राष्ट्रिय
समाचार.
- चौथो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा पुरुष एकलतर्फ विष्णु कटुवाल, विधान अधिकारी, प्रफुल महर्जन र क्षितिज खनाल सेमिफाइनलमा प्रवेश गरेका छन्।
- महिला एकलतर्फ रसिला महर्जन र रिहाना सेरचनले सेमिफाइनलमा प्रवेश गरी फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन्।
- यू–१७ र पुरुष युगल विभिन्न उमेर समूहका खेलाडीहरूले सेमिफाइनल स्थान सुरक्षित गरेका छन्।
२५ पुस, काठमाडौं । ललितपुरमा जारी चौथो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८२ अन्तर्गत शुक्रबार सेमिफाइनलका समिकरणहरू पूरा भएका छन्।
ललितपुर महानगरपालिकाको मुख्य आयोजनामा सम्पन्न क्वार्टरफाइनल खेलमा आ–आफ्ना प्रतिस्पर्धीलाई पराजित गर्दै सप्तरीका विष्णु कटुवाल, त्रिभुवन आर्मी क्लबका विधान अधिकारी र प्रफुल महर्जन तथा नेपाल एपीएफ क्लबका क्षितिज खनाल पुरुष एकलतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन्।
विष्णुले एपीएफका भोजबहादुर गुरुङलाई २१–१७, २१–१३ ले पराजित गरे। विधानले नेपाल प्रहरीका जीवन आचार्यलाई २१–१३, २१–१३ को सोझो सेटमा हराए। प्रफुलले प्रहरीका पूर्ण थापामाथि २१–८, २१–७ को सहज जित निकाल्दै सेमिफाइनलमा क्षितिजसँगको भेट पक्का गरे। क्षितिजले आर्मीका नरेन्द्र बमलाई २१–१९, २१–७ ले पराजित गरे।
महिला एकलतर्फ तीन संस्करणकी विजेता रसिला महर्जन सेमिफाइनलमा प्रवेश गरेकी छन्। रसिलाले एपीएफकी स्वर्लिन श्रेष्ठलाई २१–१२, २१–११ ले पराजित गरिन्। अब उनले फाइनल प्रवेशका लागि आर्मीकी रिहाना सेरचनसँग प्रतिस्पर्धा गर्नेछिन्। सेरचनले प्रहरीकी निता लम्साललाई २१–२३, २१–१३, २१–१४ ले पराजित गरिन्।
अर्को खेलमा आर्मीकी अमिता गिरीले आफ्नै क्लबकी सेश्ना सिरपालीलाई वाकओभर दिइन्। यस्तै भोजपुरकी नङ्गसल तामाङले फिटनेपाल स्पोर्ट्सप्लेक्सकी निभा राईलाई २१–८, २१–१९ ले पराजित गर्दै सेमिफाइनलमा सिरपालीसँगको भेट पक्का गरिन्।
ललितपुर ब्याडमिन्टन संघ र बालकुमारी रिमिक्स क्लबको संयुक्त आयोजनामा भएको यू–१७ महिला एकलतर्फ आर्मीकी रिहाना सेरचनले बालकुमारी रिमिक्सकी सिभ्लिका गिरीलाई २१–७, २१–८ ले पराजित गर्दै सेमिफाइनलमा एपीएफकी स्वर्लिन श्रेष्ठसँगको भेट तय गरिन्। स्वर्लिनले विशेष्था खड्कालाई २१–११, २१–९ ले हराइन्।
अर्को खेलमा सेनाकी समृद्धि श्रेष्ठले बालकुमारी रिमिक्सकी युश्ना महर्जनलाई २१–७, २१–१० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरिन्। समृद्धिले अब फाइनल प्रवेशका लागि फिटनेपाल स्पोर्ट्सप्लेक्सकी निभा राईसँग प्रतिस्पर्धा गर्नेछिन्। निभाले आर्मीकी अजरेन्का सेरचनलाई २१–१२, २१–१४ ले पराजित गरिन्।
यू–१७ पुरुष एकलतर्फ आर्मीका सदीप राई, प्रतीक बिष्ट र सौर्य महर्जन तथा कस्तुरी कलेजका मिशेक लिम्बु सेमिफाइनलमा प्रवेश गरेका छन्। सदीपले एपीएफका शिशिर रानालाई २१–१२, २१–१३ ले पराजित गरे। प्रतीकले मधुवालिया ब्याडमिन्टन क्लबका विवेक अधिकारीलाई १५–२१, २१–१६, २१–१४ ले हराए। सौर्यले लभ ब्याडमिन्टन एकेडेमीका पप्लु पाललाई २१–१२, २१–१२ ले पराजित गरे भने मिशेकले आर्मीका रिजन मगरलाई २१–१४, २१–१४ ले हराए।
पुरुष युगल ४५ वर्षमाथि उमेर समूहमा पिस फिटनेस क्लबका संजय कपाली र अनिल थाम्सुहाङको जोडी सेमिफाइनलमा प्रवेश गरेको छ। उक्त जोडीले आफ्नै क्लबका सुमन काफ्ले र कृष्णहरि प्रसाईंलाई २१–७, २१–१२ ले पराजित गर्यो। अब उनीहरूले बालकुमारी रिमिक्सका शान्ता डंगोल र ज्ञान कुमालको जोडीसँग प्रतिस्पर्धा गर्नेछन्। डंगोल–कुमाल जोडीले स्वस्तिक ब्याडमिन्टनका राजेन्द्र लामा र छत्र नायकलाई २१–९, २१–१४ ले पराजित गर्यो।
अर्को खेलमा अच्युत बस्नेत र महेश भट्टराईको जोडीले देवीनगरका कुशलकुमार के.सी. र नारायणदास श्रेष्ठलाई २१–१६, २१–१६ ले पराजित गर्दै सेमिफाइनलमा युनिटी ब्याडमिन्टन क्लबका आङ्गकुसाङ शेर्पा र लाक्पा शेर्पासँगको भेट तय गर्यो। शेर्पा जोडीले किर्तिपुर ब्याडमिन्टन क्लबका अमित महर्जन र चन्द्रगिरी ब्याडमिन्टन क्लबका राजकुमार पोखरेललाई २१–१७, १२–२१, २१–१३ ले हराएको थियो।
पुरुष युगलतर्फ आर्मीका प्रफुल महर्जन र टाइम आउट क्लबका रुकेश महर्जनको जोडी सेमिफाइनलमा प्रवेश गरेको छ। उक्त जोडीले आर्मीका विवेक चौधरी र नखिपोटका नेल्सन राईलाई २१–१९, १५–२१, २१–१५ ले पराजित गर्यो।
अर्को खेलमा एपीएफका देवराज राना र प्रणिश सिंह ठकुरीको जोडीले बालकुमारी रिमिक्स क्लबका ससिन डंगोल र सुमन शाक्यलाई २१–१४, २१–१२ ले पराजित गर्दै सेमिफाइनल स्थान सुरक्षित गर्यो।
(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

