― Advertisement ―

सोमबार, अप्रिल २० को लागि NYT Strands संकेत र जवाफहरू (खेल #778)

अर्को दिन खोज्दै हुनुहुन्छ?प्रत्येक NYT Strand रातको लागि तपाईंको नयाँ समय क्षेत्र देखा पर्दछ। यसको मतलब कोही मान्छे सधैं 'आजको खेल' खेलिरहेका हुन्छन् भने...
HomeLatest news‘राज्यले नै स्वास्थ्य बीमा कोल्याप्स बनाउन खोजेको हो ?’

‘राज्यले नै स्वास्थ्य बीमा कोल्याप्स बनाउन खोजेको हो ?’


राष्ट्रिय

समाचार.

  • ठूला सरकारी अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्ने घोषणा गरिसकेका छन् र कतिपय अस्पतालले सेवा दिन गाह्रो भएको बताएका छन्।
  • स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक संस्थालाई ११ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी दिन बाँकी छ र अर्थ मन्त्रालयले थप अनुदान दिन नसक्ने स्पष्ट पारेको छ।
  • स्वास्थ्य बीमा कार्यक्रम सफल भए पनि स्रोत अभाव र भुक्तानी ढिलाइका कारण संकटमा परेको छ र सरकारसँग पुनर्संरचना र बजेट वृद्धि आवश्यक छ।

ठूला सरकारी अस्पतालले सूचना नै निकालेर स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्ने घोषणा गरिसकेका छन् । कतिपय बन्द गर्ने तयारीमा छन् ।

स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक संस्थालाई ११ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी दिन बाँकी छ । तर अर्थ मन्त्रालयले यही मोडलमा बीमा कार्यक्रम चल्ने हो भने थप अनुदान दिन नसक्ने स्पष्ट पारेको छ ।

सरकारले आवश्यक सहयोग नगर्दा बीमा कार्यक्रम नै संकटमा परेको छ । बीमा कार्यक्रम किन संकटग्रस्त बन्यो ? यसलाई सरकारले कसरी हेरिरहेको छ ? जस्ता विषयमा केन्द्रित रहेर बीमा बोर्डका निर्देशक डा. रघुराज काफ्लेसँग अनलाइनखबरकर्मी पुष्पराज चौलागाईंले गरेको कुराकानी :

ठूला अस्पतालले स्वास्थ्य बीमा सेवा बन्द गर्ने सार्वजनिक घोषणा गरिरहेका छन् । बीमा कार्यक्रम नै संकटमा परेको हो ?

देशभर ५१० वटा अस्पतालमार्फत स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा छ । दैनिक रूपमा नयाँ अस्पतालबाट निवेदन आइरहेका छन् । अहिले हजारभन्दा बढी अस्पतालहरू अनुमति पर्खाइमा छन् । स्वास्थ्य बीमा कार्यक्रम अहिले ७७ वटै जिल्लाका करिब ७५० स्थानीय तहमा सञ्चालनमा छ ।

गत वर्ष औसतमा दैनिक करिब ५० हजार जनाले बीमाबाट सेवा लिएका थिए । यो वर्ष संख्या बढेर ७० देखि ७५ हजार पुगेको छ । करिब ६८ लाख नागरिक सक्रिय रूपमा सूचीकरण वा नवीकरण गरेर स्वास्थ्य बीमामा आबद्ध छन् ।

पछिल्ला वर्षमा स्वास्थ्य बीमामा आबद्ध हुने र सेवा लिनेको संख्या १७८ गुणाले वृद्धि भएको छ । यसले स्वास्थ्य बीमाको लोकप्रियता निरन्तर बढिरहेको देखाउँछ ।

यद्यपि, केही अस्पतालले सेवा दिन कठिनाइ भएको गुनासो गरेका छन् । बोर्डको जानकारीअनुसार त्रिभुवन शिक्षण अस्पतालले माघ १ गतेदेखि सेवा दिन गाह्रो भएको बताएको छ । अस्पतालले विगत दुई–तीन वर्षदेखि बीमा दर, प्याकेज, दाबी अस्वीकृति र भुक्तानी ढिलाइका विषय उठाउँदै आएको छ ।

यस विषयमा अस्पताल प्रशासनसँग छलफल गरिसकेका छौँ । अस्पतालको मुख्य चासो बीमा दर र उपचार प्याकेज पर्याप्त नभएको, दाबी काटिने दर बढी भएको र भुक्तानी ढिलो हुने विषयमा छ । यी विषयहरू समाधान गर्न विज्ञहरूसँग छलफल गरेर प्याकेज तथा दर संशोधनको प्रक्रिया अघि बढाइएको छ । निकट भविष्यमा यसमा सुधार हुन्छ भन्ने विश्वास छ ।

सेवा प्रदायक संस्थालाई ११ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी गर्न बाँकी देखिन्छ । अर्थ मन्त्रालयले भुक्तानी गर्न नसक्ने संकेत गरेको छ । यस्तो अवस्थामा स्वास्थ्य बीमा कसरी चल्छ ?

स्वास्थ्य बीमा कार्यक्रम सरकारको कुनै अस्थायी योजना होइन । संसद्‌बाट पारित स्वास्थ्य बीमा ऐन २०७४ अन्तर्गत सञ्चालनमा आएको अनिवार्य सामाजिक सुरक्षा कार्यक्रम हो । यसको कार्यान्वयन राज्यको दायित्व हो ।

स्वास्थ्य बीमा ऐनले सबै नेपाली नागरिकलाई बिमित हुन पाउने अधिकार दिएको छ । प्रतिपरिवार एक लाखदेखि तीन लाख रुपैयाँसम्म उपचार सेवा सुनिश्चित गरेको छ । त्यसकारण नागरिकलाई बीमा गर्न नदिने वा सेवा नदिने भन्न मिल्दैन । त्यसैले बिमित र सेवा लिनेको संख्या बढ्दै जाँदा बोर्डको खर्च स्वाभाविक रूपमा बढिरहेको छ ।

बोर्डले उठाउने वार्षिक प्रिमियम करिब ३ अर्ब ७३ करोड छ । सरकारले १० वर्ष दिन्छ । सरकारी अनुदानसहित कूल आम्दानी १४ अर्ब हाराहारीमा छ । तर मासिक खर्च करिब २ अर्ब पुगेको छ । त्यो अबको वर्ष बढ्ने निश्चित छ । त्यसकारण १० अर्बको वार्षिक बजेटले बीमा कार्यक्रम चल्दैन भन्ने कुरा स्पष्ट छ ।

यसको समाधानका लागि स्वास्थ्य बीमा ऐनको पूर्ण कार्यान्वयन हो । ऐनको दफा ३ अनुसार बीमा अनिवार्य छ । सरकारी कर्मचारी, जनप्रतिनिधि र संगठित क्षेत्रमा काम गर्ने सबैले प्रगतिशील प्रिमियम तिर्नुपर्ने व्यवस्था छ । तर यो कार्यान्वयन भएको छैन । यदि यो व्यवस्था लागु भयो भने मात्रै करिब ४० अर्ब स्रोत जुट्न सक्ने स्वास्थ्य मन्त्रालयको अध्ययनले देखाएको छ ।

दोस्रो उपाय, छरिएर रहेका समान प्रकृतिका सरकारी स्वास्थ्य कार्यक्रमहरू एकीकृत गर्नु हो । यसले स्रोतको प्रभावकारी उपयोग गर्न मद्दत गर्छ । साथै मदिरा, सुर्तीजन्य पदार्थमा लगाइने कर बीमामा लगानी गर्ने व्यवस्था गर्न सकिन्छ ।

तेस्रो, प्रिमियम दर पुनरावलोकन गर्नुपर्छ । हाल ३,५०० रुपैयाँ रहेको प्रिमियम पर्याप्त छैन । यस विषयमा अध्ययन प्रतिवेदन तयार भइसकेका छन् । सरकारले निर्णय लिन आवश्यक छ ।

राज्यले अनुदान बढाउन नसक्ने, प्रिमियम समायोजन गर्न पनि नसक्दा अन्तिम विकल्प सेवा कटौती मात्र बाँकी रहन्छ । तर यसले स्वास्थ्य बीमा ऐन र संविधानको मर्म पूरा गर्दैन ।

भुक्तानी ढिलाइका कारण अस्पतालहरू समस्यामा परेका छन्, जसको असर सेवाको गुणस्तरमा देखिन सक्छ । त्यसैले समस्याको निकास निकाल्न सरकारका सबै सम्बद्ध निकाय एकै ठाउँमा बसेर गम्भीर छलफल गर्न आवश्यक छ । यो जिम्मेवारी कुनै एक निकायमाथि मात्रै थोपर्न मिल्दैन ।

स्वास्थ्य मन्त्रीले बीमालाई पुनर्संरचना नगरी पैसा दिन नसक्ने प्रष्ट पार्नुभएको छ । सरकारले कस्तो खालको पुनर्संरचना गर्न लागेको हो ?

स्वास्थ्य मन्त्रीले ठ्याक्कै कसरी भन्नुभयो, उहाँले नै स्पष्ट गर्नुहोला । तर उहाँले मन्त्री भएपछि राख्नुभएको तीन वटा प्राथमिकतामध्ये स्वास्थ्य बीमा पहिलोमा परेको छ । पुरानो भुक्तानी दिनुपर्ने, बोर्डलाई संस्थागत रूपमा अगाडि बढाउनुपर्ने विषयमा सक्रिय हुनुहुन्छ ।

स्वास्थ्य बीमाको थैली बलियो बनाउनुको विकल्प छैन । वर्षौं छलफल गरे पनि निष्कर्ष एउटै हुन्छ– मुख्य समस्या स्रोतको अभाव हो । व्यवस्थापकीय समस्या केही छन् र रहिरहन्छन्, सुधार निरन्तर प्रक्रिया हो । तर त्यसलाई मूल मुद्दा बनाएर छलफल गर्दा वास्तविक समस्याबाट पन्छिन खोजिरहेका हुन्छौं ।

स्वास्थ्य बीमा बोर्डको पुनर्संरचनाको कुरा गरिँदैछ । तर अहिलेसम्म यसको संगठन संरचना नै स्वीकृत छैन । १० वर्षदेखि अस्थायी संरचनामै चलेको छ । कुनै स्थायी कर्मचारी छैन, कर्मचारी विनियम स्वीकृत भएको छैन । आवश्यक विज्ञ जनशक्ति विकास वा स्थापनाको अवस्था पनि छैन ।

कार्यबोझ विश्लेषण गर्दा आजको दिनमा झन्डै एक हजार जनशक्ति आवश्यक पर्छ । तर साढे ३०० पनि छैन । यस्तो अवस्थामा पुनर्संरचनाको कुरा आउनु आफैंमा विडम्बनापूर्ण छ ।

सरकारले नै असहयोग गरेर स्वास्थ्य बीमा कोल्याप्स बनाउन खोजेको हो ?

सरकारले स्वास्थ्य बीमालाई प्राथमिकतामा नराखेको भन्न मिल्दैन । सरकारकै पहलमा स्वास्थ्य बीमा ऐन र नियमावली आएको हो । बजेट पनि गत वर्ष साढे सात अर्ब थियो । यो वर्ष १० अर्ब रुपैयाँ छुट्याइयो ।
अघिल्ला वर्षका बाँकी भएका भुक्तानीहरू पनि ढिलो–चाँडो राज्यले नै तिरेको हो । तर रकम सबै ठाउँबाट पुगेन भन्ने कुरा स्वीकार गर्नुपर्छ । समयमै भुक्तानी नगर्दा त्यसको असर स्वास्थ्य सेवा प्रवाहमा पर्ने नै भयो ।

स्वास्थ्य बीमा बोर्ड त स्वायत्त संस्था हो, आफ्नै तहबाट गर्न सक्दैन ?

राज्यका कुनै पनि निकाय पूर्ण रूपमा स्वायत्त हुँदैनन् । सीमित कार्यक्षेत्रमा मात्रै स्वायत्तता हुन्छ । बीमा बोर्डले प्रस्ताव गर्ने, आवश्यक कागजात बनाएर पठाउने काम गर्छ । तर कर्मचारी विनियम, संगठन संरचना जस्ता विषय पास गर्ने अधिकार सरकारकै हो ।

म आएपछि कर्मचारी विनियम र संगठन संरचना तीन पटक पठाउँदा पनि पास हुन सकेको छैन । अहिलेका मन्त्रीले पास गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

स्वास्थ्य बीमा बोर्डले आफ्नो क्षमता भित्र रहेर अधिकतम प्रयास गरेको छ । बोर्डको जिम्मेवारी घर–घरमा पुगेर नागरिकलाई बीमामा आबद्ध गराउने, प्रचार–प्रसार गर्ने र सेवाको व्यवस्थापन गर्ने हो ।

बोर्डले पर्याप्त प्रयास गरेको छ । यत्रो संघर्ष गरेर कार्यक्रम यहाँसम्म ल्याइएको छ । अहिले पनि उत्साहका साथ काम भइरहेको छ । बोर्डले समाधान स्पष्ट र वैज्ञानिक विकल्पहरू पनि प्रस्ताव गरेको छ ।

लाखौं नागरिकको उपचारको जिम्मा लिएको बीमा बोर्डजस्तो जिम्मेवार निकायले निराशाको कुरा गर्नु हुँदैन । आम नागरिक र नीति–निर्मातासम्म सन्देश पुगोस्, सही निर्णयका लागि वातावरण बनोस् भन्ने हाम्रो उद्देश्य छ ।

अहिलेको स्वास्थ्य बीमा मोडल असफल भइसकेको छ भन्ने आवाज पनि उठिरहेको छ नि ?

असफल मोडल भनेको के हो ? १० वर्षको अवधिमा बिमितको संख्या १७८ गुणाले बढेको छ । दैनिक सेवा लिनेको संख्या बढेको छ । उपचार सेवा विस्तार भएको छ । यी नै सफलताको सूचक होइनन् र ?
बिमितको संख्या बढेको छ । ड्रपआउट घटेको छ । आलोचना गर्न चाहने केही व्यक्ति वा संस्थाका लागि स्वास्थ्य बीमा अगाडि बढ्नु टाउको दुखाइ बनेको हुनसक्छ । तर तथ्यांकले स्पष्ट रूपमा सफलताको संकेत गर्छ ।

बिमितले औषधि नपाएर फार्मेसीबाट फर्किनु परेको, घन्टौँ लाइन बस्नु परेको र बीमाबाट तोकिएको उपचारसमेत नपाएको गुनासो छ । तपाईं कुन आधारमा स्वास्थ्य बीमा सफलतर्फ उन्मुख भन्नुहुन्छ ?

यो अत्यन्तै संवेदनशील र आम नागरिकसँग जोडिएको प्रश्न हो । यसमा दुई पक्ष छन् । पहिलो, कमजोरी सच्याउनुपर्छ । दोस्रो, यसको मूल कारण बुझ्नुपर्छ ।

बीमा बोर्डले सम्झौता गरेका ५१० स्वास्थ्य संस्थामध्ये ३९ वटा निजी छन्, बाँकी सबै सरकारी अस्पताल हुन् । सेवाको प्रभावकारिता सुनिश्चित गर्ने जिम्मेवारी सबै सरकारी निकायको साझा हो ।

औषधि नपाएको विषयमा बोर्ड संवेदनशील छ । तर मुख्य कारण अस्पतालहरूले समयमा भुक्तानी नपाउनु हो । भुक्तानी नपाएपछि अस्पतालले औषधि आपूर्तिकर्तालाई पैसा दिन सक्दैनन् र औषधि किन्न सक्दैनन् ।

बीमाले १,२८४ प्रकारका औषधि अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको छ, जुन जेनेरिक नाममा हुन्छ । साथै, १,०३९ प्रकारका सेवा उपलब्ध गराउनुपर्ने सम्झौता छ । कुन स्तरको स्वास्थ्य संस्थाले के-कति सेवा दिन सक्छ भन्ने कुरा तिनको क्षमताअनुसार हुन्छ ।

औषधि खरिद गर्ने जिम्मेवारी स्वास्थ्य संस्थाकै हो । औषधिको गुणस्तर र मापदण्ड औषधि व्यवस्था विभागले निर्धारण गर्छ । बिमाका औषधि अलग र कम गुणस्तरका हुँदैनन् । यदि औषधि नदिएको हो भने त्यो अस्पतालको लापरबाही हो, बदमासी हो ।

प्रदीप पौडेल स्वास्थ्य मन्त्री हुँदा एक लाखबाट पाँच लाख रुपैयाँसम्म उपचार सुविधा विस्तार गर्न सकिने प्रतिवेदन आएको थियो, जसको अध्ययन टोलीमा तपाईं स्वयं हुनुहुन्थ्यो । त्यो प्रतिवेदन राजनीतिक प्रचार मात्र थियो ?

त्यतिबेला मन्त्री प्रदीप पौडेलले यही बजेटमै पाँच लाख दिन्छौँ भनेर भन्नुभएको थिएन । उहाँले पाँच लाखसम्म पुर्‍याउन सकिने पर्याप्त कारण र उपायसहित प्रस्ताव गर्नुभएको थियो । मन्त्रालयले गठन गरेको अध्ययन टिमले प्रतिवेदन बुझाएको थियो, जुन अहिले पनि वेबसाइटमा उपलब्ध छ ।

त्यस प्रतिवेदनमा अहिलेका समस्या के हुन्, ती समस्या कसरी समाधान गर्ने, कहाँ–कहाँ सुधार गर्नुपर्छ, स्रोत कहाँबाट जुटाउने र कसरी उपचार सेवा पाँच लाखसम्म पुर्‍याउन सकिन्छ भन्ने उल्लेख छ । ती प्रस्तावहरू वैज्ञानिक छन्, अन्तर्राष्ट्रिय अभ्यासमा आधारित छन् ।

प्रतिवेदनले सुझाएका कुराहरू अक्षरशः कार्यान्वयन गर्दा उपचार सेवा पाँच लाख पुर्‍याउन गाह्रो छैन । तर अरू कुनै संरचनात्मक परिवर्तन नगरी पाँच लाख पुगेन भनेर प्रश्न गर्नु सान्दर्भिक हुँदैन । यो सर्तसहितको विषय हो । भर्‍याङ नहालेर माथिल्लो तलामा किन पुगिएन भनेर सोध्न मिल्दैन ।

बोर्डले सरकारलाई प्रिमियम बढाउने वा राज्यको अनुदान बढाउने जस्ता विकल्प दिएको छ । नागरिकबाट पैसा असुल्ने र सरकारबाट पनि थप रकम लिने मोडेलले नागरिकमाथि बोझ थपियो नि ?

त्यस्तो होइन । बीमा कार्यक्रम ऐक्यबद्धताको अवधारणा हो । नागरिकबाट अलिकति योगदान उठाउने र धेरै हिस्सा राज्यले बेहोर्ने कानुनले नै स्पष्ट भनेको छ ।

निरोगीले रोगीका लागि र सक्नेले नसक्नेलाई योगदान गर्ने नै स्वास्थ्य बीमाको मूल सिद्धान्त हो । नागरिक र सरकारबीचको साझेदारीमा आधारित यो उत्कृष्ट कार्यक्रम हो । जुन अन्य मुलुकहरूमा पनि यही मोडलमा चलेको छ । उपचार सेवा पाउनु नागरिकका लागि बोझ हुन सक्दैन । स्रोत भने जुटाउनै पर्छ ।

राज्यले सबै अनुदान तिर्न सक्दैन, त्यसैले एउटा सीमा निर्धारण गर्नुपर्छ । नागरिकले पनि आफ्नो क्षमताअनुसार योगदान गर्नुपर्छ । बीमा कार्यक्रमको मोडल धेरै आम्दानी हुनेले बढी तिर्ने, आम्दानी नहुनेले नतिर्ने हो । यसले बोझ बढाउने होइन, बरु बोझ र जोखिमको बाँडफाँट गर्छ र ठूलो स्रोत जम्मा हुन्छ ।

सामान्य अवस्थामा १०० जना बीमितमध्ये १० देखि १५ जनाले मात्र उपचार लिनुपर्ने हो । तर नेपालमा सबै बिमितले सेवा लिने अवस्था बन्यो, किनकि सबै नागरिक बीमामा समेटिन सकेनन् । यसको मूल समस्या सेवा गुणस्तरभन्दा पनि स्रोत व्यवस्थापनको कमजोरी देखिएको छ ।

पछिल्लो तथ्यांकअनुसार सरकारले ७६ प्रतिशतभन्दा बढी अनुदान दिइरहेको छ । यस्तो मोडल कहिलेसम्म टिक्छ ? सरकारकै भरमा कार्यक्रम कति समय चल्छ ?

स्वास्थ्य बीमा कार्यक्रम चलेसम्म सरकारले नै तिर्ने हो । यदि कसैले अर्को विकल्प दिन्छ भने बोर्ड स्वीकार गर्न तयार छ । स्रोतका दुई मात्र उपाय छन्– राज्यको अनुदान र नागरिकको प्रिमियम ।

बोर्डले गरेको अध्ययनमा सन् २०३० सम्म बिमितको संख्या कम्तीमा १ करोड २० लाख पुग्छ । कार्यक्रम अझै प्रभावकारी रूपमा लैजान सकियो भने २ करोडसम्म पुग्न सक्छ । त्यतिबेला राज्यले तिर्नुपर्ने रकम करिब ६० अर्ब रुपैयाँ हुन्छ । अहिलेको अवस्थामा बिमितबाट उठ्ने प्रिमियम रकम १० अर्ब हुन्छ । बाँकी राज्यले नै तिर्नुपर्छ ।

आम्दानीको मुख्य स्रोत राज्य नै हो । राज्यले ५० प्रतिशत तिर्छ भने त्यसअनुसार प्रिमियम निर्धारण गर्नुपर्छ । यदि राज्यले ८० प्रतिशत तिर्छ भने नागरिकबाट २० प्रतिशत उठाउनुपर्छ । यो अनुपात राज्यले नै निर्धारण गर्नुपर्छ ।

सरकारले थेग्न नसकेर स्वास्थ्य बीमा सेवा निजी कम्पनीलाई सुम्पिने तयारी भइरहेको सुनिन्छ । स्वास्थ्य बीमा बोर्डले यसलाई कसरी हेरेको छ ?

त्यस्तो कुरा चलेको छ भने सम्भावना वा तर्कको विषय मान्दिनँ । यसबारे कुनै ठोस छलफल वा अर्थपूर्ण तर्क छैन । त्यसैले यसमा कुनै विशेष अर्थ देख्दिनँ ।

कार्यकारी निर्देशकको हैसियतले स्वास्थ्य बीमा कार्यक्रमलाई सफल मान्नुहुन्छ कि असफल ?

स्वास्थ्य बीमा कार्यक्रम अत्यन्त सफल छ । नेपालमा सफल भएका सीमित कार्यक्रमहरूमध्ये एक हो स्वास्थ्य बीमा । कठिन परिस्थितिका बीच पनि आम जनतालाई यो स्तरको सेवा दिन सफल भएको छ ।

अघिल्लो अध्यक्ष गुणराज लोहनीले बीमालाई सोचेअनुसार काम गर्न नसकिएको भन्दै मार्गप्रशस्त गर्नुभयो । तर बीमा धराशायी बन्दै जाँदा तपाईंले पद मात्रै ओगटेको जस्तो देखियो नि ?

के सफल र के असफल भन्ने कुरा गम्भीर विषय हो । म यति सुनिश्चित गर्न सक्छु कि, स्रोत व्यवस्थापनमा राज्यको पर्याप्त सहयोग र कानुन कार्यान्वयनमा सहयोग हुँदा आधा समस्या समाधान हुन्छ । त्यसपछि अपेक्षाभन्दा राम्रो नतिजा आउन सक्छ ।

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकको हैसियतले कमजोरी देखिएमा जुनसुकै ठाउँमा उभिएर जवाफदेहिता लिन तयार छु । तर बोर्डको क्षमताभन्दा बाहिरका विषयहरू कार्यकारी निर्देशकलाई मात्र सोधिरहनु उचित हुँदैन ।

१० वर्षमा १२ जना कार्यकारी निर्देशक फेरिएका छन् । भोलि थपिए पनि मूल समस्या समाधान नगरी व्यक्तिमाथि मात्र प्रश्न उठाएर अर्थ लाग्दैन ।

समस्या समाधान गर्ने स्पष्ट मार्गचित्र छ । राज्यको पर्याप्त सहयोग रहेमा यी समस्या दीर्घकालीन होइनन् ।

फोटो र भिडियो : शंकर गिरी





Read More