राष्ट्रिय
समाचार.
- नेपाल स्पोर्ट्स समिट कमिटीले नेपाल स्पोर्ट्स समिट २०२६ को फेब्रुअरी ५ मा सोल्टी होटलमा आयोजना हुने औपचारिक घोषणा गरेको छ।
- समिटमा खेल कूटनीति, पूर्वाधार विकास, उदीयमान खेल, खेल सञ्चार र डिजिटल सामग्री विषयमा पाँच उच्चस्तरीय प्यानल छलफल सत्र सञ्चालन गरिनेछ।
- आयोजकले समिटलाई खेल, कूटनीति, पर्यटन र आर्थिक विकासलाई एकीकृत गर्ने राष्ट्रिय अभियान र नेपालको खेल इकोसिस्टमलाई विश्वव्यापी अवसरसँग जोड्ने प्रयास भनेका छन्।
११ माघ, काठमाडौं । नेपाल स्पोर्ट्स समिट कमिटीले नेपाल स्पोर्ट्स समिट २०२६ (एनएसएस २०२६) को औपचारिक घोषणा गरेको छ।
समिट आगामी फेब्रुअरी ५ मा सोल्टी होटलमा आयोजना हुनेछ। आयोजकका अनुसार यो नेपालकै पहिलो संरचित राष्ट्रिय खेल सम्मेलन मञ्च हो जसले कूटनीतिज्ञ, अन्तर्राष्ट्रिय प्रतिनिधि, कर्पोरेट नेतृत्व, सरकारी अधिकारी, खेल प्रशासक, सञ्चारकर्मी तथा विश्वव्यापी सरोकारवालाहरूलाई एउटै स्थानमा एकत्रित गर्नेछ।
समिटमा नेपालको खेल क्षेत्रसँग सम्बन्धित नीति, पूर्वाधार, सञ्चार, डिजिटल सामग्री र अन्तर्राष्ट्रिय सहकार्यका विषयहरूमा केन्द्रित पाँच उच्चस्तरीय प्यानल छलफल सत्र सञ्चालन गरिनेछ।
यी सत्रहरूमा खेल कूटनीति, खेल पूर्वाधार विकास, उदीयमान खेलहरूको विकास, खेल सञ्चार तथा प्रसारणको भूमिका, र डिजिटल खेल सामग्री तथा इन्फ्लुएन्सरमार्फत खेल कथावाचनजस्ता विषयहरू समेटिनेछन्। प्रत्येक सत्रका प्यानलिस्टहरूको नाम क्रमशः नेपाल स्पोर्ट्स समिटका आधिकारिक सामाजिक सञ्जाल र प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिने आयोजकले जनाएको छ।
समिटका आयोजक आमिर अख्तरले नेपाल स्पोर्ट्स समिट २०२६ केवल एउटा कार्यक्रम नभई खेल, कूटनीति, पर्यटन र आर्थिक विकासलाई एकीकृत गर्ने राष्ट्रिय अभियान भएको बताए। उनका अनुसार समिटको उद्देश्य नेपालको खेल इकोसिस्टमलाई विश्वव्यापी अवसरहरूसँग जोड्दै अन्तर्राष्ट्रिय सहकार्यमार्फत देशको खेल भविष्यलाई रूपान्तरण गर्नु हो।
अर्का आयोजक भास्कर राजकर्णिकारले समिटले नीति निर्माता, लगानीकर्ता, खेल नेतृत्व र विश्व संस्थाबीच संरचित संवादको वातावरण सिर्जना गर्ने उल्लेख गर्दै यसले नेपालको सम्भावनालाई व्यावहारिक साझेदारी र दीर्घकालीन वृद्धिमा रूपान्तरण गर्ने विश्वास व्यक्त गरे।
नेपाल स्पोर्ट्स समिट २०२६ मा कूटनीतिज्ञ, अन्तर्राष्ट्रिय मिसन, कर्पोरेट नेतृत्व, विश्वव्यापी लगानीकर्ता, सरकारी अधिकारी, नीति निर्माता, अन्तर्राष्ट्रिय प्रतिनिधि तथा खेल उद्योगका विभिन्न सरोकारवाला पक्षहरूको सहभागिता रहनेछ।
आयोजकका अनुसार समिटको मुख्य उद्देश्य नेपाललाई विश्वस्तरीय खेल पर्यटन गन्तव्य का रूपमा स्थापित गर्नु, अन्तर्राष्ट्रिय लगानी आकर्षित गर्नु र नेपालको खेल अर्थतन्त्र सुदृढ बनाउने दिगो साझेदारी निर्माण गर्नु हो।
(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More


