― Advertisement ―

‘हामी मोबाइल संचार प्रजातान्त्रिक गर्दैछौं’: Lidl नयाँ MVNO सँग बजेट मोबाइल फोन योजनाहरू सुरू गर्दैछ

Lidl1 with deals sign for new MVNOकम लागत, छोटो अवधिको मोबाइल योजनाहरू प्रस्ताव गर्न खोज्छLidl ले विश्वभर 100 मिलियन भन्दा बढी ग्राहकहरूलाई समेटेको छLidl...
HomeLatest newsमकवानपुर-१ मा पटक-पटक चुनाव लडेका उम्मेदवारलाई नयाँको चुनौती

मकवानपुर-१ मा पटक-पटक चुनाव लडेका उम्मेदवारलाई नयाँको चुनौती



१५ माघ, हेटौंडा । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुर–१ मा २३  उम्मेदवार छन् । जसमध्ये १३ जना दलीय र १० जना स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

यो क्षेत्रमा नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

एमालेबाट रामेश्वर राना, कांग्रेसबाट महालक्ष्मी उपाध्याय ‘डिना’, राप्रपाबाट दीपकबहादुर सिंह, नेकपाबाट विजय गौतम र रास्वपाबाट प्रकाश गौतम मैदानमा छन् ।

उम्मेदवारमध्ये डिना र सिंहको यो पाँचौ पटकको चुनावी प्रतिस्पर्धा हो । डिनाले सबै प्रतिनिधिसभाको चुनाव लडेकी छिन् । सिंहले भने दुई पटक (२०५४ र २०७९) यस क्षेत्रको ठूलो मत आगटेको क्षेत्र हेटौंडा उपमहानगरको मेयरमा चुनावी प्रतिस्पर्धा गरेका थिए । डिनाले यसअघिका सबै प्रतिस्पर्धा हारेकी छन् भने सिंहले अघिल्लो (२०७९) मात्र निर्वाचन जितेका थिए ।

एमालेका राना तथा नेकपा र रास्वपाका गौतमद्वयको प्रतिनिधिसभामा जनताबाट प्रत्यक्ष अनुमोदनका लागि पहिलो पटकको चुनावी प्रतिस्पर्धा हो । मकवानपुरको तत्कालीन जिल्ला विकास समिति सभापतिसमेत रहेका राना पाका उमेरका छन् भने गौतमद्वय युवा उमेर समूहका । यसरी, पाँच–पाँच पटक चुनाव लडेकासँग नयाँ अनुहारको रोचक प्रतिस्पर्धा हुन लागेको हो ।

चुनावी प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारहरू आफ्ना एजेन्डा बोकेर मतदाताको घरदैलामा पुगिरहेका छन् । मतदाताको मन जित्न खोजिरहेका उम्मेदवारलाई १ नम्बर क्षेत्रको भौगोलिक अवस्थाले भने चुनौती दिएको छ ।

यस क्षेत्रका ४० वटा वडामा ७८ हजार ८१० महिला र ७९ हजार ६२१ पुरुष गरी एक लाख ५८ हजार ४३५ जना मतदाता छन् । २०७४ मा एक लाख २४ हजार ७९९ मात्रै मतदाता थिए ।

हेटौंडा उपमहानगरको १५ वटा वडाका मतदाता शिक्षित वर्गमा पर्छन्, जहाँ मत परिवर्तनको सम्भावना उच्च रहेको विगतकै निर्वाचनले देखाएको छ ।

१ नम्बर क्षेत्रमा मतदाताको ठूलो संख्या ग्रामीण भेगमा भन्दा शहरी क्षेत्रमा छ । यहाँ हेटौंडा उपमहानगरपालिकाको १५ वटा वडा, ग्रामीण भेगतर्फ मकवानपुरगढी गाउँपालिकाको ४ वटा वडा, बागमती र बकैया गाउँपालिका पर्छन् ।

हेटौंडा उपमहानगरको १५ वटा वडाका मतदाता शिक्षित वर्गमा पर्छन्, जहाँ मत परिवर्तनको सम्भावना उच्च रहेको विगतकै निर्वाचनले देखाएको छ ।

सांगठिन भोट कम भएको राप्रपाका सिंहले २०७९ को निर्वाचन हेटौंडा उपमहानगरको मतले जितेका हुन् । कांग्रेसकी डिनाले बागमती, बकैया र मकवानपुरगढीको भोट धेरै ल्याएकी थिइन् भने सिंहले हेटौंडा उपमहानगरको मत गणनापछि डिनालाई उछिनेका थिए ।

सिंहले २ हजार ३८२ मतान्तरले डिनालाई हराएका थिए । सिंहले २७ हजार ८१६ मत पाउँदा डिनाले २५ हजार ४३४ मतमा चित्त बुझाइन् । एमालेको सूर्य चिह्न लिएर उठेका राप्रपा नेपालका कमल थापाले २५ हजार ४२० मत पाएका थिए । २०७४ र २०७९ को निर्वाचनमा गठबन्धन गरेर चुनाव लडेकाले माओवादीका आफ्नै उम्मेदवार थिएनन् ।

यस क्षेत्रबाट पहिलो संविधानसभा निर्वाचन भने माओवादीका प्रेमबहादुर पुलामी छिन्तु र प्रल्हाद लामिछानेले जितेका थिए । त्यस यता माओवादीले प्रतिनिधिसभा जित्न सकेको छ्रैन । २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन गरेर बागमती गाउँपालिका अध्यक्ष, मकवानपुरगढी र बकैया गाउँपालिका उपाध्यक्ष माओवादीले जितेको थियो । बकैया र मकवानपुरगढीमा कांग्रेसबाट अध्यक्ष जितेका थिए ।

निर्वाचन आयोगको विवरणअनुसार बकैयाको ४ वटा वडाध्यक्ष र केही सदस्य, बागमती गाउँपालिकाको पालिका अध्यक्षसहित ५ वटा वडाध्यक्ष र केही सदस्य बाहेक हेटौंडा उपमहानगर र मकवानपुरगढीका गरेर १९ वटा वडाका वडा माओवादी जनप्रतिनिधिविहीन छ ।

२०७९ को स्थानीय तह निर्वाचनमा नेकपा एमाले भने हेटौंडा, बागमती, मकवानपुरगढी र बकैया गाउँपालिकामा वडाध्यक्षमै सीमित बन्न पुग्यो । २०४६ सालको बहुदल आएपछिका निर्वाचन जित्दै आएको एमाले हेटौंडा उपमहानगरको मेयर र उपमेयरमा पहिलो पटक पराजित भएको हो । गठबन्धनबाट एमालेबाट विभाजित भएको नेकपा (एकीकृत समाजवादी)ले मेयर र कांग्रेसले उपमेयर लिएर चुनावमा गएका थिए । सोहीअनुसार जित पनि निकाले ।

२०७९ को प्रदेशसभा निर्वाचनमा प्रतिनिधिसभा क्षेत्र नम्बर १ को (क)बाट प्रदेशसभामा माओवादीबाट प्रेमबहादुर पुलामीले जिते । प्रदेशसभा (ख)बाट एमालेका एकालाल श्रेष्ठ विजयी भएका थिए ।

कम्युनिस्ट गढ मानिने मकवानपुरमा २०७० को संविधानसभा निर्वाचनमा पहिलो पटक कांग्रेसका इन्द्रबहादुर बानियाँ निर्वाचित भए । २०७४ र २०७९ को निर्वाचनमा २ नम्बर क्षेत्रको प्रदेशसभा (क)बाट चुनाव जितेर प्रदेशसभा गए । उनी हाल बागमती प्रदेशको मुख्यमन्त्री छन् । कांग्रेसले २०७४ यता मकवानपुरको १ र २ नम्बर क्षेत्रबाटै प्रतिनिधिसभा जित्न सकेको छैन ।

अघिल्लो निर्वाचनमा रास्वपाका उम्मेदवार टकाराज थापाले ५ हजार ७०३ अर्थात् कूल खसेको मतको ६ दशमलव ५४ प्रतिशत मत ल्याएका थिए । २०७९ यता रास्वपाले गाउँ र टोल समिति पनि बनाएको छ । विगतको तुलनामा रास्वपाको समानुपातिक मत बढ्ने आकलन गरिएको छ ।

मत विश्लेषणका आधारमा कांग्रेस र एमालेले एकअर्कालाई मुख्य प्रतिस्पर्धाको रूपमा हेरेका छन् । कांग्रेस र एमाले दुवैले अघिल्लो निर्वाचन जितेका राप्रपाका सिंहलाई प्रतिस्पर्धीको रूपमा राखेका छैनन् ।

२०७९ को वैशाखमा मेयरको चुनाव लडेको र लगत्तै प्रतिनिधिसभामा उठेकाले सिंहलाई जित निकाल्न सहज भएको थियो । आगामी निर्वाचनमा सिंहको मत घट्ने विश्लेषण कांग्रेस र एमालेको छ ।

नेकपा एमालेका मकवानपुर उपाध्यक्ष हिदम लामा एमालेका उम्मेदवार रानाले जित्नेमा ढुक्क देखिए । पार्टीको मजबुत संगठन, अघिल्लो निर्वाचनमा आएको मतपरिणाम र अनुभवी योग्य र उच्च राजनीतिक छवि भएका उम्मेदवारको कारण एमाले जित्नेमा विश्वस्त रहेको उनले बताए ।

नेपाली कांग्रेस मकवानपुरका सचिव भीमसेन महतले अघिल्लो निर्वाचनमा भन्दा यस वर्ष कांग्रेसको मतमा सुधार आउने दाबी गर्छन् । विगतको निर्वाचनमा ग्रामीण क्षेत्रबाट चुनाव जितेको र हेटौंडा बजार क्षेत्रमा कमजोर बनेको बताउँदै आगामी निर्वाचनमा त्यो अवस्था नरहने उनले बताए । पार्टी आन्तरिक समस्याबाट निस्किएर एक ढिक्का बनेको भन्दै उम्मेदवार डिना विजय उन्मुख रहेको उनले बताए ।

संविधानसभा सदस्यसमेत रहेका माओवादीका नेता प्रल्हाद लामिछानेले पार्टीले युवा उम्मेदवार उठाएकोले जित्नेमा आशावादी रहेको बताए । माओवादी-१ नम्बर क्षेत्रको बागमती र बकैयामा बलियो र हेटौंडा उपमहानगरपालिका कमजोरको स्थितिमा अध्ययनशील, सुशासनका लागि काम गरेको अनुभव भएका युवा उम्मेदवारले जितका लागि पर्याप्त मत ल्याउने देखिएको उनको भनाइ छ ।

राप्रपा मकवानपुरका सहकोषाध्यक्ष सन्दीप सापकोटा सिंहले दोस्रो पटक पनि चुनाव जित्ने दाबी गर्छन् । प्रतिनिधिसभामा पूरा कार्यकाल बिताउन नपाए पनि विकासका योजना लिएर वा अन्य कुनै कारणले सिंहको जनतासँग नियमित भेटघाट र सम्पर्क रहिरहेको उनले बताए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More