― Advertisement ―

एक चिनियाँ एआईले एक दशक पुरानो गणितको समस्यालाई शून्य मानव सहयोगमा ८० घण्टामा हल गरेर प्रमाणित गरेको छ ।

एआईसँगको स्वचालित समाधान 2014Rethlas ले मानव गणितज्ञले जस्तै समस्या समाधान गर्ने रणनीतिहरू अन्वेषण गर्दछArchon ले सम्भावित प्रमाणहरूलाई लीन 4 प्रमाणिकरणकर्ताका लागि परियोजनाहरूमा रूपान्तरण गर्दछपेकिङ...
HomeLatest newsकागजमा ६ कम्पनी, अनुसन्धान गर्दा छैन एउटै पनि – KhabarHost

कागजमा ६ कम्पनी, अनुसन्धान गर्दा छैन एउटै पनि – KhabarHost



१२ माघ, काठमाडौं । बिजनेस (व्यावसायिक) भिसामा १३ पटकसम्म नेपाल आएका एक चिनियाँ नागरिक अवैध रूपमा १३ वर्षदेखि नेपालमा बसोबास गरेको भेटिएको छ ।

अध्यागमन विभागले चिनियाँ नागरिक झाउ साओगाङलाई ठमेल पकनाजोलबाट नियन्त्रणमा लिई अनुसन्धान गर्दा बिजनेस भिसामा नेपाल आए पनि कुनै कुनै व्यापार, व्यवसाय नगरी बसोबास गर्दै आएको खुलेको हो ।

विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार ती चिनियाँ नागरिकले बिजनेस भिसामा नेपाल आएर विद्यालयहरूमा अध्यापन गरेको समेत भेटिएको छ ।

बिजनेस भिसामा नेपाल आएर अध्यापन गरेको भेटिएपछि विद्यालयदेखि बिजनेस भिसा दिने निकाय, उद्योग मन्त्रालय, कम्पनी रजिस्ट्रार कार्यालयको भूमिकामाथि नै प्रश्न उठेको छ ।

अहिले अध्यागमनको हिरासतमा रहेका चिनियाँ नागरिक पहिलो पटक सन् २०१२ मा पर्यटक भिसामा नेपाल आएका थिए । त्यसपछि भने १३ पटकसम्म बिजनेस भिसामा आएको तथ्य भेटिएको हो । तर ती चिनियाँ नागरिकले नेपालमा कुनै पनि व्यापार, व्यवसाय गरेको भेटिएको छैन ।

अध्यागमन नियमावली २०५१ को परिच्छेद २ मा बिजनेस भिसाबारे उल्लेख गरिएको छ । उद्योग मन्त्रालयको टिप्पणी र सिफारिस, विदेशी लगानी स्वीकृतिपत्र, कम्पनी उद्योग दर्ताको प्रमाणपत्र, स्थायी लेखा नम्बर, उद्योग निरीक्षण प्रतिवेदन, कम्पनीको प्रबन्ध पत्र र नियमावली, कर चुक्ता प्रमाणपत्र, कम्पनीको अध्यावधिक प्रतिवेदन, सेयर लगत जस्ता विवरणहरू बिजनेस भिसा लिन र नवीकरण गर्न अनिवार्य गरिएको छ ।

पर्यटक तथा बिजनेस भिसामा आएका विदेशी नागरिकले अध्यापन गर्न नपाउने भए पनि उनले अवैध रूपमा अध्यापन गर्दै आएको भेटिएको हो ।

तर, यी प्रक्रिया पूरा नगरी ती चिनियाँ नागरिकको बिजनेस भिसा नवीकरण हुँदै आएको देखिएको छ । सुरुमा कम्पनी दर्ता गरेर बिजनेस भिसा लिएको भए पनि ती कम्पनीहरू चले-नचलेको, कर चुक्ता भए-नभएको, उद्योगको निरीक्षण भए-नभएको जस्ता अति आवश्यक विवरणहरू बिनै १३ पटकसम्म बिजनेस भिसा नवीकरण गर्दै नेपालमा अवैध गतिविधि गर्नुले नियामक निकायहरूको भूमिकामाथि प्रश्न उठेको छ ।

बिजनेस भिसालाई लाग्ने दस्तुरमा पनि भारी छुट छ । १० करोड रुपैयाँभन्दा बढी लगानीको त भिसा शुल्क नै लाग्दैन । त्यति मात्रै होइन, लगानी गर्ने विदेशीका आश्रित परिवार वा संस्थाका प्रतिनिधिलाई समेत बिजनेस भिसा दिइने व्यवस्था छ । बिजनेस भिसाको यस्तै फाइदा उठाउँदै यी चिनियाँले नेपालमा भिसा विपरीतको गतिविधि गरेको भेटिएको छ ।

कागजमा ६ कम्पनी

अध्यागमनको हिरासतमा रहेका ती चिनियाँ नागरिकले ६ वटा कम्पनी भने दर्ता गराएको भेटिएको छ । कम्पनी दर्ता गर्दा उद्योग मन्त्रालयको टिप्पणी र सिफारिस अनिर्वाय गरिएको छ ।

यसरी उद्योग मन्त्रालयकै सिफारिसमा ६ कम्पनी दर्ता भएका छन् । जसमा यान सुपिङ होटल एन्ड रेस्टुरेन्ट प्रालि, होटल विथ रेस्टुरेन्ट यान, झोङ विन इन्टरनेसनल कार्गो कम्पनी, मो यिङ होटल विथ रेस्टुरेन्ट, स्प्रिट मंकी इन्फरमेसन टेक्नोलोजी, शाव जिअसुन विथ रेस्टुरेन्ट कम्पनी दर्ता गराएको भेटिएको विभागका प्रवक्ता टीकाराम ढकाल बताउँछन् ।

यिनै कम्पनी देखाएर उनी १३ पटकसम्म बिजनेस भिसामा नेपाल आएका थिए । तर यत्तिका कम्पनी दर्ता गराएका ती चिनियाँको कम्पनीबारे अहिलेसम्म कुनै अनुगमनसमेत नभएको पाइएको छ । त्यसको फाइदा उठाउँदै बिजनेस भिसामा नेपाल बसेर अवैध गतिविधि गरेको विभागका अधिकारीहरू बताउँछन् ।

‘बिजनेस भिसा लिने उद्देश्यका लागि मात्रै कम्पनी दर्ता गरेको देखियो । तर लगानी र कारोबार भने केही पनि देखिँदैन,’ प्रवक्ता ढकाल भन्छन् ।

विद्यालयमा अध्यापन

ठमेलको फेमली पिस होटलमा मासिक २० हजार रुपैयाँ भाडा तिरेर बस्दै आएका ती चिनियाँ नागरिकले केही विद्यालयमामा अवैध रूपमा अध्यापन गर्ने गरेको भेटिएको छ ।

अनुसन्धान अधिकृतका अनुसार विगत ४ वर्षदेखि उनले अध्यापन गरेको पाइएको हो । पर्यटक तथा बिजनेस भिसामा आएका विदेशी नागरिकले अध्यापन गर्न नपाउने भए पनि उनले अवैध रूपमा अध्यापन गर्दै आएको भेटिएको हो ।

साओगाङले सन् २०२२ मा ६ महिना काठमाडौं महानगरपालिका-७ महाङ्काल चुच्चेपाटीमा रहेको इलाइट ग्रान्ड स्कुलमा चाइनिज भाषा अध्यापन गराएको भेटिएको छ । तर उनले उक्त स्कुलसँग कुनै सम्झौता भने गरेका थिएनन् ।

नेपालमा चलाइएकको कुरान सिकाइ

उनले बौद्ध तीनचुलीमा रहेको ग्याङचेन सामलिङ स्कुलमा ७ देखि ९ कक्षाका विद्यार्थीहरूलाई चिनियाँ भाषा र गीत सिकाउने गरेकोसमेत भेटिएको छ ।

स्वयम्भूमा रहेको न्यानाङ फेल्गे लिङ मनस्ट्री चिनियाँ भाषा पठाएको भेटिएको छ ।

मेकानिकल इन्जिनियरिङमा स्नातकसम्म अध्ययन गरेका उनले चीनमा भने इलेक्ट्रिोनिक उपकरणहरू बेच्ने गर्थे ।

धर्म प्रचारमा अमेरिकन

बिजनेस भिसामा आएर अवैध रूपमा नेपालमा चिनियाँ भाषा पढाएका चिनियाँ पक्राउ परेकै समयमा अध्यागमन विभागले क्रिश्चियन धर्म प्रचारप्रसारको आरोपमा एक अमेरिकनलाई पनि पक्राउ गरेको छ ।

सन् २०१७ मा नेपाल पहिलो पटक नेपाल प्रवेश गरेका ती चिनियाँ सन् २०२० देखि भने नेपालमै थिए ।

सिन्धुपाल्चोकको साँगाचोकगढीमा क्यालभरी सर्भिस सेन्टर प्रालि स्थापना गरेका ती अमेरिकनले कम्पनीको ठेगाना भने ललितपुर-१८ सैंबु उल्लेख गरेका थिए । उनै अमेरिकले गोदावरी नगरपालिकामा घर नै भाडामा लिएर क्रिश्चियन धर्मसम्बन्धी गतिविधि सञ्चालन गरेको पाइएको छ ।

ती अमेरिकनले अवैध रूपमा चलाएको बाल गृहमा १२ जना बालबालिकालाई आश्रय दिइएको थियो । आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई भने क्रिश्चियन धर्मसम्बन्धी गतिविधिमा लगाएको खुलेको विभागका एक अधिकारी बताउँछन् ।

अध्ययन र व्यावसायिक भिसा लिएर बसेका उनले पक्राउ परेपछि प्रशासनलाई ‘हेट स्पिच’ नै दिएको विभागका अधिकारीहरू बताउँछन् ।

६ महिनामा ३०० विदेशी निष्काशित

अहिले समातिएका चिनियाँ र अमेरिकन नागरिक उदाहरण मात्रै हुन् । नेपाल आएर विनाभिसा बस्ने, भिसाविपरीत गतिविधि गर्ने ३०० जना विदेशी नागरिक गत साउनयता निष्काशित भइसकेका छन् ।

अध्यागमन विभागमा आएपछि आफूले भिसाविपरीतका गतिविधि गर्नेमाथि कडा निगरानी राखेर अध्यागमन कानुनअनुसार कारबाही गरेको विभागका महानिर्देशक तिवारी बताउँछन् ।

पछिल्लो समय काठमाडौं, ललितपुर, इलाम, संखुवासभा, पोखरा, नेपालगञ्ज, वीरगञ्ज, दोलखा, मुस्ताङ, चितवन जस्ता ठाउँबाट समेत अध्यागमन कानुन उल्लंघन गरेका विदेशीलाई नियन्त्रणमा लिएर निष्काशन गरिएको विभागको रिपोर्टले देखाउँछ ।

रामचन्द्र तिवारी, महानिर्देशक अध्यागमन विभाग ।

२२ साउनमा मात्रै विभागले फ्रान्सका एक नागरिकलाई नियन्त्रणमा लिएको थियो । सन् २०१४ देखि पटकपटक नेपाल आउने जाने गरेकी उनी प्रत्येक भिसा वर्षको अन्त्यतिर टर्की, यूएई लगायतका तेस्रो मुलुक जाने र पुनः नेपाल प्रवेश गर्ने गरेको देखिएको थियो । उनी १५ पटकभन्दा बढी नेपाल आएको देखिएको थियो ।

त्यस्तै अध्ययन भिसा लिई वाल्मिकी विद्यापीठमा भर्ना हुने तर अध्ययन पूरा नगरी भिसाको दुरुपयोग गरेको पनि भेटिएको छ ।

५ भदौमा इन्डोनेसियाका ३ जनालाई अध्यागमनले पक्राउ गरेको थियो । तीमध्ये एक महिला अध्ययन भिसामा नेपाल आएकी थिइन् । तर भिसाको उद्देश्यविपरीत उनले ललितपुरको धोबीघाटमा रहेको मुस्लिम धर्मसँग सम्बन्धित संस्था हिमालय शिक्षा तथा हितेशी समाजमा गर्ल्स होस्टेलमा तीन जना इन्डोनेसियाका महिलालाई राखेकी थिइन् ।

शिक्षकको रूपमा राखिएका उनीहरूलाई टर्किस र कुरान भासा सिकाउने र मुस्लिम धर्म प्रचारमा लगाउने गरेको भेटिएको थियो । यो होस्टलमा करिब ५० छात्रालाई कुरान पढाइएको थियो ।





Read More