― Advertisement ―

यो कीर्तिमान तोड्ने पराबैंगनी क्रिस्टलले आणविक घडीहरू अनलक गर्न सक्छ र पनडुब्बी, अन्तरिक्ष यान र मिसाइलहरूले बाह्य संकेतहरू बिना नै नेभिगेट गर्ने तरिका परिवर्तन...

अवस्थित न्यूक्लकायोरको प्रतिज्ञा गर्ने समय प्रणालीहरूथोरियम 229 ले व्यावहारिक आणविक समय मापनको दुर्लभ मार्ग प्रदान गर्दछअल्ट्राभाइलेट ब्रेकथ्रुले आणविक घडीको विकासमा सबैभन्दा कठिन बाधाहरू मध्ये...
HomeLatest newsएकतामा खुसी, तर भागबन्डाप्रति जेनजी घाइते असन्तुष्ट – KhabarHost

एकतामा खुसी, तर भागबन्डाप्रति जेनजी घाइते असन्तुष्ट – KhabarHost



१३ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच ७ बुँदे सहमति भयो ।

आइतबार बिहान भएको सहमतिमा लामिछाने पार्टी सभापति रहने र प्रतिनिधिसभा निर्वाचनपछि बालेन शाह संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बन्ने उल्लेख छ ।

तर, पुरानै दलको शैलीअनुसार नै भागबन्डा भएको भन्दै जेनजी घाइतेले भने असन्तुष्टि जनाएका छन् ।

ट्रमा सेन्टरमा उपचाररत प्रकाश बोहोरा भन्छन्, ‘एकता भएकोमा खुसी छौं । तर भागबन्डाको विषयले पुरानै दलको कुर्सी केन्द्रित जस्तो देखियो ।’

प्रकाश बोहोरा ।

प्रकाशले पदको भागबण्डालाई गोप्य राखेर बाहिर एकताको सन्देश दिनेको भए अझ राम्रो हुने सुझाव दिए ।

प्रकाशले सहमतिलाई युवा पुस्ताको आकाङ्क्षा पूरा गर्ने उत्कृष्ट कदम रूपमा हेरेका छन् ।

‘रवि र बालेन दुवै नयाँ पुस्ताका प्रतिनिधि नेता हुनुहुन्छ । उहाँहरूको मिलन एकदम राम्रो कुरा हो । युवाहरू अगाडि आउनुपर्छ भन्ने मान्यता यस सहमतिले पूरा गरेको छ,’ उनले अनलाइनखबरसँग भने ।

प्रकाशका अनुसार देश अहिले निर्णायक मोडमा छ र बुढा नेताहरूलाई पाखा लगाएर भिजन भएका युवाहरूले नेतृत्व लिनुपर्ने बेला आएको छ । उनले कुलमान घिसिङसहित रवि र बालेनलाई युवाहरूले खोजेको विकल्पको रूपमा हेरेको बताए ।

सहमतिमा जेनजी आन्दोलनका मागहरूलाई प्राथमिकता दिने उल्लेख भएकोमा प्रकाश खुसी छन् ।

सहमतिपत्रमा हस्ताक्षर गर्दै रवि र बालेन ।

‘सहमतिपत्रको पहिलो बुँदामा जेनजीका मागलाई प्राथमिकता दिने भनिएको छ । यो हाम्रा लागि ठूलो उपलब्धि हो,’ प्रकाश भन्छन् ।

उक्त सहमतिले शहीद र घाइतेहरूको बलिदान खेर जाँदैन कि भन्ने आसा रहेको घाइते प्रकाशको भनाइ छ ।

त्यसैगरी राकेश महतो पनि अहिले अस्पतालमा उपचाररत छन् । उनको ढाडमुनिको भाग पूर्ण रूपमा चल्दैन । यस सहमतिलाई पदको भागबन्डा गर्ने शैलीप्रति महतोले कडा असन्तुष्टि व्यक्त गरे ।

‘परिस्थिति निरुपण त राम्रो भयो, तर भागबन्डाको पक्ष मलाई मन परेन,’ महतोले अनलाइनखबरसँग भने, ‘म प्रधानमन्त्री, तिमी सभापति भन्ने हिसाबले भागबन्डा गरेको जस्तो देखियो । यो गलत हो ।’

राकेश महतो

उनले अहिलेको अवस्थामा सबै मिलेर एक ठाउँमा उभिनुपर्ने बताउँदै पुराना नेताहरूलाई हराएर आएका नयाँ पुस्ताले पनि पहिलेकै शैलीमा पद बाँडफाँट गर्नु राम्रो नभएको टिप्पणी गरे ।

‘पहिला शेरबहादुर देउवा, प्रचण्ड र केपी ओलीले पनि यस्तै गरेका थिए । म प्रधानमन्त्री, तिमी राष्ट्रपति । अहिले नयाँ पुस्ताले पनि त्यही गर्‍यो । यो मलाई पटक्कै मन परेन,’ महतोले भने, ‘भागबन्डा गर्नुभन्दा सबै मिलेर भ्रष्टाचारविरुद्ध लड्नुपर्थ्यो ।’

महतोले मिलेर जानु राम्रो भएको तर पदको लोभले भागबन्डा गर्नु गलत भएको दोहोर्‍याए ।

आन्दोलनका क्रममा एक खुट्टा गुमाएका घाइते राजेश पटेलले सातबुँदे सहमतिलाई व्यक्तिगत रूपमा सकारात्मक रूपमा लिन्छन् । उनले यो सहमतिलाई सकारात्मक नै माने पनि यसमा पुरानै दलहरूको जस्तो भागबण्डाको संकेत देखिएको बताए ।

अस्पतालबाट डिस्चार्ज भएपछि घरमा आराम गर्दै राजेश ।

‘व्यक्तिगत रूपमा यो सहमतिबाट खुसी नै छु । हाम्रो पनि चाहना यस्तै एकता हो । यदि कुलमान घिसिङ पनि जोडिनुभयो भने अझ राम्रो हुन्छ । तर यो सहमतिमा पुरानै जस्तो भागबण्डा देखियो,’ पट्टेलले अनलाइनखबरसँग भने ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सूचीमा बालेन शाहको भागमा ४० जना पर्ने सहमति भएको सन्दर्भलाई जोड्दै पटेल भन्छन्, ‘यसले पुरानै दलहरूको कुर्सी तानातान र पदको लोभ जस्तै देखाएको नि !’

पटेलले अगाडि थपे, ‘उहाँहरू नयाँ परिवर्तनको आसा जगाउन आउनुभएको हो । तर सहमति हुन धेरै समय लाग्नु र पदहरूको बाँडफाँट हेर्दा कतै स्वार्थ त छैन भन्ने प्रश्न उठ्को छ ।’

यद्यपि, यो प्रश्न उठे पनि मिलेर अघि बढ्नु विकल्प नरहेको भन्दै एकै ठाउँमा आउनुलाई सकारात्मक हिसाबले हेर्नपर्ने पटेलले धारणा राखे ।

जेनजी आन्दोलनले उठाएका मुख्य मुद्दाहरू- प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री, संघीय प्रणाली खारेज र संविधान संशोधन लगायतका विषय भने सम्बोधन नभएको उनको भनाइ छ ।

‘आन्दोलनको एजेन्डा नै पूर्ण रूपमा सम्बोधन भएको छैन । भागबण्डा मन मिलेसम्म राम्रो हुन्छ, तर पुरानै विकल्पभन्दा नयाँ कामहरू हेर्ने मन छ,’ पटेलले भने ।

जेनजी आन्दोलन भ्रष्टाचार, बेरोजगारी र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध सुरु भएको थियो । आन्दोलनका क्रममा राज्य दमनबाट ७६ ज्यान गएको थियो भने पटेल जस्ता २ हजार ५०० भन्दा बढी घाइते भएका थिए ।

आन्दोलनपछि राजनीतिक परिवर्तन आए पनि जेनजीका मुख्य मुद्दा सम्बोधन नभएको घाइते नेत्रबहादुर थापाको गुनासो छ ।

नेत्रबहादुर थापा

आन्दोलनका क्रममा छातीमा ९ वटा गोली लागेको थापा भन्छन्, ‘जेनजी आन्दोलनबाट उठाएका मुद्दा सम्बोधन भएनन् । प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री, संघीय प्रणाली खारेज गर्नुपर्ने जस्ता कुरा भएनन् ।’

थापाले चुनावको प्रक्रियालाई पनि पुरानै निरन्तरताको रूपमा हेरे ।

‘यो नहुनुपर्थ्यो । प्रत्यक्ष तरिकाले प्रधानमन्त्रीको निर्वाचन हुनुपर्थ्यो । संविधान संशोधन पनि भएन,’ थापाले भने ।

थापा अहिले घरमै आराम गरिहेका छन् । शरीरमा अझै एक गोली बाँकी नै छ ।

थापाले भने, ‘आउँदा दिनहरूमा रवि र बालेनको कार्यशैली हेर्न बाँकी छ । जे होस्, राम्रो होस् भन्ने मात्र हो ।’





Read More