― Advertisement ―

चिनियाँ वैज्ञानिकहरूले सबै चीज वास्तविक मेसिनमा सार्नु अघि भर्चुअल लाइट कम्प्युटर भित्र एआई चलाए

अप्टिकल लाइटको जटिल प्रक्रियाको सट्टा प्रयोग गर्दछ डाटा।डिजिटल जुम्ल्याहाले साझा अप्टिकल हार्डवेयरको लागि लामो पर्खाइलाई हटाउँछ।भर्चुअल अप्टिकल प्रणालीहरूले उल्लेखनीय सटीकताका साथ वास्तविक हार्डवेयर प्रतिबिम्बित...
HomeLatest news९ बजेभित्र अंकसहितको विवरण हेडक्वार्टरमा – KhabarHost

९ बजेभित्र अंकसहितको विवरण हेडक्वार्टरमा – KhabarHost


१ पुसमा प्रहरी प्रधान कार्यालयमा दैनिक मूल्यांकन प्रणालीबारे अनुशिक्षण दिँदै एआईजी डम्बर विक ।



२ पुस, काठमाडौं । प्रहरीका दैनिक काम-कारबाहीलाई वस्तुनिष्ठ मूल्यांकन गर्ने उद्देश्यले स्वचालित मूल्यांकन प्रणाली लागु गरिएको छ । हिजो (१ पुस) देखि लागु हुनेगरी प्रहरी प्रधान कार्यालयले यो प्रणाली लागु गरेको हो ।

नेपाल प्रहरीका विभिन्न इकाइहरूबाट दैनिक रूपमा सम्पादन हुने कार्यहरूको विवरण समेट्ने गरी केन्द्रीय अभिलेख प्रणाली विकास गरिएको छ । जसले दैनिक रूपमा हुने काम-कारबाहीको विवरणबारे प्रष्ट पार्नेछ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्लेका अनुसार प्रहरीका काम-कारबाहीलाई पारदर्शी र वस्तुनिष्ठ मूल्यांकन गर्ने उद्देश्यले यो प्रणाली लागु गरिएको हो ।

प्रहरी महानिरीक्षक (आईजी) मा नियुक्त भएपछि दानबहादुर कार्कीले प्रहरीमा सुधार गर्ने बताएका थिए । आईजी कार्कीकै संयोजनमा २५ मंसिरमा बसेको नीति निर्माण समिति (पीसीसी) बैठकले प्रहरीको कार्य-प्रभावकारिता र कार्यदक्षता अनुगमन एवं मूल्यांकन गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार अहिले कार्यसम्पादन र मूल्यांकनसम्बन्धी ढाँचा बनाएर लागु गरिएको प्रवक्ता काफ्ले बताउँछन् ।

मंगलबार प्रहरी प्रधान कार्यालयमा एक कार्यक्रम गर्दै यो प्रणाली लागु गरिएको छ । प्रदेश समन्वय विभागका एआईजी डम्बरबहादुर विकले कार्यसम्पादन तथा मूल्यांकन ढाँचा कार्यान्वयनसम्बन्धी अनुशिक्षण दिएका थिए । यो प्रणाली लागु भएपछि प्रहरीको वस्तुनिष्ठ मूल्यांकनको आधार तयार हुने उनले बताए ।

‘यो प्रणालीले वस्तुनिष्ठ मूल्यांकनको आधार तयार गर्छ । आगामी दिनमा कुनै योजना बनाउन पनि सहयोग पुर्‍याउँछ,’ एआईजी विकले भने ।

मूल्यांकनको ७५ वटा सूचक

प्रहरीको काम मूल्यांकन गर्न ७५ वटा सूचक राखिएको छ । ती सूचकअनुसार अंक (नम्बर) को व्यवस्था गरिएको छ । उदाहरणका लागि फरार प्रतिवादी पक्राउलाई एउटा सूचक मानिएको छ । कुन कार्यालयले फरार प्रतिवादी पक्राउ गर्‍यो, कति फरार पक्राउ गर्‍यो सोहीअनुसार सूचकमा उल्लेख भएअनुसारको नम्बर त्यो प्रहरी कार्यालयले पाउनेछ ।

फरार प्रतिवादीमा पक्राउमा पनि सामान्य कसुर वा लेनदेनको भए सोही अनुसारको अंक, जघन्य प्रकृतिको वा मोस्ट वान्डेड भए सोही अनुसारको अंक व्यवस्था गरिएको छ । कामको वर्गीकरणअनुसार १ देखि बढीमा ३ अंकसम्म दिने गरी सूचक तयार पारिएको छ ।

यस्ता ७५ वटा सूचक राखिएको छ । जसले गर्दा काममा प्रतिस्पर्धात्मक भावना जाग्ने र कार्यसम्पादन पनि राम्रो हुने बताइएको छ ।

जिल्लामा ५ भागमा वर्गीकरण

कामको आधारमा मूल्यांकन गर्न अहिले ७७ जिल्लालाई पाँच भागमा वर्गीकरण गरिएको छ । बढी जनघनत्व भएका तथा मुद्दाको चाप बढी भएका जिल्लाहरूलाई ‘क’ श्रेणीमा राखिएको छ ।

जसमा काठमाडौं, ललितपुरदेखि, पर्सा, बाँके जस्ता जिल्लाहरू छन् । त्यसपछि ‘क’ भन्दा कम जनघनत्व भएका जिल्लालाई ‘ख’, ‘ग’, ‘घ’, ‘ङ’ गरी वर्गीकरण गरिएको छ ।

कार्यक्रममा जिज्ञासा राख्दै एसएसपी सञ्जय सिंह थापा ।

आफूले गरेका दैनिक कामको विवरण जिल्लाले प्रदेश प्रहरी कार्यालयमा पठाउनुपर्ने हुन्छ । प्रदेश प्रहरी कार्यालय, तालिम केन्द्र, गणहरूलाई अर्को वर्गीकरणमा राखिएको छ ।

जिल्लाको काममा १०० पूर्णांकको मूल्यांकन हुन्छ भने प्रदेश प्रहरी कार्यालयलाई १२५ पूर्णांकको मूल्यांकन हुन्छ ।

९ बजेभित्र अंकसहितको विवरण आईजी सचिवालयमा

हरेक जिल्लाले आफूले गरेको कामको दैनिक विवरण बेलुका ७ बजेभित्र प्रदेश प्रहरी कार्यालयमा पठाइसक्नुपर्ने हुन्छ । त्यो कामको विवरण अनुसारको अंक जिल्ला प्रहरी कार्यालयले पाउनेछ ।

प्रदेशमा आएको जिल्लाको उक्त विवरण र आफ्नो समेत कामको विवरण प्रदेश प्रहरी कार्यालयले बेलुका ८ बजे भित्र प्रदेश समन्वय विभागमा पठाइसक्नुपर्ने हुन्छ ।

आफ्नो कार्यालयमा आएका काम र अंकसहितको विवरण रुजु गरेर प्रदेश समन्वय विभागले बेलुका ९ बजेभित्र दैनिक पठाइसक्नुपर्ने हुन्छ ।

यो सबै कामको विवरण र मूल्यांकन हेर्ने गरी प्रहरी हेडक्वार्टरमा चार वटा डेस्क खडा गरिएको छ । प्रत्येक डेस्कले दुई वटा प्रदेश हेर्नेछ भने एउटा डेस्कले एक प्रदेश र काठमाडौं उपत्यका हेर्ने गरी व्यवस्था मिलाइएको छ ।

जसअनुसार प्रत्येक दिन कुन प्रहरी कार्यालयले कति काम गर्‍यो, के-के काम गर्‍यो, कस्तो काम गर्‍यो भन्नेदेखि कति अंक पायो भन्नेसम्म वस्तुगत रूपमा रेकर्डमा बस्नेछ । यसरी कामको मूल्यांकनको आधारमा पुरस्कार दिने व्यवस्था समेत मिलाइएको छ । हरेक वर्ष दिइने कार्यसम्पादनको अंकमा समेत यसलाई आधार मान्ने बताइएको छ ।

प्रहरीको बढुवामा ४० नम्बर कार्यसम्पादन मूल्यांकनवापत राखिएको छ । तर आफू निकटस्थका व्यक्तिलाई बढी नम्बर दिने र अन्यलाई कम नम्बर दिने गरेको गुनासो हुँदै आएको छ ।

यसअघि २२ चैत २०८० प्रहरी बढुवामा दिइने अंकमा चलखेल हुने गरेको भन्दै तत्कालीन गृहमन्त्री रवि लामिछानेले अटोमेसन लागु गर्नुपर्ने बताएका थिए । ‘हामी कसैलाई अन्याय गर्न हस्ताक्षर गर्दा रहेछौं । बढुवा नै पिच्छेका प्रतिक्रियाले यो प्रष्ट भएको छ । जतिसक्दो छिटो अटोमेसनमा जान सक्छौं त्यति छिटो आफूलाई अन्याय भयो भन्ने संगठनका सदस्यको गुनासो अन्त्य हुन्छ र प्रहरीप्रतिको विश्वसनीयता बढ्छ,’ लामिछानेले भनेका थिए ।

यो प्रणाली लागु भएपछि आफ्नो कामको मूल्यांकन आफैंले गरेर समेत सुधार गर्ने अवसर मिल्ने बताइएको छ ।

तस्वीरहरू : नेपाल प्रहरी

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More