― Advertisement ―

सावधान, ह्याकरहरूले मालवेयर वितरण गर्न, पैसा र डाटा चोरी गर्न एप्पल खाता सूचनाहरूको दुरुपयोग गर्दैछन्

Scammers'ph डोमेनमा कलब्याक प्रयोग गरी ईमेल पठाउनुहोस् सन्देशहरूप्रविधिले नक्कली खरिद अलर्टहरू इम्बेड गर्न Apple ID सिर्जना क्षेत्रहरू प्रयोग गर्छपीडितहरू कलिङ स्क्यामरहरू, जसले त्यसपछि संवेदनशील...
HomeLatest newsकमन ल प्रणालीको उद्गमथलो नियाल्दा – KhabarHost

कमन ल प्रणालीको उद्गमथलो नियाल्दा – KhabarHost



बेलायतको सर्वोच्च अदालतले नेपालका प्रधानन्यायाधीश सहित हामीलाई भ्रमणको निम्तो गरेको थियो । निम्तो मान्दै साताव्यापी बेलायतको न्यायालय भ्रमणका लागि हामी त्यहाँ पुगेका थियौं । हामीले बेलायतको रोयल कोर्ट अफ जस्टिसका अन्तर्राष्ट्रिय सम्बन्ध र तालिमको जिम्मेवारी हेरिरहेका लर्ड जस्टिस डिन्गेमान्स, लर्ड स्नोडेन र जस्टिस ऐडीसँग भेट्यौं । बेलायतमा न्यायाधीशलाई सम्मानस्वरुप लर्ड भनेर पुकारिन्छ ।

बेलायत र वेल्सकी प्रधानन्यायाधीश लेडी चिफ जस्टिस वेरोनेस कार कार्यक्रमस्थलमा प्रवेश गर्नुभयो । उहाँले बेलायती अदालत र न्यायप्रणालीबारे बताउँदा बेलायत र नेपालको न्यायालयमा केही साझा समस्या रहेको थाहा भयो । त्यहाँ पनि अदालती बजेट, न्यायाधीश नियुक्ति र तालिम सम्बन्धी विषयमा समस्या रहेछन् ।

पुनरावेदनमा जानै सकस

भ्रमणको पहिलो दिन हामीले बेलायतको न्यायप्रणाली अवलोकन गर्न थाल्यौं । बेलायतको न्यायप्रणाली बुझ्न त्यहाँको राजनीतिक, न्यायिक एवं शक्तिको भौगोलिक विभाजनको जानकारी आवश्यक पर्छ ।

संयुक्त अधिराज्य इङ्गल्याण्ड र वेल्स, स्कटल्याण्ड तथा नर्दन आयरल्याण्ड गरी तीन भूभागमा विभाजित छ । तीनवटै भौगोलिक क्षेत्रको राजनीतिक पृष्ठभूमि र कानूनी प्रणाली एकापसमा केही भिन्न छन् ।

संवैधानिक सुधार ऐन अनुसार, सन् २००९ मा स्थापित सर्वोच्च अदालतले तीनवटै क्षेत्रका उच्चतम अदालतको पुनरावेदन सुन्ने गर्छ । सर्वोच्च अदालतले बेलायतको प्रतिष्ठित हाउस अफ लर्डस् अर्थात् संसद्को माथिल्लो सभाको न्यायिक समितिलाई प्रतिस्थापन गरेको हो ।

संयुक्त अधिराज्य र नेपालको सर्वोच्च अदालतको पुनरावेदन सुन्ने प्रक्रियामा धेरै भिन्नता रहेछ । त्यहाँ पुनरावेदन निवेदनहरूलाई न्यायाधीशहरूले च्याम्बरमा अध्ययन गरी अनुमति दिने वा नदिने निर्णय गर्दा रहेछन् । केही सीमित मुद्दाहरू मात्र सर्वोच्चमा प्रवेश गर्ने रहेछन् ।

संयुक्त अधिराज्यको सर्वोच्च अदालतमा रिट क्षेत्राधिकार अन्तर्गत कुनै पनि निवेदनहरू सोझै हेरिने व्यवस्था रहेनछ ।

प्राय: मुद्दाहरूको तथ्य र कानूनी विषयलाई तल्लो तहमै स्पष्ट पारिने रहेछ । नेपालमा प्रत्येक तहमा स्वत: पुनरावेदन गर्न पाइने अधिकार रहेकोमा त्यहाँ फरक रहेछ । प्रत्येक तहमा पुनरावेदनको अनुमति दिने वा नदिनेमा न्यायाधीशहरूले च्याम्बरबाटै निर्णय गर्ने रहेछन् ।

त्यसक्रममा ब्यारिष्ट्ररहरूले बहस वा अन्य कुनै भूमिकामा नहुने रहेछन् । सोलिसिटरहरूले तयार पारेको मस्यौदालाई ब्यारिष्ट्ररले जाँच गरेपछि पेश गरिने रहेछ । त्यही निवेदनमै सम्बन्धित मुद्दा, कानूनको व्याख्या र सार्वजनिक महत्वको दृष्टिकोणबाट पुनरावेदन हेर्न उपयुक्त छ भन्ने पुष्टि गर्नुपर्ने रहेछ ।

पुनरावेदनको अनुमति नभएमा मुद्दा त्यहीं अन्त्य भएको मानिने रहेछ । इङ्गल्याण्ड र वेल्सका तल्लो तहका अदालत अर्थात् काउन्टी, मेजिष्ट्रेट वा क्राउन कोर्टको फैसलामाथि विषयवस्तुको प्रकृति अनुसार उच्च अदालतको रूपमा रहेका किङ्स कोर्ट, पारिवारिक र चान्सरी कोर्टमा पुनरावेदन लाग्ने रहेछ ।

विदेशमा सदस्यता बाँड्ने अदालत

लन्डनको प्रसिद्ध ओल्ड बेली अर्थात् सेन्ट्रल क्रिमिनल कोर्टले गम्भीर प्रकृतिका फौजदारी मुद्दाहरूलाई क्राउन कोर्टकै रूपमा ट्रायल कोर्ट सरह मुद्दा हेर्ने रहेछ ।

सेन्ट्रल क्रिमिनल कोर्टको फैसलामाथि हाई कोर्ट अर्थात् उच्च अदालतमा पुनरावेदन लाग्ने रहेछ । हाई कोर्टबाट भएका निर्णयमाथि कोर्ट अफ अपिलको देवानी र फौजदारी इजलासमा पुनरावेदन हुने रहेछ ।

काउन्टी, मेजिष्ट्रेट र क्राउन कोर्टबाट भएका फैसलाको पुनरावेदन हेर्ने किङ्स बेन्च (फौजदारी मुद्दाका लागि), फ्यामिली बेन्च (पारिवारिक मुद्दाका लागि) र चान्सरी बेन्च (आर्थिक, सम्पत्तिजन्य र व्यापारिक प्रकृतिका मुद्दाका लागि) भएको उच्च अदालत हुने रहेछ ।

त्यसमाथि पुनरावेदन सुन्न देवानी र फौजदारी इजलास भएको कोर्ट अफ अपिल नै इङ्गल्याण्ड र वेल्सको अन्तिम अदालतको रूपमा रहेका छन् । त्यसको पनि पुनरावेदनका लागि अनुमति पाउन बेलायतको सर्वोच्च अदालतमा निवेदन दिइने रहेछ । ठूलो संख्याका निवेदनमध्ये केहीले मात्र अनुमति पाउने रहेछन् ।

इङ्गल्याण्ड र वेल्सको न्यायालयले हालै मात्र उच्च अदालतमा चान्सरी कोर्ट सरह स्ट्याण्डिङ इन्टरनेशनल फोरम अफ कमर्सियल कोर्टस् नामक अदालत स्थापना गरेको रहेछ । उक्त अदालतले मध्यस्थता, सिपिङ र इन्सल्भेन्सी जस्ता व्यापारिक कानूनसँग सम्बन्धित केही विशिष्ट मुद्दा हेर्ने रहेछ ।

अन्य देशहरूले समेत त्यस अदालतको सदस्यता लिन सक्ने रहेछन् । सदस्यता लिने मुलुकका अदालतहरूले व्यापारिक कानूनसँग सम्बद्ध मुद्दाहरूको अन्तिम निर्णय गर्न स्ट्याण्डिङ इन्टरनेशनल फोरम अफ कमर्सियल कोर्टस्मा सिफारिस गर्न सक्ने रहेछन् ।

संयुक्त अधिराज्यले उक्त अदालतलाई विशिष्ट प्रकृतिका व्यापारिक, राष्ट्रिय र तुलनात्मक क्षेत्रका मुद्दाहरूको फैसला गर्न सक्ने गरी क्षेत्राधिकार प्रदान गरेको रहेछ ।

हाम्रो औपचारिक बैठक स्ट्याण्डिङ इन्टरनेशनल फोरम अफ कमर्सियल कोर्टस्का न्यायाधीश नोल्ससँग तय भएको थियो । उहाँसँगको भेटमा उक्त अदालतको गठन, क्षेत्राधिकार र अन्य देशहरूले सदस्यता लिन सक्ने विषयमा कुराकानी भयो । उहाँले नेपालले नि:शुल्क सदस्यता लिई उक्त अदालतका विशेषता र विज्ञताको ज्ञान र विशिष्टता उपभोग गर्न सक्ने सुझाव दिनुभयो ।

उक्त अदालतमा काम गर्ने कर्मचारी र न्यायाधीशहरूको विशेषज्ञता हाम्रा लागि अनुशरणीय रह्यो । नेपालका उच्च अदालतहरूमा वाणिज्य इजलास गठन गरी विशिष्टता हासिल गर्नेतर्फ कदम बढाइएको थियो । तर पनि बेलायतको विशिष्टीकृत न्यायप्रणालीको साक्षात्कार गर्दा हामीले धेरै काम गर्न बाँकी रहेको अनुभूत भयो ।

त्यसपछि ब्यारिष्टर मार्क हिल के.सी. (किङ्स काउन्सेल)ले हाम्रा लागि आयोजना गरेको लेक्चर सत्रमा सामेल भयौं । बेलायतका चार इन्स अफ कोर्ट मध्ये एक इनर टेम्पलमा आयोजित समारोहमा अंग्रेजी कानूनी प्रणालीका विज्ञ समेत रहेका प्राध्यापक जेम्स लीलाई त्यहाँको अदालती प्रणाली र कार्य प्रक्रियाबारे जानकारीमूलक सत्रमा बोलाइएको रहेछ ।

डेढ घण्टा चलेको सत्रमा प्राध्यापक जेम्स लीले बेलायती अदालती प्रणालीको विगतदेखि वर्तमानसँग परिचित गराउनुभयो । उहाँले संयुक्त अधिराज्यको सर्वोच्च अदालतका न्यायाधीशको पृष्ठभूमि, शिक्षा, उहाँहरूले गरेको फैसला, अदालतको कार्यप्रकृति र प्रिभि काउन्सिलमा न्यायाधीशहरू कसरी मुद्दाहरूमा विभाजित हुन्छन् भन्ने समेत बताउनुभयो ।

त्यसपछि हामी वेस्टमिनिष्टर बरोतर्फ लाग्यौं । बेलायतको चारवटा शक्ति केन्द्र संसद् (हाउस अफ कमन्स र हाउस अफ लर्डस्), करिब १२ सय वर्षको इतिहास बोकेको वेस्टमिनिस्टर आबे भन्ने चर्च, सर्वोच्च अदालत र बकिङ्घम दरबार ट्राफलगर स्क्वायरको आसपास र थेम्स नदीको किनारमा रहेका छन् ।

न्यायालय सुरक्षामा गोर्खाली

हामी संयुक्त अधिराज्यको सर्वोच्च अदालतका अध्यक्ष (प्रेसिडेन्ट)सँग भेट्दै थियौं । सहजीकरण गर्न अध्यक्षका निजी सचिवलाई खटाइएको रहेछ । सर्वोच्च अदालतको प्रवेशद्वारदेखि अध्यक्षको बैठक कक्षसम्म पुग्न उहाँले साथ दिनुभयो ।

सर्वोच्च अदालत प्रवेश गर्दा त्यहाँको सुरक्षाका लागि नेपालीहरू खटिएको पायौं । निजी सचिवले सर्वोच्च अदालतको सुरक्षाका लागि अवकाशप्राप्त गोर्खाहरूलाई खटाइएको जानकारी दिनुभयो । हामीलाई अध्यक्ष लर्ड रिड, उपाध्यक्ष लर्ड हज र सो अदालतको अन्तर्राष्ट्रिय सम्बन्ध हेर्ने एक जना अधिकारीले स्वागत गर्नुभयो ।

सर्वोच्च अदालतका अध्यक्ष र उपाध्यक्ष दुवै स्कटल्याण्डका हुनुहुँदोरहेछ । उहाँहरू नेपालको संविधान, अदालती अभ्यास, कूटनीतिक सम्बन्ध र गोर्खाहरूको योगदानबारे जानकार हुनुहुँदोरहेछ ।

बेलायतको सर्वोच्च अदालतमा विभिन्न देशबाट न्यायिक भ्रमण हुँदोरहेछ । कतिपय देशहरूसँग सहकार्यको लिखित समझदारी समेत रहेछ ।

संयुक्त अधिराज्यको सर्वोच्च अदालतका अध्यक्ष सहितको समूहसँगको बैठकपछि संसद् भवन (हाउस अफ लर्डस्) का सदस्य लर्ड गार्नियर के.सी. (किङ्स काउन्सेल)सँग भेटघाट तय गरिएको थियो । लर्ड गार्नियर पहिले सोलिसिटर जनरल हुनुहुँदोरहेछ । त्यहाँ सोलिसिटर जनरल र एटर्नी जनरल संसद्को सदस्य हुने अभ्यास रहेछ ।

उहाँहरू मन्त्री वा राज्यमन्त्री सरह मन्त्रिपरिषद्को बैठकमा बस्ने अभ्यास रहेछ । सोलिसिटर जनरल र एटर्नी जनरल प्राय: ब्यारिष्ट्रर र सोलिसिटर मध्येबाट नियुक्त हुने रहेछन् । लर्ड गार्नियरसँग हाउस अफ कमन्सको पूर्व सदस्य र सोलिसिटर समेत रहेका डेविड वुरोज पनि हुनुहुन्थ्यो ।

हाउस अफ कमन्सको एउटा समितिको बैठक कक्षमा हामीले भेटवार्ता गर्‍यौं । उहाँले हामीलाई बेलायतको संसद् अर्थात् हाउस अफ कमन्स र हाउस अफ लर्डस्को बारेमा जानकारी गराउनुभयो । साथै, कानूनी पृष्ठभूमि भएका सोलिसिटर र ब्यारिष्ट्ररहरू कसरी राजनीति र नीति तथा कानून निर्माणमा संलग्न हुन्छन् भन्नेबारे बेलीविस्तार लगाउनुभयो ।

लर्ड गार्नियरसँगको भेटपछि हामीले हाउस अफ कमन्सका स्पिकर अर्थात् सभामुख सर लिन्ड्से होईलसँग भेट गर्‍यौं । सर होईल ब्यारिष्ट्रर समेत हुनुहुँदोरहेछ । बेलायतले विदेशी सहायता कटौती गर्दै गइरहेकोमा नेपाललाई असर नपरोस् भनी हाम्रा राजदूतले कोशिश गर्नुभएको रहेछ ।

बैठकमा हामीलाई जुडिसियल एपोइन्टमेन्ट कमिसनका सदस्य तथा न्यायाधीश तनवीर इक्राम र उहाँका सहयोगीहरूले उक्त कमिसनको आवश्यकता, गठन, कार्य प्रक्रिया बताउनुभयो । उहाँले न्यायाधीशको सिट संख्याको निर्धारण, विज्ञापन, मौखिक परीक्षा, अन्तर्वार्ता र छनोट जस्ता विषयमा जानकारी दिनुभयो ।

सार्वभौम संसद्, स्वतन्त्र सांसद

हामीले सर्वोच्च अदालत र संसद्का प्रतिनिधिहरूसँग भेट गर्दैगर्दा उहाँहरूको समान कानूनी क्षेत्रगत पृष्ठभूमि चाखलाग्दो पायौं । तर, सर्वोच्च अदालत र सभामुखको कार्यालय र सर्वोच्च अदालतका अध्यक्ष र सभामुखको हाउभाउमा स्पष्ट भिन्नता देख्न सकिन्थ्यो ।

त्यसक्रममा बेलायती संसद्को सार्वभौमसत्ता र प्रभुत्वको त्यहाँ प्रत्यक्ष आभास हुन्थ्यो । हामीलाई ब्यारिष्ट्रर मार्क हिलले ‘हाउस अफ कमन्स’मा कानूनको कुनै एउटा दफामा मतदान भइरहेको छ, हेर्न जाऔं’ भन्ने प्रस्ताव राख्नुभयो ।

हाउस अफ कमन्सको बैठक कक्षको दर्शकदीर्घामा बसी मत प्रक्रिया हेरियो । संयोगवश प्रस्ताव गरिएको कानूनी दफाको पक्ष/विपक्षमा बराबर मत खस्यो । सांसदहरू कुनै न कुनै दलमा आबद्ध भए खासखास विषय बाहेकमा स्वतन्त्र रूपमा मत प्रदान गर्न सक्ने अभ्यासका कारण त्यसरी मत बराबर हुने वा जुनै पक्षमा पनि बहुमत पुग्ने रहेछ ।

मतदान हेरेपछि हामी हाउस अफ लर्डस्को बैठक हेर्न जाँदै थियौं । तर बैठक सकिएकाले हाउस अफ कमन्स र हाउस अफ लर्डस्को मध्यबिन्दुतिरको भवनको कला, इतिहास र वैभव हेर्न गयौं ।

हामीसँगै रहनुभएका पूर्व एम.पी. एवं सोलिसिटर समेत रहेका डेभिड वुरोजले एउटा सानो घेरालाई देखाउँदै ‘सरोकारवाला र सामान्य मानिसले हाउस अफ कमन्स र लर्डस्का सदस्यलाई आफ्ना कुरा सुनाउने स्थान हो, समयक्रममा त्यही बिन्दुलाई लबी भन्न थालिएको रहेछ ।

त्यो ठाउँ र अभ्यास वर्षौंदेखि यथावत् छ । लबी भन्ने अंग्रेजीको एक शब्द आफ्ना कुरा राख्न वा पहुँचमा रहेका व्यक्तिलाई अनुरोध गर्न वा प्रभाव पार्न गरिने कामको रूपमा संसारभर प्रसिद्ध छ ।

हामीले बेलायतको संसद् भवन र संसदीय प्रणालीको अवलोकन गरिसक्दा साँझको आठ बज्नै लागेको थियो । हामीसँगै रहनुभएका ब्यारिष्ट्रर मार्क हिलले ‘म सदस्य भएको क्लबमा खाना खानुभएन भने यहाँको क्लब संस्कृति बुझ्न सक्नुहुन्न, त्यतै जाऔं’ भन्नुभयो ।

क्लबमा ब्यारिष्ट्रर, सोलिसिटर, न्यायाधीश, वैज्ञानिक र सामाजिक तथा राजनीतिक जीवनमा प्रतिष्ठित व्यक्तिहरू पनि सदस्य रहेछन् । सदस्यता लिएकाहरू मात्र क्लबमा प्रवेश पाउने रहेछन् । आश्चर्य, अझै पनि कतिपय क्लबले महिलालाई प्रवेश दिंदा रहेनछन् ।

शुरुमा पार्टटाइम, अनि बल्ल न्यायाधीश

भ्रमणको दोस्रो दिन हामी जुडिसियल एपोइन्टमेन्ट कमिसन पुग्यौं । कमिसन बेलायतको कानून तथा न्याय मन्त्रालयको भवनमा रहेछ । कानून मन्त्रीलाई चान्सलर वा कानून तथा न्याय सचिव भनिंदो रहेछ । बेलायतमा चान्सलर शब्दको प्रयोग रोचक नै छ । लर्ड चान्सलर भन्नाले उच्च अदालतको चान्सरी डिभिजनको न्यायाधीश बुझ्नुपर्दछ, चान्सलर भन्नाले कानून मन्त्री र चान्सलर अफ एक्सचेकेर भन्नाले अर्थमन्त्री भन्ने बुझ्नुपर्दछ ।

बैठकमा हामीलाई जुडिसियल एपोइन्टमेन्ट कमिसनका सदस्य तथा न्यायाधीश तनवीर इक्राम र उहाँका सहयोगीहरूले कमिसनको आवश्यकता, गठन, कार्य प्रक्रिया, न्यायाधीशको सिट निर्धारण, विज्ञापन, मौखिक परीक्षा, अन्तर्वार्ता र छनोट जस्ता विषय जानकारी दिनुभयो ।

नेपाल र बेलायतको न्यायाधीश सिफारिस गर्ने परिषद्को कार्य प्रकृति केही फरक रहेछ । नेपालमा न्यायपरिषद्ले नै न्यायाधीशको नियुक्ति तथा कारबाहीको विषय हेर्छ भने बेलायतमा यी दुई कामका लागि छुट्टाछुट्टै निकाय छन् ।

जुडिसियल एपोइन्टमेन्ट कमिसनले न्यायाधीश नियुक्ति गर्दोरहेछ भने कारबाही लगायतका प्रक्रियाका लागि जुडिसियल कन्डक्ट इन्भेस्टिगेशन कमिसनको स्थापना भएको छ ।

न्यायाधीश नियुक्ति गर्न अधिकारप्राप्त जुडिसियल एपोइन्टमेन्ट कमिसनको पदेन सदस्य बाहेक अन्य सदस्य छनोट हुन अन्तर्वार्ता प्रक्रियाबाट अघि बढ्नुपर्छ । पाकिस्तानी मूलका न्यायाधीश तनवीर इक्राम पनि त्यही प्रक्रियाबाट छनोट हुनुभएको रहेछ । कमिसनका कुनै पनि सदस्य पूर्णकालीन रहेनछन् ।

कमिसनको सूचनामा बैठक बस्ने रहेछ र कमिसनरहरू आवश्यक काम पर्दा वा बैठक बस्दा मात्र कार्यालय आउने अभ्यास रहेछ । सन् २००५ को संविधान सुधार ऐनपछि शुरु गरिएको यस प्रक्रियाले न्यायिक नियुक्तिमा पारदर्शिता, वस्तुगत, अनुभव र व्यावसायिकतामा प्रसिद्धि कमाएको रहेछ ।

बेलायतमा न्यायाधीश नियुक्तिको प्रथम चरणमा कानून तथा न्याय मन्त्रालयले संख्या यकिन गर्दोरहेछ, त्यसपछि विज्ञापन गरिंदो रहेछ । इच्छुक आवेदकहरूले आफ्नो विवरण उल्लेख गरी फारम भर्छन् । अनि अन्तर्वार्ताबाट छनोट हुनुपर्दोरहेछ, छनोट नभएमा आधार र कारण लिखित रूपमा इमेलबाट जानकारी गराइँदोरहेछ ।

वस्तुगत प्रश्नमा आधारित अन्तर्वार्तामा सामेल भइसकेपछि आवेदकहरूले अनौपचारिक रूपमा तयार बेन्चबाटै न्यायाधीशको भूमिका गर्नुपर्दो रहेछ । आवेदकहरू मूलत: ब्यारिष्ट्रर र केही सोलिसिटर पृष्ठभूमिका हुँदारहेछन् । उनीहरू सम्बन्धित अदालतको पार्ट टाइम वा फुल टाइम न्यायाधीशमा नियुक्त हुनसक्ने रहेछन् ।

फि पेइङ वा पार्ट टाइम न्यायाधीशको पदका ब्यारिष्ट्ररहरूले केही मुद्दामा न्यायाधीशको भूमिका निर्वाह गर्दा रहेछन् । उनीहरू मुद्दामा अभियोजन गर्ने सरकारी वकिलको जस्तै काम गर्न सक्ने रहेछन् । उनीहरूले ब्यारिष्ट्ररको भूमिकामा आफ्नो पक्षको कानूनी प्रतिरक्षा समेत गर्दा रहेछन् ।

फि पेइङ न्यायाधीशहरू स्थायी, फुल टाइम वा स्यालरिड जज बन्न कमिसनको न्यायाधीश नियुक्तिको प्रक्रिया फेरि पार गर्नुपर्ने रहेछ । ७५ वर्ष उमेरहद हुने न्यायाधीशहरू फर्केर अन्य न्यायिक वा व्यावसायिक काम गर्न नपाउने रहेछन् ।

त्यहाँ लोकसेवा प्रक्रियाबाट छनोट भएका हाम्रो जस्तो करियर न्यायाधीशको व्यवस्था भएको पाएनौं । बेलायतको न्यायाधीश नियुक्तिमा यो मुख्य भिन्नता रहेछ, हामी बरु भारतको न्यायिक व्यवस्थाको नजिक रहेछौं । बेलायतमा मूलत: ब्यारिष्ट्ररसिप नै अदालतमा बहस गर्ने र न्यायाधीश उत्पादन गर्ने प्रमुख थलो रहेछ । कर्मचारीहरू सार्वजनिक सेवाबाट निवृत्त नहुन्जेल आफ्नो पद सोपानमा काम गर्न पाउने रहेछन् ।

म्याग्नाकार्टा लेखिएको टेम्पल चर्च

दोस्रो दिन फुर्सदको समय हामी वेस्टमिनिस्टर आबे गयौं । १४ वटा राजाको अन्त्येष्टि गरिएको वेस्टमिनिस्टर आबे नामले प्रसिद्ध उक्त चर्चले बेलायतको धार्मिक शक्ति र इतिहासको प्रतिविम्ब गर्ने रहेछ ।

वेस्टमिनिस्टर आबेको नजिकै बेलायतका ब्यारिष्ट्ररहरूको गुरु संस्थाको रूपमा रहेको चारवटा इन्स अफ कोर्ट (लिन्कन्स इन, मिडल टेम्पल, इनर टेम्पल, ग्रेज इन) समेत रहेछन् । इन्सहरूमा आफ्नो छनोट र पहुँचको आधारमा इन्टर्नको रूपमा प्रवेश गरेका कानूनका विद्यार्थीहरू त्यहाँ चेम्बर प्राप्त गरेपछि अदालती अभ्यास गर्दै ब्यारिष्ट्ररसिपको यात्रा तय गर्ने रहेछन् ।

यी इन्सहरू ऐतिहासिक छन् । प्राय: सबै न्यायाधीश र ब्यारिष्ट्ररहरू कुनै न कुनै इन्ससँग आबद्धता राख्छन् । उनीहरू आफू सम्बद्ध रहेको इन्सहरूको औपचारिक डिनर वा लन्चमा पदीय हैसियत पर राखी केवल एक सदस्यको रूपमा सहभागी हुने रहेछन् ।

हाम्रो भ्रमण संयोजन गर्ने ब्यारिष्ट्रर चारवटा इन्स अफ कोर्टमध्ये एक इनर टेम्पलको सदस्य हुनुहुन्थ्यो । उहाँको समन्वयमै हामीले इनर टेम्पलको भ्रमण गर्‍यौं । इनर टेम्पलसँगै रहेको टेम्पल चर्चको आफ्नै भव्यता र ऐतिहासिक महत्व छ ।

उक्त टेम्पल चर्चको इतिहास सन् १२१५ को म्याग्नाकार्टासँग जोडिएको रहेछ । उक्त टेम्पल चर्चमा सन् १२१५ मा म्याग्नाकार्टा लेखिएको रहेछ । त्यति पुरानो ऐतिहासिक चर्चमा दोस्रो विश्वयुद्ध ताका बम वर्षा भएको भए पनि म्याग्नाकार्टाको इतिहास अझै जीवित नै रहेछ । टेम्पल चर्चलाई कमन ल प्रणालीको मातृसंस्था अर्थात् मदर चर्च पनि भनिंदो रहेछ ।

इनर टेम्पलको भ्रमणपछि हामी बार काउन्सिल अफ इङ्गल्याण्ड र वेल्स लाग्यौं । बार काउन्सिलसँगको बैठकमा अध्यक्ष बारबरा मिल्स के. सी., अन्तर्राष्ट्रिय विभागका हज मर्सर र नाटली डा तथा नीति विभागका प्रमुख फिल रोवर्टशनसँग हाम्रो भेटघाट भयो । अध्यक्ष मिल्स काउन्सिलको अफ्रिकी मूलकी प्रथम अध्यक्ष हुनुहुँदोरहेछ ।

ब्यारिष्ट्ररहरूको आ–आफ्नै रुचि

इङ्गल्याण्डमा बार काउन्सिल अध्यक्ष एक वर्षको कार्यकालका लागि निर्वाचित हुने रहेछन् । कार्यकाल अवधिभर अध्यक्षले अन्य हैसियतमा संलग्न हुन नपाइने रहेछ । बार काउन्सिलको कुनै तहको नेतृत्वदायी पदमा रहेको व्यक्तिले आफूलाई अर्को स्वरूपमा प्रस्तुत नगर्ने रहेछन् ।

झट्ट सुन्दा बार काउन्सिल ब्यारिष्ट्ररहरूलाई नियमन गर्ने संस्था जस्तो ठानिए पनि त्यो विभिन्न तहका अदालतमा भएका विशिष्टकृत ब्यारिष्ट्ररहरूको निर्वाचित इकाईबाट पुन: निर्वाचित भएको नेपाल बार एशोसिएसन जस्तो संस्था रहेछ ।

बार काउन्सिलको स्ट्याण्डर्ड बोर्ड नामक अनुशासनात्मक विषय हेर्ने छुट्टै बोर्ड रहेछ । आचारसंहिताको उल्लंघन भएमा उक्त बोर्डले स्वतन्त्रपूर्वक कारबाहीको प्रक्रिया अघि बढाउने रहेछ । बैठकमा बार काउन्सिल अफ इङ्गल्याण्ड र वेल्सकी अध्यक्ष मिल्सले संगठन र संगठनमा आबद्ध अठार हजार सदस्यसँगको सहकार्यबारे प्रस्तुति दिनुभयो ।

उहाँले बारको अन्तर्राष्ट्रिय सम्बन्धबारे प्रस्तुति दिंदै नेपाल बार एशोसिएसनसँग सहकार्य गर्ने इच्छा रहेको उल्लेख गर्नुभयो । हामीले नेपाल बार एशोसिएसनसँग सम्बन्ध अघि बढाउन सुझाव दियौं । नेपालका प्राध्यापक डा. सुर्य सुवेदी पनि त्यस संस्थाको सदस्य हुनुहुँदोरहेछ ।

हामीले त्यहाँका ब्यारिष्ट्ररहरूको राजनीतिक संलग्नता, न्यायाधीश, पार्ट टाइम न्यायाधीश, प्रोसिक्युटर, सामाजिक अभियन्ता जस्ता भूमिकालाई कसरी व्यवस्थित गर्नुहुन्छ भन्ने जिज्ञासा राख्यौं । उहाँहरूले बेलायतको लामो समयको कानूनी र न्यायिक सांस्कृतिक अभ्यासको कारण त्यस्तो सम्भव भएको जवाफ दिनुभयो ।

ब्यारिष्ट्ररहरूले आफ्नो व्यावसायिक अभ्यास एक बिन्दुमा पुगेपछि चाख र सरोकारको विषयमा मात्र काम गर्दा रहेछन् । राजनीतिक इच्छा भएका ब्यारिष्ट्ररहरू अदालतहरूमा बहस गर्न आए पनि अन्य न्यायिक काममा संलग्न हुँदैनन् भनी बताउनुभयो ।

ब्यारिष्ट्ररहरू सांसद वा मन्त्री वा कुनै विभागको प्रमुख समेत हुनसक्ने रहेछन् । हामीसँगै भ्रमणमा रहनुभएका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले ‘त्यस्तो कसरी सम्भव हुने रहेछ ?’ भनी पुन: प्रश्न गर्नुभयो ।

जवाफमा अध्यक्ष मिल्सले भन्नुभयो, ‘ब्यारिष्ट्ररसिप वा कानूनी क्षेत्रमा एउटा अदृश्य सीमारेखा छ जसको सबैले सम्मान गर्ने गरेका छन् ।’

नेपालको सन्दर्भमा भने यस्तो संस्कृतिको विकास गर्न धेरै मिहिनेत र त्याग गर्नुपर्ने देखिन्छ । कानून व्यवसायीहरू समयमै रुचि अनुसारका काममा संलग्न हुनुपर्ने र विशिष्टता, न्यायिक निष्पक्षता र स्वतन्त्रताको रक्षा गर्नु आवश्यक देखिन्छ ।

रेलमा हिंड्ने न्यायाधीशहरू

हामीले कानूनका प्राध्यापक जेम्स लीसँगको भेट र कुराकानीमा बेलायतको प्राज्ञिक क्षेत्र पूर्ण रूपमा नै प्राज्ञिक रहेको थाहा पायौं । कुनै व्यक्ति ब्यारिष्ट्रर वा न्यायाधीश हुनसक्ने भए पनि प्राज्ञिक क्षेत्रबाट ब्यारिष्ट्रर हुँदै न्यायिक क्षेत्रमा प्रवेश गर्न निकै कठिन वा प्राय: असम्भव हुने रहेछ ।

बार काउन्सिलको बैठक लामो समयसम्म चाखलाग्दो रूपमा चल्यो । उहाँहरूलाई हाम्रा अभ्यासहरू केही अनौठो लाग्यो र अमेरिकन प्रणालीको सामीप्यता रहेको निष्कर्ष सुनाउनुभयो ।

हामी कमन ल प्रणालीमा वकालत, न्यायिक कार्य, राजनीति, बार, न्यायाधीश, न्यायपरिषद्मा संयुक्त अधिराज्यभन्दा केही फरक रहेछौं । त्यसमा न भारत, न त अमेरिका न बेलायत जस्तो देखिएको अनुभूत भयो ।

बैठकपछि हामी नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा सहभागी भयौं । लर्ड रिड अर्थात् त्यहाँको सर्वोच्च अदालतका अध्यक्षले कमन लको प्रभाव, स्थानीयकरण र त्यसको आयाम तथा न्यायिक स्वतन्त्रताको हकमा नेपाल–बेलायत सम्बन्ध र गोर्खा सैनिकको योगदानका बारेमा मन्तव्य दिनुभयो ।

प्राध्यापक सूर्य सुवेदीले नेपालको सर्वोच्च अदालतले गरेका केही महत्वपूर्ण फैसलाहरूको व्याख्या गर्नुभयो । र हाम्रो न्यायिक स्वतन्त्रता र अभ्यासको अन्तर्राष्ट्रिय आयामबारे स्पष्ट पार्नुभयो ।

कार्यक्रम समापन भइसकेपछि बेलायती न्यायाधीशहरू फर्किने क्रम शुरु भयो । लर्ड रिडले बाहिर राखिएको आफ्नो झोला टिप्नुभयो र विदा हुन आउनुभयो । हाम्रा प्रधानन्यायाधीशले उहाँलाई ‘तपाईं कसरी जानुहुन्छ ?’ भनी प्रश्न गर्नुभयो ।

उहाँले ‘करिब १५ मिनेट हिंडेपछि ट्यूव अर्थात् अन्डरग्राउण्ड रेल भेट्छु र त्यसबाट ४५ मिनेटको यात्रापछि घर पुग्छु’ भनेर जवाफ दिनुभयो । उपाध्यक्षको जवाफ पनि त्यस्तै रह्यो । प्राय: सबै न्यायाधीश त्यसरी नै आउनुभएको थियो र फर्किएर जानुभयो ।

हाम्रा राजदूतले प्रधानन्यायाधीशको अनुरोधमा हामीलाई दिइएको गाडीमा अध्यक्ष र उपाध्यक्षलाई पुर्‍याउन पठाउनुभयो । उहाँहरू निकै अप्ठेरो मानेर गाडीमा चढ्नुभयो ।

बेलायतका न्यायाधीशहरूको सादा जीवनशैली हाम्रो लागि प्रेरणादायी थियो । सार्वजनिक यातायात र सुरक्षाको राम्रो बन्दोबस्त नभए पनि नेपालमा हाम्रो सुरक्षा र सुविधामा प्रदान गरिएका आयामबारे पुनर्विचार गर्ने दिन आइसकेको देखिन्छ ।

न्यायकी देवीका खुल्लै आँखा

भ्रमणको तेस्रो दिन हामीले ओल्ड बेलीस्थित केन्द्रीय फौजदारी अदालत अवलोकन गर्‍यौं । अन्यभन्दा त्यस अदालतमा सुरक्षा व्यवस्था कडा रहेछ । हामीले त्यहाँ न्यायाधीश एन्थोनी लियोनार्ड र सारा ह्वाइटहाउसलाई भेट्यौं ।

उहाँहरू अझै पनि के.सी. अर्थात् वरिष्ठ ब्यारिष्ट्रर नै हुनुहुँदोरहेछ । त्यहाँ हामीसँग उक्त अदालतको न्यायिक तालिमको जिम्मेवारी लिने न्यायाधीश पनि उपस्थित हुनुहुन्थ्यो । उहाँहरूले केन्द्रीय फौजदारी अदालतको सातौं शताब्दी पुरानो इतिहास वर्णन गर्नुभयो ।

ओल्ड बेलीमा रहेको केन्द्रीय फौजदारी अदालत बेलायतभर प्रसिद्ध रहेछ । फौजदारी न्यायको उतारचढाव, सिद्धान्त र प्रभावको इतिहास उक्त अदालतमा संरक्षित रहेछ । हातमा तरबार बोकेकी न्यायकी देवीको मूर्ति उक्त अदालतको शिरमा राखिएको रहेछ ।

सम्भवत: त्यो त्यस्तो पहिलो मूर्ति हो जहाँ न्यायकी देवीको आँखा खुल्लै राखिएको छ । पछि अन्य ठाउँमा न्यायकी देवीको मूर्ति स्थापना गर्दा आँखा बन्द गरियो भन्ने किंवदन्ती छ ।

ओल्ड बेलीमा कारागारभित्रै अदालतको विकास भई हाल पनि थुनुवाहरूलाई अदालतको मुनि सुनुवाइको २४ घण्टा अघि ल्याइने चलन रहेछ । थुनुवाहरूले अदालतको पछिल्लो भागमा बसेर न्यायिक प्रक्रिया सुन्ने र उनीहरूको ब्यारिष्ट्ररहरूले चाहेको बेला सोधपुछ गर्न सक्ने रहेछन् ।

सामान्य नागरिकहरूलाई तोकिए अनुसार गर्नुपर्ने जुरीको काम प्रत्येक बेलायती नागरिकको अभिन्न कर्तव्यको रूपमा स्थापित रहेछ । उनीहरूले फौजदारी मुद्दामा दोषी वा निर्दोष ठहर्‍याउने रहेछन् भने न्यायाधीशको भूमिका प्रमाणको मूल्याङ्कनमा सहायता गर्न र सजाय निर्धारण गर्नेमा सीमित रहेछ ।

हामीले जुरी सहितको प्रत्यक्ष प्रमाण मूल्याङ्कनको अदालती कारबाहीको अवलोकन गर्‍यौं । बेलायतमा हाम्रो राष्ट्रिय न्यायिक प्रतिष्ठान जस्तै जुडिसियल कलेज रहेछ । जुडिसियल कलेजको छुट्टै भवन वा सुविधा भने रहेनछ । त्यहाँ एउटा तालिम हल अनि अनौपचारिक इजलासहरू रहेछन् ।

प्राय: सबै मोड्युलहरू अनुभवमा आधारित हुँदारहेछन् । तालिम मुख्यत: अदालती प्रक्रिया, कार्यविधि तथा न्यायाधीशको कार्यशैली, सुनुवाइ र अन्तरक्रियाका विषयसँग सम्बन्धित रहेछन् ।

पहिले न्यायाधीशहरू कडा मिजासका हुने गरेको भए पनि हाल न्यायाधीशहरूलाई ब्यारिष्ट्रर मैत्री हुन, तथ्य र कानूनमा मात्र बहस गर्न, ब्यारिष्ट्ररहरूबाट अग्रिम लिखित टिपोट माग गर्न र सीमित समयमा निश्चित बुँदामा मात्र बहस गर्न प्रेरित गरिंदोरहेछ ।

तालिम दिने न्यायाधीशहरूलाई अर्थात् ट्युटर जजहरूले आफैं पाठ्यवस्तु निर्माण गर्ने, अग्रिम पाठ्यसामग्री बनाई अध्ययनपछि मात्र तालिममा सहभागी हुन पाइने भनी सरल र क्षमता केन्द्रित तालिमहरू सञ्चालन गर्ने रहेछन् ।

प्रत्येक तालिम न्यायाधीशको आवश्यकतामा आधारित हुने रहेछन् । ठूला संरचना र सामान्यकृत तालिमभन्दा व्यावहारिक र आवश्यकतामा आधारित तालिम महत्वपूर्ण हुने रहेछन् । बेलायतको जुडिसियल कलेजसँग भविष्यमा सहयोग आदानप्रदान गर्न सकिने सम्भावनाबारे हाम्रो छलफल भयो ।

निर्णय नहुँदै फैसला पाउने वकिलहरू

हामी बेलायतको अदालती भ्रमणको अन्तिम बेलामा प्रसिद्ध न्यायाधीश एडवार्ड कोक समेत सदस्य रहेको इनर टेम्पलमा हामीलाई औपचारिक लन्चमा आमन्त्रण गरियो । हामीलाई इन्स अफ कोर्टको संस्कृतिबारे थप जानकारी भयो ।

प्रत्येक इन्स अफ कोर्टको अध्यक्ष एक वर्षको कार्यकालका लागि निर्वाचित हुने रहेछन् । इन्स अफ कोर्ट सदस्य भएका प्राय: सबै ब्यारिष्ट्ररहरूलाई च्याम्बर प्रदान गरिने रहेछ । निश्चित समय तालिम लिइसकेपछि इन्समा आधारित भएर बहस गर्ने क्रममा ब्यारिष्ट्ररसिपको यात्रा तय हुँदोरहेछ ।

सोलिसिटरहरू भने ल सोसाइटीको सदस्य हुने रहेछन् । उनीहरूले आफ्नो च्याम्बरबाट कानूनी सल्लाह प्रदान गर्ने, कानूनी कागजातहरूको तयारी र मस्यौदा गर्दा रहेछन् । कागजातको तयारीपछि उनीहरूले कुनै ब्यारिष्ट्ररहरूलाई मुद्दा हेर्न सिफारिस गर्दा रहेछन् ।

सामान्यतया सोलिसिटरहरूले अदालतमा बहस गर्न नपाउने भए पनि ब्यारिष्ट्ररको सहयोगीको रूपमा उपस्थित हुन पाउने रहेछन् । इनर टेम्पलमा बोलाइएको औपचारिक लन्चमा एक ठूलो डाइनिङ हलमा खचाखच भरिएर ब्यारिष्ट्ररहरू लन्च खाँदैथिए ।

हाम्रो लागि भने एक औपचारिक टेबुलको व्यवस्था थियो । हामीसँग लन्च गर्न उच्च अदालत र रोयल कोर्ट अफ जस्टिसका न्यायाधीशहरू पनि बोलाइएका थिए ।

लन्चपछि इनर टेम्पलका सदस्य ब्यारिष्ट्रर किरन वेल के.सी.ले हामीलाई बेलायत र बेलायती अदालतले गर्ने अन्तर्राष्ट्रिय कानून, यूरोपेली युनियनको मानवअधिकार सन्धि र कमन लको प्रयोगबारे एक घण्टा प्रवचन गर्नुभयो ।

त्यसपछि त्यहाँका लाइबेरियनले कसरी अनलाइन सामग्रीहरूको प्रयोग गर्ने, कस्ता सामग्रीमा शुल्क तिर्नुपर्ने ? कस्तोमा नपर्ने ? भन्नेबारे जानकारी दिए । बेलायतको ल रिपोर्ट अर्थात् कानून पत्रिकाको बारेमा जानकारी गराए ।

चाखलाग्दो विषय, न्यायाधीशले गोपनीयताको शर्तमा फैसलाको मस्यौदा सम्बन्धित मुद्दाका ब्यारिष्ट्ररलाई सुझावका लागि अग्रिम रूपमा उपलब्ध गराउँदा रहेछन् । ब्यारिष्ट्ररले गोपनीयता कायम गर्दै सहकार्य गर्दा रहेछन् ।

साथै नजिर प्रतिपादन गर्न सक्ने अदालत जस्तै; सर्वोच्च अदालतका न्यायाधीश वा कतिपय अवस्थामा रोयल कोर्ट अफ जस्टिसका न्यायाधीशले आफ्ना फैसला कानूनी क्षेत्रका व्यावसायिक सम्पादकलाई केही शुल्क तिरी सम्पादन गर्न दिंदा रहेछन् । ल रिपोर्टरहरूले आफ्नो काम सम्पादन गरेपछि मात्र फैसला सार्वजनिक गर्ने अभ्यास रहेछ ।

बल्लतल्ल टिकेको पुस्तक पसल

हामी गएका अदालतहरूमा हामीलाई न्यायाधीश बस्ने चेम्बरमा बस्न र फोटो खिच्न अनुमति दिइएको थियो । सर्वोच्च अदालतका चेम्बर समान तहमा गोलमेच जसरी बनाइएका रहेछन् । इच्छा लागेको ठाउँमा बस्न र फोटो खिच्न पाइने रहेछ ।

त्यस्तो आधुनिक अभ्यास देख्दा नेपालको परम्परागत प्रणालीको सम्झना भयो । संयुक्त अधिराज्यको सर्वोच्च अदालतको इजलास र प्रक्रिया आधुनिक न्यायिक अभ्यासको प्रतिविम्ब रहेछ ।

त्यहाँ, अब न्यायाधीश माथि र अरू तल होइन समान उचाइको स्थानमा बस्नुपर्दछ भन्ने भाष्य निर्माण भइरहेको रहेछ । त्यस्तै, न्यायिक काम कुनै दैवी नभई तालिम र अनुभवप्राप्त व्यक्तिले गर्ने व्यावसायिक काम हो भन्ने मान्यता विकास भइरहेको पाइयो ।

हाम्रा सबै औपचारिक भेटहरू सम्पन्न भइसकेका थिए । भ्रमणको अन्त्यमा हाम्रो यात्रा संयोजन गर्ने ब्यारिष्ट्रर मार्क हिलले इनर टेम्पलको लाइब्रेरी भ्रमण प्रस्ताव गर्नुभयो । मार्कले लाइब्रेरीका र्‍याकमा आफूले लेखेका पुस्तकहरू देखाउनुभयो ।

उहाँले बेलायतको प्रसिद्ध हल्सबरी बुकका केही सिरिजलाई समेत सम्पादन र परिष्कृत गर्नुभएको रहेछ । सबै पुस्तक हेरेपछि उहाँप्रतिको बौद्धिक सम्मान थप बढ्यो ।

उहाँले हामीलाई एउटा पुस्तक पसलमा लैजानुभयो । त्यहाँ भौतिक पुस्तक पसलको रूपमा त्यही पुस्तक पसल मात्र बाँकी रहेछ । भौतिक रूपमा पुस्तक किन्न आउने मान्छे कम हुँदै गएकोमा भौतिक पुस्तक पसल सञ्चालन गरिरहने वा नगर्ने भन्नेमा द्विविधा रहेछ ।

भौतिक पुस्तक पसलहरूलाई क्रमश: अनलाइन पुस्तक पसलहरूले प्रतिस्थापन गर्दै रहेछन् । भौतिक पुस्तक नै मगाउनुपर्ने भए अनलाइनबाटै अर्डर गर्नुपर्ने अभ्यास बढ्दो रहेछ । हामीले केही पुस्तक खरिद गर्‍यौं ।

त्यहाँका पुस्तकहरू साह्रै महँगा थिए । ती पुस्तकहरू दक्षिणएशियाको लागि छापिने भएकाले भारत वा नेपालमा धेरै सस्तो पाइने रहेछ ।

दुई दशकपछिको एसेक्स विश्वविद्यालय

औपचारिक भ्रमणका सबै काम सकिएपछि चौथो दिन हामी फुर्सदिला भयौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरू हेमन्त रावल र रितेन्द्र थापा थेम्स नदी हेर्न निस्कनुभयो ।

मुख्य रजिष्ट्रार विमल पौडेल र म हामी पढेको कोल्चेस्टरस्थित एसेक्स विश्वविद्यालय लाग्यौं । हामीसँग त्यहाँका सोलिसिटर सन्दिप पौडेल सँगै हुनुहुन्थ्यो ।

एसेक्स विश्वविद्यालयको ल फ्याकल्टीका प्रसिद्ध प्राध्यापक केभिन वोइल, प्राध्यापक सर नाइजल रोडली र प्राध्यापक फ्रान्स्वा ह्याम्पसन दिवंगत हुनुभएको रहेछ । करिब २० वर्षपछि एसेक्स विश्वविद्यालय पुग्दा हामीलाई पढाउने प्राध्यापक जियोफ गिलबर्ट मात्र हुनुहुन्थ्यो ।

मैले आर्थिक, सामाजिक अधिकारको संरक्षणमा हाम्रो अदालतले गरेका फैसला र न्यायिक दृष्टिकोणका बारेमा धारणा राखें । हामी पुन: लण्डन फर्कियौं ।

म बेलायतमा करिब पन्ध्र महिना बसेको छु । त्यहाँ घाम लाग्दा पर्व जस्तै रमाइलो हुन्छ । हाम्रो भ्रमणका प्राय: दिनहरू घमाइला थिए । हामी अब स्कटल्याण्ड पुग्नेछौं ।

हामी पाँचौं दिन दिउँसो स्कटल्याण्डको संसद् भवन जाने योजना बन्यो । इडेनवरामा रोयल माइल भन्ने पुरानो बजार रहेछ । हामीले फुर्सदको समयमा रोयल माइल र अन्य पर्यटकीय क्षेत्र, क्यासल र त्यसपछि स्कटल्याण्डको अदालत गयौं ।

हामीलाई स्वागत गर्न जेनिस स्ट के.सी. (जेनी) उभिनुभएको थियो । उहाँले हामीलाई स्कटल्याण्डको अदालत घुम्न लैजानुभयो । हामीलाई स्कटल्याण्डको न्यायिक प्रक्रियामा कसरी सिभिल ल अर्थात् लिखित र कोडिफाइड कानूनले स्थान पाएको भन्नेबारे बताउनुभयो ।

बेलायतको सर्वोच्च अदालत स्कटल्याण्डबाट गएको हो । स्कटल्याण्डमा अहिले सर्वोच्च अदालत रहेनछ । त्यहाँ कोर्ट अफ सेसन्स र हाइकोर्ट अफ जस्टिसियरी भन्ने अदालत उच्चतम तहका अदालतको रूपमा रहेछन् ।

ती अदालतका फैसलामाथि बेलायतको सर्वोच्च अदालतमा पुनरावेदन लाग्ने रहेछ । स्कटल्याण्डमा सिभिल ल र कमन लको मिश्रित प्रणालीमा ब्यारिष्ट्ररसिप नभई एड्भोकेट संस्कृतिको विकास भएको रहेछ ।

स्कटल्याण्डको कोर्ट अफ सेसन्सको भ्रमण पछि हाम्रो बेलायतको औपचारिक भ्रमण सकियो । हामी नर्दन आयरल्याण्डको भ्रमणमा जान सकेनौं । तर, त्यहाँको न्यायिक प्रणाली केही आयरल्याण्डबाट र केही कमन लबाट प्रभावित छ भन्ने भ्रमणमा जानकारी पायौं ।

यात्राको अन्तिम अर्थात् छैटौं दिन हामी स्वतन्त्र भ्रमणमा निस्कियौं । स्कटल्याण्डको इडेनबराका महत्वपूर्ण ठाउँहरू घुम्न गयौं । आसपासका गाउँ क्षेत्रमा हामी गाडीमा घुम्यौं । शहरभन्दा निकै पर रहेको एक सस्तो तर विशाल सपिङ मलमा हामी हरायौं । त्यहाँको सस्तो भनिएको सपिङ मलमा हामीले खरिद गर्न सक्ने मूल्यका सामानहरू निकै कम थिए ।

संयुक्त अधिराज्यभित्र स्कटल्याण्ड एउटै देश भए पनि स्टर्लिङ पाउन्डकै मूल्यका स्कटल्याण्डको छुट्टै पैसा (नोट र क्वाइन) रहेछ । ती पैसा अन्य क्षेत्राधिकारमा नचल्ने रहेछ । हामीले बँचेको पैसा एअरपोर्टभित्र केही उपहार किनेर सिध्यायौं । हिथ्रो विमानस्थलको तुलनामा सामान्य इडेनबरा हवाई अड्डाबाट नेपाल फर्कियौं ।

(फुयाल सर्वोच्च अदालतका न्यायाधीश हुन् ।)

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More