― Advertisement ―

टेक ग्याजेटहरू फादर्स डे २०२६ को लागि समयमै आइपुग्ने ग्यारेन्टी

फादर्स डे को अर्को कुनै डरलाग्दो अर्थ छैन। यसमा मजाक गर्नुहोस् वा अफ्टरसेभ वा ह्विस्कीको अर्को बोतल।यदि तपाईंको जीवनमा बुबाले ग्याजेटहरू, टेक्नोलोजीसँग टिंकर...
HomeLatest news‘जेनजीले न्याय नपाएसम्म चुनाव हुँदैन’ – KhabarHost

‘जेनजीले न्याय नपाएसम्म चुनाव हुँदैन’ – KhabarHost



अहिले जेनजी र अन्य राजनीतिक समूहबीच टकराव बढ्दो छ । विशेषगरी एमाले नेतालक्षित प्रदर्शन जेनजीले गरिरहेका छन् । सिमरा घटनापछि सुर्खेत, धनगढीमा पनि जेनजीले महेश बस्नेत जाने कार्यक्रमलाई लक्षित गरेर विरोध प्रदर्शन गरे ।

यता सुदन गुरुड नेतृत्वको द काउन्सिल अफ जेनजी छ, जसले गृहमन्त्रीको राजीनामा मागिरहेको छ । यसका प्रदेश संयोजकको असहमतिका बाबजुद सुदनले गृहमन्त्रीविरुद्ध सञ्जालमा बोलिरहेका छन् ।

यो किन भइरहेको छ ? अनि जेनजीले चाहेको के हो ? यसको नाममा निषेधको राजनीतिक सुरु भएको हो ? अनि चुनाव नजिकिँदै जाँदा जेनजीहरूको रणनीति के छ ? यसबारे हामी नेपालका संयोजकसमेत रहेका जेनजी अगुवा सुदन गुरुङसँग अनलाइनखबरका कौशल काफ्लेले गरेको कुराकानी :

तपाईंहरू पछिल्लो समय सडकमा देखिनुहुन्छ । गृहमन्त्रीको राजीनामा मागिरहनुभएको छ । यसले तपाईंहरु कसैबाट परिचालित हो कि भन्दै आशंका पनि छ के हो खासमा ?

अँ । अति गर्न थाले अब त । हुँदाहुँदा मलाई कल्याण श्रेष्ठले प्रयोग गरिरहेको छ भनेर समाचार आइरहेका रहेछन् । जिन्दगीमा मैले कल्याण श्रेष्ठ भेटेकै छैन, यार । यो त सरासर चरित्र हत्या हो ।

उसोभए पछिल्लो समय यही सरकारबाट किन असन्तुष्ट हुनुहुन्छ ?

हाम्रो जेनजीका भाइबहिनीहरू समातिएका छन् । लगभग ३ हजारभन्दा बढी मान्छे त जेलभित्र छिरिसके । अपराधीकरण बढ्यो । नभएका मुद्दा, झुटा मुद्दा लगाएर थपेर मान्छेहरूलाई जेल हालिन थालेको छ । यो एकदमै गलत हो । म अहिले यसमै काम गरिरहेको छु । ती भाइबहिनीको लागि लडिरहेको छु ।

अहिलेको प्रधानमन्त्री अनि सरकारका प्रतिनिधि तपाईंहरुले नै छान्नुभएको होइन र ? किन यस्तो भयो ?

त्यो बेलाको कुरा यस्तो हो, हामीलाई जेनजीहरू सबै मिलेर नाम दिनुभएको थियो । मलाई ‘दाइ, तपाईं जे गर्नुहुन्छ, हामी तयार छौँ’ भनेर म्यान्डेट दिएको थियो । त्यो बेला सुशीला कार्कीको नाम निकाल्ने नै ओमप्रकाश अर्याल हुन् । उहाँ जेनजीको आन्दोलनमा मध्यस्थता गर्न आएको एउटा पात्र मात्र हो ।

उहाँले नै सुशीला कार्की कानुन बुझेको, सम्माननीय व्यक्ति भएको र महाअभियोग लगाएर हटाउन खोजिएकोले उहाँले काम गर्नुहुन्छ भनियो । तत्कालीन सत्तासँगको एग्रेसनले पनि उहाँले इमानदार भएर राम्रो काम गर्नुहुन्छ भनेर भनियो । हामीलाई कन्भिन्स गराइयो ।

बरु मैले कार्कीको नाम पाएपछि १७ जनाले मात्र निर्णय गरेर हुँदैन भनेर आम जेनजीको मत लिन डिस्कर्डमा भोटिङ पनि गराएँ । प्रोसेस यही हो । यसरी उहाँ प्रधानमन्त्री बन्नुभएको हो ।

अहिले फर्केर हेर्दा, ती नाम सिफारिस गर्नेहरूमाथि कुनै शङ्का लाग्छ ?

मलाई त के थाहा । आन्दोलनमा आएर भेटेका मान्छेहरू हुन् सबैजना । हामी त अन्याय सहनुहुँदैन भनेर लडेका थियौँ । अहिले आएर उहाँहरूले त्यतिखेरको समयको फाइदा लिनुभयो भन्ने मलाई लाग्छ ।

त्यो प्रेसरको फाइदा उहाँहरूले लिनुभयो । हामी जुन प्रेसरमा थियौँ, आज सरकार नबने भोलि जे पनि हुन्छ भनेर तर्साइएपछि यो सबै छिटोछिटो गरिएको थियो । हामीले पनि विज्ञका कुरा सुन्नुपर्छ भनेर पत्याएका थियौँ ।

ओमप्रकाश अर्याल त राष्ट्रपति निवासमा कानुनी सल्लाहकार भएर जानुभएको थियो । उहाँले प्रधानमन्त्री नबन्दासम्म ‘देश डुब्ने भयो’ भनेर मलाई नै बोलाउनुभयो ।

कानुनी सल्लाहकारको नाताले उहाँले मलाई सुरुमै भन्नुपर्थ्यो कि, ‘सुदन जी, यो संविधान रह्यो भने तपाईंहरूको माग कुनै पनि पूरा हुँदैन’ भनेर । तर, उहाँले यति मात्र भन्नुभयो कि ‘हाम्रो प्रधानमन्त्री आइसकेपछि बाँकी माग पूरा भइहाल्छ । म संविधानको एक्सपर्ट हुँ, मलाई विश्वास गर्नुस्’ भनेर मलाई झुक्काउनुभयो ।

मेरो टिमको बिजनेस एक्सपर्ट अधिवक्ता रमन कर्ण समेत त्यहाँ हुनुहुन्थ्यो । कर्ण व्यावसायिक क्षेत्रको विज्ञ, मचाहिँ कानुनको विज्ञ भनेर ओमप्रकाशजीले भनेपछि हामी उहाँको कुरामा कन्भिन्स भएका थियौँ ।

यो सबै हेर्दा, उहाँहरूले हामीलाई दुरुपयोग गर्नुभयो भन्नेलाग्छ । त्यतिखेरको प्रेसरको फाइदा लिनुभयो ।

पछिल्लो समय गृहमन्त्रीसँग बढेको टकराव पनि यसकै कारण हो ? किन उहाँप्रति आक्रोश पोखिरहनुभएको छ ?

उहाँको व्यवहार सही भएन । कानुनको असमान प्रयोग भयो । अराजक अभिव्यक्ति दिने, समाज भड्काउने, गुण्डागर्दी देखाउने मान्छेहरू (जस्तैः महेश बस्नेत लगायत) लाई छुट दिने, तर त्यसको प्रतिक्रिया दिने हामी जेनजीहरूलाई चाहिँ झूटा मुद्दा लगाएर समात्ने र थुन्ने काम बढ्यो । कानुन त सबैको लागि बराबर हुनुपर्‍यो नि ।

भिडियो खिचेको भरमा पनि निर्दोष जेनजीहरूलाई पक्राउ गर्ने र नचाहिने मुद्दा थप्ने काम भइरहेको छ । गृहमन्त्रीसँग यसलाई फिल्टर गर्न, भेरिफाई गर्नसक्ने एउटा सानो डिपार्टमेन्ट बनाउने क्षमता समेत छैन ।

मुख्य कुरा त गृहमन्त्री ओमप्रकाश अर्याल आफ्नो बोलीमा अडिग हुनुहुन्न । उहाँले प्रधानमन्त्री निवासमा दुई महिनामा काम गर्न नसके सत्ता छोड्दिन्छु भनेर हामीलाई वचन दिनुभएको थियो । तर, दुई महिना के, दशैँ, तिहार, छठ सकिँदासम्म पनि छोड्नुभएन । काम पनि गर्न सक्नुभएन ।

अनि गृहमन्त्री बन्ने बेलामा पनि उहाँले ‘मेरो विज्ञता कानुनमा हो, म कानुन मन्त्रालयमा जान्छु, गृहमा राम्रो मान्छे राख्नुस्’ भन्नुभएको थियो । त्यसैले गृहमा हामीले हर्क साम्पाङको नामसमेत लगेर प्रधानमन्त्रीलाई भेट गराएका थियौँ । तर, बेलुका न्युज आउँदा उहाँ आफैँ गृहमन्त्री बन्नुभयो । यो ढाँटछल हो । यसले हामी त्यसबेला आक्रोशित पनि बनेका थियौँ ।

कामकै कुरा गर्दा, घाइतेको वर्गीकरण गर्न तीन महिना भईसक्यो । यस्तो असक्षम मान्छेलाई गृहमन्त्रीमा टाँसेर बस्न हामीले आन्दोलन गरेको होइन नि ।

तर, तपाईंहरूले नियुक्ति र बढुवा जस्ता कुरामा टसल बढेर विरोध गर्नुभएको हो भन्ने आरोप छ नि ?

यो उहाँले नै फैलाएको झूटो न्यारेटिभ हो । मैले उहाँसँग कुरा नगरेको धेरै भइसक्यो । मैले के भनेको थिएँ भने, राम्रो मान्छे नियुक्ति गर्नु, जो विवादित छैन, जसले न्याय दिन सक्छ । तर, त्यो भएन । त्यसपछि बाहिर विरोध बढेपछि उहाँले सुदन गुरुङले आइजीपी अनि के-के को नियुक्तिमा चित्त बुझाएन भनेर अफवाह फैलाउनुभयो । यो सरासर झुटो हो ।

सडकमा अन्य राजनीतिक दलका व्यक्ति र कार्यकर्तालाई निषेध गर्ने हिसाबले किन कार्यक्रम गरिराख्नु भएको त ?

हामीले अहिले भदौ २३ गते जेनजीहरूमाथि दमन गर्नेलाई यथाशीघ्र कारबाहीको दायरामा ल्याउनुपर्छ भनेका हौं । निर्दोष जेनजीहरूमाथि लागेको झुटा मुद्दा खारेज गरेर तत्काल रिहा गर्नुपर्छ । ढाँटेर, छलछाम गरेर पदमा बसेका गृहमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ ।

तर, अहिले त्यही शक्ति अनेक ठाउँमा खुलेआम हिँडेको छ, त्यो पनि जेनजी भाइबहिनीलाई थर्काउँदै । अनि सरकार के हेरेर बसेको छ ? हामीमाथि भइरहेको आक्रमणचाहिँ किन कसैले देख्दैन ? खासमा विषयमा हामीले के गर्यौँ हैन, उनीहरूले के बोलिरहेका छन् भन्ने हो । हामीले कसैलाई निषेध गरेको हैन, यो त बस् क्रियाको प्रतिक्रिया मात्र हो ।

अनि संविधानको हकमा तपाईंको अडान के हो ? एकपटक तपाईंले ‘संविधान फाल्ने कि राख्ने, कन्फ्युज छु’ भन्नुभएको थियो, जुन निकै विवादिन पनि बन्यो नी ?

त्यो बेला कन्फ्युज छु भन्नुको मतलब, बाहिरबाट जेनजीले मलाई ‘संविधान खारेज गर्नुपर्छ’ भनेर म्यान्डेट दिएर पठाएको थियो । तर, भित्र गएपछि कुरा अर्कै आयो । ओमप्रकाश अर्यालले राष्ट्रपति निवासमा मलाई ‘म एक्सपर्ट हुँ, यो संविधान राख्नैपर्छ’ भनेर हामीलाई भन्नुभयो । बाहिरबाट जेनजीले खारेज गर्नु भनेर पठाएका थिए, भित्र फाल्नु हुँदैन भन्ने कुरा आयो । त्यसपछि बाहिर आउँदा मैले त्यो बोलेको हुँ । बाँकी मेरो केही स्वार्थ पनि छैन, केही छैन । विज्ञहरुले जे सल्लाह दिए त्यो कार्यान्वयन गराउन लागिपरेको हुँ ।

अनि यो सरकारसँग जेनजीहरू पनि सन्तुष्ट हुनुहुन्न । दलहरुले पनि बनाएको सरकार हैन यो । अहिले सरकार कसको बलमा अडिएको छ जस्तो लाग्छ ?

यो सरकार न पार्टीले पठाएको हो, न चुनाव जितेर आएको हो । बरु यो सरकार जेनजी र नेपाली जनताको बलमा टिकेको हो । मुख्य लौरो हामी जेनजी नै हौँ । तर, उहाँहरूले त्यो लौरो नै भाँचिरहनु भएको छ । उहाँहरूले अहिले ‘सत्तामा आइसक्यौँ’ अब कसैको मतलब छैन भन्ने सोच्दै हुनुहुन्छ भने यो गलत हुनजान्छ ।

यता एमालेले त संसद् पुनःस्थापनाको माग लिएर सर्वोच्चमा गएको छ । यसलाई के भन्नुहुन्छ ?

त्यही त, यत्रो आन्दोलन गरेको फरक के भयो र अहिले ? कुनै हत्यारालाई कारबाही भएको छैन । भ्रष्टाचारीलाई कारबाही भएको छैन । गृहमन्त्री त गिरीबन्धुमा केपी ओलीविरुद्ध लडेको भनेर मलाई कन्भिन्स गराउने मान्छे हो । उहाँसँग गिरीबन्धुको सबै फाइल पनि छ । मैले यसविरुद्ध लडेको हुँ, कारबाही गर्नुपर्छ भनेर मलाई नै भनेकै हो । अहिले राज्यसत्ता आफ्नै हातमा छ । सडकमा हुँदा कराउने, सत्तामा पुगेपछि चुप लाग्ने ? यस्तो हुनु भएन ।

हामीले लडेको यस्तो कामै नगर्ने मान्छेलाई राख्न होइन । परिस्थिति सम्हाल्न मात्र हो भने त पहिलाकै गृहमन्त्री ठीक थियो होला नि । हामीले त सुशासन माग्दै योग्य मान्छेलाई पदमा स्थापित गराउन लडेको हो ।

यस्तो अवस्थामा पुराना शक्ति फेरि उठ्न खोज्नु नौलो होइन । बरु हामीले र हाम्रो सरकारले काम गर्नुपर्‍यो । अब के हुन्छ त मलाई थाहा छैन, तर सरकारले जे गरिरहेको ठिक छैन । यसले हाम्रो आन्दोलन अपराधिकरण बढ्ने जोखिम नै धेरै भयो ।

अब तपाईंहरू चाहिँ चुनावमा कसरी जानुहुन्छ ? तयारी के छ ?

कुन मुख लिएर जाने इलेक्सनमा हामी ? हाम्रो माग पुरै नभई यत्तिकै चुनावमा जाने ? हामीले न्याय नपाएसम्म चुनावमा जाने कुरै आउँदैन । त्यही पनि इलेक्सन हुन्छ होला र ? मलाई त शंका लागिरहेको छ ।

चुनाव यिनीहरूको एजेन्डा नै रहेछ । हाम्रो एजेन्डा नै फरक छ । यिनीहरुले चुनावमात्र भनिरहेका छन्, हामीले त्योमात्र भनेका छैनौँ । जेनजीले बनाएको सरकारको एजेन्डा फरक थियो, अहिले उनीहरूको एजेन्डा नै भिन्नै छ । यो त खै, के भयो भयो । जेनजीको रगतको फाइदा लिए सबैले । हामीले अर्कै सोचेको, अहिले अर्कै भइरहेको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More