नेकपा एमालेले तीन महिनाअघि सम्पन्न विधान महाधिवेशनले गरेका निर्णय उल्ट्याएर पदाधिकारी १९ र केन्द्रीय कमिटी ३०१ सदस्यी बनाउने भएको छ । विधान महाधिवेशनको निर्णय केन्द्रीय समिति बैठकबाट बहुमतको आधारमा निर्णय गरेको भन्दै एमालेको संस्थापनइतर पक्षले यसको विरोध गरेको छ ।
स्थायी समिति सदस्य अग्नि खरेल यो निर्णयले पार्टीलाई एकताबद्ध बनाउन मद्दत पुर्याउने दाबी गर्छन् । ‘केन्द्रीय कमिटी २५१ मा झार्नेबित्तिकै १०० जना घटाउनुपर्ने भयो। नयाँ ५० जना थप्दा फेरि ५० जना थप घटाउनुपर्छ’ उनले प्रश्न गरे, ‘यसरी एकैपटक १५० जना केन्द्रीय समितिबाट बिदाइ गर्न सम्भव छ ?’
विधान संशोधन, संस्थापनइतर समूहको प्रतिक्रिया र सम्भावित नतिजाहरूमा केन्द्रित रहेर उनै खरेलसँग अनलाइनखबरकर्मी रघुनाथ बजगाईंले गरेको कुराकानी :
विधान महाधिवेशनले गरेको निर्णय तीन महिनामै उल्ट्याउनुभयो । यस्तो के आइलाग्यो र ?
यसको वस्तुगत कारण छ । परिस्थितिमा आएका केही भिन्नताले यसो गर्नुपर्यो । मेरै सन्दर्भ, मैले जतिखेर यो प्रस्ताव (पदाधिकारीको संख्या १९ बाट घटाएर १५ बनाउने, केन्द्रीय समिति २५१ सदस्यीय बनाउने) पोलिटब्युरो बैठकमा सचिवालयले लिएर आयो, त्यतिबेला नै मैले अधिवेशनसम्म जाँदा आजको परिस्थिति उत्पन्न हुन्छ भनेको थिएँ । दशौं राष्ट्रिय महाधिवेशनमा हामीले विधान अधिवेशनका निर्णय राष्ट्रिय महाधिवेशनमा पुग्दा केही परिवर्तन गर्यौं । त्यसका वस्तुगत कारण त्यसबेला पनि थिए र अब पनि त्यो वस्तुगत कारण अगाडि आयो ।
पोलिटब्यूरो बैठकमा आएको प्रस्तावमा पदाधिकारीको संख्या घटाउने र स्थायी समितिको संरचनालाई हटाउने कुरा थियो। ती संरचनाका केही नेताहरू रहन जरूरी पनि देखिन्थ्यो । पोलिटब्युरोको आकार सँगसँगै केन्द्रीय कमिटीको सदस्य संख्या पनि घट्ने भयो । तर मैले हुँदैन भनेको थिएँ ।
निर्णय गर्दाको पृष्ठभूमि र जेनजी विद्रोहपछिको पृष्ठभूमि बदलियो भन्ने तर्क हो ?
हो, पोलिटब्युरोमा जेनजी आन्दोलन अगाडि नै छलफल भएको थियो । त्यसबेला के लाग्थ्यो– पार्टी र यसका वैधानिक व्यवस्थालाई स्थायित्व दिनुपर्छ। पार्टीभित्र प्रतिस्पर्धात्मक प्रणालीलाई हामीले मानेका छौं। एकपछि अर्को गर्दै प्रतिस्पर्धीहरू आएका छन् । फेरि नयाँ नयाँ जेनेरेसनका मानिसहरूका मागहरू पनि थपिँदै छन् र ती मागहरू हामीले सम्बोधन पनि गर्दै जानुपर्छ।
हामी एउटा केन्द्रीय कमिटीको बैठकमा कति जनालाई बिदाइ दिन सक्छौं ? हामी त्यतिबेला ३५३ जना थियौं । यसलाई २५१ को संख्यामा राख्नेबित्तिकै १०२ जना घटाउनुपर्ने भयो । नयाँ पुस्ताका ५० जना थप्ने भन्ने बित्तिकै एकैचोटि १५० जनाभन्दा बढीलाई बिदाइ दिन सम्भव छ ? यो एउटा पक्ष हो ।
नेता व्यवस्थापन चुनौतीपूर्ण भएकोले संख्या नघटाऔं भन्ने तर्क गर्नुभएको ?
नेताहरूको व्यवस्थापन पनि एउटा चुनौती थियो । अहिले माग पनि त्यसै खालको छ । तल नयाँ-नयाँ कार्यकर्ताहरू जन्मिँदै छन् र नयाँ-नयाँ मान्छेलाई स्थान दिनुपर्ने पनि अवस्था छ। हरेक नयाँ महाधिवेशनले केहीलाई बिदाइ गर्ने र केही नयाँलाई भर्ना गर्नुपर्ने हुन्छ। तबमात्रै पार्टी जीवन्त हुन्छ। यसपटक पनि केही बिदाइमा जान्छन्, केही आउँछन् । यसक्रममा केही नेता-कार्यकर्ताको व्यवस्थापकीय पक्षमा ध्यान दिएनौं भने महाधिवेशन सफल हुन सक्दैन।
व्यवस्थापन राम्रो भएन भने महाधिवेशन पछि पार्टी नै छोड्ने र पार्टीको क्षयीकरण गर्ने जोखिम घटाउन विधान महाधिवेशनको निर्णय उल्ट्याउनुभएको ?
पार्टी नै छोड्ने, अन्त जाने भन्ने एमाले भित्रको संस्कृति होइन। प्रतिस्पर्धा गरिसकेपछि हारेपनि त्यसो गर्ने होइन । माधव नेपालले पार्टी पछि गएर फुटाउनुभयो। यो नगर्नु पर्थ्यो उहाँले।
झलनाथले पनि हार्नुभएको थियो तर, पार्टी फुटेको थिएन । हार्ने जित्ने त भई नै रहन्छ पार्टीभित्र। मलाई लाग्छ- अहिले पनि त्यस्तो हुँदैन । तर पनि एकछिनलाई मानौं, दुर्भाग्यवश कुनै बिन्दुमा भइहाल्यो भने त क्षयीकरण त भयो । त्यो स्थितिमा हामी किन जाने ?
जेनजी आन्दोलनपछि पार्टीको रूपान्तरण गर्न सक्दा त यो विधान महाधिवेशनको निर्णय नउल्टाएर पनि अघि बढ्न सकिन्थ्यो होला ?
माथिका कुरा मैले केन्द्रीय समितिमा पनि उठाएँ । पछि विधान महाधिवेशनमा पनि उठ्यो । तर, जे पोलिटब्युरोमा आएको थियो, त्यही पास भयो । अहिले पनि राष्ट्रिय महाधिवेशनले निर्णय गर्न बाँकी रहे पनि केन्द्रीय समितिबाट भने एउटा प्रस्ताव अगाडि बढेको छ ।
त्यो प्रस्तावमा अरू के छन् ?
अध्यक्ष एक, उपाध्यक्ष पाँच, महासचिव एक, उपमहासचिव तीन जना र नौ जना सचिव रहने व्यवस्था । अलिकति चेन्ज भएको छ तर, पदाधिकारी १९ जना नै हो ।
युवाको प्रतिनिधित्वको कुरा पनि थप्नुभयो ?
हो । यसपटक हामीले युवाको प्रतिनिधित्व तलैदेखि नै सुनिश्चित गर्दै लिएर आएका छौं ।
जेनजी मुभमेन्टपछि पनि केही कुराहरूलाई विचार गर्नुपर्छ भनेर युवा सहभागितालाई पार्टीभित्र व्यापक रूपमा बढाउनुपर्छ र सकेसम्म ल्याउनुपर्छ भनेर वैधानिक व्यवस्था नै गर्दैछौं । हामीले १६५ वटा निर्वाचन क्षेत्रबाट ४० वर्ष मुनिका कम्तिमा एक/जना युवा महाधिवेशन प्रतिनिधि बनाएर ल्याएका छौं । यसबाहेक पनि यसपटक काफी मात्रामा युवाको चहलपहल भएको छ ।
उनीहरूले महाधिवेशन प्रतिनिधिमै चित्त बुझाउनुपर्ने हुन्छ कि केन्द्रीय समिति र पदाधिकारी पुग्छन् ?
प्रश्न प्रतिशतको रूपमा पनि उठेको छ । तर प्रतिशतको रूपमा नरहे पनि महत्वपूर्ण नम्बरको रूपमा यसलाई राखिन्छ ।
विधान संशोधन गर्ने प्रस्ताव आजै कसरी अगाडि बढ्यो ? यो नेता व्यवस्थापनका लागि मात्रै भन्ने देखिएन र ?
विधान संशोधनको प्रस्ताव अध्यक्षले नै सुरुमा राख्नुभएको होइन, यो अर्कै ढंगले आयो। अध्यक्षले त अब कसरी जान्छ भनेर अरू नै विषयवस्तुहरू राख्नुभयो। तर यो विषयवस्तु केन्द्रीय कमिटीका सदस्यहरूको मनमा थियो। हामी सबैका मनमा थियो। मैले नै उठाएँ । मैले पोलिटब्युरोदेखि नहारीकन यो प्रश्न उठाएको उठाउँदै आएको थिएँ । आज पनि उठाएँ ।
अहिलेको व्यवस्थापन ठिक ढंगले गर्न सकिएन भने कार्यकर्ताहरू निराश भएर जान सक्छन् भनेँ । एउटा लेभलकै कार्यकर्तालाई हामीले नेतृत्वमा राख्न नसक्ने स्थिति हुनसक्छ। त्यसैले हामीले यसमा सुविचारित ढंगले नै यो कुरालाई अगाडि लानुपर्छ भन्ने थियो। अध्यक्षले आफ्नो कुरा राखिसके पछाडि तलबाट यो प्रश्न हामीले उठायौं र उठाउने सिलसिलासँग गाँसिएर नै म आफूले त पोलिटब्युरोदेखि नै यो कुरालाई म राखिरहेको छु भनेँ ।
अहिलेको व्यवस्थापन गर्न चुक्यौं भने एकताको महाधिवेशन सन्देश हामीले दिन सक्दैनौं भनेँ । यो महाधिवेशनले एकताको महाधिवेशन सन्देश दिनुपर्छ। यस निम्ति हामीले पुरानै संरचनामा जानुपर्छ भन्ने कुरा उठाइयो र त्यो उठाइसकेपछि धेरै साथीहरूले त्यसलाई उठाउनुभयो।
यसको प्रतिवादमा पनि केही साथीहरूले प्रश्नहरू नउठाउनु भएको होइन । तर अधिकांश सदस्यहरूले त्यो कुरा उठाइसकेपछि पार्टी अध्यक्षले यसलाई टेबुल गर्नुभयो। धेरै साथीहरू यसमा सहमत हुनुभयो र अगाडि बढाउने निर्णय भयो ।
अध्यक्ष केपी शर्मा ओली यो विषय सचिवालय बैठकमा राखेर पनि पछाडि हटेका थिए । तर केन्द्रीय समितिमा पास हुने वातावरण कसरी बन्यो ?
अध्यक्षले सचिवालय बैठकमा राखेको भन्ने हामीले बाहिर सुनेका थियौँ। तर त्यहाँ सहमति हुन सकेनछ । केही साथीहरूले होइन यसो नगरौँ भनिसकेपछि अध्यक्ष त्यसबाट पछाडि हट्नुभयो । उहाँले आजै भन्नुभयो– म त्यसबाट पछाडि हटेको हुँ।
अब तपाईंहरूले प्रस्ताव राख्नुभयो, निर्णयार्थ प्रस्तुत गर्छु भनेर अध्यक्षले राख्नुभयो । अधिकांश साथीहरूले त्यसलाई गड्गडाहट तालीका साथ त्यसलाई पास गरिदिनुभयो र अगाडि बढेको हो ।
सचिवालय बैठकमा पछि हट्ने र केन्द्रीय समितिमा अगाडि बढाउने कुरा त अंकगणितसँग सम्बन्धित देखियो नि ?
त्योभन्दा पनि हामीले नै त्यो कुरालाई उठायौँ। अध्यक्षले त सचिवालयमा केही उठाउनुभयो होला, त्यहाँबाट ब्याक हुनुभयो। उहाँले नै भन्नुभयो – त्यो कुरो सिद्धियो ।
तर हामीलाई लाग्यो – यसको व्यवस्थापन ठीक ढंगले हुनुपर्छ। यदि व्यवस्थापन गर्न सकेनौँ भनेदेखि बिग्रिन सक्छ। हामीले आफ्नो लागेको कुरा किन नउठाउने ?
मेरो विचारमा यो विषयले एमालेको आम पङ्क्ति लाभान्वित या खुसी छ। किनभने नेतृत्व चयन र संख्यामा ज्यादा कस्दा त्यसले दिने परिणाम कहिलेकाहीँ सुखद हुँदैन ।
अर्को पक्षले कस्तो प्रतिवाद गर्यो ?
पक्ष होइन, केही साथीहरूबाट अगाडि नबढाऊँ भन्ने विचार आयो।
उहाँहरूलाई हामीले कन्भिन्स गर्ने कोसिस गर्यौं। हामीले आफ्ना तर्क, त्यसलाई पुष्टि गर्ने कोसिस गर्यौं। तर्क उहाँहरूको पनि छ, हाम्रा मात्र छैनन् ।
विधान अधिवेशन गरेको निर्णयलाई उल्टाउने काम नगरौँ, यसले विधान अधिवेशनको महत्त्वलाई कम गर्छ, कमजोर बनाउँछ भन्ने खालको उहाँहरूको कुरा थियो। त्यो स्वाभाविकै हो। त्यो तर्कलाई म अनावश्यक ठान्दिनँ। तर हामी व्यवहारिक हुनुपर्छ। विधान अधिवेशन त पहिला पनि भएको थियो, हामीले पछि उल्टायौँ नि त ! फेरि उल्टाउनुपर्छ यो भनेको पनि हैन।
जे होस्, नेतृत्वले आफ्नो अनुकूलतामा विधानलाई चलाउन सक्छन् भन्ने बलियो सन्देश दिन सफल हुनुभयो हैन त?
त्यो म्यासेजलाई हामीले यो रूपमा लिनु हुँदैन। किनभने एमालेको महाधिवेशन हो। एमालेको महाधिवेशनलाई कसरी सफल बनाउने भन्नेतर्फ हाम्रो ध्यान बढी जान्छ। नियम कानुन बनाउँदा नै धेरै कुरामा ध्यान दिनुपर्छ है भन्ने कुरालाई खण्डित म गर्न चाहन्नँ। यही खण्डित नगर्न नै त मैले त्यसबेला उठाएको हो।
म यो ठाउँमा किन उभिएको छु भने यो आजको आवश्यकता हो। यो आवश्यकता हुन्छ भनेर मैले पहिले पनि उठाएको हुनाले म विनम्रतापूर्वक आफूले गल्ती नगरेको कुरा भन्न सक्दछु ।
फरक विचार राख्नेहरूलाई पनि यो निर्णले समेट्यो कि झन पर धकेल्यो ? उनीहरू त विरोध गरिरहेकै छन् । कुरा र व्यवहारको मेल भएन नि ?
यसलाई आम महाधिवेशन प्रतिनिधिले ध्यान दिने हो। मेरो भागको म ध्यान दिउँला। म आम प्रतिनिधिको जिम्मा लिन सक्दिनँ। तर आम प्रतिनिधिहरूलाई म के भन्छु भने यो राष्ट्रिय महाधिवेशन बनोस्, एकताको महाधिवेशन बनोस् । यो महाधिवेशन स्थलबाट बाहिर निस्किँदा हामी सबै हाँसीखुसी निस्किन सक्ने एउटा परिस्थिति बनोस् । यसको निम्ति सबै महाधिवेशनका प्रतिनिधिहरू तयार रहनुस् । लडाइँ लामो छ।
अहिले हामी राष्ट्रिय संकटभित्र छौँ। मुलुक संकटभित्र छ, पार्टी पनि संकटभित्र छ। त्यसैले यो संकटबाट हामीले एकताको सन्देश दिएर मात्रै पार पाउन सक्छौँ। यसनिम्ति सबै महाधिवेशन प्रतिनिधिले आफ्नो तर्फबाट ध्यान दिने कुरामा ध्यान दिनुपर्छ ।
निर्वाचन भएर कि निर्वाचन नभएर एकताको सन्देश ?
मेरो विचारमा निर्वाचन त हुन्छ। निर्वाचन भएन भने त फेरि तपाईंहरूले हामीलाई अर्को प्रश्न उठाउनुहुन्छ। हामी तपाईंहरूलाई त्यो प्रश्न उठाउने मौका दिने छैनौँ। निर्वाचन त हुन्छ, कुनै न कुनै ठाउँमा, कहिँ न कहिँ हुन्छ। सकेसम्म अध्यक्षमा निर्वाचन नभए राम्रो हुन्छ। त्यो कुरालाई अरू कुनै ढंगले व्यवस्थापन गरे हुन्छ। अझै पनि नेताहरू लाग्दा हुन्छ। अझै पनि कार्यकर्ता साथीहरू र प्रतिनिधि लाग्दा हुन्छ। बन्द सत्र भर्खर सुरु हुँदैछ।
अध्यक्षका दुई दाबेदार देखिएका छन् । प्यानलगत प्रतिस्पर्धाकै तयारी देखिन्छ । नेतृत्व चयन एक ढंगले होला । तर, जेनजी विद्रोहपछि आयोजित महाधिवेशन सकिँदै गर्दा आम नागरिकले के सन्देश पाउँछन् ?
आफू दुरुस्त भइयो भने म्यासेज दुरुस्त हुन्छ । तपाईंको स्वास्थ्य दुरुस्त भयो भने तपाईं मसँग गफ गर्न सक्नुहुन्छ, म तपाईंसँग । आफैं दुरुस्त भइएन भने केही पनि गर्न सकिँदैन। त्यसैले महाधिवेशन स्थलबाट मुलुक र देश हामी हेर्छौँ नै। त्यो हाम्रो टार्गेट नै हो, हाम्रो लक्ष्य नै हो। तर त्योभन्दा अगाडि आफ्नो पार्टी दरिलो बनाएर मात्र हामी त्यो ठाउँमा जान सक्छौँ। दरिलो एकताले मात्र हामीलाई त्यो ठाउँमा पुर्याउन सक्छ । हामीलाई सफल बनाउँछ। त्यसैले सबैभन्दा पहिला हामी आफ्नो पार्टीतर्फ हेर्छौँ ।
यसो गरिरहँदा जेनजीले उठाएका मुद्दाहरूलाई सम्बोधन हामी कसरी गर्छौं ? सुशासन, भ्रष्टाचारका विषय वा शासन प्रणालीमा आइसकेका, संविधानसँग आइसकेका अनेकौँ विषयहरूमा उहाँहरूसँग हाम्रो संवाद हुन्छ, भइरहेको छ र अब पनि हुन्छ । यसको निम्ति अब बन्ने केन्द्रीय कमिटी अझै सशक्त बन्छ, अझै उहाँहरूका कुरा सुन्छ, अझै आफैँभित्र बस्ने जेनजी उमेर समूहका मान्छेहरूलाई कसरी उनीहरूका भावना बुझेर नीति निर्माण गर्ने कुराहरूमा एमाले सचेत रहन्छ ।
(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More




