सुर्खेतमा, सोमबार विराटनगर र दुहबीमा, त्यसअघि सिमरामा हामीले त्यसका झलकहरू देख्यौं ।

सडकमा असन्तोषलाई आक्रोशमा व्यक्त गरेका नवयुवालाई एमाले नेता महेश बस्नेतले आतंककारी नै भन्दिनु चाहिं नहुने । सांसद, मन्त्री भइसकेका महेशलाई यस्तो नबोल न भनेर ‘बा’ ले सम्झाइदिए पनि हुने । तर एमालेमा यस्तो संवादको माहोल देखिएन ।

गतसाता बाराको सिमरामा भएको प्रदर्शन ।

महेश बस्नेतका हेटस्पिचहरू एकातिर छन्; जेनजीका नाममा खुलेका विभिन्न समूहका अगुवाले थालेका निषेधकारी प्रदर्शनहरू अर्कातिर । कतै नाराजुलुस छ, कतै भिडन्त । कतै रंग पोतिएको छ, कतै सडकको शान्ति खल्बल्याउने प्रयासहरू । भनिदिनुहोस् त अगुवाज्यूहरू ! यसले चुनावको वातावरण बनाउँछ ?

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, जो अध्यक्ष पदमा केपी ओलीसँग तीन सातापछि हुने महाधिवेशनमा लड्ने घोषणा गरेका छन्; उनले भोलेन्टियर बनाउने निर्णयप्रति पार्टीभित्र एकमत नरहेको बताइसकेका छन् । हामीसँग लामो अन्तर्वार्तामा बस्दै पोखरेलले बुधबार बिहान भनेका थिए– पार्टीको नीति र मान्यताभन्दा बाहिर गएर समूह बनाउने कुरा उचित होइन ।

ठूलो आन्दोलन वा उत्पातपछिको चुनाव केवल प्राविधिक तयारी होइन, यो राजनीतिक अनुष्ठान पनि हो; जसका लागि मुख्य स्टेकहोल्डरहरू मानसिक रूपमै आपसमा संवाद गर्न तयार हुनुपर्छ । यतिबेला ओठले हाँस्न मन छैन भने पनि दाँतैले सही, गिजै देखाएर सही; हाँस्न तयार हुनुपर्छ ।

यो किन पनि आवश्यक छ भने, समयमा चुनाव भएन भने हामी नयाँ चरणको राजनीतिक संकटतर्फ प्रवेश गर्न सक्छौं । त्यसले हामीलाई अनिर्णय, अराजकता र शून्यता बाहेक केही दिनेछैन भनेर यसअघि पनि हामीले सम्पादकीय मार्फत भनिसकेका छौं ।

मंसिर ८ गते दिउँसो हामी न्यायालयका एक महत्वपूर्ण पात्रसँग संवादमा थियौं । उनको मुखबाट हामीले सुनेको वाक्य थियो– चुनाव भएन भने संसद् पुनर्स्थापनाको मागमा स्वत: गम्भीर हुनुपर्ने हुन्छ । देशलाई रिक्तताको अवस्थामा छाड्न सकिंदैन । देश रहे न संविधान ! देशै नरहे केको संविधान ?

हामीले एकमुष्ट जवाफ दिन सक्नुपर्छ, हाम्रा व्यवहारहरूबाट । चुनाव पनि हुन्छ, देश पनि बच्छ । प्रणालीले काम गर्छ यो लोकतन्त्रमा; कसैलाई भ्रम नरहोस् । आखिर जेनजीले सचेत विद्रोह चाहेको हो । जेनजीले युवा उभार मागेको हो, अराजक उत्पात होइन ।

हामीले सरकारले दलहरूसँग संवाद गर्ने विभागीय मन्त्री तोक्न लागेको संकेत पाएका छौं, त्यो सकारात्मक छ । प्रधानमन्त्री सुशीला कार्की आफैं पहिलेभन्दा नरम भएर संवादमा अघि सर्ने कुराले चुनावको वातावरण अरू बनाउँछ ।

नेपालका पार्टीहरूको एउटा चरित्र छ– एकअर्का विरुद्ध जति कटु शब्द बोले पनि उनीहरू लन्च वा डिनर खाँदै कुरा गर्न पछि पर्दैनन् । नचाहिंदा कुरामा समेत राष्ट्रिय सहमति देख्दा–देख्दा जनता वाक्क थिए, अब चाहिंदो एउटा चुनावी एजेन्डामा पनि लन्च वा डिनर फिक्स गर्ने कि ? दल, जेनजीलाई सँगसँगै राखेर बालुवाटारमा यसअघि कुरा भइसकेकै छ ।

यस्तै अर्को चुनावी संवाद प्रधानमन्त्री कार्की आफैंले गराउन सक्छिन् । त्यस अग्रसरताले नै अहिले सडकहरूमा देखिएको सन्त्रासलाई कम गर्दै चुनावी बाटोतर्फ देशलाई हिंडाउने छ । दल र जेनजी दुवैले यतिबेला एकअर्का विरुद्ध हेटस्पिच र निषेध रोकिनु जरूरी छ । जनमत परीक्षणका लागि मिलेर चुनावमा जानु त छँदैछ ।

एस्प्रेसोका अन्य सामग्री-

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More