― Advertisement ―

Anker THUS चिपले पहिरन योग्य उपकरणहरूमा ठूला AI मोडेलहरू राख्न कम्प्युटिङ नियमहरू तोड्छ

Ankerनयाँ प्रयोग गर्दछ मेमोरीमा कम्प्युटरयसले तल्लो शक्ति भएका यन्त्रहरूमा ठूला AI मोडेलहरू सक्षम पार्न सक्छAnker सिलिकन व्यवसायमा प्रवेश गर्दैछ, विशेष गरी एउटा CIM (कम्प्युट...
Homeओ फकिर ! नेपाली मन पगाल्ने गीत दियौ आफू चाहिँ कहाँ हरायौ...

ओ फकिर ! नेपाली मन पगाल्ने गीत दियौ आफू चाहिँ कहाँ हरायौ ?


News Summary

Generated by OK AI. Editorially reviewed.

  • सर्वप्रिय गीत ‘यो मन त मेरो नेपाली हो’ का गीतकार मापन भुसाल अहिले काठमाडौंमा सडकमा डुलेर भोकमरी र एक्लोपन भोगिरहेका छन्।
  • उनलाई सम्मान गर्ने कार्यक्रमपछि लुटपाट भएको र सबै प्रमाणपत्र, नगद, मोबाइल चोरी भएपछि उनी सम्पर्कविहीन बनेका थिए।
  • मापन भुसालले आफूलाई ‘डार्बिनको बाँच्नका लागि संघर्ष’ सिद्धान्त अनुसार जीवन संघर्ष गरिरहेको र राम्रो अवस्था आएपछि काम सुरु गर्ने बताउनुभयो।

आखिर ऊ हरायो । कहाँ गयो होला ?

शहरलाई रातले छोपिसकेको थियो । त्यही अँध्यारोभित्र उसले आफूलाई कहीँ कतै लुकाइदियो । थोत्रो चप्पल लगाएको, एकसरो धुस्रो सर्ट र टाउजर पहिरिएको ऊ ‘भोक लाग्यो’ भनी दुई–चार पैसा माग्दै हिँडिरहेको थियो ।

शंखमुलस्थित एक भोजनालय अघिल्तिर ऊ टुप्लुक्क देखापरेको थियो, त्यो साँझ । साहुले हातमा पाँच रुपैयाँ थमाइदिएपछि फिस्स हाँस्दै भनेका थिए, ‘यो मन त मेरो नेपाली हो भन्ने गीत सुन्नुभएको छ ? त्यो मेरै गीत हो नि ।’

दार्जीलिङे लवजमा लेग्रो तानेर उसले आफूलाई प्रमाणित गर्न यसो पनि भनेका थिए, ‘हुन त मान्छेले मलाई चिन्दैन हो । हेर्नु न म नै यस्तै छु । यस्तै छु पनि के भन्नु, मलाई लुट्यो नि । मेरो डल्लै सामान लुट्यो कि त्यही भएर म खर्च उठाउँदै हिँडेको हौ।’

हुलियाबाहेक ऊ सबैकुराले सहीसलामत देखिन्थ्यो । साँच्चै लुटिएकै हुन् ? साँच्चै गीतकार नै हुन् ? त्यो पनि सर्वप्रिय गीतको ? यस्तो गीतको, जुन नेपालीहरूको साझा स्पन्दन बनेको छ । जब–जब नेपालीहरू देशप्रेमले भावविभोर हुनपुग्छन् तब एकताबद्ध भाका गुञ्जिन्छ–

‘जसो गर जे भन जतासुकै लैजाउ मलाई
यो मन त मेरो नेपाली हो ।’

यो गीत मात्र होइन, नेपालीलाई एकढिक्का गराउने उत्साह र वीरताको जोडदार भाका पनि हो ।
000

‘काठमाडौं नि खत्तम भएछ हौ’ उसले आफूतिर ध्यानाकर्षण गराउन यसो भनेको थियो, ‘मेरो सबै लुट्यो, हेर्नु त म कस्तो हालतको भएँ ? न लुगा छ हो, न फोन छ ।’ साँच्चै उनीसँग केही थिएन, सिवाय एउटा सानो प्लास्टिकको झोला । त्यो झोलमा के छ ? सोधीखोजी गरेनौं ।

‘रोटी खानुहुन्छ ?’ हाम्रो प्रश्नमा उनले हतारिँदै जवाफ दिएका थिए, ‘खान्छु नि । हिजोदेखि केही खाएको छैन ।’ रोटी र तरकारी खाइरहँदा उनले फेरी दोहोर्‍याएका थिए, ‘मलाई मान्छेले पत्याउदैन हो, तर त्यो गीतको गीतकार मै हुँ नि ।’

त्यसपछि उनले कुन गीत कसरी र किन लेखे भनी बखान गरेका थिए । यसरी,

‘काठमाडौंमा मास्टरी काम गरिरहेकै बेला एक जनासँग प्रेम बस्यो हो । असाध्यै माया गर्थें । एकदिन भेट्न जाँदा उनको विवाह भइरहेको थियो । मेरो मुटु चिरियो । दुई बोतल कडा रक्सी घटघट पिएँ । गीटार साथमै थियो । अनि एउटा धुन कम्पोज गरें । नभन मेरो माया लाग्छ भन्ने गीत छ नि त्यही ।’

काठमाडौंका थुप्रै नामी स्कुलहरूमा पढाएको, थुप्रै संगीतकर्मीसँग उठबस गरेको, फेरि फर्किएर पटना गएको । पटनामा मास्टरी गरेको । मास्टरी गर्दागर्दै काठमाडौंमा सम्मान थाप्न आएको । सम्मान थापेर यसै हिँडडुल गरिरहँदा कसैले ‘लठ्याएर लुटपाट गरेको’सम्मका कुरा हामीले सुनिरह्यौं । आज्ञाकारी श्रोता भएर ।

उनी जस्ता देखिन्थे, उनका कुरा फरक थिए । यी भद्र ठग हुन् वा इमान्दार गफाडी ? हेर्नेहरूलाई शंसय गर्ने ठाउँ थियो ।

हामीले उनका धेरै कुरा सुन्यौं । थोरै कुरा पत्यायौं । अनि त्यहाँबाट हिँड्यौं ।

000

‘मापन भुसाल’

यो नाम गुगल सर्च गर्दा एउटा भिडियो फेला पर्‍यो, लगभग ७ महिनाअघिको । इलामको बौद्धधाममा भएको एक सांगीतिक कार्यक्रममा मापन भुसाललाई सम्मान गरिएको देखिन्छ । तर, त्यो मापन भुसाल र यो मापन भुसास उस्तै थिएनन् ।

१९७४ एडी ब्याण्डलाई पृष्टभूमिमा राखेर सगौरव मञ्चमा उभिएका, खादा र मालाले सजिएका ती मापन भुसाल चिरिच्याट्ट देखिन्थे । जोश र होसमा देखिन्थे ।

 के सात महिनाको अन्तरमा एउटा मान्छेको अनुहार यसरी फेरिन सक्छ ? हुलिया यसरी बदलिन सक्छ ? कुन प्रलयले मान्छेको जिन्दगीलाई यसरी बेरङ्गी बनाइदिन्छ ? हामीलाई शंका निवारण गर्नु थियो ।

अन्ततः नतिजा यस्तो हात लाग्यो, ‘वास्तवमा त्यो अजम्बरी गीतका सर्जक यिनै हुन् ।’ जसले नेपाली मनमा जितको उत्साह र एकताको आभास दिने अमर गीत दिए, के उनी चाहिँ आफैंसँग हारिरहेका छन् ?

यो प्रश्नले लखेट्न थालेपछि हामीलाई लाग्यो, जसरी पनि मापन भुसालसँग यसका जवाफ खोज्नुपर्छ । तर, यतिबेलासम्म उनी शहरको भीडमा अलप भइसकेका थिए ।

000

कहाँ भेट्ने ? कहाँ खोज्ने ? रात छिप्पिदै गर्दा हामी दोधारमा थियौं । उनको बस्ने कुनै ठाउँ–ठेगाना थिएन । साथी थिएन, आफन्त थिएन, फोन थिएन । एक्लो फकिर बनेर ऊ त बेपर्वाह भीडमा हराइसकेको थियो।

कहाँ गयो होला ?

बानेश्वरको कुनै चिसो सडक पेटीमा टोलाइरहेका होलान् ? पशुपति पारी बसेर चिताको धुवाँमा एकोरिहएका होलान् ? कुनै साँघुरो लोकल भट्टीमा पसेर आफूलाई चिनाइरहेका होलान् ?

अघिको भेटमा उनलाई हामीले सोधेका थियौं । राति कहाँ बास्नुहुन्छ ?

‘बस्ने ठाउँ नै छैन । जता पनि बस्छु’ उनले भनेका थिए, ‘कहिले पाटन कृष्णमन्दिरको पाटीमा, कहिले कहाँ ।’

हामी पाटनलाई ताकेर निस्कियौं ।

ओ फकिर

शहरलाई अँध्यारो रातले छोप्दै गर्दा एक फकिर कतै हिँडिरहेको थियो । कहाँ हिडेको थियो त्यसको कुनै जवाफ थिएन । बस हिँड्नु थियो, तर पुग्नु कहीं थिएन सायद ।
हामी उसैका पाइला पहिल्याउँदै पुग्यौं पाटन कृष्ण मन्दिर परिसर । त्यसैको एक पाटीमा भेटिए यी फकिर, भित्तामा अडेसिएर, गोडा तन्काएर बेपर्वाह चुरोटको धुँवामा हराइरहेका । यी फकिर अर्थात मापन भुसाल ।

त्यस रात उनले हामीलाई आफ्नो दर्दनाक कहानी सुनाए । गीत गुनगुनाए । कहिले रोए, कहिले हाँसे । यसो भन्दै, ‘मेरो कुरा सुनिदिने पनि कोही छैन । म कसलाई सुनाउँ ? अब त एक्लै बस्ने आदत भएछ । न जमघट, न रमाइलो । दशैं तिहार नमनाएको वर्षौं भएछ । साँच्चै मैले भाइटीका नलगाएको कति भएछ है ।’

नजिकबाट मापन भुसाल

उनी गत चैतमा भएको १९७४ एडी ब्यान्डको ‘रक यात्रा २.०’ मा काठमाडौं आएका थिए । ब्यान्डका एक सदस्यका अनुसार उनलाई त्यसबेला नगदसहित सम्मान गरिएको थियो ।

उनले लेखेको गीतले ब्यान्डलाई परिचय दिन ठूलो भूमिका खेलेकाले सम्मान गरिएको ती ब्यान्ड सदस्यले बताए ।

त्यसबेला भुसालसँगै उनकी दिदी पनि काठमाडौं आएकी थिइन्, साथी । कार्यक्रमपछि भुसाल दिदीसँगै दार्जीलिङ फर्केका थिए ।

केही समयअघि ११ असोजमा पर्ने विश्व पर्यावरण दिवसको अवसरमा एउटा संस्थाले उनलाई सम्मान गर्न काठमाडौं बोलाएको थियो । त्यसबेला उनी दार्जीलिङबाट काठमाडौंमा एक्लै आएका थिए । उनले सम्मान लिए । तर यस पटक उनी घर फर्केनन् ।

भुसालमा अनुसार सम्मान कार्यक्रमपछि उनी कुनै होटल बसे । त्यही बेला उनको लुटपाट भयो । सबै प्रमाणपत्र, नगद, मोबाइल फोन चोरी भयो । उनी सम्पर्कविहीन भए । खाने, जाने खर्च थिएन ।

त्यसपछि उनी सडकमा डुलिरहे । आश्रयका लागि पाटन क्षेत्रको एउटा पाटीमा बस्न थाले । जसमा दु:खबाहेक केही नभएको उनले बताए ।

‘राति पाटीमा सुत्दा कहिलेकाहीं केटाहरूले टर्चर दिन्छ हौ । पिट्छ, लात पनि हान्छ हौ । अनि त डर र चिन्ताले रातभरि ननिदाई जाग्राम बस्नुपर्छ’ उनले भने ।
त्यसयता उनी सडकमै बसे । परिवारलाई सम्पर्क गर्ने प्रयास गरेनन् । गुजारा चलाउन उनले मागिरहे ।

उनी दार्जीलिङ, कालिम्पोङमा जन्मे हुर्केका हुन् । १९७४ एडीका गायक तथा ड्रमर एड्रिन प्रधान उनको बाल्कालीन साथी । उनीहरूले विद्यालयमा सँगै पढ्ने, पढाउनेदेखि संगीतको कखरा पनि करिब सँगैसँगै सिकेका थिए ।

कालान्तरमा दुवै काठमाडौं आए । मापनका अनुसार उनी भने आजभन्दा २५ वर्षअघि काठमाडौं आएका थिए ।

‘नेपाली हो’ गीत बनाउँदै गर्दा काठमाडौं आएको ब्यान्ड सदस्यले पुष्टि पनि गरे । अर्को उनी आफैं पनि लामो समय काठमाडौं बसे । उनले बताएअनुसार शिक्षण पेशा गरी उनी करिब १२ काठमाडौंमा बसेका थिए । बाबा बोर्डिङ, ग्यालेक्सी जस्ता विद्यालयमा आफूले पढाएको उनको भनाइ छ । साँखु र काभ्रेको पनौतीमा पढाउन गएको पनि उनले बताए ।

आजको यस्तो हालत हुनुअघि पनि आफूले बिहारको पटनास्थित एक स्कुलमा पढाएको सुनाए । ‘नेपाली हो’ गीत पनि विद्यालयमा पढाइरहँदा नै आफूले बनाएको उनले प्रष्ट्याए । ‘मैले यो गीत नानीहरूको राइम्स टाइपको बनाएको थिएँ । उनीहरूलाई नेपाली गीत सिकाउन सजिलो होस् भनेर त्यस्तो बनाएको थिएँ’ उनले भने ।

उनका बाल्यकालका साथी एड्रिन प्रधानले यो गीत धेरै मन पराए । गीत आधा मात्र थियो । एड्रिनले उनलाई गीत पूरा गर्न भनिरहे । मापनका अनुसार उनलाई यो गीत पूरा गर्न दुई वर्ष लागेको थियो । गीत पूरा भएपछि त्यसमा ब्यान्डले केही आफ्नोपन मिसाएर बजारमा निकालेको थियो ।

त्यस्तै एड्रिन प्रधानकै स्वरमा निकालिएको ‘नभन’ पनि मापनकै शब्द हो । यो पनि उत्तिकै हिट गीत हो । अनि यो गीत बनाउँदै गर्दा पनि काठमाडौंमै थिए । तर कथा दु:खान्त थियो । उनका अनुसार यो गीत काल्पनिक नभई वास्तविक जीवनको चोटबाट बनाएको हो । उनी त्यसै समय आसपास प्रेममा थिए । उनी शिक्षणमा व्यस्त हुँदा प्रेमिकालाई भेट्न सकिरहेका थिएनन् ।

उनलाई भेट्न साँखु जाँदा ती प्रेमिकाको विहे हुँदै थियो । यो घटनाले उनलाई मर्माहत बनायो । संयोगबस त्यसबेला उनको साथमै गीतार थियो । उनी पिपलको रुखको फेदमा बसे । मताउने कुरा पनि पिएका थिए । गीतारमा कर्ड खेलाउँदै थिए । त्यतिबेलै शब्द फुर्‍यो- नभन मेरो माया लाग्छ भनी, नबोलाऊ भेट्न…

मात पनि भएकाले सायद उनले त्यसबेला गीत पूरै सकेनन् । त्यसको केही समयपछि विद्यालयमै आएर उनले साँखुमा बनाएको त्यो टुप्पोलाई पूरा गरे । यसबेला तीन/चार महिना लागेको थियो ।

गीत बनेपछि एड्रिनले आफ्नो एकल एल्बममा राख्न गीत मापनसँग मागे । मापनले नाइँ भन्ने अवस्थै थिएन ।

000

उनले भने उनको अवस्था नाजुक छ । तर यति धेरै दुख र एक्लोपन हुँदाहुँदै पनि उनी आफूलाई दु: खी वा बैरागी मान्दैनन् । यो परिस्थिति आफ्नै जिद्दीपनाले बनाएको उनको बोध छ ।

अझै राम्रो जुत्ता, नयाँ पाइन्ट लगाउन र दाह्री काट्न पाए, तुरुन्तै स्टुडियो जान पाए काम सुरु गर्ने हिम्मत देखाउँछन् उनी । तर, अहिलेको खराब हालतमा साथीहरूका अगाडि जान नसक्ने उनी सुनाउँछन् ।

यसरी उनी आफैंमा आशावादी देखिन्छन् । तर आफैंमा शंका पनि गर्छन् । अनि आफ्नो जीवनलाई संघर्ष मान्छन् । ‘डार्बिनको ‘बाँच्नका लागि संघर्ष ’ भन्ने सिद्धान्त छ । अहिले मेरो हालत त्यस्तै छ भाइ’ उनी भन्छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More