― Advertisement ―

भारतको केन्द्रीय बैंकका प्रमुख भन्छन् कि एआईले मानिसहरूले अस्वीकार गरेको ऋणलाई अनुमोदन गर्न सक्छ, टेक्नोलोजी भनेको ‘उत्तरदायी रूपमा प्रयोग गर्न सक्ने क्षमता हो र...

आरबीआई गभर्नरलाई बताउने वैकल्पिक डेटाको रूपमा सानजाय बैंक नगद प्रवाह, GST फाइलिङ, र उपयोगिता भुक्तानीहरूले उधारकर्ताहरूलाई क्रेडिट विस्तार गर्न सक्छ जुन म्यानुअल अन्डरराइटिङले हाल...
HomeLatest newsसांसदहरू नयाँ भवनमा बस्न पाउँछन् ? – KhabarHost

सांसदहरू नयाँ भवनमा बस्न पाउँछन् ? – KhabarHost



१२ माघ, काठमाडौं । २१ फागुनको प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै छ । तर, सिंहदरबारस्थित संसद् भवनको निर्माण कार्य सकिएको छैन ।

नयाँ बानेश्वरस्थित संसद् बैठक बस्दै आएको अन्तराष्ट्रिय सम्मेलन केन्द्र जेनजी आन्दोलनका क्रममा गत भदौ २४ मा जल्यो । त्यसपछि अब आउने संसद्को बैठक सिंहदरबार भित्रै बनिरहेको भवनमा राख्ने तयारी छ । तर, भवन निर्माण कार्य सकिएको छैन ।

यो विषयमा छलफल गर्न सोमबार संघीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डे, सचिव रोजनाथ पाण्डे लगायतका संसद्का कर्मचारीहरू शहरी विकास मन्त्रालय पुगेका थिए । छलफलमा शहरी विकासमन्त्री प्रा. डा. कुमार इङ्नाम र शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल लगायत थिए ।

छलफलपछि संसद् सचिवालयका महासचिव पाण्डेले अनलाइनखबरसँग भने, ‘२१ फागुनमा निर्वाचन भइसकेपछि चैत १ गतेबाट संसद्को बैठक चलाउने सरकारको सोच रहेछ ।’

तयारीका लागि हाउस सुरु हुनुभन्दा १५-२० दिनअगाडि भवन चहिने आग्रह आफूहरूले गरेको पाण्डेले जानकारी दिए ।

‘संसद् बैठक बस्नु भन्दा १५-२० दिन अगाडि नै हस्तान्तरण गर्नुपर्यो भनेर हामीले भन्यौं’ पाण्डेले भने । उनका अनुसार संसद् सञ्चालनका सन्दर्भमा आन्तरिक तयारीका संसद् सचिवालयलाई समय चाहिने भएकाले सरकारको ध्यानाकर्षण गरेको हो । पाण्डेका अनुसार जवाफमा मन्त्री इङ्नामले भनेका छन्, ‘ठेकेरदारले चैत १ गतेदेखि हाउस चलाउने गरी भवन दिन्छौं भन्नुभएको छ ।’

संसद् भवन निर्माणको जिम्मा विशेष भवन आयोजनाले लिएको छ । भवन निर्माणको ठेक्का तुन्दी–सेक जेभीले पाएको छ । ठेकेदारले गत पुस १६ गतेभित्र सबै काम सक्नुपर्ने सम्झौता थियो । तर, हालसम्म ८८ प्रतिशत मात्रै काम सकिएको छ ।

संसद सचिवालयले यही माघ ९ गते विशेष भवन आयोजनाका अधिकारीहरूसँग छलफल गरेका थिए । छलफलमा उनीहरूले ८८ प्रतिशत भौत्तिक प्रगति भएको ब्रिफिङ गरेको थिए  । जसअनुसार प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैको सभाहलको काम सकिएको छ ।

सिंहदरबार भित्र संसद्का लागि १२ वटा भवन बन्दैछन् । त्यसमध्ये ६ वटा भवन चैत १ गते अगाडि नै हस्तान्तरण गर्न सकिने अवस्थामा रहेको आयोजनाले जनाएको छ ।

शहरी विकास मन्त्रालयका निर्माणाधीन संसद्को नयाँ भवन अत्याधुनिक सुविधासम्पन्न छ । सिंहदरबारको पुतली बगैँचामा बन्दै गरेको भवननजिकै राजनीतिक दलहरूका लागि संसदीय दलको कार्यालय राखिएका छन् । संसद् सचिवालय, राष्ट्रिय सभा र प्रनिनिधिसभाका लागि आवश्यक संरचना नजिकै राखिएको छ ।

नयाँ संसद् भवन क्षेत्रको मध्यभागमा भीभीआईपीका लागि प्रवेशद्वार छ । त्यसकै छेउमा कर्मचारी तथा अन्यका लागि प्रवेशद्वार छ । मुख्य गेटबाट प्रवेश गर्नेवित्तिकै प्लाजामा पुगिन्छ । त्यसको एकापट्टि संसद् सचिवालय छ, अर्कोपट्टि प्रतिनिधिसभाको हल छ । सचिवालय र प्रतिनिधिसभाको पछिल्लो भागमा एकापट्टि संसदीय दलको कार्यालय र अर्कोपट्टि राष्ट्रिय सभा छ ।

७०० सिट क्षमताको प्रतिनिधिसभा बैठक कक्ष छ । सभाहल ४०० र बाल्कोनीमा ३०० क्षमता छ । राष्ट्रिय सभाको बाल्कोनीमा २९० सिट क्षमता छ । ३५० सिट अट्ने संयुक्त लबि छ ।

साना–ठूला गरी १० वटा राजनीतिक दलका लागि संसदीय दलको कार्यालय र बैठक कक्ष बनाएइको छ । प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, दलका प्रमुख सचेतक लगायतलाई अति विशिष्ट कक्ष तयार गरिएको छ । हरेक कार्यकक्षमा २५ सिटको बैठक हलको व्यवस्था गरिएको छ ।

संघीय संसद् परिसरमा पुस्तकालय र क्यान्टिन हुनेछ । नयाँ संसद् भवन क्षेत्रभित्र बगैंचा र सानो चौर रहनेछ ।

प्रेस र छपाइ भवनसहित ७०० वटा सवारी साधन पार्किङ गर्न मल्निे पूर्वाधारसहित सुरक्षाकर्मीका भवनहरू बनेका छन् । संसद् परिसरमा पानीको फोहोरासहित हरियाली खुला क्षेत्र हुनेछ ।

संसद् सचिवालयले भने शीघ्र निर्माण सकेर भवन हस्तान्तरण गर्न आग्रह गर्दै आएको छ ।

संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका अनुसार नयाँ भवनबाट सेवा प्रवाह गर्नका लागि आवश्यक पर्ने जनशक्ति व्यवस्थापन लगायतको काम भइराखेको छ ।

संसद् भवनमा सांसदहरू, कर्मचारीहरू कुन गेट बाट छिर्ने लगायतका विषय समेत टुंगो लागेको छैन । सुरक्षाको हाइराइज पोष्ट लगायतका विषय टुंगिएको छैन ।

यदि समयमै संसद् भवन निर्माणको कार्य नसकिने हो र वैकल्पिक उपाय खोज्ने हो भने त्यसबारे समयमै सोच्न सरकारलाई संसद सचिवालयले भनेको छ ।

संसद् सचिवालयले पत्र नै लेखेर मुख्यसचिव सुमनराज अर्याललाई यस्तो आग्रह गरेको हो । जहाँ फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन पश्चात संसद् बैठक बस्नका लागि आवश्यक सभाहल, पदाधिकारीहरु र सचिवालयका कर्मचारीहरुको कार्यकक्ष, संसदीय दलका कार्यालयहरुको व्यवस्थापनबारे ध्यानाकर्षण गरिएको छ ।

पत्रमार्फत मुख्यसचिव अर्याललाई भनिएको छ, ‘सभा संचालनका लागि आवश्यक अडियो, भिडियो रेकर्डिङ, लाईभ प्रशारण, श्रव्यदृष्य र सूचना प्रविधि सम्बन्धी उपकरणहरु लगायतका भौतिक संरचनाहरु सहितको पूर्वाधार नभएकोले सोको आवश्यक व्यवस्था मिलाईदिनुहुन सचिवालय (श्रीमान् महासचिवस्तर) को …निर्णयानुसार सादर अनुरोध गर्दछु ।’

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More