― Advertisement ―

युवाहरूले बढ्दो रूपमा AI लाई विश्वास गर्दैनन् – वा अरबपतिहरू जसले हामीलाई बताउँछन् कि हामी सबैले AI लाई माया गर्नुपर्छ, सर्वेक्षणले पत्ता लगायो

जवानहरू पढाइप्रति आकर्षित हुँदैछन्। AIलगभग आधाले AI ले आफ्नो करियरमा नकारात्मक प्रभाव पार्ने बताउँछन्उनीहरू एआईका प्रमुख व्यक्तित्वहरू र कार्यकारीहरूमाथि पनि शंका गर्छन्युवा अमेरिकीहरू एआईलाई...
HomeLatest newsजब मिरज थाके, शान्त बन्यो माइतीघरको चार घण्टे लुकामारी

जब मिरज थाके, शान्त बन्यो माइतीघरको चार घण्टे लुकामारी



७ पुस, काठमाडौं । न प्रशासनको अनुमति थियो, न प्रहरीसँग समन्वय । मिरज ढुंगाना समूहका जेनजी अगुवाहरू सोमबार ११ बजेतिर माइतीघरमा देखिन थाले ।

सर्वपक्षीय सरकारको माग गर्दै देशव्यापी आन्दोलन घोषणा गरेको यो समूहले माइतीघरलाई दिउँसो करिब चार घण्टा आन्दोलनको केन्द्र बनाए ।

आन्दोलनका लागि प्रवक्ता तोकिएका प्रकाश शर्माका अनुसार यसमा ३० वटा समूह जोडिएका छन् ।

११ बजे भेला हुँदा करिब १५ जना जति युवा माइतीघरमा देखा परेका थिए । पछिसम्म केही नयाँ अनुहार थपिए । यो समूह र प्रहरीको लामै समय लुकामारी चल्यो ।

प्रहरीले पक्राउ गर्न खोज्थ्यो, केही पर नपुग्दै आन्दोलनकारी फुत्किएर यथास्थानमा आइहाल्थे । त्यसपछि केहीबेर प्रहरीबीच आपसी सल्लाह चल्थ्यो, फेरि आन्दोलनकारी नाराबाजी गरेकै ठाउँमा पुगेर धरपकड गर्न खोज्थ्यो । तर ताल उही । समाउने र फुत्किने क्रम लामै समय चल्यो ।

प्रहरीले धरपकड गर्नुको कारण थियो, आन्दोलनकारीले प्रशासनसँग अनुमति नलिनु । प्रहरीले सुरुवातबाटै माइतीघरमा मिरज समूहलाई लक्षित गरी माइकिङ गरिरहेको थियो, ‘यसरी प्रदर्शन गर्न स्थानीय प्रशासन ऐन २०२८ अनुसार जिल्ला प्रशासन कार्यलयबाट अनुमति लिनुपर्छ । तर तपाईंहरूले लिनुभएको छैन । त्यसैले यहाँबाट हट्न विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु ।’

प्रहरीले अनुमति नलिई प्रदर्शन गर्न आएकालाई हट्न पटकपटक अनुरोध गर्यो । तर आन्दोलनकारी टेर्ने पक्षमा थिएनन् । सानै समूहमा रहे पनि ज्यान नै छाडेर उनीहरूले प्रहरीको हातबाट फुत्किने प्रयास गरिरहे ।

आन्दोलनकारीका भनाइअनुसार उनीहरूले सोमबार बिहानै प्रशासनमा गएर अनुमति माग गरेका थिए । तर सीडीओले सल्लाह गर्छौँ भन्दै फर्काइदिए । ‘त्यसपछि सीडीओलाई हामीले विद्रोह भन्ने कुरा कानुनमा टेकेर हुन्न । हामी आन्दोलन गर्छौँ’ भनेर हिँड्यौँ,’ अनुमति माग्न गएका प्रकाश शर्माले अनलाइनखबरसँग भने, ‘खासमा हामीलाई अनुमति यो सरकारले दिँदैन भन्ने थाहा थियो । त्यसैले यता आएर थाल्यौँ ।’

यसरी सुरुवातबाटै धक्कामुक्की चलिरहँदा प्रदर्शनकारीको नाराबाजी थियो– सरकार तेरो पाराले, दु:ख पायो साराले ।

केहीबेर नाराबाजी चल्दा नचल्दै फेरि प्रहरी पुगिहाल्थ्यो । भिड तितरबितर हुन्थ्यो । आन्दोलनकारी समूहकै केही अगुवा प्रहरीबाट जोगिन भाग्दा उनीहरूसँग सडकमा आएकाले औँल्याउँदै भनिहाल्थे– यस्तो नि नेता हुन्छ, भाग्ने ?

अहिले अरूलाई भाग्नु हुँदैन भनेर बोलिरहेका यी जेनजी समूहका नाइके मिरज स्वयंलाई भदौ २३ गतेको जेनजी आन्दोलनबाट भागेको आरोप लाग्ने गरेको छ । डरधम्की आएकाले आफू त्यसबेला सडकमा नआएको बताए पनि सोमबार भने उनकै समर्थकले यस्ता कुराबाट डराउन नहुने बताइरहेका थिए ।

प्रहरीले एकातर्फबाट पक्रन खोज्थ्यो, उनीहरू अर्कोतिर समूह भेला बनाएर नारा लगाउन थालिहाल्थे, ‘हत्यारालाई कारबाही गर ।’ यी प्रदर्शनकारीले संकेत गरेका हत्यारा भदौ २३ गते सत्तामा रहेका अधिकारीहरूतर्फ थियो ।

प्रहरी अझै नजिक पुगेर माइकिङ गर्थ्यो । तर आन्दोलनकारी त्यो सुन्ने मुडमै देखिँदैनथे । प्रहरी फेरि सक्रिय भएर केही युवालाई समातेर पर पुर्याउँथ्यो, अनि त्यतै रुमाल्याएर फेरि छोड्थ्यो । यो लुकामारी सुरुवातबाटै चल्न थाल्यो । एक जना प्रदर्शनकारीको कोट नै दुई टुक्रा भयो । पछि यही कोट लौरोमा ठड्याएर यो समूहले प्रदर्शन गर्यो ।

आन्दोलनकारी र प्रहरीबीच सुरु भएको धक्कामुक्कीको केही बेरपछि आन्दोलनका नाइके मिरज आइपुगे । उनी माइतीघर प्रवेश गर्दा हुटिङ चल्यो ।

भिडबाट घेरिँदै उनी नाराबाजी भए ठाउँ पुग्थे । सबैले मिरजलाई घेरेर प्रहरीबाट हुने गिरफ्तारीबाट जोगाउँथे । नाराबाजी गरिरहेका प्रदर्शनकारीबाट घेरिएका उनले वैशाखी समाएका थिए । जेनजी आन्दोलनका घाइतेको सहानुभूति बटुल्न खोजेका मिरजले अन्तिमसम्म वैशाखी छोडेनन् । पाखुरा अड्याउने भागको कभर उडिसक्दा पनि उनले अन्तिमसम्म वैशाखी छोडेका थिएनन् । केही आन्दोलनका घाइतेलाई पनि सँगसँगै ल्याएका थिए, उनले ।

आन्दोलन सुरु भएको केही समयपछि राजावादी समूह निकट मानिने रविकिरण हमाल अनि सामाजिक सञ्जालमा भाइरल डा. निकोलस भुसाल पनि आइपुगे । विशेषगरी निकोलस आएपछिको माहोल भने अर्को बन्यो । उनलाई नेता मान्नेहरू पनि त्यहाँ देखिए । युट्युबरहरू पनि थप सक्रिय बने । कन्टेन्ट बनाए । त्यसपछि अन्य युवाहरू पनि अन्तर्वार्ता दिन थाले ।

मानौँ, माइतीघर नै एउटा स्टुडियो बनेको थियो । जताजतै अन्तर्वार्ता लिने र दिनेका लहर देखिए । यतिसम्म कि, बर्नहर्ट कलेजदेखि अन्य शैक्षिक संस्थाबाट आएका विद्यार्थी पनि अन्तर्वार्ता दिन सामेल भए । नाबालिग ती विद्यार्थीको अन्तर्वार्ता भ्युजकै नाममा त्यसरी लिनुहुँदैन भन्ने हेक्का पनि केही युट्युबर मिडियाकर्मीले लिएको देखिएन ।

आन्दोलनकारी र मिडियाबाहेक दर्शक पनि माइतीघरमा थिए । माइतीघरमा नियमित प्रदर्शन भइरहने सडकतर्फ थोरै संख्यामा रहेका आन्दोलनकारी थिए भने त्यसलाई घेर्ने मिडिया तीभन्दा धेरै थिए । अनि, रुखका फेदमुनि बसेर हेर्ने दर्शकको संख्या पनि कम थिएन । ती दर्शकका प्रतिक्रिया हुन्थे, ‘प्रहरीले जानाजान छोडिदिएको हो । आखिर समाते पनि भरे छोड्नुपरिहाल्छ । अनि आउने यहीँ हो । बरु यसैगरी थकाएको जाती ।’

प्रहरीसँग लुकामारी खेल्दै माइतीघरमा करिब चार घण्टा बिताएको मिरज समूहले यसलाई देशव्यापी आन्दोलनको सुरुवात भनेको छ ।

प्रहरी र प्रदर्शनकारीको लुकामारी चलिरहँदा पत्रकार र प्रदर्शनकारीबीच नै कुटाकुट भयो । प्रदर्शनकारीले सुरुमा हात हालेपछि आफूहरूले पनि प्रतिकार गरेको पत्रकारहरूको दाबी थियो ।

छरपस्ट माइतीघरमा प्रदर्शनकारी वल्लो छेउ र पल्लो कुनामा अन्तर्वार्ता दिँदै थिए । बानेश्वरतर्फको छेउमा मिरज केही युवाले घेरिएर अन्तर्वार्ता दिइरहँदा पल्लो छेउमा बोलिरहेका निकोलस भुसालका भनाइ मिडियामा प्रत्यक्ष प्रसारण भइरहेको थियो ।

‘विनाशकारी निर्वाचन चाहिँदैन’ भन्दै नाराबाजी गरेका उनीहरू केबल मिडिया खपतका लागि बोलिरहेका थिए भन्ने बुझ्न केही दृश्य बुझे पुग्छ ।

जस्तो, करिब साढे बाह्र बजेपछि प्रहरीले आन्दोलनकारी समाउन थाल्यो । रविकिरण हमाल लगायतका अगुवा पक्राउ परे । उनीसहित अन्य युवालाई पनि पक्रदै प्रहरीले भ्यानमा हाल्यो । प्रहरीबाट फुत्किन प्रयास गर्दै भ्यानसम्म पुगेका उनीहरू ‘मलाई के समाउँछस् ? ओलीलाई गोली हान्न सक्छस् ?’ भन्दै कराउँदै थिए । तर, भ्याननजिक पुगेपछि शान्त उनीहरू आफैँ भ्यानमा चडे ।

अगाडिसम्म बल गरिरहेका उनीहरू यसपछि भने आफैँ उक्लिएको दृश्य त्यहाँ देखियो । भित्र छिर्दासम्म शान्त उनीहरू त्यसबेलासम्म शान्त सुनिए, जतिबेलासम्म क्यामेरा अगाडि परेन । जब क्यामेरा अगाडि पर्यो, भित्रबाट भ्यानको जालीमा मुक्का हान्दै सुशीला सरकारको राजीनामा मागिहाले । त्यो जालीको प्वालबाट हेर्दै भित्र रहेका सबै एकैपटक नाराबाजी र प्रदर्शन गर्न थाले ।

‘यहाँबाट मिडिया मात्र गइदिए पनि यिनीहरू आफैँ जान्थे । क्यामेरा देखेर कराइरहेका हुन्, एटेन्सन पाउन,’ हामीसँगै रहेका एक युवाको तर्क थियो ।

यसरी केही युवालाई प्रहरीले पक्राउ गरेपछि मिरज सहितका अन्य जेनजी अगुवा भद्रकाली परिसर अगाडि पुगे । प्रहरीले जिल्ला सरकारी वकिलको कार्यलय अगाडि नै ब्यारिकेट लगाएर बाटो छेकेको थियो । केहीबेर हराएका निकोलस फेरि आइपुगे । हुटिङ र नाराबाजीसँगै उनले फेरि तीन राउन्ड अन्तर्वार्ता दिन भ्याइहाले ।

माइतीघरबाट भद्रकाली परिसर छिर्ने मुखैमा जम्मा भएका यी युवाको योजना थियो, सामूहिक गिरफ्तारी दिने । ‘हाम्रा साथीलाई कि त छोड्नुपर्यो, कि हामी सबैलाई समात्’ भन्दै दबाब बढाए । निरन्तर दबाब बढेपछि प्रहरीले रविकिरण हमाल सहितको टोलीलाई परिसर भित्रबाट भिडमै ल्याएर छोडिदियो । उनीहरूलाई परबाट प्रहरीले ल्याउँदै गरेको देखेपछि यता जम्मा भएकाहरू नाराबाजी गर्न थाले । र, प्रहरीबाट छोडिएका ती युवालाई साथै लिएर, निकोलस भुसाललाई काँधमा बोक्दै माइतीघर फर्किए ।

माइतीघर आएपछि केहीबेर नाराबाजी गरेको यो समूहमा एकाएक सानो स्पिकर आइपुग्यो । सोही स्पिकर समाएर मिरजले भिडलाई सम्बोधन गरे । उनीनिकट जेनजी अगुवाका अनुसार मिरजले ‘आजलाई थकाइ लाग्यो, अब भोलि एघार बजे फेरि आउनुपर्छ’ भन्दै भिडलाई सम्बोधन गर्न स्पिकर झिकाएका थिए । तर सानो भएकाले त्यसबाट निस्किएको आवाज भिडको कानसम्म पुगेन । उनले के बोले, अधिकांशले मेलो पाएनन् ।

त्यसपछि मिरज भिडबाट छलिँदै एकाएक निस्किए । कतिपयले त मिरज निस्किएको पत्तै पाएनन् । उनीसँगै आन्दोलनमा आएकाहरूले भन्दै थिए, ‘ए ! मिरज निस्किसकेको पो हो ? केही छैन, अब भोलि भेट्ने कुरो छ ।’

यसरी प्रहरीसँग लुकामारी खेल्दै माइतीघरमा करिब चार घण्टा बिताएको मिरज समूहले यसलाई देशव्यापी आन्दोलनको सुरुवाती दिनको झिल्को भनेको छ । र, अब मंगलबारबाट भने ‘ठूलो स्पिकर ल्याएर आफ्नो आवाज सरकारसम्म पुर्याउने’ वाचा आन्दोलनमा आएका अन्य युवासमक्ष गरेको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More