― Advertisement ―

ओपनएआईले भन्यो कि माइक्रोसफ्टले ग्राहक आधार निर्माण गर्न हाम्रो क्षमता सीमित गरेको छ, नयाँ अमेजन सम्बन्धको प्रशंसा गर्दछ

यो माइक्रोसफ्टले आफ्नो वृद्धिलाई सहयोग गर्ने समयलाई खुला गर्छ, तर अब यसको विकासलाई सहयोग गर्छ भन्छ। विस्तार गर्नुहोस्AWS सँगको नयाँ साझेदारीले थप उद्यम ग्राहकहरूलाई...
HomeLatest newsनक्कली नोटको बिगबिगी, सक्कली नोट चिन्ने कसरी ? – KhabarHost

नक्कली नोटको बिगबिगी, सक्कली नोट चिन्ने कसरी ? – KhabarHost


राष्ट्रिय

समाचार.

  • गत असोजदेखि नेपाल राष्ट्र बैंकले नोट सर्टिङ गर्दा चार थान नक्कली नोट फेला परेको छ भने वीरगञ्ज र काठमाडौँमा समेत नक्कली नोट बरामद भएका छन्।
  • नक्कली नोट कारोबार बढ्दा ग्रामीण र अशिक्षित सर्वसाधारण बढी जोखिममा पर्ने भएकाले राष्ट्र बैंकले नोट पहिचान मेसिन अनिवार्य गरेको छ।
  • सक्कली नोट छामेर, हेरेर र प्रकाशमा कोल्टो पारेर पहिचान गर्न सकिन्छ भने नयाँ सिरिजमा दृष्टिविहीनका लागि ब्रेल लिपि पनि प्रयोग गरिएको छ।

१८ पुस, काठमाडौं । गत असोजमा दसैंका लागि सुकिला नोट बजार पठाउन नेपाल राष्ट्र बैंकले आफूसँग भएका नोट मिलाउन सुरु गर्‍यो । नोट मिलाउने अर्थात् सर्टिङ गर्ने क्रममा केन्द्रीय बैंकमै ४ थान नक्कली नोट भेटियो ।

गत महिना मात्रै वीरगञ्ज रक्सोल बोर्डरमा ठूला दरका १ सय १४ थान नक्कली नोट फेला परे । ती नक्कली नोट नेपाल प्रहरीले राष्ट्र बैंकको प्रादेशिक कार्यालय वीरगञ्जमा बुझाएको छ ।

त्यसैगरी १६ पुसमा नेपाल प्रहरीले काठमाडौं गोकर्णेश्वरबाट पनि नक्कली नोट बरामद गरेको छ । त्यसदिन प्रहरीले ९३ थान १ हजार दरका नक्कली नोट सहित ६ जनालाई पक्राउ गरेको थियो ।

पछिल्लो समय नक्कली नोटमार्फत सर्वसाधारण ठग्ने गतिविधि बढेको देखिन्छ । माथिका उदाहरणले पनि नक्कली नोट प्रयोगसँगै सर्वसाधारण ठग्ने क्रियाकलाप तीव्र भएको स्पष्ट हुन्छ ।

गैरकाननुनी गतिविधि मार्फत ठगी गर्ने गिरोहले संक्रमणकालीन अवस्थालाई अवसरका रूपमा प्रयोग गर्छन् । गत भदौको जेनजी आन्दोलनपछि राजनीतिक संक्रमण भएकाले नक्कली नोट कारोबारीले बजारमा नक्कली नोट आपूर्ति बढाएका छन् । साथै, निर्वाचनको मिति पनि तोकिएको हुनाले राजनीतिक दल र सरकारको ध्यान निर्वाचन गराउनतर्फ हुने र आर्थिक गतिविधि पनि बढ्ने अवस्थामा बजारमा नक्कली नोट पनि पठाउन सहज हुने भएकाले आपराधिक गिरोह देशका विभिन्न स्थानमा सक्रिय भएका हुन् ।

गत महिनामात्र रक्सोल बोर्डरमा भेटिएका नक्कली नोट केही दिनपछि काठमाडौंमै भेटिनु वित्तीय क्षेत्रका लागि जोखिम बढेको राष्ट्र बैंक वीरगञ्जका निर्देशक सुशील पौडेलले बताए ।

‘गत महिना मात्रै रक्सोलमा नक्कली नोट भेटिएको थियो, पछिल्लो समय त्यस्तै घटना काठमाडांैमै भइसक्यो,’ पौडेलले भने, ‘यो अब कुनै स्थान विशेषको नभई राष्ट्रिय समस्याका रूपमा देखापरेको छ ।’

रक्सोलमा नक्कली नोट भेटिएपछि सम्पूर्ण बैंक तथावित्तीय संस्थामा नोट पहिचान मेसिन अनिवार्य गरेको पौडेलले बताए । उनका अनुसार ग्रामीण भेगका अशिक्षित सर्वसाधारण मात्र नभई शिक्षित समेत सक्कली र नक्कली नोटबारे जानकार छैनन् ।

यसमा राष्ट्र बैंकसहित सम्बन्धित सरोकारवाला सबै निकायले नोटसम्बन्धी सचेतना विस्तार गर्न जरुरी रहेको उनले बताए । राष्ट्र बैंकले नगद कारोबार निरुत्साहित गर्दै आए पनि ग्रामीण भेगमा नगद कारोबार नै प्रमुख छ ।

पछिल्लो समय सहरी क्षेत्रका वित्तीय कारोबार आधाभन्दा धेरै विद्युतीय हुने गरे पनि प्रविधिमा अध्यस्त नभएका र अशिक्षितका लागि नगद कारोबार नै मुख्य आधार हो । नक्कली नोट कारोबार बढ्दा ती व्यक्ति बढी जोखिममा पर्ने गर्छन् । साथै, उनीहरूले नक्कली र सक्कली नोट नचिनेर कारोबार गर्दा नक्कली नोट कारोबार गरेको अरोपमा उल्टै फस्ने गरेको पौडेलको भनाइ छ ।

नेपाली नोटका विशेषता निकै फरक भएकाले पहिचान गर्न सहजै सकिने र नक्कली नोट कारोबारीले त्यसलाई नक्कल गर्न नसक्ने राष्ट्र बैंक प्रवक्ता गुरु पौडेलले बताए ।

नेपाली नोटका विशेषा सर्वसाधारणसम्म पुर्‍याउन नसकेको स्वीकार्दै पौडेलले यसका लागि समाजका हरेक पक्षको सहयोग हुनुपर्ने औँल्याए ।

‘कागजी नोट भने पनि वास्तविकतामा त्यो कागज नभई कटन पेपरले बनेको हुन्छ,’ पौडेलले भने, ‘नोटमा कटनको पार्ट हुन्छ, त्यसैले सामान्यतया पानीले भिज्दैमा बिग्रिहाल्दैन, यसबारे व्यापक रूपमा प्रचार प्रसार गर्नुपर्छ, चुनावका बेला यस्ता कुरा हुन सक्छन् किनभने यस्तो अपराधी मनोवृत्ति भएकाले यस्तै खालको अनुकूल समय खोजेका हुन्छन् ।’

यस्तो समयमा प्रहरी प्रशासन, बैंक तथा वित्तीय संस्था सबै सजग हुन आवश्यक रहेको उनले बताए ।

नोटमा जतिसुकै सेक्युरिटी फिचर थपे पनि सर्वसाधारणलाई जानकारी दिन नसकिएको खण्डमा नोट कमजोर रहने उनको भनाइ छ ।

‘नेपाली नोटका विशेषता अन्तर्राष्ट्रिय स्तरका छन्,’ पौडेलले भने, ‘सक्कली नोटका विशेषता नक्कल गर्न नसकिने खालका छन् ।’

नक्कली नोट बनाउनेले ५, १०, २०, ५० को भन्दा पनि ठूला दरमा ५ सय, १ हजारका बनाउने भएकाले ती नोटको कारोबार गर्दा सचेत भएर गर्नसमेत उनले सुझाए ।

नेपाली नोटमा भएका विशेषता सहित नक्कली नोट बनाउन ठूलो लागत लाग्ने भएकाले सम्भव नहुने उनी बताउँछन । तर, नोटका विशेषता नै चोरी भएको खण्डमा भने सुरक्षा चुनौती थपिने उनको भनाइ छ ।

सक्कली–नक्कली नोट पहिचानका लागि केन्द्रीय बैंकले आफ्नो स्थानबाट आवश्यक सचेतनाका गतिविधि बढाउँदै आएको उनले बताए । त्यसका लागि केन्द्रीय बैंकसँगै समाजका सबै पक्षले समेत सहयोग गर्नुपर्ने उनको सुझाव छ ।

कसरी पहिचान गर्ने सक्कली नोट ?

नोट नक्कली वा सक्कली हो भनी छुट्टिने तीन वटा माध्यम छन् । पहिलो छामेर, दोस्रो हेरेर र तेस्रो प्रकाशमा कोल्टो पारेर हेर्ने हो । कागजमा छापिएका नक्कली नोट चिप्ला हुन्छन् । सक्कली नोट तुलनात्मक रूपमा खस्रो हुन्छ । किनभने, सक्कली नोट कटन मिश्रित कागजबाट बनेको हो ।

नक्कली नोटको प्रिन्ट पनि नमिलेको जस्तो देखिन्छ । सक्कली नोटको प्रिन्ट सफा र स्पष्ट हुन्छ । नयाँ सिरिजका १ हजारको सिरिजमा दृष्टिविहीनलाइ समेत लक्षित गरी बनाइएका छन् ।

त्यस्तो शंका लागेको खण्डमा प्रकाशमा राखेर हेर्‍यो भने सुरक्षा धागो, पानीछाप र प्रकाशमा नराख्दा आधा देखिने प्रकाश पारेर हेर्दा पूरा देखिन्छ ।

छामेर नोट पहिचान

नक्कली नोट छाम्दा चिप्ला हुन्छन् । तर, सक्कली नोट छाम्दा अलिकति खस्रो हुन्छ किनभने यसमा कटन प्रयोग गरिएको हुन्छ । यसमा विभिन्न खालका ‘इम्बोस्ड फिचर’ राखिएको हुन्छ । जसले नोटलाई सरर छाम्दा अग्लो–होचो महसुस हुन्छ । तर, नक्कली नोटमा यस्तो खालको विशेषता हुँदैन ।

हेरेर नोट पहिचान

नक्कली र सक्कली नोट कतिपय अवस्थामा हेरेर पनि पहिचान गर्न सकिन्छ । त्यसका लागि नोट हेर्दा नै सक्कली हो वा होइन भन्ने खालको आभास हुने फिचर राखिएको हुन्छ । त्यसेगरी सक्कली नोटमा भएको थ्रेड मिलेको हुन्छ । सेक्युरिटी थ्रेड, पानीछाप, नेपालको नक्सा, नेपाल राष्ट्र बैंक लेखेको जस्ता वाटर मार्क हुन्छन् । यी विशेषता नोट हेरेर पनि नक्कली र सक्कली पहिचान गर्न सकिन्छ ।

प्रकाशमा ढल्काएर नोट पहिचान

नोटलाई अलिकति उज्यालोमा राखेर हेर्‍यो भने ‘सेक्युरिटी थ्रेड’ र ‘पानीछाप’ प्रष्ट देखिन्छ । ५ सय र १ हजारका नोटमा प्रकाश नपर्दा आधा देखिने र लाइटमा राख्दा पूरा देखिने फिचर छन् ।

विशेष फिचर

सक्कली नोट पहिचान गर्न सकिने अन्य विशेषखालका विशेषता पनि छन् । त्यो भनेको पछिल्ला सिरिजका १ हजारका नोटमा दृष्टिविहीनले पनि नोट चिन्न सकुन् भनेर ब्रेल लिपि प्रयोग गरिएको छ । साथै, नोटलाई ढल्काएर हेर्दा रङ परिवर्तन हुने फिचर पनि छ । त्यसैगरी यूभी लाइटबाट पनि सक्कली–नक्कली पहिचान गर्न सकिन्छ । सक्कली नोटमा यूभी लाइट पार्दा नोटको आकार (१०००, ५००) लेखिएको र गभर्नरको हस्ताक्षरमा लाइट आउने तथा प्रकाश परार्वतन हुने गर्छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More