― Advertisement ―

एप्पल प्रयोगकर्ताहरूले डरलाग्दो iCloud मेटाउने इमेलहरू प्राप्त गर्दैछन्, र वास्तविक खतरा सुरु हुन्छ जब तपाइँ नक्कली अपग्रेड लिङ्क क्लिक गर्नुहुन्छ

खतरनाक रूपमा एप्पलले क्लाउडमा इमेल थिचेर नक्कली प्रेस गर्ने प्रयोगकर्ताहरू छन्। क्लिकहरूiCloud अलर्टहरूमा खराब व्याकरण धोखाधडीको स्पष्ट संकेत रहन्छनक्कली iCloud अपग्रेड लिङ्कहरू क्लिक गर्नाले...
HomeLatest news‘एमालेको आह्वान सकारात्मक छ, जबज हटाए एकता हुनसक्छ’

‘एमालेको आह्वान सकारात्मक छ, जबज हटाए एकता हुनसक्छ’



एमालेबाट विद्रोह गरेको एकीकृत समाजवादी विभाजित भएको छ । माओवादीसँग एकतामा विमति राखेको झलनाथ खनालसहित नेताहरूको समूहले नयाँ पार्टी बनाउने तयारी गरेका छन्। अन्य दलसँग पनि एकताको कोसिस छ । यसै सन्दर्भ अनलाइनखबरका दुर्गा खनालले झलनाथ खनालसँग गरेको संवाद :

एकीकृत समाजवादीले माओवादी सँग एकताको निर्णय गर्यो तपाईंको यसमा के हो  किन विमति ?

हामीले एमालेसँग विद्रोह गरेर पार्टी  बनाएको हो । त्यो विद्रोहको औचित्य पुष्टि नहुँदै त्यसको समीक्षा नगर्दै अर्को पार्टीमा लगेर माधव नेपालले विसर्जन गर्न खोजे । यश विसर्जनवाद विरूद्ध हाम्रो विमति हो । माधव नेपालले आफूले पार्टी हाँक्न सकेनन् । उनले कार्यलयसम्म चल्ल नसक्ने बनाए । उनीमाथि प्रश्न उठ्यो सच्चिएनन् बरू पार्टीलाई नै पलायनको अवस्थामा पुर्‍याए ।

तपाईंको यो समूहमा कति जना केन्द्रीय सदस्यहरू देखिनुभएको छ ?

अब एक-डेढ सय जनाले चाहिँ (सकारात्मक) धारणा राख्नुभएको हो। विभिन्न बेलादेखि राख्नुभएको हो। हामी भोलि भेला हुन्छौं, कति साथीभाइहरू हुन्छौं, कति त्यहाँ पछि फेरि (फर्कने) कुरा पनि हुन सक्छन्, त्यो क्याल्कुलेसन गर्छौँ हामी। उनीहरूले अहिले नै ८६ जनालाई थपेर बैठकमै सपथ ग्रहण गराएर बहुमत पुर्‍याए ।

एकीकृत समाजवादी विभाजनउन्मुख बनिरहँदा केपी ओलीले एउटा अपिल जारी गरेर पहिले छुटेर जानुभएका साथीहरूलाई आउन आह्वान गर्नुभएको छ, यसलाई कसरी लिनुहुन्छ ?

अब यो आह्वानलाई सामान्यतः हामी सकारात्मक रूपमै लिन्छौँ ।

माओवादीसँगको एकताको सम्भावना रहेन। एमालेसँग चाहिँ के भएमा एकता हुन्छ? तपाईँका सर्तहरू के-के छन् ?

अब एमालेसँगको एकताका लागि पहिलो कुरा, मार्क्सवाद-लेनिनवादलाई मात्र आफ्नो मार्गदर्शक सिद्धान्त मान्नुपर्छ। यी जबज (जनताको बहुदलीय जनवाद) आदि पुच्छर राख्ने काम गर्नुभएन। दोस्रो कुरा, अहिले समाजवादी क्रान्तिको युगमा हामी छौं। यो समाजवादी क्रान्तिको अवधि हो। समाजवादी क्रान्तिमा अगाडि बढ्नुपर्छ भन्ने कुरा मान्नुपर्छ। तेस्रो, अब समाजवादी क्रान्तिको एक मात्र कार्यक्रम समाजवादी कार्यक्रम हुन्छ भन्ने कुरा मान्नुपर्‍यो । चौथो, यो समाजवादी कार्यक्रम प्राप्त गर्ने दिशा, नीति, सिद्धान्त, कार्यदिशा, कार्यनीति आदिमा एकरूपता हुनुपर्‍यो। यी चारवटा कुराहरू बाहेक अब साम्राज्यवादको विरुद्ध र दलाल पूँजीवादको विरुद्ध हुनुपर्‍यो। यी कुराहरूमा आधारभूत एकता भयो भने हामी जुनसुकै वामपन्थी समूहसँग वार्ता सुरु गर्न तयार छौं ।

पुनर्गठित हुने बित्तिकै एमालेबाटै एकताको सुरुवात हुन्छ कि अन्य पार्टीसँग पनि ?

एमाले र अरूसँग पनि हुन्छ। हामी यो मात्र (एमाले) भन्दैनौं । हामी सबै वामपन्थीहरूसँग एकताको लागि संवाद गर्छौं ।

प्रचण्डसँग पनि तपाईँको राम्रै सम्बन्ध छ। प्रचण्डले फेरि तपाईँलाई आउनु न तभनेर प्रस्ताव गरेमा के हुन्छ ?

प्रचण्डसँग मेरो राम्रै छ। प्रचण्डसँग मेरो सम्बन्ध कतै पनि बिग्रेको छैन। अहिले यो एकतामा हामीले अस्वीकार गरेको भनेको, नेकपा माओवादी केन्द्रसँग कहिल्यै एकता गर्नु हुँदैन भन्ने हाम्रो भनाइ होइन। हामी माओवादीलाई पनि सकारात्मक ढङ्गले नै हेर्छौँ। तर यो एकताको किन विरोध गरेको हो भने हाम्रो पार्टी नेकपा एकीकृत समाजवादीको यो चार वर्षको अनुभवको पहिले समीक्षा गर्नु पर्‍यो। यो समीक्षा गर्दा कहाँ गल्ती भयो, किन यो पार्टी यसरी ठिंगुरियो, किन यो विस्तार हुन सकेन ? अरू कतिपय हिजो चार महिनाअगाडि बनेका पार्टीहरूले चाहिँ संसदकै चुनावमा पनि २१ सिटसम्म ल्याउन सक्ने, हाम्रा पार्टी किन ठिंगुरिंदै जानुपर्ने कारण के हो? यी चिजहरूको हामीले समीक्षा गरौँ भनेको हो के पहिला। समीक्षा गरेर यी गल्तीहरू चाहिँ हटाएर पार्टीलाई अलि सङ्ग्लो र सग्लो बनाएर उभ्याएपछिको अनि एकता गर्न सहज हुन्छ।

चुनावमा जानुपर्ने र दल दर्ताको म्याद नजिकिँदै गर्दा यो पुनर्गठित पार्टीलाई कसरी अगाडि बढाउनुहुन्छ ?

अहिलेको ऐनलाई राम्ररी अध्ययन गरेर, यसका विभिन्न सम्भावनाहरू छन्। जस्तो अहिले नै हामी यही पार्टीलाई नै अगाडि बढाउँछौँ वा नयाँ पार्टी दर्ता गर्छौँ। अहिले पार्टीहरू दर्ता गरेर राखेका पनि हुन्छन्। विभिन्न ढङ्गले हामी नयाँ पार्टी बनाउँछौँ। त्यो ढङ्गले हामी निर्वाचन प्रोसेसमा पनि जान्छौँ।

अब साथसाथै हामी अरू धेरै वामपन्थीहरू, देशभक्त, प्रगतिशील शक्तिहरू हामी खोज्छौँ। व्यक्ति-व्यक्तिसँग पनि हामी एकता गरेर जाने हो । किनभने यो देशको अर्को राष्ट्रिय शक्तिलाई आज बलियो बनाउनुपर्ने आवश्यकता छ। मुलुकको राष्ट्रियता असाध्यै कमजोरी अवस्थामा पुगेको छ अहिले।

पुनर्गठित पार्टीको नेतृत्व तपाईँहरू नै, पुरानो पुस्ताबाट गर्नुहुन्छ कि नयाँ पुस्तालाई अगाडि सार्नुहुन्छ ?

खाली त्यो पुस्ताले नेतृत्व गर्न नसकेको हैन नेपालमा। खास-खास व्यक्तिहरूले नेतृत्व गर्न नसकेको हो। एउटा पुस्तालाई दोष दिएर अरू पुस्ता जोगिन सक्दैन र त्यो पुस्तावाद पनि यहाँ चल्दैन। जो व्यक्ति सक्षम छ, (उमेर) ले पाको भए पनि नेतृत्व गर्न सक्छ। जो व्यक्ति असक्षम छ, ऊ युवा भए पनि उसले काम गर्न सक्दैन। त्यसो हुनाले अलि बढी मात्रामा यो पुस्तावादी चिन्तन जुन ढङ्गले अहिले आउन खोजेको छ, त्यो चिन्तनलाई अलि विश्लेषणात्मक ढङ्गले हामीले हेर्नुपर्छ र युग, परिस्थिति, देशको आवश्यकता अनुसार अगाडि बढ्नुपर्छ। त्यसमा युवाहरूलाई प्रोत्साहित गर्ने, युवाहरूलाई अगाडि बढाउने काम त मैले यसै पनि प्राथमिकता दिन्छु ।





Read More