― Advertisement ―

ProtoArc XK01 TP फोल्ड गर्न मिल्ने किबोर्ड र टचप्याड कम्बोमा बचत गर्नुहोस्

ट्याब्लेट वा फोनबाट काम गर्न सजिलो हुन सक्छ, तपाईंले लामो वा महत्त्वपूर्ण कुरा टाइप गर्न आवश्यक नभएसम्म। यो व्यापार समस्या समाधान गर्नु हो...
HomeLatest newsमर्यादाहीन माननीय (भिडियो) – KhabarHost

मर्यादाहीन माननीय (भिडियो) – KhabarHost



२४ कात्तिक, काठमाडौं । नेपालको राजनीतिक रंगमञ्चमा प्रहसनको खाँचो हुँदैन । एउटा घटनाक्रमको मञ्चन भइसक्दा अर्को तयार भइहाल्छ । त्यही शृङ्खलामा सोमबार बिहान अर्को प्रहसन देखियो- मधेशका मुख्यमन्त्रीको नियुक्ति । जुन प्रहसनको नायक बनिन्- प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी, सहनायक बने एमालेबाट मुख्यमन्त्री बनेका सरोजकुमार यादव ।

मञ्चको आवरणमा राजनीतिक नाच नाच्ने यिनीहरू देखिएपछि यो प्रहसनको केन्द्रमा अनेक राजनीतिक पात्र जोडिएका छन् । जसले लोकतान्त्रिक प्रक्रिया र मधेशमा पछिल्लो समय चुलिँदै गएको असन्तोषमाथि अर्को मसला थपिएको छ ।

नेपालको संसदीय गणितको खेलमा हुने यस्तै अप्रिय घटनाहरूले संसदीय प्रणालीप्रति नै प्रश्न उठाएका छन् । जसले हुर्किँदै गरेको संघीयताको जगलाई नै कमजोर बनाउन मलजल गरेको छ ।

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आफ्नो कर्मका कारण पद गुमाइसकेकी छन् । सरकारको सिफारिसमा राष्ट्रपतिले उनलाई पद मुक्त गरिसकेका छन् । तर उनको कर्मका कारण सिर्जित मधेशको तनाव भने शान्त भएको छैन ।

मंगलबार मधेश प्रदेशका ७४ जना सांसदहरूले सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् । एउटा अर्को रिटमा नवनियुक्त मुख्यमन्त्रीलाई काम गर्नका लागि सर्वोच्चले रोक लगाएको छ ।

उता एमालेबाट निर्वाचित सभामुख रामचन्द्र मण्डलको राजीनामा माग गर्दै अन्य दलका कार्यकर्ताहरू मंगलबार पनि सडकमा उत्रिएका छन् ।

होटलमा शपथ खाएका मुख्यमन्त्री सरोजकुमार यादवले पदभार ग्रहण गरेका छन् । तर बाहिर तनाव उत्पन्न भएको छ । अहिले पनि तनाव जारी छ । नेताहरू आफ्ना कार्यकर्ताहरू लिएर विरोधमा उत्रेका छन् ।

राजनीतिक असहमति हुँदा विरोध हुनु स्वाभाविक हो । तर विरोध उग्र बनाउने र आफ्नै मर्यादा भुलेर नेताहरू उत्रिने गरेका छन् ।

यस्तै दृश्य अहिले मधेशमा देखिएको छ । मधेशमा चुलिएको राजनीतिक तनावको मुख्य शिकार भने कर्मचारी र प्रहरी भएका छन् । उनीहरूमाथि हातपात र कुटपिटमा प्रदेशको शासकीय भूमिकामा रहँदै आएका प्रदेश सांसद र नेताहरू नै संलग्न भएका छन् ।

उनीहरूले सोमबार मुख्यमन्त्री नियुक्तिको विरोधमा भएको प्रदर्शनका क्रममा गरेका गतिविधिले नेता र सांसदहरूको आफ्नै मर्यादाकै खिल्ली उडाउने खालको छ ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधान र पदीय मार्यादा विपरीत होटलमा लगेर नवनियुक्त मुख्यमन्त्रीलाई शपथ गराएकी थिइन् । तर उनको कदमको विरोध गर्ने नाममा राजनीतिक दलका सांसद् र नेताहरूले समेत आफ्नो मर्यादा भुले ।

विरोध गर्ने नाममा उनीहरू मधेश प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री कार्यालय पुगेर कर्मचारी कुटे । प्रहरीमाथि हातपात गरे । राष्ट्रिय झण्डा फाले । यस्तो हर्कत गर्ने को-को थिए ? हामीले केही फुटेजहरू मार्फत् प्रतिनिधिमुलक पात्रहरूलाई केलाएका छौं ।

ती फुटेजहरूका आधारमा मधेश भवन भित्रको तोडफोडमा संलग्नमध्ये एक हुन्- राजकुमार गुप्ता । उनी हाल जसपा नेपालबाट प्रदेश सभा सांसद् छन् ।

विरोधी समूहको नेतृत्व गर्दै मुख्यमन्त्रीको कार्यालयभित्र छिरेर तोडफोडमा संलग्न भएको देखिन्छ । राजकुमार गप्ताले टेबुलमा रहेको सजावट फूलको गमला तोडेको दृश्य देखिन्छ । उनले कार्यालयमा तालाबन्दी गर्नका लागि ताला ल्याउनका लागि फोन मार्फत् निर्देशन दिएको पनि देखिन्छ ।

उनीसँगै समूह बनाएर हिँडेका अर्का व्यक्ति छन्- वीरेन्द्र सिंह । उनी कांग्रेसबाट प्रदेश सांसद्‌ छन् । उनी यसअघि मधेश प्रदेशका मन्त्री समेत भइसकेका व्यक्ति हुन् ।

कांग्रेसका प्रदेश सांसद्‌ रहेका वीरेन्द्र सिंहले राष्ट्रिय झण्डा फाले । कार्यालय तोडफोड र राष्ट्रिय झण्डा फालेको भिडियो सहितको समाचार बाहियो । अनि कांग्रेस प्रदेश सांसद्‌ वीरेन्द्र सिंहले आफूले झण्डा जोगाएको भन्दै उल्टै प्रतिवाद गरेका छन् । जबकी उनले झण्डा फालेको स्पष्ट देखिन्छ ।

सिंहसहित विरोधमा संलग्न हुने अर्का व्यक्ति थिए, अनिरुद्धकुमार सिंह । उनी जसपा नेपालबाट सांसद्‌ छन् ।

प्रदेश सांसद्‌हरू नै तोडफोडमा उत्रिँदा कर्मचारीले सामान जोगाउन खोजे । तर उल्टै उनीहरूले कर्मचारीमाथि हातपात गरे । समान जोगाउन खोज्दा कर्मचारी कुटपिट गर्ने एक व्यक्ति हुन्, लोसपाका नेता जितेन्द्र झा । उनीसँग लोसपाका पूर्व प्रदेश सांसद्‌ परमेश्वर साह पनि संलग्न थिए । साह र झाले कर्मचारीमाथि टाउकोमा ताकेर कुटेको देखिन्छ । कार्यालयको कम्प्युटर जोगाउन खोज्ने कर्मचारीबाट कम्प्युटर खोसेर तोडफोड गर्ने प्रयास गरेका छन् ।

तोडफोड र हातपातमा संलग्न अर्की उग्र सांसद्‌ हुन्- रुपाकुमारी यादव । उनी लोसपाबाट प्रदेश सांसद्‌ मात्र होइन, प्रदेश सभाको महिला बालबालिका तथा सामाजिक न्याय समितिकी सभापति पनि छन् । उनी कार्यालय भित्र र बाहिर दुवै स्थानमा तोडफोडमा संलग्न थिइन् ।

उनले मुख्यमन्त्रीको कार्यालय भित्र मात्र होइन मधेश भवन छिर्न गेटमा प्रहरीमाथि हातपात गरेको भिडियो फुटेजमा देखिन्छ । सांसद्ले नै हातपात गरेपछि केही प्रहरी भवनभित्र छिर्छन् । केही बाहिर गेटमा बसेर सुरक्षा दिन कोसिस गरेका छन् ।

प्रदेश प्रमुखको आवास बाहिर स्वागतका लागि राखिएका गमला र गाग्री फुटाउने अर्की सांसद् हुन्-ललिता पासवान विद्रोही । उनी जसपा नेपालबाट प्रदेश सांसद्‌ छिन् । उनले प्रदेश प्रमुख कार्यालयको गेटमा राखिएको सुमित्रा सुवेदी भण्डारीको नेमप्लेपट तोडेको स्पष्ट देखिन्छ ।

पासवानलाई नेमप्लेट फोड्नका लागि लोसपाका नेता पप्पु चौधरीले साथ दिएका छन् । यसबाहेक अन्य धेरै नेता र कार्यकर्ताहरू तोडफोडमा संलग्न छन् ।

शासन सत्ता चलाउने, विधि निर्माण गर्ने भूमिकामा रहेका राजनीतिक नेताहरू नै यस्तो हर्कतमा उत्रिनु लज्जाजनक अवस्था हो ।

मर्यादित भूमिकामा रहेन पद भएकाले सांसद्‌हरूलाई संसद्‌मा ‘माननीय’ शब्द प्रयोग गरिन्छ । तर उनीहरूले मर्यादाहीन गतिविधि गरेर माननीय पदको बदनाम गरेका छन् ।

मधेश मामिलाका जानकार इन्दुशेखर मिश्रले मुख्यमन्त्री प्रकरणमा भइरहेका घटना र त्यको प्रतिक्रियाको विरोध शैली ठीक नभएको बताए । ‘संवैधानिक पदमा बसेर प्रदेश प्रमुखले बिरामी भएर काठमाडौं जान्छु भनेर मुख्यमन्त्री नियुक्ति र होटलमा शपथ ग्रहण गराउनु भयो, यो ठीक भएन’ उनले भने,’संविधानको धाराको नाममा क्रिया नै गलत भयो । त्यसको प्रतिक्रिया स्वरुप प्रदेश सांसदहरूले व्यवहार भयो त्यो पनि उचित भएन ।’

उनका अनुसार जनप्रतिनिधि पनि संविधानबाट बाँधिएको हुन्छ । ‘संविधान र झण्डाको शपथ लिएर प्रदेशसभाको सदस्य छन्,’ उनले भने,’यस्तो गतिविधि आम जनताले गर्दा प्रहरीले पक्रन्छ ।’

राजनीतिक विश्लेषक रोशन जनकपुरीले प्रदेशमा गैरराजनीतिक व्यक्तिहरू हुँदा राजनीतिक संस्कार नै बिर्सेको बताए । ‘विभिन्न हतकण्डा अपनाएर जसरी पनि सदनमा पुगिरहेका छन् । राजनीतिक संस्कारको कमी छ,’ उनले भने,’जसरी प्रदेश प्रमुख मुख्यमन्त्री नियुक्ति गर्ने तरिका ठीक भएन । आक्रोशमा जसरी तोडफोड भयो । त्यहाँ कुनै संस्कार देखिएन ।’ उनले कर्मचारी प्रहरी कुटपिट गर्ने सार्वजनिक सम्पत्ति तोडफोड गर्ने काम गलत भएको बताए ।

अहिले आफूहरूमाथि हातपात गर्नेहरूमाथि कारबाही गर्नुपर्ने कर्मचारीहरूले माग गरेका छन् ।

कर्मचारीहरूले कार्यालय समयमा काम गरिरहेका बेला प्रदेश सांसद्, पूर्व सांसद्‌हरूले आफूहरूमाथि हातपात गरेको भन्दै कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापन पत्र बुझाएका थिए । कर्मचारीहरूले बुझाएको पत्रका आधारमा मंगलबार प्रशासन कार्यालयले जिल्ला प्रहरी कार्यालयलाई आवश्यक कारबाही गर्न पत्र पठाएको छ । यता ईन्जिनियर दिपेन्द्रकुमार साहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै कारबाहीको माग गर्दै पत्र दर्ता गरेका छन् ।

आफ्नो पदीय गरिमा विपरीत काम गर्ने प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भइसकेकी छन् । तर विरोधका नाममा फौजदारी प्रकृतिक काममा उत्रिने सांसद्‌ र नेताहरूलाई कसले कारबाही गर्ने ? कसले जिम्मेवार बनाउने ?

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More