― Advertisement ―

Cthulhu: The Cosmic Abyss एउटा उत्कृष्ट, वायुमण्डलीय लभक्राफ्टियन खेल हो – तर एउटा निराशाजनक विशेषताले मलाई राम्रोको लागि रिस उठाउन सक्छ।

म लभक्राफ्टका सबै चीजहरूको ठूलो प्रशंसक हुँ, त्यसैले म Cthulhu: The Cosmic Abyss पत्ता लगाउन निकै उत्साहित थिएँ। मेरो सबै समयको मनपर्ने डरावनी खेलहरू...
HomeLatest newsप्राथमिकता फेरिँदा मारमा विकास, आधा समय घर्किंदा खर्च १२ प्रतिशतमात्र

प्राथमिकता फेरिँदा मारमा विकास, आधा समय घर्किंदा खर्च १२ प्रतिशतमात्र


राष्ट्रिय

समाचार.

  • चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो अर्धवार्षिक अवधिमा विकास खर्च वार्षिक लक्ष्यको १२.१२ प्रतिशत मात्र भएको छ।
  • पुस मसान्तसम्म सरकारले ४ खर्ब ८७ अर्ब १४ करोड बराबर चालु खर्च गरेको छ जुन लक्ष्यको ४१.२५ प्रतिशत हो।
  • सरकारको राजस्व संकलन लक्ष्यको ८१.७५ प्रतिशत मात्र पूरा भएको र आयकर संकलन लक्ष्यको ७१.११ प्रतिशत मात्रै पुगेको छ।

१ माघ, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को आधा समय घर्किंदा विकास खर्च १२ प्रतिशतमात्र भएको छ । यसले पुन: एक पटक राज्यको प्राथमिकता विकास निर्माणमा नभएको पुष्टि गरेको छ ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार पुस मसान्तसम्म ४९ अर्ब ४२ करोड रुपैयाँमात्र विकास खर्च भएको छ । जुन वार्षिक लक्ष्यको १२.१२ प्रतिशत हो । यस वर्ष सरकारले गत वर्षको तुलनामा समेत कम विकास खर्च गरेको छ ।

गत आव २०८१/८२ सम्म लक्ष्यको १६.१६ प्रतिशत विकास खर्च भएको थियो । अर्थात्, त्यस वर्ष ५६ अर्ब ९३ करोड बराबर विकास खर्च भएको तथ्यांक छ । यस वर्ष पहिलो अर्धवार्षिक अवधिमा मुलुकले ठूलो आन्दोलन सामना गर्‍यो ।

२३ र २४ भदौको जेनजी आन्दोलनका कारण राज्यको प्राथमिकता फेरिँदा विकास खर्च प्रभावित भएको सरोकारवाला बताउँछन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक उच्च अधिकारीका अनुसार नयाँ सरकार बनेलगत्तै अर्थ मन्त्रालयबाट धेरै आयोजना रोक्का गरियो । यसले विकासे अड्डामा अन्योल सिर्जना गर्‍यो । अर्कातर्फ, बहुवर्षीय ठेक्का लागेर रुग्ण बनेका आयोजनामा समेत धमाधम ठेक्का प्रक्रिया रद्द गर्ने अभियान सुरु गरियो ।

विगतका कमजोरी सुधारमा काम भए पनि नयाँ ठेक्का नलाग्नु र कतिपय ठेक्कामा अन्योल सिर्जना हुँदा विकास खर्च प्रभावित भएको उनले बताए ।

यसबीच अर्थ मन्त्रालयको प्राथमिकता समेत अनिवार्य दायित्वको जोहो, निर्वाचन र पुनर्निर्माणमा रह्यो । यसले चालु खर्च उल्लेख्य हुँदा विकास खर्च खुम्चिन पुगेको हो ।

 

यस वर्ष सरकारले कुल ४ खर्ब ७ अर्ब ८८ करोड रुपैयाँ बराबर पूँजीगत खर्चको लक्ष्य राखेको छ । यसमध्ये आर्थिक महिनाको आधा समय बित्दा ५० अर्बसमेत विकास खर्च भएको छैन ।

अर्थमन्त्री रामेश्वर खनालले कार्यभार सम्हाले लगत्तै पूँजीगत बजेटतर्फ खुद्रे आयोजनामा विनियोजित बजेट रोक्का राख्ने निर्णय गरेका थिए । पछि बहुवर्षीय आयोजना, विगतमा काम भएर भुक्तानी दिनुपर्ने सहित विभिन्न आयोजना क्रमश: फुकुवा गरिएको थियो ।

तत्कालीन भौतिकमन्त्री कुलमान घिसिङ र मन्त्रालयका अधिकारीहरूले बजेट रोक्का हुँदा विकास निर्माणका काम प्रभावित भएको सार्वजनिक रूपमै बोल्दै आएका थिए ।

५ खर्ब नजिक चालु खर्च

६ महिनामा सरकारले चालु खर्च भने ५ खर्ब नजिक गरेको छ । जसमा तलबभत्ता, सामाजिक सुरक्षा र तल्लो सरकारमा जाने अनुदान सहित खर्च पर्छ ।

कार्यालयका अनुसार पुस मसान्तसम्म ४ खर्ब ८७ अर्ब १४ करोड  बराबर चालु खर्च भएको छ । यस वर्ष सरकारले चालु खर्चमा ११ खर्ब ८० अर्ब ९८ करोड विनियोजन गरेको छ । पुससम्म भएको खर्च लक्ष्यको ४१.२५ प्रतिशत हो ।

उता, वित्तीय व्यवस्थामा भने पुस मसान्तसम्म १ खर्ब ५३ अर्ब खर्च भइसकेको छ । जुन वार्षिक लक्ष्यको ४०.९५ प्रतिशत हो । यस वर्ष वित्तीय व्यवस्थामा ३ खर्ब ७५ अर्ब विनियोजन भएको छ । यस्तो बजेट सरकारले सार्वजनिक संस्थानमा गर्ने लगानी र सार्वजनिक ऋणको साँवा भुक्तानीमा खर्च हुने गर्छ ।

यस वर्ष पुससम्म कुल बजेट खर्च लक्ष्यको ३५.१४ प्रतिशत भएको छ । यस अवधिमा ६ खर्ब ९० अर्ब २१ करोड बजेट खर्च भएको छ । सरकारले चालु आव १९ खर्ब ६४ अर्ब ११ करोड बराबर बजेट कार्यान्वयन गरिरहेको छ ।

आम्दानी र खर्चबीच १ खर्ब ८ अर्बको खाडल

यस वर्ष पहिलो अर्धवार्षिक अवधिमा सरकारको आम्दानी र खर्चबीच १ खर्ब ८ अर्ब बराबरको खाडल छ । ६ महिनामा कुल बजेट खर्च ६ खर्ब ९० अर्ब २१ करोड पुग्दा राजस्व आम्दानी भने ५ खर्ब ८१ अर्ब ४१ करोड बराबर भएको अर्थ मन्त्रालयले जनाएको छ ।

यस वर्ष वैदेशिक अनुमान समेत न्यून आएको छ । कुल ५३ अर्ब ४४ करोड रुपैयाँ वैदेशिक अनुदान भित्र्याउने लक्ष्य राखिएकोमा ६ महिनामा ७ अर्ब १० करोडमात्र वैदेशिक अनुदान भित्रिएको छ । यसले समेत राज्यको आम्दानी प्रभावित बनेको देखिन्छ । बाँकी खर्च जुटाउन सरकार सार्वजनिक ऋणमा निर्भर रहनुपरेको छ ।

आयकर घट्दा राजस्व संकलन लक्ष्य भेट्न कठिन

६ महिनामा राजस्व संकलन भने लक्ष्यको ८१.७५ प्रतिशत भएको छ । पुस मसान्तसम्म ७ खर्ब ११ अर्ब २१ करोड राजस्व संकलन लक्ष्य थियो । संकलन भने ५ खर्ब ८१ अर्ब ४१ करोड बराबर भएको छ । यस वर्ष सरकारले १४ खर्ब ८० अर्ब बराबर राजस्व उठाउने लक्ष्य राखेको छ ।

सरकारले लिएको वार्षिक लक्ष्यको तुलनामा भने संकलन ३९.२८ प्रतिशत भएको छ । राजस्व संकलन गत आव २०८१/८२ को तुलनामा भने सामान्य बढेको छ । गत आव यसै अवधिमा राजस्व ५ खर्ब ६७ अर्ब उठेको थियो । चालु आवमा संकलन भएको राजस्व गत आवको यसै अवधिको तुलनामा २.४७ प्रतिशतमात्र धेरै हो ।

अर्थ मन्त्रालयको तथ्यांक अनुसार आयकर गत आवको तुलनामा समेत कम उठ्दा त्यसको असर समग्र राजस्वमा देखिएको छ । पुससम्म १ खर्ब ९४ अर्ब बराबर आयकर उठाउने लक्ष्य थियो । संकलन भने १ खर्ब ३८ अर्ब भएको छ । जुन लक्ष्यको ७१.११ प्रतिशत हो ।

गत आवको तुलनामा आयकर संकलन २.६६ प्रतिशत ऋणात्मक वृद्धिदर भएको छ । भन्सार महसुल गत आवको तुलनामा ८.०८ प्रतिशतले बढेको छ । तर, लक्ष्यको तुलनामा भने ७९.०३ प्रतिशतमात्र उठेको छ । भन्सार महसुल अपेक्षित नबढ्दा त्यसको असर कुल राजस्वमा देखिन्छ ।

यस अवधिमा सरकारले १ खर्ब ४६ अर्ब ८३ करोड भन्सार महसुल उठाउने लक्ष्य राखेको थियो । संकलन १ खर्ब १६ अर्ब रुपैयाँ भएको छ । मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ ८.३१ प्रतिशत वृद्धि भएको छ । तर, लक्ष्यको ९०.१२ प्रतिशतमात्र संकलन भएको देखिएको छ ।

पुस मसान्तसम्म १ खर्ब ८६ अर्ब भ्याट संकलन लक्ष्य राखिएको थियो । संकलन भने १ खर्ब ६७ अर्बमात्र भएको छ । अन्त:शुल्क संकलन ९.४६ प्रतिशत बढेको छ । १ खर्ब १ अर्ब अन्त:शुल्क संकलन गर्ने लक्ष्य राखिएकोमा ९१ अर्ब २७ करोडमात्र संकलन भएको छ । जुन लक्ष्यको ९०.०६ प्रतिशत हो ।

अर्थ मन्त्रालयका अनुसार भन्सार र आन्तरिक राजस्व विभाग दुवै लक्ष्य अनुसार राजस्व उठाउन असफल भएका छन् । भन्सार विभागलाई सरकारले पुससम्म २ खर्ब ८६ अर्बको लक्ष्य दिएको थियो । संकलन भने २ खर्ब ३८ अर्बमात्र भएको छ । जुन लक्ष्यको ८३.३५ प्रतिशतमात्र हो ।

आन्तरिक राजस्व विभागलाई ३ खर्ब ४४ अर्बको लक्ष्य राखेकोमा २ खर्ब ७७ अर्बमात्र संकलन भएको छ । जुन लक्ष्यको ८०.५१ प्रतिशत बराबर हो । वार्षिक वृद्धिदर भन्सारको ८.४८ प्रतिशत र आन्तरिक राजस्व विभागको २.९९ प्रतिशत छ ।





Read More