News Summary
Generated by OK AI. Editorially reviewed.
- झापाको मेचीनगरकी कवि शर्माले विपिन जोशीको अन्त्यष्टिसँगै गितार महाकाली नदीमा बगाइएपछि दिवंगत जोशीप्रति समर्पित कविता लेखेकी छन्।
- कवितामा विपिन जोशीको गितार र उनको बिदाइसँगै देशभरका नदीमा आँसु बगिरहेको भाव व्यक्त गरिएको छ।
- कविताले विपिनको अमरत्व र जीवनका धुनहरू बजाउनुपर्ने सन्देश दिन्छ।
बजिरहेको गितार,
बगिरहेको छ महाकालीमा !
गितार मौन छ, नदि मौन छ
मौन छ किनार, मौन छन् मानिसहरू
तर मौन मनहरूमा असिम कोलाहल छ !
प्रिय विपिन,
बगिरहेको गितार टिपेर
जिमी हेंड्रिक्सले कुनै धुन कल्पिए
सायद यतिबेला धुन आफैं भक्कानिने थियो !
जोन लेननले कुनै ‘इम्याजिन’ बजाए
धुन आफैंसँग रुने थियो !
प्रिय विपिन तिम्रा औंलाहरूको बिदाइसँगै !
बगेका छन् सबै धुन ‘महाकाली’मा !
महाकालीमा एक आमाको काख रित्तिँदा
मेचीमा अर्की आमाको काख रोएको
अनुभूति गरिरहेकी छु विपिन !
सायद यहि हो नाता/यहि हो ममत्व
सायद यहि हो, अब तिम्रो अमरत्व
जन्मँदा केवल एक आमाको कोख भरिएको
जाँदैगर्दा लाखौं आमाको काख रित्तिएको

प्रिय एक बहादुर छोरा !
महाकालीमा तिम्रो अस्तु बग्नुसँंगै
देशभरका नदीमा बगिरहेका छन् – आँसु !
फक्रिएको सयपत्रीका सामु
मुर्झाएकी बहिनीको अनुहार
संसारको उज्यालो रित्तिएर
अर्धमृत आमाको शरीर
जुरुक्क उठ्थे होला
गितार बजाउँदै , बजाउँदै
तिम्रा औँलाहरू आँगनमा फर्किए
प्रिय विपिन
तिम्रो पछिपछि, बग्दैबग्दै
आउँदैछ तिम्रो गितार तिमीलाई पछ्याउँदै, पछ्याउँदै
कतै अनन्त लोकमा
तिमी र तिम्रो गितारको भेट भए
बजाउनु है ल जीवनका धुनहरू
तिमीलाई छोटो आयु दिने चित्रगुप्तको विरुद्धमा !
तिमीलाई बाँच्न नदिने यो धर्तिका विरुद्धमा !!
(मेचीनगर, झापा निवासी कवि शर्माले विपिन जोशीको अन्त्यष्टिसँगै गितार महाकाली नदीमा बगाइएपछि दिवंगत जोशीप्रति समर्पित गर्दै लेखेकी हुन्। )
(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

