― Advertisement ―

‘हामी मोबाइल संचार प्रजातान्त्रिक गर्दैछौं’: Lidl नयाँ MVNO सँग बजेट मोबाइल फोन योजनाहरू सुरू गर्दैछ

Lidl1 with deals sign for new MVNOकम लागत, छोटो अवधिको मोबाइल योजनाहरू प्रस्ताव गर्न खोज्छLidl ले विश्वभर 100 मिलियन भन्दा बढी ग्राहकहरूलाई समेटेको छLidl...
HomeLatest newsउम्मेदवार मत माग्छन्, मतदाता पानी – KhabarHost

उम्मेदवार मत माग्छन्, मतदाता पानी – KhabarHost


पानीको गहिरो संकट भोगिरहेको सिरहा ४ । तस्वीर : सुरेश राय/अनलाइनखबर ।


राष्ट्रिय

समाचार.

  • सिरहा निर्वाचन क्षेत्र नम्बर ४ का उम्मेदवारहरू २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतदाताको विश्वास जित्न घरघर पुगिरहेका छन्।
  • सिरहाका मतदाताले चुनावी नारा भन्दा पनि खानेपानीको समस्या समाधान गर्नुपर्ने माग राखेका छन्।
  • सिरहा ४ मा पाँच पूर्वमन्त्रीसहित ३६ उम्मेदवार चुनावी मैदानमा छन् र मतदाता पानीको व्यवस्था गर्ने उम्मेदवार खोजिरहेका छन्।

१५ माघ, सिरहा । आउँदो २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सिरहा निर्वाचन क्षेत्र नम्बर ४ का उम्मेदवारहरू घरघर पुगिरहेका छन् । घरदैलो, सामूहिक छलफल र भेटघाटबाट उनीहरू मतदाताको विश्वास जित्ने प्रयासमा छन् । आफ्ना चुनावी नारा सुनाइरहेका छन् ।

तर, गाउँ–घर, बाटो–घाटोमा भेटिएका सर्वसाधारणका लागि चुनावी नारा र आश्वासनभन्दा ठूलो अर्को विषय छ, खानेपानी समस्या ।

अनलाइनखबरकर्मीले सिरहाअन्तर्गत पर्ने पूर्व–पश्चिम राजमार्ग आसपासका बस्तीदेखि भित्री गाउँसम्म पुग्दा मतदाताको मनोविज्ञान पहिलेभन्दा फरक देखिएको छ ।

धारामा पानी आउँदैन । खोल्सा–कुवा मात्र होइन, ट्युबेलसमेत सुक्दै गएका छन् । खानेपानीको चर्को समस्या भोगिरहेका स्थानीयलाई उम्मेदवारका अरु चुनावी नाराले छोएकै छैन । सबैको सरोकार दिनहुँ बढिरहेको खानेपानीको संकटबाट कसरी मुक्त हुने भन्नेमै देखिन्छ ।

स्थानीय सुरेन्द्रप्रसाद महतो भन्छन्, ‘धेरै चुनाव आए, धेरै नेताले आश्वासन पनि दिए । तर, काम गरेनन् । किसानले सिँचाइ, बीउ, मल र उत्पादनको मूल्यका लागि सडकमा उत्रनु पर्ने समस्या त छँदैथियो, पछिल्ला वर्ष पानीको रचम अभाव भोग्नु परिरहेको छ ।’

सुरेन्द्रप्रसाद महतो ।

यो समस्याले सिंगै समाज पिरोलिएको छ । किसानलाई खेतीमा समस्या भएको छ । गाइबस्तु पाल्न धौधौ भएको छ । सबैभन्दा धेरै त गृहिणीका दु:ख बढेको छ ।

‘आफ्नो घरमा पानी छैन । छिमेकीको अवस्था पनि उस्तै छ । माग्न गए गाली खाइन्छ,’ स्थानीय महिला दुलारी दास आफ्नो दु:ख सुनाउँदै भन्छिन्, ‘मलाई राजनीति बुझ्नुपरेको छैन, एउटा बोरिङ भए पुग्थ्यो ।’

दुलारी दास

गाउँलेले भोग्दै आएका समस्याबारे जनप्रतिनिधि जानकार नभएका होइनन् । तर, उनीहरूले पनि केही गरेनन् भन्ने गुनासो स्थानीयको छ । स्थानीय बलबहादुर कार्की भन्छन्, ‘हाम्रा समस्याबारे जानकार भए पनि जनप्रतिनिधिले केही गरेनन् किनभने विकास गर्ने नेता नै हामीले पाएनौं ।’

बलबहादुर कार्की ।

खानेपानीको अभाव यहाँका जनताले दिनहुँ भोगिरहेको समस्या हो । आउँदो चुनावमा आउने नयाँ पुराना सबैले पहिलेजस्तै बाचा गर्ने र निर्वाचित भएर गएपछि काम नगर्ने पुरानै रोग दोहोरिने चिन्ता यहाँका मतदातामा छ ।

‘पटकपटक निर्वाचित भएका जनप्रतिनिधिले हाम्रा दु:ख बुझेनन् । अहिले नयाँ नयाँ पार्टीका उम्मेदवारहरू आइरहेका छन्,’ राजिन्द्र दास भन्छन्, ‘पुरानालाई विश्वास गरौं भने अहिलेसम्म नगरेकाले फेरि गर्लान् जस्तो लाग्दैन । नयाँलाई गरौं भने यिनका पनि कुरा मात्रै हो कि, अहिले पुराना भनिएका पनि कुनै दिन त नयाँ नै थिए । त्यसैले कसलाई विश्वास गर्नु ?’

राजिन्द्र दास ।

रिपोर्टिङकै क्रममा भेटिएका शंकरलाल तामाङका लागि पनि खानेपानीको समस्या टारिदिने जनप्रतिनिधि पाए हुन्थ्यो भन्ने लागेको छ । ‘पानीबिना यहाँका जनता तड्पिरहेका छन् । हाम्रो कुरा कसैले सुन्दैन । हामीलाई पानी चाहिएको छ । भ्रष्टाचारमुक्त देश चाहिएको छ । कुराले होइन कामले देश बनाउने नेता चाहिएको छ,’ उनी भन्छन् ।

शंकरलाल तामाङ ।

सिरहा–४ मा पाँच पूर्वमन्त्रीसहित दल र स्वगतन्त्र गरी ३६ उम्मेदवार चुनावी मैदानमा छन् । यी उम्मेदवार गाउँगाउँ पुगिरहेका छन् । पुरानाहरू आफ्ना कमजोरी सच्याएर आउने र आफ्ना बाचा पूरा गर्ने विश्वास दिलाउन व्यस्त देखिन्छन् । नयाँहरू पुरानाले गरेनन्, त्यसैले हामीलाई मौका दिनुस् भनिरहेका छन् ।

अनेक बाचा गरेर भोट हत्याउन उम्मेदवार तल्लिन छन् । तर, मतदाता अडिएका छन् । हेरिरहेका छन् । पर्गेलीरहेका छन् किनभने २१ फागुन अझै टाढा छ । बरु, पानीको काकाकुल जीवन दैनिकी बनेको छ । जसरी पनि यो कष्टबाट पार पाउने मनसायमा रहेका मतदाता पानीको व्यवस्था गरिदिनसक्ने उम्मेदवार जाँचीरहेका छन् ।

पानीको गहिरो संकट भोगिरहेको सिरहा ४ का केही प्रतिनिधि तस्वीर ।

तस्वीरहरू : सुरेश राय/अनलाइनखबर ।





Read More