― Advertisement ―

चिनियाँ वैज्ञानिकहरूले सबै चीज वास्तविक मेसिनमा सार्नु अघि भर्चुअल लाइट कम्प्युटर भित्र एआई चलाए

अप्टिकल लाइटको जटिल प्रक्रियाको सट्टा प्रयोग गर्दछ डाटा।डिजिटल जुम्ल्याहाले साझा अप्टिकल हार्डवेयरको लागि लामो पर्खाइलाई हटाउँछ।भर्चुअल अप्टिकल प्रणालीहरूले उल्लेखनीय सटीकताका साथ वास्तविक हार्डवेयर प्रतिबिम्बित...
HomeLatest newsराजनीतिक रफ्तारमा एमालेका ‘मधेश कमान्डर’ – KhabarHost

राजनीतिक रफ्तारमा एमालेका ‘मधेश कमान्डर’ – KhabarHost



४ पुस, काठमाडौं । मंसिरको दोस्रो साता नेकपा एमालेको ११औँ महाधिवेशनको लागि प्रतिनिधि छनौट हुँदा रघुवीर महासेठ ‘तटस्थ’ देखिने ध्याउन्नमा थिए ।

त्यसअघि पार्टी राजनीतिका अधिकांश मोडहरूमा केपी शर्मा ओलीको पक्षमा खुलेरै लागेका महासेठ महाधिवेशनको पूर्वसन्ध्यामा किन तटस्थ देखिने प्रयासमा देखिए ? यसको जवाफ खोज्न उनले मधेमा आफूसँगै पार्टीलाई बलियो बनाउन चालेका रणनीतिक कदमहरूको समीक्षा गर्नुपर्ने हुन्छ ।

रणनीतिक मौनताको कुटनीति

महाधिवेशनको पूर्वसन्ध्यामा प्यानलहरूको चर्चा चुलिरहेको बेला महासेठ अप्रत्याशित रूपमा ‘तटस्थ’ देखिन चाहे । यसबीचमा उनी एमाले अध्यक्षका अर्का प्रत्याशी ईश्वर पोखरेलको पक्षमा खुल्न सक्ने अनुमान पनि गरे ।

यी कदमहरूलाई धेरैले उनको राजनीतिक अन्योल भनिठाने, तर वास्तवमा त्यो आफ्नो पक्षमा धेरै प्रतिनिधि जित्ने एउटा सुक्ष्म रणनीति थियो । यो कुरा महाधिवेशनको नतिजाले पुष्टि गरेको छ ।

धनुषा लगायत मधेशका जिल्लाहरूमा आफ्ना मान्छेलाई सर्वसम्मत वा चुनावी प्रक्रियाबाट प्रतिनिधि जिताउन उनले पार्टी सत्ताको शक्ति र कुटनीतिक प्रयास दुवैको सहारा लिए ।

नतिजास्वरुप, महाधिवेशनको बन्द सत्रसम्म पुग्दा उनी अध्यक्ष केपी शर्मा ओलीको रोजाईमा उनको प्यानलमा मात्र परेनन्, उपमहासचिव पदमा भारी मतका साथ विजयी भए । सातजना उम्मेदवारमध्ये १३६८ मत प्राप्त गरी उनी दोस्रो वरीयतामा निर्वाचित हुन सके ।

उपमहासचिवमा विजयी ओली समूहकै उम्मेदवार लेखराज भट्टले १४५२ मत ल्याउँदा पोखरेल समूहका योगेश भट्टराईले १३४८ मत प्राप्त गरे ।

नवौं महाधिवेशनमा सचिव पदमा पराजय व्यहोरेका महासेठले दशौंमा सचिव जिते भने ११औँ महाधिवेशनबाट उपमहासचिव निर्वाचित हुनसके ।

एमाले राजनीतिका सुख-दुःख

त्यसो त, मधेशमा एमालेलाई ‘कमब्याक’ गराउन भूमिका खेल्न नसकेको भए महासेठलाई पार्टीभित्र भूमिका विस्तार त्यति सहज हुने थिएन । किनकि उनको राजनीतिक यात्रा त्यति सहज थिएन ।

धनुषाको मिथिला विहारी नगरपालिका घर भएका उनी अनेरास्ववियुको सदस्य हुँदै विद्यार्थी राजनीतिमा जोडिएका थिए ।

२०५० सालमा उदयपुर सिमेन्ट कारखानाको कार्यकारी अध्यक्ष नियुक्त भएका उनको चुनावी राजनीतिको सुरुवात त्यति सुखद् हुन सकेन ।

राजनीति संयोगहरूको खेल पनि हो । जब डा. यादव नेपालको पहिलो राष्ट्रपति निर्वाचित भए, महासेठ २०६५ को उपनिर्वाचनमा प्रत्यक्ष निर्वाचित हुन सफल भए । २०७० सालमा सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनको नतिजा उनको लागि सुखद बनेन । उनी प्रथम राष्ट्रपति पुत्र डा. चन्द्रमोहन यादवसँग पराजित हुन पुगे ।

रामचन्द्र झा मधेशको एमाले राजनीतिमा २०६५ सालतिर प्रभावशाली नेता थिए । उनी पार्टीमा छँदा महासेठसँग टसल परिरहन्थ्यो । जब २०६६ सालतिर झा नेकपा माओवादीमा प्रवेश गरे, महासेठका लागि बाटो फराकिलो बन्यो ।

झा बाहिरिएसँगै मधेसमा बढेको एमालेको रिक्ततालाई महासेठले मेहनतका साथ भरे जसबाट उनले आफ्नो शक्ति बढाउनुका साथै एमालेका लागि मधेसमा विकल्पविहीन सारथि जस्तो बने ।

२०७३ सालमा महासेठसँगै उनकी पत्नी जुलीकुमारी महतो पनि एमाले केन्द्रीय सदस्य मनोनीत भए । उनीहरू एमाले र माओवादी केन्द्र एकतापछि बनेको नेकपामा स्थायी समिति सदस्य बने । २०७८ सालको १० औं महाधिवेशनमा सचिव निर्वाचित भएसँगै महासेठ स्थायी समिति सदस्य बने । जुली भने पोलिटब्युरो सदस्य छिन् ।

पछि महासेठले प्रदेश नं. २ को इन्चार्जको जिम्मेवारी पाए । २०७९ सालको निर्वाचनमा प्रतिनिधिसभामा मधेसबाट एमालेले ११ प्रत्यक्ष सिट जित्यो भने प्रदेशसभामा २३ सिट ल्याएर पहिलो शक्ति बन्यो भयो ।

यो नतिजाले महासेठ पार्टीमा थप शक्तिशाली बने । उनीप्रतिको पार्टी विश्वास झन् बढ्यो ।

ओलीलाई साथ, ओलीको धाप

एमाले अध्यक्ष ओलीसँगको निकटता नै महासेठको शक्तिको ‘न्यूक्लियस’ हो । संसद विघटनदेखि नेकपा विभाजनसम्मको कठिन समयमा महासेठले ओलीलाई दिएको साथले उनलाई ‘विश्वास पात्र’ बनायो । फलस्वरुप, मन्त्रिपरिषद् पुनर्गठन हुँदा उनी र उनकी पत्नी दुवैले पटक-पटक मन्त्री बन्ने अवसर पाए ।

२०७४ सालको निर्वाचनमा मधेशबाट प्रत्यक्ष जित्ने एमालेका दुई सांसदमध्ये एक महासेठ थिए । उनले उक्त निर्वाचनमा धनुषा-४ बाट चुनाव जिते । तत्कालीन प्रधानमन्त्री ओलीले महासेठलाई शक्तिशाली भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको जिम्मेवारी दिए ।

विवादमा तानिसँगै महासेठबाट ओलीले ४ मंसिर २०७६ मा मन्त्रीको जिम्मेवारी खोसे । नेकपा विभाजनको संघारमा महासेठले ओलीसँग दूरी बढाउन थाले ।

यो सबै बुझेका ओलीले जुलीलाई १० पुस २०७८ मा महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री बनाइदिए । संसद विघटनपछि २१ जेठ २०७८ मा महासेठलाई पनि ओलीले उपप्रधान तथा परराष्ट्रमन्त्रीको जिम्मेवारी दिए ।

यद्यपि सर्वोच्च अदालतको परमादेशबाट शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएसँगै दुई सातामै महासेठले मन्त्री पद गुमाए ।

पार्टीमा बढ्दो प्रभाव र राजकीय जिम्मेवारीबाट प्राप्त शक्तिको बलमा उनले २०७९ सालसम्म आइपुग्दा उनले कांग्रेसका हस्ती महेन्द्र यादवलाई पराजित गरेर आफ्नो किल्ला सुरक्षित राखे ।

शक्तिको स्रोत के ?

कतिपयले धन्याढ्य महासेठ दम्पतीको शक्ति स्रोत सम्पत्ति रहेको टिप्पणी पनि गर्नेगर्छन् । महासेठ नेपालका धनाढ्य व्यवसायी उपेन्द्र महतोका बहिनी–ज्वाइँ हुन् ।

तर, तीन दशक लामो राजनीतिक यात्रामा उनको आर्थिक हैसियत मात्रै राजनीतिक उपलब्धिको आधार बनेको निष्कर्ष निकाल्न सकिने अवस्था देखिंदैन । यसबीचमा उनले चालेका राजनीतिक कदम र मेहनतले पार्टी र सत्ता राजनीतिमा उनी सधैं हाबी देखिएका छन् ।

सँगै, ओलीसँगको निकटताले उनलाई पार्टीमा शक्ति र भूमिका विस्तारमा थप सहज बनाइदिएको छ । यसरी महासेठ पार्टीमा मधेशबाट एक्लो पदाधिकारी बनेका छन् ।

कतिपय विवाद र पार्टीभित्र आलोचनाका बीच पनि चुनावी अंकगणित र पार्टीको आन्तरिक सत्ता सन्तुलन मिलाउन खप्पिस देखिएका महासेठ एमालेको आगामी राजनीतिमा मधेशको प्रतिनिधित्व र शक्ति सन्तुलनका लागि अब एक अनिवार्य खम्बा बनेका छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More