― Advertisement ―

Meet Kali365 – ‘साइबर क्राइमको अमेजन’ जहाँ ह्याकरहरूले बहु-कारक प्रमाणीकरणलाई पूर्ण रूपमा रोक्न AI प्रयोग गर्छन्।

कलिइसिङ-सर्भिस-प्लेटफर्म पनि सोहीअनुसारको छ। Octopi365 र Freedom365 को रूपमा चिनिन्छ, जसले Microsoft खाताहरूलाई लक्षित गर्दछयो पहिलो पटक मे 2026 मा सुरक्षा फर्म हनट्रेसले चीनबाट सुरु...
HomeLatest newsयौनांग अस्पष्ट थियो, पिसाब चुहिएर शरीर नै गन्हाउन थाल्यो

यौनांग अस्पष्ट थियो, पिसाब चुहिएर शरीर नै गन्हाउन थाल्यो


राष्ट्रिय

समाचार.

  • अमरले जन्मदेखि पिसाब चुहिने समस्या भोग्दै सामाजिक भेदभाव र मानसिक पीडाबाट गुज्रिएर आफ्नो अन्तरलिंगी पहिचान स्थापित गरेका छन्।
  • उनले २०७३ मा वीर अस्पतालमा सफल शल्यक्रिया गराएर पिसाब चुहिने समस्या रोक्न सफल भएका छन् र अहिले नियमित स्वास्थ्य परीक्षण गराइरहेका छन्।
  • अमर अहिले क्याम्पेन फर चेन्जमा फिल्ड अफिसरको रूपमा काम गर्दैछन् र अन्तरलिंगी समुदायका अधिकारका लागि सक्रिय छन्।

जन्मँदा उनी छोरी थिइनन् । छोरो पनि थिएनन् । के थिए त ? यौनाङ्ले त्यसको स्पष्ट जवाफ दिदैनथ्यो । त्यसमाथि अर्को दुःख थपिएको थियो, पिसाब चुहिने । उनी हुर्कँदै गए, पिसाब चुहिने समस्या यथावत रह्यो। अब कसरी आफूलाई ढाकछोप गर्ने ?

यही प्रश्नले पिरोल्न थालेपछि उनी मान्छेहरूको भीडबाट अलग हुँदै गए । साथीबाट, आफन्तबाट अनि समाजबाट । उनी एक्लो भए, नितान्त ।

‘म किन यस्तो जन्मिएँ ? मलाई मात्र किन यस्तो भयो ?’ यसको जवाफ आमासँग थिएन, बाबासँग थिएन ।

साथीहरू भन्थे, ‘ओइ बासमति ? ओइ मुतुवा ?’

तिनीहरूले जबरजस्ती कट्टु खोलिदिन्थे । अनि जिस्काउँदै भन्थे, ‘तँ छोरा होइन, छोरी पनि होइन ।’

गाउँ–छिमेकले हरेक भेटमा सोध्ने प्रश्न उही हुन्थ्यो, ‘यो छोरा कि छोरी ?’

‘म को हुँ त ?’ बाल्यकालमा यही प्रश्नले उनलाई रुवाइरह्यो । साथीहरूले खेलकुदमा सामेल नगराउने । भेट्यो कि, जिस्क्याउने । चलाउने । कट्टु तानिदिने । उनलाई घरको संघार नाघेर बाहिर निस्कनै गाह्रो भयो ।

कहिलेकाहीँ रहरले भीडमा मिसिन्थे, रमझममा पुग्थे । तर, पिसाब चुहिने डरले यसरी अत्याउँथ्यो कि उनी हतार–हतार त्यहाँबाट अलग हुन्थे ।

बुबाआमाले उनलाई छोराको रूपमा हुर्काए । कागजातका ‘लिंग’मा पुरुष लेखियो ।

साथीहरूले अमरलाई खेलमा समावेश गर्दैनथे, जसले गर्दा अमर घरबाट बाहिर निस्किन डराउँथे । घरमै बस्न रुचाउँथे, तैपनि समाजका मानिसहरूले ‘छोरा कि छोरी’ के हो भनेर परिवारमा प्रश्न गरिरहन्थे ।

उनी भिडभाड भएका ठाउँबाट टाढा रहन्थे, र घरमा नयाँ पाहुना आएमा लुकेर बस्थे । पिसाब चुहिने र उनीहरूबाट नराम्रो शब्द सुन्नु पर्ने डरले ।

‘मलाई किन यो समस्या ? किन मलाई मात्र यो अपमान ?’ यस्ता विचारहरूले अमरलाई रातभरि सुत्न दिँदैनथे ।

उनले तेस्रो लिंगीव्यक्तिहरूबारे कतैकतै सुनेका थिए, तर उनीहरूको व्यवहार र पहिचान अमरसँग मेल खाँदैन थियो । आफ्नो पहिचान पहिल्याउन नसकेको कुराले उनलाई अझ एक्लो महसुस गराउँथ्यो ।

कसैले नराम्रो शब्द प्रयोग गरेर जिस्काएमा उनी राति एक्लै रोइरहन्थे, आँसुले तकिया भिजाउँथे । यो दबाबले १०–१२ वर्षको उमेरमै आत्महत्या गर्ने सोच आयो । ‘हरेक व्यक्तिलाई शरीर देखाउनु भन्दा मर्नु नै राम्रो, तब कसैले हेर्न आउँदैन’ उनी सोच्थे ।

प्रयास पनि गरे, तर सफल भएनन् । यो पीडा केवल शारीरिक थिएन, यो आत्मिक घाउ थियो जसले अमरलाई जीवित रहनुको अर्थ प्रश्न गराउँथ्यो ।

स्कुल जीवन झन् पिडादायी

स्कुल जान थालेपछि अमरको समस्या झन् गहिरियो । शिक्षक र साथीहरूलाई उनको अवस्थाबारे थाहा थिएन, र अमरलाई पनि आफ्नो पहिचान स्पष्ट थिएन । पिसाब चुहिने समस्याले कपडा भिज्ने हुँदा साथीहरू र शिक्षकहरूले कपडा खोलेर हेर्ने गर्थे । ‘यो के हो ? के भएको ?’ यस्ता प्रश्नहरूले अमरलाई लज्जित बनाउँथ्यो ।

कक्षामा उनी अन्तिम बेन्चमा बस्थे, पढाइमा जिज्ञासा भए पनि प्रश्न सोध्न सक्दैनथे । शिक्षकहरूले पनि सोध्दैनथे, साथीहरू नजिक पर्दैनथे ।

बाटोमा साथीहरूले घेरेर यौनाङ्ग हेर्ने, मजाक गर्ने गर्थे । यसले अमरलाई स्कुल जान डर लाग्थ्यो । बिहान १०–११ बजेसम्म सुतेको बहाना गरेर स्कुल छाड्ने गर्थे ।

हुर्कंदै जाँदा समस्या बढ्यो । कपडा भिजेर गन्ध आउने डरले तीन–चार तह कपडा लगाउन थाले । जाडोमा ठिकै थियो, तर गर्मीमा पासिना आएर घाउ हुन्थ्यो र त्यसको दुखाइ असह्य हुन्थ्यो । ‘यो दुखाइ कति दिन सहनु ? किन मलाई मात्र यस्तो समस्या भएको होला ? अमरको मनमा यस्ता प्रश्नहरू घुमिरहन्थे ।

धेरै कपडा लगाएका कारण संक्रमण भएर, घाउ भएर उनी बारम्बार बिरामी पर्थे । यसो हुँदा उनको पढाइमा पनि असर पर्दै गयो । हप्तामा एक–दुई पटक मात्र स्कुल जान्थे । समस्या बढ्दै गएपछि अभिभावकहरूले स्कुलमा कुरा गरे, शिक्षकहरूले बुझे पनि साथीहरूको मजाक रोकिएन । उनको बाल्यकाल विभेद र पीडामा डुब्दै गइरहेको थियो

उपचारको असफल प्रयास

सानैमा बुबाले अमरलाई कोहलपुर अस्पतालमा उपचार गराउन लगेका थिए रे । त्यहाँ सात–आठ महिना बसे, तर डाक्टरहरूले बच्चाका लागि शल्यक्रिया जोखिमपूर्ण र महँगो भएको भन्दै उपचार गर्न सकेनन् । अस्पतालबाट फर्किएपछि समस्या ज्यूँकात्यूँ रह्यो । आर्थिक समस्या पनि थियो ।

१६–१७ वर्ष पुग्दा उनको जीवनमा परिवर्तन आयो । सन २०१६ को कुरा हो, एक अन्तरलिंगी दाइसँग उनको भेट भयो, जो आफूलाई पुरुष भनेर पहिचान गर्थे तर स्वर छोरी जस्तो थियो । उनी काठमाडौंमा हुँदै गरेको अन्तरलिंगीहरू राष्ट्रिय सम्मेलनमा भाग लिन बोलाउन आएका रहेछन् । अमरलाई यो अवसरले उत्साहित बनायो, तर यात्राको टेन्शन थियो- पिसाबले कपडा भिज्ने डर । अभिभावकहरूले अनुमति दिए, तर आमा चिन्तित थिइन् ।

उनी र अर्का साथी जसको समस्या पनि अमरको जस्तै थियो उनीहरूलाई त्यो दाइले बसमा काठमाडौँ ल्याए । बसको सिट भिज्ने डरले उनीहरू प्लास्टिक ओछ्याएर बसे । बसमा मानिसहरूले ‘कसले पिसाब फेरेछ’ भनेर कुरा गरे, तर उनीहरू डराएर चुप्प लागे ।

काठमाडौं पुगेर सुन्धाराको होटलमा बसे, त्यहाँ पनि प्लास्टिक ओछ्याएर सुते । सम्मेलनमा अमरले आफूजस्तै अन्य साथीहरू भेटे । सम्मेलनमा कुल १०–११ जना अन्तरलिंगी थिए । त्यहाँ उनले आफू अन्तरलिंगी रहेछु भन्ने कुरा बुझे ।

उपचार र स्वास्थ्य सुधार

सम्मेलनमा अमरको समस्या देखेर क्याम्पेन फर चेन्जका कार्यकारी निर्देशक इशान रेग्मीले उनलाई अस्पताल लैजाने निर्णय गरे । अन्य अस्पताल महँगो भएकाले वीर अस्पतालमा गए । डाक्टरहरूले उपचार हुने तर समय लाग्ने सुनाए । त्यसपछि २०७३ मा अमर अस्पताल भर्ना भए । अस्पतालमा विभिन्न जाँच र इन्जेक्सनको दुखाइ सहनु पर्‍यो । यो पीडा उनले इशानलाई सुनाउन्थे र रुन्थे । अभिभावक काठमाडौँमा नभएकोले इशानले नै उनलाई अभिभावक जस्तै साथ दिई सहयोग गरे ।

अस्पतालमा पनि अमरले विभिन्न विभेद सहनुपर्यो । चिकित्सकहरूले उनको यौनाङ्गको फोटो भिडियो बारम्बार लिन्थे । नर्स र सरसफाइ गर्नेहरू गन्धको कारण उनीबाट टाढा रहन्थे, जसले अमरलाई थप पीडा दिन्थ्यो ।

वैशाखमा उनको पहिलो जटिल शल्यक्रिया भयो, त्यसको केही समयपछि अर्को शल्यक्रिया पनि भयो । २–३ वर्ष अस्पताल आउजाउ गरे । इशान रेग्मीको सहयोगमा उनकै कोठामा बसेर उनले उपचार गरे । शल्यक्रिया सफल भयो, पिसाब चुहिने समस्या रोकियो । तर अब उनी प्राकृतिक रूपमा पिसाब फेर्न सक्दैनन् ।

प्रत्येक ३–४ घण्टामा युरोलोजी पाइप प्रयोग गर्नुपर्ने भयो । संक्रमणको डरले वर्षमा ३–४ पटक जाँच गर्नुपर्छ, जुन अहिले पनि जारी छ । यो परिवर्तनले अमरलाई नयाँ आत्मविश्वास दियो, तर संघर्ष समाप्त भएको छैन ।

आगामी आशा

शल्यक्रियाले अमरको पढाइ २–३ वर्ष रोकियो । केही समय उनले काठमाडौंको एक रेस्टुरेन्टमा हेल्पर हुँदै कुकको रूपमा काम गरे । साथीहरू अगाडि बढे, अफू पछि परें जस्तो लागेर अमरलाई पढाइ छोड्ने सोच आयो । तर इशानले पढ्नुपर्छ भनेर सम्झाए, सहयोग पनि गरे । त्यसैले उनले नियमित पढेर प्लस टु पास गरी अहिले ब्याचलर गर्दै छन् । २०१७ देखि भने क्याम्पेन फर चेन्जमा फिल्ड अफिसर रूपमा बर्दियाबाट काम गर्दै छन् । पढाइ र काम सँगसँगै चलाइरहेका छन् ।

‘मेरो पीडाले मलाई बलियो बनायो । अब म अरू अन्तरलिंगीहरूलाई सहयोग गर्न चाहन्छु’ उनको अठोट छ । उनको सुझाव छ- समाजले अन्तरलिंगीलाई बुझ्नुपर्छ । उनीहरू न तेस्रो लिंगी हुन्, न असामान्य । यो प्राकृतिक विविधता हो ।

बाल्यकालदेखि विभेद, शारीरिक पीडा, सामाजिक अस्वीकार्यता र आत्मसंघर्ष पार गर्दै उनले अहिले आत्मपहिचान स्थापित गरेका मात्रै छैनन्, बरू आफ्नो समुदायका अन्य अन्तरलिंगी व्यक्तिहरूको अधिकार र आवाजका लागि पनि सक्रिय छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More