― Advertisement ―

HomeLatest newsजसका लागि शास्त्रीय संगीत केवल प्रस्तुति होइन, जीवन जिउने तरिका हो

जसका लागि शास्त्रीय संगीत केवल प्रस्तुति होइन, जीवन जिउने तरिका हो


राष्ट्रिय

समाचार.

  • लबोनी चक्रवर्तीले हिन्दुस्तानी शास्त्रीय संगीतमा १० वर्षसम्म अजय चक्रवर्तीसँग प्रशिक्षण लिइन् र नेपालमा ‘रागरुप’ संगीत विद्यालय सञ्चालन गर्छिन्।
  • उनले संगीत शिक्षामा धैर्य, अनुशासन र गहिरो साधनालाई महत्व दिँदै नेपाली संगीत क्षेत्रमा गुणस्तरीय शिक्षा र योगदान दिइरहेकी छिन्।
  • नेपालमा शास्त्रीय संगीतलाई आर्थिक चुनौती र सम्भावना प्रतिको अनविज्ञता भए पनि चक्रवर्तीले यसलाई समृद्ध बनाउने आशा व्यक्त गरेकी छिन्।

सजिलो लोकप्रियताभन्दा धैर्य, अनुशासन र गहिरो साधनालाई रोज्ने लबोनी चक्रवर्तीका लागि शास्त्रीय संगीत केवल प्रस्तुति होइन, जीवन जिउने तरिका हो ।

कलकत्ता, भारतकी लबोनी चक्रवर्ती हाल नेपालका समकालीन शास्त्रीय संगीत क्षेत्रमा चर्चित गायिकामध्ये एक हुन् । संगीत रचना र गायनसँगै उनी एक अब्बल संगीत प्रशिक्षकको रूपमा पनि संगीत साधकबीच चर्चित छिन् । उनले हिन्दुस्तानी शास्त्रीय संगीतको गुणस्तरीय शिक्षा दिएर नेपाली संगीत जगतमा योगदान पुर्‍याइरहेकी छिन् ।

लाबोनीसँग प्रशिक्षण लिनेमा धेरैजसो किशोरदेखि मध्यम उमेर समूहका विद्यार्थीहरू पर्छन् । उनी राम्रै सम्भावना बोकेका विद्यार्थीसहित संगीतका अन्य आयामहरूमा स्थापित हुन चाहनेहरूलाई आफ्नो संगीत विद्यालय ‘रागरुप’ मा प्रशिक्षण दिन्छिन् । यससँगै त्रिभुवन विश्वविद्यालयअन्तर्गत ललित कला क्याम्पसमा पनि उनी संगीत विषय पढाउँछिन् ।

लाबोनीले पाँच वर्षको उमेरबाटै आफ्ना गुरु बैशाली जुवारधरबाट सुरुवाती सांगीतिक शिक्षा लिन सुरु गरेकी थिइन् । परिवारको सांगीतिक पृष्ठभूमिले पनि उनलाई यो बाटोमा डोर्‍यायो । उनको बुबा तथा परिवारका अन्य सदस्य गायक भएकाले लाबोनीमा सानैदेखि संगीतप्रति झुकाव हुनु स्वाभाविक थियो । पछि गएर उनले हिन्दुस्तानी शास्त्रीय संगीतका वरिष्ठ गायक अजय चक्रवर्तीबाट संगीत सिक्ने अवसर प्राप्त गरिन् ।

 

अजय चक्रवर्तीसँग संगीत सिक्न चाहने विद्यार्थीहरू असंख्य हुन्थे । तर, सीमित संख्यामा योग्य र प्रतिभावान् विद्यार्थीलाई मात्र उनको शिष्य बन्ने अवसर मिल्थ्यो । पहिले नै सांगितिक झुकाव बलियो भएको व्यक्तिले कठिन अडिसन पास गरेपछि मात्र अजय चक्रवर्तीको शिष्य बन्न पाउँछन्।

‘मेरो अडिसनका बेला गुरुजी (अजय चक्रवर्ती) ले एउटा पल्टा गाएर मलाई दोहोराउन भन्नुभएको थियो’ लाबोनी सुनाउँछिन्, ‘मैले दोहोर्‍याएँ जसका कारण मैले उहाँको शिष्या बन्ने अवसर पाएँ।’ उनले अजय चक्रवर्तीसँग १० वर्षसम्म प्रशिक्षण लिइन् ।

‘संगीतको विद्यार्थीमा हुनुपर्ने अनुशासनका साथै एउटै बन्दिशलाई विभिन्न तरिकाले प्रस्तुत गर्न सक्ने क्षमता नै मैले गुरुजीबाट सिकेका मुख्य पाठहरू हुन्’ उनी भन्छिन्।

रवीन्द्र भारती विश्वविद्यालयबाट स्नातक र स्नातकोत्तर अध्ययन पूरा गरेकी चक्रवर्ती स्नातकोत्तर तहमा ‘गोल्ड मेडलिस्ट’ थिइन्।

भारतमा जन्मिएर हुर्किएकी, प्रतिष्ठित गुरुबाट सिकेकी र ख्यातिप्राप्त विश्वविद्यालयमा अध्ययन गरेकी चक्रवर्तीका लागि भारत अपार अवसरहरूको सागर थियो । तर पनि उनले आफ्नो आगामी सांगितिक यात्राका लागि नेपाल रोजिन् । यसको एउटा रोचक कारण छ ।

विश्वविद्यालय अध्ययनका क्रममा उनको नेपाली संगीतकार प्रमोद प्रसाईँसँग भेट भयो, र बिस्तार उनीहरूबीच प्रेम सुरु भयो । ई.स. २०१७ मा उनीहरू वैवाहिक बन्धनमा बाँधिए। विवाहपश्चात् उनी निरन्तर रूपमा नेपाली संगीत क्षेत्रमा सक्रिय भइन् । नेपाली संगीत क्षेत्रमा धेरै भन्दा धेरै योगदान गर्ने चाहना छ उनको ।

अध्यापन, गायन र रचनासँगै, चक्रवर्ती नेपालकै गायन रियालिटी शोकी प्रतियोगी पनि रहेकी थिइन् । पछिल्लो समय भने उनी अर्को रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ की निर्णायक नियुक्त भएकी थिइन् । निर्णायकको यात्रा उनले सफलतापूर्वक तय गरिन् । र, यस भूमिकबाट उनले देशव्यापी प्रशंसा पनि प्राप्त गरिन्।

नेपालमा संगीत शिक्षाको संस्कृति अवलोकन गर्दाको आफ्नो बुझाइ उनले अनलाइनखबरसँग सेयर गरिन् । नेपालमा संगीत शिक्षालाई अझै पनि मनोरञ्जनका रूपमा हेर्ने प्रवृत्ति धेरै रहेको निष्कर्ष उनको छ ।

नेपालमा सानै उमेरदेखि संगीतमा लाग्ने परिपाटी नभएकोमा उनको विशेष टिप्पणी छ । धेरैजसो विद्यार्थीले विद्यालयको पढाइ अर्थात एसईई सकिएपछि तीन महिने बिदाको समयमा संगीत सिक्ने गरेको लाबोनी पाइन् । ‘संगीत सानै उमेरदेखि सिकिनुपर्छ’ उनी भन्छिन्, ‘जति सानो उमेरदेखि सिक्न थाल्यो, त्यति नै राम्रो हुन्छ।’

किशोर उमेरमा आएपछि उनीहरू अन्य दायित्व र आम्दानीको दबाबसँग पनि जुधिरहेका हुन्छन् । यस्तो परिस्थितिमा आएर सिक्न थाल्दा संगीतमा पूर्णरूपमा ध्यान दिन कठिन हुने उनी बताउँछिन् ।

केही विद्यार्थीहरू, छिट्टै सिक्ने अनि रातारात प्रसिद्ध हुन चाहने मानसिकताले सिक्न आउने गरेको अनुभव लाबोनीसँग छ । यस्तो प्रवृत्तिले संगीतको अध्ययनमा ठूलो चुनौती सिर्जना गर्ने उनी बताउँछिन् ।

‘संगीत सिक्ने मूल मन्त्र नै धैर्य हो’ उनी भन्छिन्, ‘राम्रो संगीतकार बन्न, असल व्यक्तित्व हुन पनि आवश्यक छ।’

उनको अनुभवमा नेपालमा शास्त्रीय संगीत सिक्ने विद्यार्थीहरू दुई प्रकारका छन् । पहिलो- शास्त्रीय संगीतमै करियर बनाउन चाहने । दोस्रो- प्ले ब्याक, भजन, गजल, पप, रक जस्ता विधामा करियर बनाउन चाहने तर शास्त्रीय संगीतलाई आधार बनाएर अघि बढ्नेहरू।

शास्त्रीय संगीत सिकेसँगै व्यक्तिले वर्णनातीत आनन्दको अनुभव गर्छ । साथै, सुर र तालको गहिरो मजबुत भावनाको विकास गर्छ, जसका कारण शास्त्रीय बाहेकका अन्य विधामा करियर बनाउन चाहनेहरू पनि शास्त्रीय संगीत सिक्न खोज्ने गरेको उनी बताउँछिन् ।

निश्चय नै, शास्त्रीय संगीत, संगीतको बलियो आधार हो । हाल नेपालमा पप संगीतको प्रभुत्व रहेको देखिन्छ । नयाँ पुस्तामा शास्त्रीय संगीतप्रतिको झुकाव कम देखिन्छ, र यससम्बन्धी कार्यक्रम पनि तुलनात्मक रूपमा कम रहेका छन् । यस्तो परिवेशमा पनि चक्रवर्ती शास्त्रीय संगीतमा प्रगति भइरहेको बताउँछिन् । समग्रमा शास्त्रीय संगीत सिकेका धेरै युवा कलाकारहरूकै संगीत क्षेत्रमा उत्कृष्ट पकड रहेकोले उनी सकारात्मक छिन्।

यद्यपि, अर्कोतर्फ शास्त्रीय संगीतलाई आवश्यक गम्भीरता नदिइने परिस्थितिहरू पनि धेरै देखिन्छन् । कहिलेकाहीँ शास्त्रीय संगीतका कार्यक्रमहरूमा गलत सुर र तालसहित प्रस्तुतिहरू देख्दा निराश लाग्ने उनी बताउँछिन्। यस्ता समस्या गलत सिकाइ, शिक्षण पद्धति, अभ्यासको कमी र गम्भीरता नहुनुका कारण उत्पन्न हुन्छन्।

यस विषयमा कुरा गर्दै गर्दा उनले आफ्नो शिक्षण विधिबारे पनि प्रकाश पारिन्। उनी एउटा राग पूर्णरूपमा सिकाउन कम्तीमा ६ महिना लगाउँछिन् । गीत वा भजन सिकाउँदा पनि उनी मौलिकता नबिगारीकन ‘इम्प्रोभाइज’ गर्न सिकाउँछिन् ।

‘संगीतका प्राविधिक पक्षभन्दा पनि म आफ्ना विद्यार्थीहरूलाई विशेष रूपमा धैर्यताको महत्त्व सिकाउँछु’ उनी भन्छिन् ।

लामो समयदेखि शास्त्रीय संगीतलाई आफ्नो जीवन अर्पण गर्दै आएकी चक्रवर्तीले नेपालमा शास्त्रीय संगीत साधकहरूले सामना गर्ने चुनौतीहरूबारे पनि प्रकाश पारिन्।

पहिलो चुनौती आर्थिक चुनौती हो ।

‘केवल शास्त्रीय संगीतमा निर्भर रहेर आर्थिक स्थिरता कायम गर्न अझै पनि कठिन छ’ उनी भन्छिन्, ‘तर, शास्त्रीय संगीतले व्यक्तिलाई आर्थिक रूपमा स्वतन्त्र बन्न सहयोग गर्ने धेरै अवसर दिन्छ ।’

उनका अनुसार अर्को चुनौती, नेपालमा शास्त्रीय संगीतको सम्भावना प्रतिको अनविज्ञता हो । राम्रो गायक वा संगीतकार बन्नुसँग शास्त्रीय संगीतको सम्बन्ध छैन, भन्ने धेरै जनाको बुझाइ छ।

त्यसै गरी, धेरै संगीतकारहरूलाई शास्त्रीय संगीतको ज्ञान अभाव भएका कारण रेकर्डिङमा उनीहरूसँग काम गर्दा चुनौती हुन्छ।

यद्यपि यी चुनौतीहरूबीच पनि चक्रवर्ती आशावादी छिन् । उसचेतना, राम्रो शिक्षण पद्धति, र विकसित हुँदै आएको संगीत क्षेत्र, शास्त्रीय संगीतलाई अझ समृद्ध बनाउँदै लैजाने आधार रहेको उनी बताउँछिन् ।

‘शास्त्रीय संगीत सबै संगीत विधाहरूको जग हो’ उनी भन्छिन्, ‘यसमा समय, धैर्यता र समर्पण लाग्छ, तर यसलाई अंगाल्ने व्यक्तिहरू संगीतसँगको सम्बन्ध गहिरो रहेको अवश्य अनुभूति गर्छन् ।’

पढाइरहनु, गाइरहनु, र नयाँ पुस्तालाई प्रेरित गरिरहनु, लबोनी चक्रवर्तीका लागी केवल परम्परा जोगाउनु होइन, उनी नेपालमा शास्त्रीय संगीतको भविष्य निर्माण गरिरहेकी छिन्।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More