― Advertisement ―

विज्ञहरूले बच्चाहरूको लागि एआई खेलौना एपहरूले प्रयोगकर्ताहरू ट्र्याक गर्दै र व्यक्तिगत डेटा सङ्कलन गरिरहेको चेतावनी दिन्छ

Cybernews an Kids को लागि एन्ड्रोइड एप एआई/रोबोटिक खेलौना र रिपोर्ट गरिएका सबै घोषणा गरिएका अनुमतिहरूमध्ये आधालाई एन्ड्रोइड दिशानिर्देशहरूद्वारा खतरनाक मानिन्छअनुसन्धानले उनीहरूले जाँच गरेका...
HomeLatest newsनयाँ प्रतिनिधिसभामा हुने छैनन् अस्तिका दुई तिहाइ सांसद

नयाँ प्रतिनिधिसभामा हुने छैनन् अस्तिका दुई तिहाइ सांसद



१२ माघ, काठमाडौं । २१ फागुनको निर्वाचनपछि गठन हुने प्रतिनिधिसभामा अहिलेका करिब दुई तिहाइ सांसदलाई देख्न पाइने छैन । गत भदौमा विघटन भएको प्रतिनिधिसभामा रहेकामध्ये करिब १७० सांसद प्रतिस्पर्धामै छैनन् ।

कतिपय ठाउँमा भने निवर्तमान सांसदहरूबीच नै प्रतिस्पर्धा चलिरहेको छ । चुनावी मैदानमा रहेका निवर्तमान सांसदहरूले अधिकतम ठाउँमा जित्न सक्ने सम्भावनालाई यथावत राख्ने हो भने पनि अब गठन हुने प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिकतर्फ करिब दुई तिहाइभन्दा बढी नयाँ अनुहार आउने निश्चित जस्तै छ ।

‘हो, उम्मेदवार र उनीहरूको पृष्ठभूमि हेर्दा दुई तिहाइजति त नयाँ उम्मेदवार निर्वाचित हुने निश्चित देखियो,’ संघीय संसदका पूर्वमहासचिव मनोहरप्रसाद भट्टराई भन्छन्, ‘अहिले प्रतिस्पर्धा गर्नेमध्ये पनि सबै निवर्तमान सांसदहरु निर्वाचित हुन्छन् भन्ने छैन । कैयौं त निर्वाचनबाटै बिदा भएर प्रतिनिधिसभामा आउन पाउँदैनन् । त्यसो हुँदा नयाँ आउनेहरूको संख्या अझै बढ्न सक्छ ।’

यसरी आउने छन् नयाँ अनुहार

प्रत्यक्ष प्रणालीतर्फ १६५ निवर्तमान सांसदमध्ये ७० जना यो पटक उम्मेदवार छैनन् । ११० समानुपातिकमध्ये बढीमा १० जना मात्रै मैदानमा छन् । २०७९ सालमा निर्वाचित भएका र यो पटक चुनाव लडेका झन्डै १०० निवर्तमान सांसद सबै निर्वाचित हुने सुनिश्चितता छैन । ८ जना पूर्वसांसद आपसी प्रतिस्पर्धामा छन् ।

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवादेखि निवर्तमान उपसभापति धनराज गुरुङ र वर्तमान उपसभापति विश्वप्रकाश शर्मा चुनाव लडेका छैनन् । नेता प्रकाशमान सिंहदेखि आरजु राणा प्रतिस्पर्धामा छैनन् । एमालेमा निवर्तमान उपमहासचिव टोपबहादुर रायमाझीदेखि योगेश भट्टराई अनि विद्या भट्टराईसम्म प्रतिस्पर्धाबाट बाहिर छन् ।

जुम्ला, झापा–२, सर्लाही–४ र धनुषा–३ मा एकभन्दा बढी निवर्तमान सांसदहरू आपसमा प्रतिस्पर्धा गरिरहेकाले उनीहरुमध्ये एक/एक जनामात्रै निर्वाचित हुनेछन् । यी क्षेत्रमा प्रतिस्पर्धा गरिरहेकामध्ये कम्तीमा पनि ६ जना निवर्तमान सांसदहरू प्रतिनिधिसिभामा देखिने छैनन् ।

झापा–२ मा निवर्तमान सभामुख देवराज घिमिरेसहित कांग्रेस समानुपातिक सांसद सरिता प्रसाईं र निवर्तमान उपसभामुख इन्दिरा रानामगर मैदानमा छन् । यीमध्ये दुईजना प्रतिनिधिसभामा पुग्न पाउने छैनन् । सर्लाही–४ मा कांग्रेस सभापति गगन थापा र रास्वपा उम्मेदवार अमरेशकुमार सिंहमध्ये एक जना मात्रै सांसद बन्नेछन् ।

धनुषा–३ मा एमाले निवर्तमान सांसद जुलीकुमारी महतो, कांग्रेसका निवर्तमान समानुपातिक सांसद विमलेन्द्र निधि र रास्वपाका निवर्तमान सांसद मनिष झा प्रतिस्पर्धामा छन् । यी तीन निवर्तमान सांसदमध्ये एक जना मात्रै २१ फागुनपछि प्रतिनिधिसभामा आउने छन्, बाँकी दुईजना प्रतिनिधिसभामा देखिने छैनन् । जुम्लामा राप्रपाबाट ज्ञानेन्द्रबहादुर शाही र रास्वपाबाट विनिता कठायतमध्ये कम्तीमा एक जना प्रतिनिधिसभामा आउन नसक्ने देखिन्छ ।

समानुपातिकबाट कति ?

अघिल्लोपटक समानुपातिबाट निर्वाचित एमालेका कोही पनि सांसद यसपालि प्रत्यक्ष र समानुपातिक सूचीमा छैनन् । तर २०७९ सालभन्दा अघि निर्वाचितहरू भने सुरक्षित रहन समानुपातिक सूचीमा बसेका छन् ।

समानुपातिक सूचीमा रहेका रामबहादुर थापा नयाँ संविधान बनेपछिको प्रतिनिधिसभामा थिएनन् । सूचीमा रहेकी पद्मा अर्याल यसअघि २०७४ सालमा निर्वाचित सांसद हुन् । एमाले, कांग्रेस, रास्वपाले अघिल्लो निर्वाचनको समानुपातिक सूचीलाई दोहोर्‍याएका थिएनन् ।

कांग्रेसबाट अघिल्लो पटक समानुपातिक सूचीमा रहेका डा. प्रकाशशरण महत र विमलेन्द्र निधि मात्रै प्रत्यक्ष प्रतिस्पर्धामा छन् । माओवादी, एकीकृत समाजवादी लगायत अरू समूह मिलेर बनेको नेकपामा पनि समानुपातिक सूचीमा नयाँ अनुहार छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट अघिल्लो पटक समानुपातिकमा निर्वाचितमध्ये ६ जना यसपालि प्रत्यक्ष प्रतिस्पर्धामा छन् । डोलप्रसाद अर्याल काठमाडौं–९, निशा डाँगी झापा–१, विनिता कठायत जुम्ला, इन्दिरा रानामगर झापा–२ र मनिष झा धनुषा–३ मा चुनाव लडेका छन् । रास्वपा त्यागेका सन्तोष परियार प्रगतिशील लोकतान्त्रिक पार्टीको समानुपातिक सूचीमा छन् । सुमना श्रेष्ठ भने यसपालि प्रतिस्पर्धाबाट बाहिर छिन् ।

भट्टराईदेखि शर्मासम्म

अघिल्लो पटक ताप्लेजुङबाट निर्वाचित योगेश भट्टराईको ठाँउमा एमालेले क्षितिज थेबेलाई उम्मेदवार बनाएको छ । पाँचथरमा बसन्त नेम्वाङको ठाउँमा अइन्द्रसुन्दर नेम्वाङ उठेका छन् । इलाम–१ मा अघिल्लो पटक एमालेका महेश बस्नेत निर्वाचित भएका थिए । अहिले काजीमान कागतेलाई उम्मेदवार बनाएको छ ।

झापा–१ बाट अघिल्लो पटक निर्वाचित कांग्रेस उपसभापति विश्वप्रकाश शर्माको ठाउँमा केशवराज पाण्डे उम्मेदवार बनेका छन् । झापाका बाँकी चार निर्वाचन क्षेत्रमा अघिल्लो पटक निर्वाचित उम्मेदवारह पछि यथावत छन् ।

संखुवासभा, तेह्रथुम र भोजपुरमा कांग्रेस एवं माओवादीले अघिल्लो पटक निर्वाचित सांसदहरूलाई यो पटक उम्मेदवार बनाएनन् । संखुवासभामा दीपक खड्काको ठाउँमा कांग्रेसले दिपनकुमार श्रेष्ठलाई उठाएको छ । तेह्रथुममा सीता गुरुङको ठाउँमा सन्तोष सुब्बा उम्मेदवार छन् । भोजपुरमा सुदन किरातीको ठाउँमा एकीकरणपछि बनेको नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले अजम्बर राईलाई उम्मेदवार बनाएको छ ।

मोरङबाट निर्वाचित दुई निवर्तमान सांसद यसपालि प्रतिस्पर्धामा छैनन् । मोरङ–१ मा कांग्रेसले डिगबहादुर लिम्बुको साटो खड्गबहादुर फागोलाई उम्मेदवार बनाएको छ । मोरङ–२ मा एमालेले ऋषिकेश पोखरेलको साटो दिलिपकुमार अग्रवाललाई उठाएको छ ।

सुनसरी–१ मा जनता समाजवादी पार्टीले अशोक राईको साटो उम्मेदवारी दिएन भने सुनसरी–२ मा एमालेले भीम आचार्यको साटो सुजन लामालाई उठायो ।

सोलुखुम्बु, खोटाङ र ओखलढुंगामा अघिल्लो पटक निर्वाचितहरू उम्मेदवार बनेनन् । सोलुखुम्बुमा एमालेले मानवीर राईको साटो कल्पना राईलाई टिकट दिएको छ । माओवादी केन्द्रबाट निर्वाचित रामकुमार राईको साटो यसपालि नेकपाबाट हरि रोकाले टिकट पाएका छन् । ओखलढुंगामा कांग्रेसले रामहरि खतिवडाको ठाउँमा कुमार लुइँटेललाई अघि सारेको छ ।

उदयपुर–१ मा कांग्रेसले डा. नारायण खड्काको साटो बिदुर बस्नेतलाई अघि सारेको छ । सप्तरी–१ मा जसपा नेपालबाट अघिल्लो पटक नवलकिशोर साह सुडी निर्वाचित भएकोमा अहिले श्यामसुन्दर सरदार प्रतिस्पर्धामा छन् । बाँकी तीन क्षेत्रमा पुराना जनप्रतिनिधिसमेत प्रतिस्पर्धामा रहेकाले उनीहरूको प्रतिनिधित्वको सम्भावनालाई पूर्ण रूपमा इन्कार गर्न मिल्दैन ।

दल बदल्नेदेखि माथिल्लो सदन जानेहरू

सिराहाका ४ वटै निर्वाचन क्षेत्रमा निवर्तमान सांसदहरू प्रतिस्पर्धामा छन् । तर दुई जनाले क्षेत्र वा दल बदलेका छन् । सिराहा–२ मा जसपा नेपालबाट निर्वाचित राजकिशोर यादव यसपालि सिराहा–४ पुगेका छन् । सिराहा–४ मा जसपा नेपालबाट निर्वाचित वीरेन्द्रप्रसाद महतो यसपालि जनमत पार्टीबाट प्रतिस्पर्धामा छन् ।

दोलखा, रामेछाप र सिन्धुली–१ मा यसअघि निर्वाचित सांसदहरू प्रतिस्पर्धामा छैनन् । सिन्धुली–२ मा नेकपाका लेखनाथ दाहाल मात्रै दोहोरिएका हुन् । धनुषा–२ मा रामकृष्ण यादवको साटो कांग्रेसले दिनेशप्रसाद यादवलाई प्रतिस्पर्धामा उतारेको छ । बाँकी पूर्वजनप्रतिनिधिहरू यथावत प्रतिस्पर्धामा छन् ।

महोत्तरीका चार निर्वाचन क्षेत्रमध्ये तीन वटामा पूर्वसांसदहरूले प्रतिस्पर्धा गरिरहेका छन् । महोत्तरी–३ मा लोसपाबाट निर्वाचित महन्थ ठाकुर राष्ट्रिय सभा सदस्य हुने निश्चित छ । उनको ठाउँमा नयाँ अनुहार आउने छन् । सर्लाहीमा सबै निवर्तमान सांसदहरू प्रतिस्पर्धामा छन् ।

उपत्यकामा एक तिहाइ नयाँ

बागमतीको रसुवा, धादिङ र नुवाकोटमा निवर्तमान सांसदहरू प्रतिस्पर्धाबाट बञ्चित छैनन् । धादिङ–२ मा भने रामनाथ अधिकारीको साटो कांग्रेसले रमेशप्रसाद धमलालाई उम्मेदवार बनाएको छ । नुवाकोट–२ बाट यसअघि निर्वाचित कांग्रेस सांसद अर्जुननरसिंह केसी समानुपातिक सूचीमा बसेका छन् ।

काठमाडौं उपत्यकाका तीन जिल्लाका १५ निर्वाचत क्षेत्रमध्ये कम्तीमा पाँच वटामा नयाँ अनुहार आउने निश्चित जस्तै छ, किनभने त्यहाँ निवर्तमान सांसदहरू प्रतिस्पर्धामा छैनन् । कांग्रेसले काठमाडौं–१ मा प्रकाशमान सिंहको साटो प्रवल थापालाई टिकट दिएको छ । काठमाडौं–२ मा रास्वपाबाट निर्वाचित सोविता गौतम चितवन–३ बाट प्रतिस्पर्धा गर्दैछिन् ।

काठमाडौं–३ का सन्तोष चालिसे, १० का राजेन्द्र केसी र भक्तपुर–२ का दुर्लभ थापाको साटो कांग्रेसले नयाँ उम्मेदवारहरू अघि सारेको छ । काठमाडौं–९ मा एमालेले कृष्णगोपाल श्रेष्ठको साटो अजय क्रान्ति शाक्यलाई टिकट दिएको छ । बाँकीमा नयाँसहित पुराना सांसदहरू पनि प्रतिस्पर्धामा छन् । ललितपुरका तीनवटै क्षेत्रका निवर्तमान सांसदहरूले मैदान छाडेका छैनन् ।

काभ्रेका दुईवटै निर्वाचन क्षेत्रबाट नयाँ अनुहार आउने छन् । काभ्रे–१ का सूर्यमान दोङ र काभ्रे–२ का गोकुल बास्कोटा यसपालि प्रतिस्पर्धामा छैनन् । नेकपाको एकीकरणका कारण दोङले टिकट पाएनन् भने बास्कोटा एमाले अध्यक्ष केपी ओलीको कोपभाजनमा परे । सिन्धुपाल्चोक–२ मा कांग्रेसले मोहन बस्नेत होइन, वंशलाल तामाङलाई टिकट दियो । मकवानपुरमा निवर्तमान सांसदहरू दीपकबहादुर सिंह र महेश बर्तौला दुवै प्रतिस्पर्धामा छन् ।

रौतहट र बारामा एक जना बाहेक सबै पुराना जनप्रतिनिधि मैदानमा छन् । बारा–२ मा जसपा नेपालका रामसहायप्रसाद यादवको साटो रामकिशोरप्रसाद यादवले प्रतिस्पर्धा गरिरहेका छन् । तर यसअघि एकीकृत समाजवादीबाट निर्वाचित कृष्णकुमार श्रेष्ठ भने यसपालि एमालेबाट प्रतिस्पर्धामा छन् । पर्सा–१ मा प्रदीप यादव जसपाको साटो एमालेबाट प्रतिस्पर्धा गरे । पर्सा–३ मा एमालेले नयाँ उम्मेदवार उठाएको छ ।

चितवन–३ मा विक्रम पाण्डेले छाडे भने बाँकी दुई निर्वाचन क्षेत्रमा रास्वपाका सांसदहरू यथावत प्रतिस्पर्धामा छन् । गोरखाले दुई वटै निर्वाचन क्षेत्रबाट नयाँ सांसद पाउने छ । गोरखा–२ बाट यसअघि निर्वाचित पुष्पकमल दाहाल प्रचण्ड भने रुकुमपूर्वबाट प्रतिस्पर्धामा छन् । मुस्ताङ, मनाङ र लमजुङमा भने निवर्तमान सांसदहरू क्रमश: कांग्रेसका योगेश गौचन थकाली, टेकबहादुर गुरुङ र एमालेका पृथ्वीसुब्बा गुरुङ प्रतिस्पर्धामा छन् ।

कास्कीदेखि कपिलवस्तुसम्म

कास्की–३ मा बाहेक एमालेले बाँकी दुई निर्वाचन क्षेत्रमा निवर्तमान सांसदलाई टिकट दिएन । तीन वटै क्षेत्रमा जितेको एमालेले कास्की–१ मा वैनबहादुर क्षेत्र र कास्की–२ मा रश्मी आचार्यलाई अघि सारेको छ । तनहुँका दुई वटै क्षेत्रमा पुराना सांसदहरू प्रतिस्पर्धामा छन् ।

कांग्रेसले जितेको स्याङ्जा–१ मा भरतराज ढकाल र स्याङजा–२ मा भागवत प्रकाश मल्ल नयाँ प्रतिस्पर्धीको रूपमा जनतामाझ जाँदैछन् । गुल्मी र पाल्पामा पुराना जनप्रतिनिधिसहित नयाँ उम्मेदवारहरूको प्रतिस्पर्धा छ । नक्कली शरणार्थी प्रकरणले टोपबहादुर रायमाझी थुनामा परेका कारण एमालेले अर्घाखाँचीमा पिताम्बर भुसाललाई उम्मेदवार बनाएको छ ।

नवलपरासीको सुस्तापूर्व–१ मा डा. शशांक कोइराला र सुस्तापूर्व–२ मा विष्णुकुमार कार्की नउठेकाले उनीहरूको ठाउँमा नयाँ प्रतिनिधि आउने छन् । सुस्तापश्चिमका दुईवटै क्षेत्रमा विनोद चौधरी र ध्रुवबहादुर प्रधानले प्रतिस्पर्धा छाडेका छैनन् ।

रुपन्देहीका पाँच वटा निर्वाचन क्षेत्रमध्ये तीन वटामा नयाँ अनुहार आउने निश्चित जस्तै छ । एमालेले रुपन्देही–१ मा छविलाल विश्वकर्माको साटो दधिराम न्यौपानेलाई अघि सारेको छ । क्षेत्र नम्बर २ मा विष्णु पौडेल प्रतिस्पर्धामै छन् ।

राप्रपा सांसद दीपक बोहरा दिवंगत भएकाले तय भएको उपनिर्वाचन जेनजी आन्दोलनपछि रोकिएको थियो । लोसपा नेपालबाट प्रतिस्पर्धामा रहेका सर्वेन्द्रनाथ शुक्ला रुपन्देही–४ कै प्रतिस्पर्धामै छन्, तर जसपा नेपालबको उम्मेदवारको रूपमा ।

रुपन्देही–५ मा एमालेबाट निर्वाचित बासुदेव घिमिरे यसपालि प्रतिस्पर्धामा छैनन् । भूमि व्यवस्था मन्त्री हुँदा घुस अडियो प्रकरणमा मुछिएकाले सांसद बलराम अधिकारी यसपालि प्रतिस्पर्धामा छैनन् । कपिलवस्तु–३ का निवर्तमान सांसद मंगलप्रसाद गुप्ता पनि चुनाव लडेका छैनन् ।

थकाइ मारेका चित्रबहादुर र शेरबहादुरहरू

म्याग्दी र बाग्लुङमा पुराना सांसदहरू प्रतिस्पर्धामा दोहोरिएनन् । बाग्लुङ–१ मा जनमोर्चाका चित्रबहादुर केसी र क्षेत्र नम्बर २ मा माओवादी केन्द्रबाट निर्वाचित देवेन्द्र पौडेलले छाडेका छन् ।

प्रत्यक्ष प्रतिस्पर्धा छाडेपछि केसी सुटुक्क समानूपातिकको खसआर्य सूचीमा बसेका छन्, जनमोर्चाले समानूपातिकको थ्रेसहोल्ड कटाएर खसआर्यबाट केसी चयन हुने सम्भावना निकै चुनौतिपूर्ण हो । पर्वतमा एमालेका पदम गिरी यथावत छन् ।

रुकुमपूर्वका सांसद पूर्णबहादुर घर्तीमगर दोहोरिएनन् किनभने त्यहाँ पुष्पकमल दाहालले प्रतिस्पर्धा गरिरहेका छन् । रोल्पा र प्युठानमा क्रमश: वर्षमान पुन र सूर्य थापा सहितका प्रतिस्पर्धी मैदानमा छन् । सल्यानमा भने प्रकाश ज्वालाको साटो रमेशकुमार मल्लले टिकट पाएका छन् ।

दाङ–२ मा नेकपाबाट रेखा शर्मा होइन, निर्मल आचार्यले टिकट पाए । अरू दुई क्षेत्रमा पुराना सांसदहरू प्रतिस्पर्धामा छन् । रुकुमपश्चिममा माओवादी केन्द्रबाट निर्वाचित जनार्दन शर्मा प्रगतिशील लोकतान्त्रिक पार्टीबाट प्रतिस्पर्धा गरिरहेका छन् ।

मुगु, हुम्ला र सुर्खेतले सबै नयाँ सांसदहरू पाउने निश्चित छ, किनभने त्यहाँ निवर्तमान सांसदहरू प्रतिस्पर्धामा छैनन् । मुगुका पूर्वमन्त्री ऐनबहादुर शाही प्रतिस्पर्धामा छैनन् । सुर्खेत–१ मा कांग्रेसका निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर थापाले टिकट लिएनन् । क्षेत्र नम्बर २ मा हृदयराम थानीले प्रतिस्पर्धा नगर्ने घोषणा गरे ।

बाँके–१ मा एमालेका सूर्यबहादुर ढकाल बाहेक क्षेत्र नम्बर २ का राप्रपाका धवल शमशेर जबरा र बर्दिया–२ का स्वतन्त्र सांसद लालवीर चौधरी पनि निर्वाचनमा छैनन् ।

बाजुरामा कांग्रेसका बद्री पाण्डे, बझाङमा एमालेका भानुभक्त जोशी प्रतिस्पर्धामा नभएकाले नयाँ सांसद आउने छन् । अछाममा यसअघि एकीकृत समाजवादीका शेरबहादुर कुँवर निर्वाचित भएकोमा नेकपाले यसपालि भीम रावललाई अघि सारेको छ ।

डोटीबाट निर्वाचित प्रेमबहादुर आले कञ्चनपुरबाट प्रतिस्पर्धा गर्दैछन् । कैलालीका पाँच वटै निर्वाचन क्षेत्रबाट नयाँ अनुहार आउने छन् । कैलाली १, २ र ३ बाट निर्वाचित नागरिक उन्मुक्ति पार्टीका सांसदहरू रञ्जिता श्रेष्ठ, अरुणकुमार चौधरी र गंगाराम चौधरी प्रतिस्पर्धामा छैनन् ।

कैलाली ४ र ५ बाट निर्वाचित कांग्रेसका वीरबहादुर बलायर र डिल्लीराज पन्त पनि चुनावी मैदानमा छैनन् । जुम्ला, कालीकोट, जाजरकोट र दैलेखमा पुराना सांसदहरू प्रतिस्पर्धामा छन् ।

दार्चुलाका दिलेन्द्र बडू र डडेलधुराबाट शेरबहादुर देउवा पनि प्रतिस्पर्धामा छैनन् । मुलुकमा प्रजातन्त्र पुनर्स्थापनापछि डडेलधुराले पहिलो पटक नयाँ जनप्रतिनिधि पाउने छ । कञ्चनपुर १ र २ मा एमाले र कांग्रेसले पुरानै सांसदलाई उम्मेदवार बनाउदा क्षेत्र नम्बर ३ मा पूर्वगृहमन्त्री समेत रहेका रमेश लेखक वञ्चित भए ।

नयाँ अनुहारले के प्रभाव पर्ला ?

संघीय संसद्का पूर्वमहासचिव मनोहरप्रसाद भट्टराई ठूलो संख्यामा नयाँ जनप्रतिनिधि निर्वाचित भएर आए पनि दैनिक अभ्यास र अध्ययनबाट छोटो समयमै विधि–विधानको ज्ञान प्राप्त गर्नसक्ने बताउँछन् ।

‘नयाँ सांसद आउँदा यसअघि पनि संसदीय अभ्यास कमजोर हुने हो कि भन्ने चिन्ता व्यक्त भइरहनु कुनै नौलो कुरा होइन,’ उनी भन्छन्, ‘प्रचुर वक्तृत्व कला भएका र राजनीतिक अभ्यासमा पोख्त बनेकाहरूले त्यसलाई सहजै आत्मसात गर्ने विगतको अभ्यासले देखाइसकेको छ ।’ संसदीय अभ्यासमा सक्रिय हुनेहरूले ४/६ महिनामै आफूलाई अभ्यस्त पार्ने उनी बताउँछन् ।

नयाँ जनप्रतिनिधिको उत्साहजनक उपस्थितिले कतिपय अवस्थामा संसदीय विकृतिमा नियन्त्रण गर्न पनि सहज हुनसक्ने उनको अनुमान छ । त्यसका साथै, उनी दलको नेतृत्व र संसदीय विभाग हेर्ने पदाधिकारीले सांसदहरूलाई आलोचनात्मक चेतसहित रचनात्मक बनाउन सक्ने सम्भावना देख्छन् ।

‘सार्वजनिक रूपमा प्रश्न उठेका कतिपय पुराना सांसद बिदा भएर नयाँ आउदा संसदीय विकृतिमा पनि नियन्त्रण हुनेमा आशावादी हुन सकिन्छ,’ उनी भन्छन्, ‘दलको नेतृत्वमा रहेकाहरूले सांसदहरूको अनुशासन कायम राख्ने र अपराधमा संलग्नलाई संरक्षण नगर्ने हो भने राजनीतिक सरसफाइको सुरुवातका लागि राम्रो अवसर हुनसक्छ ।’

दलका सीमित नेताहरूको पकडमा प्रतिनिधिसभा रहेको भन्दै आलोचना भइरहेको थियो । संसदीय समितिका कतिपय नेतृत्व विवादमा मुछिँदासमेत दलहरूले विकल्प सोचेनन् भने फौजदारी अभियोगमा मुछिएका सांसदले राजनीतिक आडमा उन्मुक्ति पाइरहे । धनराज गुरुङदेखि लेखा समितिका सभापति ऋषिकेश पोखरेल त्यसका उदाहरण हुन् ।

पूर्वमहासचिव भट्टराई नयाँ जनप्रतिनिधिको उपस्थितिलाई अपराधको राजनीतीकरण रोक्ने मौकासमेत हुनसक्ने देख्छन् । ‘विगतमा कतिपय सांसदले अपराध गर्दा सबै छुट पाए । दलहरूले आफ्ना सांसदहरूलाई जवाफदेही बनाएन,’ उनी भन्छन्, ‘जतिसुकै अपराध गरे पनि बचाउने काममा लाग्दा जनतामा आक्रोश देखिएको हो । आगामी दिनमा संसद् कस्तो बनाउने ? संसद्मा प्रतिनिधित्व गर्ने दलको नेतृत्वमा नै भर पर्छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More