― Advertisement ―

सावधान, ह्याकरहरूले मालवेयर वितरण गर्न, पैसा र डाटा चोरी गर्न एप्पल खाता सूचनाहरूको दुरुपयोग गर्दैछन्

Scammers'ph डोमेनमा कलब्याक प्रयोग गरी ईमेल पठाउनुहोस् सन्देशहरूप्रविधिले नक्कली खरिद अलर्टहरू इम्बेड गर्न Apple ID सिर्जना क्षेत्रहरू प्रयोग गर्छपीडितहरू कलिङ स्क्यामरहरू, जसले त्यसपछि संवेदनशील...
HomeLatest newsसाढे ६ वर्षमै दोब्बर भयो सार्वजनिक ऋण, प्रतिव्यक्ति भार १ लाख नजिक

साढे ६ वर्षमै दोब्बर भयो सार्वजनिक ऋण, प्रतिव्यक्ति भार १ लाख नजिक


राष्ट्रिय

समाचार.

  • पछिल्लो साढे ६ वर्षमा नेपालको सार्वजनिक ऋण झण्डै दोब्बर भएर चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो अर्धवार्षिकमा २८ खर्ब ६ अर्ब ३९ करोड पुगेको छ।
  • सार्वजनिक ऋणको अनुपात जीडीपीको ४५.९५ प्रतिशत पुगेको छ, जुन नेपालजस्ता मुलुकका लागि धरापको संकेत मानिन्छ।
  • सरकारले चालु आवमा ५ खर्ब ९५ अर्ब ऋण परिचालन गर्ने लक्ष्य राखेकोमा पुससम्म २ खर्ब १४ अर्ब ५५ करोड मात्र उठाइएको छ।

८ माघ, काठमाडौं । पछिल्लो साढे ६ वर्षमा सार्वजनिक ऋण झन्ण्डैड दोब्बर भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो अर्धवार्षिक समीक्षा अवधिमा सार्वजनिक ऋण २८ खर्ब ६ अर्ब ३९ करोड पुगेको हो ।

कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/७७ सम्म मुलुकको ऋणभार १४ खर्ब ३३ अर्ब ४० करोड रुपैयाँ मात्र थियो । त्यसयता गुणात्मक वृद्धि भएको ऋणको भार अहिले २८ खर्ब नाघेको हो । साढे ६ वर्ष अगाडि कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को ३८.०५ प्रतिशत मात्र रहेको सार्वजनिक ऋण अहिले बढेर ४५.९५ प्रतिशत पुगेको छ ।

नेपालजस्ता मुलुकमा जीडीपीको ४५ प्रतिशतभन्दा माथि सार्वजनिक ऋण जानुलाई विज्ञहरू धरापको संकेत मान्छन् । यसले मुलुक धनी नहुँदै ऋण भारमा फँसेको रूपमा समेत लिने गरिन्छ ।

बढ्दो सार्वजनिक खर्च, घट्दै गएको वैदशिक अनुदान र अपेक्षित राजस्व परिचालन नहुनुजस्ता कारणले सार्वजनिक ऋण निरन्तर बढ्दै गएको हो । अर्थविद् तथा राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. रामकुमार फुँयाल उत्पादनमूलक र पूँजी वृद्धि हुने आयोजना छनोट, लगानीको प्रतिफलबाट ऋण तिर्न सक्ने अवस्था रहेमा जीडीपी बराबर नै ऋण लिए पनि जोखिम नहुने बताउँछन् । तर, नेपालमा त्यस्तो हुन सकेको छैन ।

सरकारले ऋण लिएर बनाएका धेरैजसो ठूला आयोजना अपेक्षित चल्न सकेनन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल त्यसका मुख्य उदाहरण हुन् । सरकारले ऋण नै लिएर निर्माण गरेको मेलम्ची खानेपानी आयोजना समयमै सकिएन । सम्पन्न भएपछि प्राकृतिक विपद्ले थप क्षति गर्‍यो । यसरी ऋण लिएर बनाइएका पूर्वाधार आयोजनाले अपेक्षित लाभ दिन नसकेपछि नेपालमा सार्वजनिक ऋणको सदूपयोगबारे प्रश्न उठिरहेको छ ।

सार्वजनिक ऋण बढ्दा प्रतिव्यक्ति ऋणभारसमेत सोही अनुपातमा बढिरहेको छ । चालु आवको पहिलो ६ महिनासम्मको सार्वजनिक ऋणलाई नेपालको वर्तमान जनसङ्ख्या ३ करोड (अनुमानित)मा भाग लगाउँदा ९३ हजार ५४६ रुपैयाँ पर्न जान्छ । २०७८ सालको जनसंख्यालाई आधार मान्दा प्रतिव्यक्ति ऋणभार १ लाख नजिक पुग्छ । पछिल्लो आधा दशकमै प्रतिव्यक्ति ऋणभार समेत दोब्बर बढेको छ ।

यसरी बढ्दैछ सार्वजनिक ऋण

आर्थिक वर्ष २०७०/७१ मा ५ खर्ब ५३ अर्ब रुपैयाँ मात्र सार्वजनिक ऋण थियो । सो ऋण ५ वर्षभित्रै दोब्बर भयो । अर्थात् २०७५/७६ मा पुग्दा सार्वजनिक ऋणको आँकडाले १० खर्ब ४८ अर्ब नाघेको थियो । लगत्तै २०७६/७७ मा १४ खर्ब ३३ अर्ब रुपैयाँ पुग्यो । यसरी सार्वजनिक ऋण बढ्नुमा २०७२ सालको भूकम्प र २०७४ सालको निर्वाचनपछि बनेको सरकार मुख्य कारण थियो ।

भूकम्प पुनर्निर्माण कामले २०७४/७५ पछि अधिक गति लियो । यसमा निर्वाचनपछि बनेको बलियो सरकारको भूमिका पनि थियो । सो सरकारले त्यसबेला पुनर्निर्माणको अभियान मात्र चलाएन नयाँ आयोजना समेत धमाधम थप्यो ।

विमानस्थल, भ्यू–टावरदेखि स्थानीय तहमा अस्पताल निर्माणका योजना अगाडि बढे । स्थानीय तहमा प्रशासनिक भवन निर्माणको गति समेत यसैबेला अगाडि बढ्यो ।

त्यसपछि सबैजसो सरकारले यो अभियानलाई निरन्तरता दिए । यो सबै काम गर्न आन्तरिक स्रोत पर्याप्त थिएन । सोहीकारण राज्यले ऋण लिनु पर्ने अवस्था आयो । यो प्रवृत्ति अझै जारी छ ।

गत आवको अन्तिम सम्म २६ खर्ब ७४ अर्ब ४ करोड रहेको सार्वजनिक ऋण पुस मसान्तसम्म २८ खर्ब ६ अर्ब ३९ करोड पुगेको छ । पुस मसान्तसम्म आन्तरिक ऋण १३ खर्ब १९ अर्ब र बाह्य ऋण १४ खर्ब ८७ अर्ब रुपैयाँ पुगेको छ ।

६ महिनामा खुद सार्वजनिक ऋण वृद्धि रकम १ खर्ब ३२ अर्ब ३४ करोड रुपैयाँ छ । यस अवधिमा सरकारले २ खर्ब १४ अर्ब ५५ करोड रुपैयाँ ऋण लिएको छ । विनिमय दरमा भएको वृद्धिले ७० अर्ब ६८ करोड रुपैयाँ दायित्व थप भएको हो । यसबीचमा सरकारले सार्वजनिक ऋणको साँवा भुक्तानीमा मात्र १ खर्ब ५२ अर्ब ८९ करोड रुपैयाँ खर्च गरेको छ ।

६ खर्ब सार्वजनिक ऋण परिचालनको लक्ष्य

सरकारले चालु आवमा मात्र ५ खर्ब ९५ अर्ब सार्वजनिक ऋण परिचालनको लक्ष्य राखेको छ । यसमध्ये पुससम्म २ खर्ब १४ अर्ब ५५ करोड उठाइएको छ । यो वार्षिक लक्ष्यको ३६.०२ प्रतिशत हो ।

यो अवधिमा सरकारले १ खर्ब ७७ अब ६६ करोड आन्तरिक ऋण उठाएको छ । ३६ अर्ब ८९ करोड बाह्य ऋण परिचालन गरेको छ । बाह्य ऋण भने लक्ष्य भन्दा धेरै कम छ । यस वर्ष २ खर्ब ३३ अर्ब बाह्य ऋण परिचालनको लक्ष्य रहेकोमा १५.७९ प्रतिशत मात्र परिचालन भएको तथ्यांक छ ।

ऋण लिएर ऋण तिर्दै राज्य

राजस्व परिचालन लक्ष्यभन्दा धेरै टाढा रहँदा अहिले सरकारले ऋण तिर्नकै लागि ऋण लिनुपर्ने बाध्यता छ । यस वर्ष सार्वजनिक ऋणको साँवा/ब्याज भुक्तानीमा ४ खर्ब ११ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । जसमध्ये पुस मसान्तसम्म १ खर्ब ८७ अर्ब १२ करोड भुक्तानी गरिएको छ ।

यो वार्षिक बजेटको ४५.५३ प्रतिशत हो । यो अवधिमा सरकारले आन्तरिक ऋणको साँवा ब्याज भुक्तानीमा १ खर्ब ५५ अर्ब र बाह्य ऋणको साँवा–ब्याज भुक्तानीमा ३१ अर्ब ९९ करोड खर्च गरेको छ ।

कसरी गर्ने सुधार ?

अघिल्लो सरकारले गठन गरेको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन अनुसार सार्वजनिक ऋणको संरचना मात्रा बढे अनुसार जीडीपी र राजस्व परिचालन बढ्न नसक्दा साँवा–ब्याज भुक्तानीको अनुपात बढ्दै गएको हो ।

प्रतिवेदनमा भनिएको छ, ‘सार्वजनिक ऋणको सही सदुपयोग नगर्ने हो भने र प्रतिफल नहुने हो भने देश ऋणको जालोमा पर्ने सम्भावना बढ्दै जाने छ ।’

प्रतिवेदन अनुसार साँवा–ब्याज भुक्तानीको दायित्व बढ्दै जाँदा शिक्षा, स्वास्थ्य, सुरक्षाजस्ता सरकारले गर्नुपर्ने अत्यावश्यक कामका लागि बजेट अभाव हुने गरेको छ ।

सोहीकारण सरकारी निकाय र विज्ञले ऋण परिचालन पूँजी निर्माण हुने क्षेत्रमा केन्द्रित गर्न सुझाव दिइरहेका छन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले समेत यसमा चिन्ता जनाएको छ । आयोगले चालु आव २०८२/८३ का लागि सरकारलाई गरेको सिफारिसमा भनेको छ, ‘चालु र प्रशासनिक खर्चमा कडाइसाथ निषेध गर्नुपर्छ ।’

आयोगले आयोजनाको लागत लाभ विश्लेषण, खुद वर्तमान मूल्य र आन्तरिक प्रतिफल दर विश्लेषण गरी प्रचलिन पूँजीको लागतभन्दा वित्तीय आन्तरिक प्रतिफल दर बढी भएका नाफामूलक आयोजना र आर्थिक प्रतिफल दर बढी भएका सामाजिक क्षेत्रमा मात्र आन्तरिक ऋण उपयोग गर्न भनेको छ ।

आयोगले उत्पादन वृद्धि, आय वृद्धि, पूर्वाधार विकास र पूँजी निर्माण हुने खालका पूर्वतयारी सम्पन्न भएका आयोजना/परियोजनामा मात्र आन्तरिक ऋण परिचालन गर्न भनेको छ ।

प्रदेश र स्थानीय सरकारले आन्तरिक ऋण उठाउने हो भने यसलाई बजेटको स्रोतका रूपमा राख्नुपर्ने समेत आयोगको सुझाव छ । सरकारले बजेट तर्जुमा गर्दा आयोजना/कार्यक्रमको स्रोतगत विवरण खण्डमा अनिवार्य आन्तरिक ऋण राख्नुपर्ने समेत आयोगको सुझावमा उल्लेख छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More