― Advertisement ―

‘मिलाना-कोर्टिनाको लागि हाम्रो कामले नेटवर्कको नयाँ पुस्ता सिर्जना गर्न मद्दत गरिरहेको छ’: HPE ले २०२६ शीतकालीन ओलम्पिकको नेटवर्क ब्याकबोन हुन के लिन्छ भनेर बताउँछ।

The 2026 शीतकालीन ओलम्पिक मिलान-कोर्टिनामा आधुनिक समयमा सबैभन्दा बढी माग गरिएको थियो, यो तीनवटा क्षेत्रहरूमा फैलिएको थियो, जुन यसलाई उत्तरी भागमा सबैभन्दा धेरै पढिएको...
HomeLatest newsजेनजी आन्दोलनमा हिरासतबाट फरार, ग्याङ बनाएर उपत्यकामा लुटपाट आतंक

जेनजी आन्दोलनमा हिरासतबाट फरार, ग्याङ बनाएर उपत्यकामा लुटपाट आतंक



१५ माघ, काठमाडौं । जेनजी आन्दोलनमा प्रहरी हिरासतबाट फरार भएका कैदीले समूह बनाएर उपत्यकामा लुटपाटको आतंक नै मच्चाएको पाइएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले गोली चलाएर बिहीबार बिहानीपख १० जनालाई पक्राउ गरेपछि अनुसन्धान गर्दा यसका मुख्य नाइके नै जेनजी आन्दोलनको मौकामा हिरासतबाट फरार भएको खुलेको हो ।

डाँका चोरी मुद्दामा पक्राउ परी प्रहरी वृत्त महाराजगञ्ज हिरासतमा थिए, काभ्रे भुम्लु गाउँपालिका-३ घर भएका २३ वर्षीय विनय तामाङ । उनै तामाङ जेनजी आन्दोलनको मौकामा हिरासतबाट फरार मात्रै भएनन्, समूह नै खडा गरी उपत्यकामा लुटपाटको आतंक नै सिर्जना गरे ।

१० जनाको समूह खडा गरी उनले उपत्यकाका विभिन्न ठाउँमा शृंखलाबद्ध लुटपाट गरेको परिसरका एसएसपी रमेश थापाले बताए । ‘जेनजी आन्दोलनको मौकामा हिरासतबाट फरार भएका विनय नै यसका मुख्य योजनाकार हुन् । उनैले समूह खडा गरेर लुटपाट गरेको देखिन्छ,’ उनले भने ।

उनकै योजनामा रातको समयमा यो समूहले सुनका गरगहना, नगद, मोबाइल लुटपाट गर्ने गरेको प्रहरीले बताएको छ ।

९ घन्टा अपरेसन चलाएर १० जना पक्राउ

रातिको समयमा सडकमा हिँडडुल गरेका व्यक्तिहरू निरन्तर लुटिने गरेको भन्दै प्रहरीमा उजुरी आउने गरेको थियो । त्यसपछि अनुसन्धानमा खटिएको प्रहरीले सीसी क्यामेरा फुटेज नियाल्दा एउटा मोटरसाइकलमा ३ जना सवार हुँदै लुट्ने गरेको पत्ता लगायो ।

त्यसपछि ९ घन्टा अपरेसन चलाएर १० लुटेरालाई पक्राउ गरेको छ । एसएसपी थापा भन्छन्, ‘बुधबार साँझ ६ बजेबाट अपरेसन सुरु गरी बिहीबार बिहान ३ बजेसम्म १० जनालाई पक्राउ गर्न सफल भएका हौं ।’

पक्राउ पर्नेमा काभ्रे भुम्लु गाउँपालिका-३ घर भएका २३ वर्षीय विनय तामाङ, सिन्धुली मरिण गाउँपालिका-५ का २४ वर्षीय आयन माझी, मरिण-७ का ३२ वर्षीय सविन माझी, खोटाङ ज्वलेर्समा काम गर्ने मोरङ पथरीका २३ वर्षीय मनिस रमाइली, काभ्रेको चौरी देउराली-१ का २९ वर्षीय पेमा तामाङ, चौरी देउराली-१ कै २० वर्षीय सलोन तामाङ, काभ्रेको भुम्लु-१ का १८ वर्षीय राजीव भण्डारी, रामेछापको दोरम्भा-८ का ३२ वर्षीय विशाल तामाङ, खोटाङ घर भएका सुनचाँदी कालिगढ २८ वर्षीय विदुर विश्वकर्मा र सिन्धुपाल्चोकको लिसंखुपाखर-३ का २९ वर्षीय फुर्वा तामाङ छन् ।

एसएसपी थापाका अनुसार मुलपानी क्रिकेट मैदान नजिकै प्रहरीले चेकिङ पोस्ट थापेको थियो । प्रहरीले रोक्न अनुरोध गर्दा पनि विनयले भने रोक्दै नरोकी प्रहरीलाई पेल्दै अघि बढेको दाबी एसएसपी थापाको छ । सो क्रममा प्रहरीलाई नै धक्कामुक्की गरेपछि जवाफी कारबाही गर्दा विनयको खुट्टामा गोली लागेको एसएसपी थापाको भनाइ छ ।

उनलाई अहिले राष्ट्रिय ट्रमा सेन्टरमा राखेर उपचार गराइएको छ ।

२७ ठाउँमा लुटपाट

यसका मुख्य नाइके विनय हुन् । उनकै योजनामा स्वयम्भू, बौद्ध लगायतका उपत्यकाका विभिन्न ठाउँमा २७ पटकसम्म लुटपाट भएको पाइएको प्रहरीले बताएको छ ।

यो संख्या अझै थप हुनसक्ने प्रहरीको भनाइ छ । अहिलेसम्म ४ जनाको जाहेरी भने प्रहरीमा आएको छ । साग बेचेर फर्केका महिलादेखि, काम परेर राति हिँडडुल गरेका व्यक्तिको कानको सुन, मुन्द्रा, सिक्री, औंठी, नगद, मोबाइललगायत लुटपाट गर्ने गरेको प्रहरीले बताएको छ ।

एउटा मोटरसाइकलमा तीन जना सवार हुने र लुटपाट गरेर मोटरसाइकलमै चढी फरार हुने शैली देखिएको छ । त्यसका लागि उनीहरूले साथमा खुकुरीसमेत बोक्ने गरेको पाइएको छ । प्रहरीले खुकुरी पनि बरामद गरेको छ ।

दिउँसो कार चढेर रेकी, राति मोटरसाइकमा लुटपाट

यो समूहबाट प्रहरीले एउटा कार र एउटा ट्याक्सीसमेत बरामद गरेको छ । दिउँसो उनीहरूले यही कार र ट्याक्सी चढेर रेकी गर्ने र राति लुटपाट गर्ने गरेको प्रहरीले बताएको छ ।

ट्याक्सीका आफ्ना ग्राहकलाई समेत रेकी गरेर मौका मिलेमा रातिको समयमा लुट्ने यो समूहको प्रवृत्ति देखिएको प्रहरीले बताएको छ । राति भने ट्याक्सी र कार थन्क्याएर उनीहरू सबै जना एक ठाउँ भेला हुने र खाना खाएर लुटपाट गर्न निस्कने गरेको प्रहरी अधिकारीहरू बताउँछन् ।

लुटपाटमा प्रयोग भएका ६ थान पल्सर मोटरसाइकलसमेत प्रहरीले बरामद गरेको छ । मोटरसाइकलको नम्बर प्लेट नचिनिओस् भनेर उनीहरूले नम्बर प्लेटमा हिलो छ्याप्ने गरेको प्रहरी अधिकारीहरू बताउँछन् ।

प्रहरीले चेकिङ गरेमा हिलो लागेछ, थाहा भएन भनेर जवाफ दिने गरेको प्रहरी अधिकारीहरू बताउँछन् ।

अधिकांश पटके अभियुक्त

अहिले समातिएका १० जना नै पटके अभियुक्त भएको सीआरएस (क्रिमिनल रेकर्ड सिस्टम)मा देखिएको छ । नाइके विनय त हिरासतबाटै फरार व्यक्ति हुन् । उनी २०७९ मा चोरीमा पक्राउ परेका थिए । त्यसपछि जेनजी आन्दोलनको केही अगाडि डाँका चोरीमा पक्राउ परेका थिए ।

अर्का नाइके आयन पेसाले चालक हुन् । उनी बा १२ च ७७०१ नम्बरको गाडी चलाउँछन् । यही गाडीमार्फत दिउँसोभर रेकी हुन्छ । उनी लुट्ने बेलामा मोटरसाइकल चालक पछाडि बस्ने गर्थे । उनीविरुद्ध २०७९ पुसमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट डाँका चोरीको कसुरमा मुद्दा चलेको देखिन्छ ।

मनिष लुट्दा मोटरसाइकल चलाउने र चोरीको सामान बेच्ने व्यक्ति हुन् । सविन भने ट्याक्सी चालक हुन् । उनी पनि लुटपाट गर्दा मोटरसाइकल चलाउने व्यक्ति हुन् । उनी २०७९ मा डाँका चोरी र २०८० मा चोरीको कसुरमा पक्राउ परेका थिए ।

अर्का ट्याक्सी चालक पेमा पनि पटके अभियुक्त हुन् । लुट्ने बेलामा पीडितको मुख थुन्ने काम गर्ने उनी यसअघि २०७८ र २०७९ मा डाँका चोरीमा मुद्दा चलेका व्यक्ति हुन् ।

यसअघि आल्मोनियमको पसलमा काम गर्ने सलोन अहिले भने लुटपाटको धन्दामा छन् । राजीव पनि २०८२ मै दुई पटक डाँका चोरीमा पक्राउ परेर मुद्दा चलेका व्यक्ति हुन् । विशाल २०८२ मै डाँका चोरीमा पक्राउ परेका व्यक्ति हुन् ।

विदुर लुटपाटको गहना किन्ने व्यक्ति र फुर्वा २०७२ सालमा लागुऔषध र डाँका चोरीमा मुद्दा चलेका व्यक्ति हुन् । अहिले समातिएका पेमा र सलोन भने सहोदर दाजुभाइ हुन् ।





Read More