― Advertisement ―

वैज्ञानिकहरूले क्वान्टम कम्प्युटरमा पूर्ण जीनोम लोड गर्छन्, वास्तविकताको नजिक छिटो डीएनए विश्लेषण गर्दै

Dometite कोडमा पूरा गर्नुहोस् अवधारणाको प्रमाण माइलस्टोनअनुसन्धानकर्ताहरूले जटिल मानव प्यान्जेनोम विश्लेषण कार्यहरूको लागि भविष्यमा 100x स्पीडअपहरू लक्षित गर्छन्वैज्ञानिकहरूले सावधानीपूर्वक व्यावहारिक क्वान्टम जीनोमिक्स अझै पनि...
HomeLatest newsयो ‘लागुऔषध आतंकवाद’ विरुद्धको युद्ध हो ? – KhabarHost

यो ‘लागुऔषध आतंकवाद’ विरुद्धको युद्ध हो ? – KhabarHost



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनाले भेनेजुएलामा सैन्य आक्रमण गरी भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिएको बताएका छन् ।

अमेरिकी राष्ट्रपतिले सामाजिक सञ्जालमा लेख्दै मादुरो र उनकी पत्नी, प्रथम महिला सिलिया फ्लोरेसलाई देशबाहिर लगिएको बताएका छन् । उनीहरू अहिले कहाँ छन् भन्ने कुरा स्पष्ट छैन ।

भेनेजुएलाका रक्षामन्त्री भ्लादिमिर पाद्रिनोले सशस्त्र बलहरूले देशको सार्वभौमिकताको रक्षा गर्ने बताएका छन् ।

भेनेजुएलाभित्र भएका यी आक्रमणहरू मादुरो सरकारविरुद्ध अमेरिकाले चलाएको दबाब अभियानपछि भएका हुन् । ट्रम्प प्रशासनले मादुरो सरकारले अमेरिकातर्फ लागूऔषध र गिरोहका सदस्यहरू पठाएको आरोप लगाउँदै आएको छ । यो घटनापछि संसारभर  अमेरिकाले गरेको  अर्को मुलुकमाथिको प्रत्यक्ष हस्तक्षेप भन्दै विरोध पनि भइरहेको छ । अमेरिकाले अर्को मुलुकको सार्वभौमसत्तामाथिको आक्रमण पनि भनेका छन् ।

के मादुरो सत्ताच्युत भएका हुन् ?

अहिलेसम्म यसबारे यकिन भन्न गार्‍हो  छ । ट्रम्पले सामाजिक सञ्जालमा खुलासा गरेको कुरा अनुसार अमेरिकाले भेनेजुएला र यसका नेताविरुद्ध ठूलो स्तरको आक्रमण सफलतापूर्वक सम्पन्न गरेको भनेका छन् ।

मादुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिएर देशबाहिर लगिएको पनि भनेका छन् ।

तर यससँगै भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले मादुरो कहाँ छन् वा उनी जीवित छन् कि छैनन् भन्ने थाहा नभएको बताएकी छन् । यसले मादुरो पदबाट हटाइएको संकेत गर्छ ।

तर भेनेजुएलाका रक्षामन्त्री र रोड्रिगेज अझै देशमै छन् र टेलिभिजनमा देखा परेका छन्, जसले मादुरो सरकारका मुख्य सदस्यहरू अझै सत्तामा रहेको देखाउँछ ।

कारबाही कसरी भयो ?

अमेरिकी कारबाही कसरी सम्पन्न भयो भन्नेबारे अहिलेसम्म थोरै विवरण मात्र उपलब्ध रहेको सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

भेनेजुएलाभित्रबाट आएका भिडियोहरूमा ठूला विस्फोटहरू देखिन्छन् ।  राजधानी कराकासका बासिन्दाहरूले विमान र विस्फोटको आवाज सुनेको बताएका छन् ।

राजधानीका विभिन्न भागबाट धुवाँ उडिरहेको देखिन्थ्यो र हेलिकप्टरहरू समूह बनाएर उडिरहेको देखिएको थियो ।

धेरै आक्रमण सैनिक प्रतिष्ठानहरू लक्षित गरिएको बताइएको छ ।

अमेरिकी अधिकारीहरूले बीबीसीको अमेरिकी साझेदार सीबीएस न्युजलाई यी आक्रमणहरू ट्रम्प प्रशासनको आदेशमा गरिएको बताएका छन् ।

उनीहरूले सीबीएस न्युजलाई मादुरोलाई अमेरिकी सेनाको शीर्ष आतंकवादविरोधी इकाइ डेल्टा फोर्सले नियन्त्रणमा लिएको पनि बताएका छन् । तर यसबारे थप विवरण अहिलेसम्म उपलब्ध छैन ।

भेनेजुएला सरकारले कराकासमाथि आक्रमण भएको पुष्टि गर्दै मिरान्डा, ला ग्वाइरा र अरागुवा राज्यहरूमा पनि आक्रमण भएको जनाएको छ ।

मादुरो कसरी सत्तामा आए ?

निकोलास मादुरो वामपन्थी राष्ट्रपति ह्युगो चाभेज र उनको युनाइटेड सोसलिस्ट पार्टी अफ भेनेजुएलाको नेतृत्वमा उदाएका हुन् ।

पूर्व बस चालक र श्रमिक संघका नेता मादुरोले चाभेजको उत्तराधिकारीका रूपमा २०१३ देखि राष्ट्रपति पद सम्हाल्दै आएका छन् ।

चाभेज र मादुरोले २६ वर्ष सत्तामा रहँदा उनीहरूको पार्टीले राष्ट्रिय सभा, न्यायपालिका र निर्वाचन परिषद् जस्ता प्रमुख संस्थाहरूमा नियन्त्रण जमाएको छ ।

२०२४ मा मादुरोलाई राष्ट्रपति चुनावको विजेता घोषित गरियो । यद्यपि विपक्षीहरूले सङ्कलन गरेको मतपरिणामले उनीहरूका उम्मेदवार एडमुनडो गोन्जालेजले ठूलो मतान्तरले जितेको देखाएको थियो ।

गोन्जालेजले मुख्य विपक्षी नेता मारिया कोरिना माचाडोलाई प्रतिस्थापन गरेका थिए, किनकि उनलाई चुनाव लड्न रोक लगाइएको थियो ।

मारियालाई  तानाशाहीबाट लोकतन्त्रतर्फ न्यायपूर्ण र शान्तिपूर्ण संक्रमणका लागि गरेको संघर्षको कारण गत अक्टोबरमा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।

यात्रा प्रतिबन्धको अवहेलना गर्दै माचाडो डिसेम्बरमा ओस्लो पुगेर पुरस्कार ग्रहण गरिन् ।

उनले भेनेजुएला फर्किने योजना बनाएको बताइन्, जसले उनलाई भेनेजुएला अधिकारीहरूले फरार घोषणा गरेकाले पक्राउ पर्ने जोखिममा पार्न सक्छ ।

ट्रम्पले किन निशाना बनाए ?

ट्रम्पले सयौं हजार भेनेजुएलाली आप्रवासी अमेरिका पुगेको र यसको जिम्मेवार मादुरोलाई ठहर्‍याएका छन् । २०१३ यता देशको आर्थिक संकट र दमनका कारण करिब ८० लाख भेनेजुएलाली देश छोडेर भागेका अनुमान छ ।

ट्रम्पले बिना प्रमाण मादुरोले जेल र मानसिक अस्पताल खाली गराएर त्यहाँका मानिसहरूलाई जबर्जस्ती अमेरिका पठाएको आरोप लगाएका छन् ।

ट्रम्पले विशेषगरी फेन्टानिल र कोकिन जस्ता लागूऔषधको अमेरिकामा हुने अवैध आपूर्तिविरुद्ध लडाइँमा ध्यान दिएका छन् ।

उनले भेनेजुएलाका दुई आपराधिक समूह : ट्रेन दे अरागुवा र कार्टेल दे लोस सोलेसलाई विदेशी आतंकवादी संगठन  घोषणा गरेका छन् र दोस्रो समूहको नेतृत्व स्वयं मादुरोले गरेको आरोप लगाएका छन् ।

विश्लेषकहरूका अनुसार कार्टेल दे लोस सोलेस कुनै संगठित समूह होइन ।

ट्रम्पले मादुरोलाई पक्राउ गर्न सहयोग गर्ने जानकारीका लागि दिइने इनाम दोब्बर पारेका थिए ।

मादुरोले आफू कार्टेल नेता भएको आरोप कडा रूपमा अस्वीकार गर्दै अमेरिका लागूऔषधविरुद्धको युद्ध लाई बहाना बनाएर आफूलाई सत्ताच्युत गर्न र भेनेजुएलाको विशाल तेल भण्डार कब्जा गर्न खोजिरहेको आरोप लगाउँदै आएका थिए ।

के भेनेजुएलाले अमेरिकामा लागूऔषध पठाउँथ्यो ?

लागूऔषध नियन्त्रणसम्बन्धी विज्ञहरूका अनुसार भेनेजुएला विश्वव्यापी लागूऔषध तस्करीमा तुलनात्मक रूपमा सानो भूमिका खेल्ने देश हो । यो मुख्यत: अन्यत्र उत्पादन भएका लागूऔषधहरू तस्करी गरेर लैजाने ट्रान्जिट देश का रूपमा प्रयोग हुने गर्छ ।

छिमेकी देश कोलम्बिया विश्वकै सबैभन्दा ठूलो कोकिन उत्पादक हो, तर त्यसको अधिकांश भाग भेनेजुएलामार्फत होइन, अन्य मार्गबाट अमेरिका पुग्ने विश्वास गरिन्छ ।

२०२० को अमेरिकी ड्रग इन्फोर्समेन्ट एडमिनिस्ट्रेशनको प्रतिवेदनअनुसार अमेरिकामा पुग्ने करिब तीन चौथाइ कोकिन प्रशान्त महासागरमार्फत तस्करी हुने अनुमान छ । जबकी, क्यारिबियन क्षेत्रमा तीव्र गतिको डुङ्गामार्फत आउने मात्रा निकै सानो छ ।

अमेरिकाले सुरुमा गरेको अधिकांश आक्रमण क्यारिबियन क्षेत्रमा भएपनि पछिल्ला आक्रमणहरू प्रशान्त क्षेत्रमा केन्द्रित भएका छन् ।

सेप्टेम्बरमा ट्रम्पले अमेरिकी सैनिक नेतृत्वलाई लक्षित गरिएका डुङ्गाहरू मुख्यतया फेन्टानिल र अन्य लागूऔषधले भरिएका सेता धुलोका झोलाहरूले खचाखच भरिएका भएको बताएका थिए ।

फेन्टानिल एक कृत्रिम लागूऔषध हो, जुन हेरोइनभन्दा ५० गुणा बढी शक्तिशाली हुन्छ र अमेरिकामा ओपिओइड ओभरडोजका कारण हुने मृत्युको प्रमुख कारण बनेको छ ।

डिसेम्बर १५ मा ट्रम्पले फेन्टानिललाई सामूहिक विनाशको हतियार घोषणा गर्दै कार्यकारी आदेशमा हस्ताक्षर गरे । उनले यो लागूऔषधभन्दा रासायनिक हतियारसँग बढी नजिक भएको तर्क गरे ।

तर फेन्टानिल मुख्य रूपमा मेक्सिकोमा उत्पादन हुन्छ र लगभग पूर्ण रूपमा दक्षिणी स्थलसीमाबाट जमिनमार्फत अमेरिका प्रवेश गर्छ ।

२०२५ को राष्ट्रिय लागूऔषध खतरा मूल्याङ्कन प्रतिवेदनमा अमेरिकामा तस्करी भएर आउने फेन्टानिलको स्रोत देशको रूपमा भेनेजुएलाको नाम उल्लेख गरिएको छैन ।

यो अवस्था कसरी आयो  ?

गत वर्ष जनवरीमा ट्रम्पले आफ्नो दोस्रो कार्यकाल सुरु गरेपछि मादुरो सरकारमाथि दबाब क्रमश: बढ्दै गयो ।

पहिलो चरणमा ट्रम्प प्रशासनले मादुरोलाई पक्राउ गर्न सहयोग गर्ने जानकारीका लागि दिइने इनाम दोब्बर बनायो ।

सेप्टेम्बरमा अमेरिकी सेनाले दक्षिण अमेरिकाबाट अमेरिका तर्फ लागूऔषध बोकेको आरोप लगाइएका जहाजहरूलाई लक्षित गर्न थाल्यो ।

त्यसयता क्यारिबियन र प्रशान्त क्षेत्रमा यस्ता जहाजहरूमाथि ३० भन्दा बढी आक्रमण भएका छन्, जसमा ११० भन्दा बढी मानिसको मृत्यु भएको छ ।

ट्रम्प प्रशासनको तर्क अनुसार अमेरिका कथित लागूऔषध तस्करहरूसँग गैर–अन्तर्राष्ट्रिय सशस्त्र द्वन्द्वमा संलग्न छ, जसले अमेरिकाविरुद्ध अनियमित युद्ध सञ्चालन गरिरहेको आरोप लगाइएको छ ।

तर कानुनविद्हरूका अनुसार यी आक्रमणहरू सैन्य लक्ष्यविरुद्ध होइनन् ।

सेप्टेम्बर २ मा भएको पहिलो आक्रमण विशेष रूपमा विवादास्पद बनेको थियो । किनकि, पहिलो आक्रमणबाट बचेका व्यक्तिहरू दोस्रो आक्रमणमा मारिएका थिए ।

अन्तर्राष्ट्रिय आपराधिक अदालतका एक पूर्व प्रमुख अभियोजकले बताएअनुसार, अमेरिकी सैन्य अभियान शान्तिकालमा नागरिकहरूमाथि योजनाबद्ध र प्रणालीगत आक्रमणको दर्जामा पर्छ ।

यसको जवाफमा ह्वाइट हाउसले लागूऔषध कार्टेलहरूले अमेरिकाको तटमा विष ल्याएर अमेरिकी जीवन नष्ट गर्न खोजिरहेका भन्दै सशस्त्र द्वन्द्वसम्बन्धी कानुनअनुसार नै कारबाही गरिएको दाबी गरेको छ ।

अक्टोबरमा ट्रम्पले भेनेजुएलाभित्र गोप्य कारबाही गर्न सीआईएलाई अनुमति दिएको बताएका थिए ।

उनले आफूले ‘नार्को–आतंकवादी’ भनेका समूहहरूविरुद्धस्थल आक्रमणको धम्की पनि दिएका थिए ।

ट्रम्पले डिसेम्बर २४ मा यस्ता आक्रमणहरूमध्ये पहिलो सम्पन्न भएको बताए, तर विस्तृत जानकारी नदिँदै लागूऔषध बोकेको आरोप लगाइएका डुङ्गा लोड भइरहेको ठाउँमै आक्रमण गरिएको मात्र बताए ।

ट्रम्पले बारम्बार मादुरो अमेरिकाको मित्र होइन भन्दै उनका लागि पद छोड्नु बुद्धिमानी हुने बताउँदै आएका थिए ।

उनले भेनेजुएलामा प्रवेश गर्ने र बाहिरिने प्रतिबन्धित तेल ट्यांकरहरूमाथि पूर्ण नौसैनिक नाकाबन्दी घोषणा गर्दै आर्थिक दबाब पनि बढाएका छन् । तेल नै मादुरो सरकारको मुख्य वैदेशिक आम्दानी स्रोत हो ।

अमेरिकाले फेन्टानिल र कोकिनको आपूर्ति रोक्ने उद्देश्यका साथ क्यारिबियन क्षेत्रमा ठूलो सैन्य शक्ति पनि तैनाथ गरेको छ ।

यो बलले लागूऔषध तस्करीको आरोप लागेका जहाजहरूलाई मात्र होइन, नौसैनिक नाकाबन्दी कार्यान्वयनमा पनि महत्वपूर्ण भूमिका खेलेको छ ।

क्यारिबियन क्षेत्रमा अमेरिकाले कति ठूलो सैन्य शक्ति तैनाथ गरेको छ ?

अमेरिकाले क्यारिबियन क्षेत्रमा १५ हजार  सैनिक तथा विमानवाहक युद्धपोत, निर्देशित क्षेप्यास्त्र विध्वंसक जहाज र उभयचर आक्रमण जहाजहरू तैनाथ गरेको छ ।

यसमा संसारकै सबैभन्दा ठूलो विमानवाहक युद्धपोत यूएसएस जेराल्ड फोर्ड पनि समावेश छ ।

डिसेम्बर १० मा भेनेजुएलाको तट नजिक एक तेल ट्यांकर नियन्त्रणमा लिनुअघि त्यही जहाजबाट अमेरिकी हेलिकप्टरहरू उडेको बताएको छ ।

अमेरिकाले उक्त ट्यांकर भेनेजुएला र इरानबाट प्रतिबन्धित तेल ढुवानी गर्न प्रयोग गरिएको दाबी गरेको छ ।

भेनेजुएलाले भने यसलाई अन्तर्राष्ट्रिय समुद्री डकैतीको कार्य भनेको छ ।

त्यसयता अमेरिकाले भेनेजुएलाको पानी क्षेत्रमा थप दुई ट्यांकरहरूलाई पनि निशाना बनाएको छ ।

भेनेजुएलाले कति तेल निर्यात गर्छ ? कसले किन्छ ?

मादुरोले लामो समयदेखि ट्रम्प प्रशासनले आफूलाई सत्ताच्युत गरेर भेनेजुएलाको तेल सम्पदा कब्जा गर्न खोजिरहेको आरोप लगाउँदै आएका छन् ।

यो आरोप ट्रम्पले पहिलो पटक भेनेजुएलाको तट नजिकबाट ट्यांकर नियन्त्रणमा लिएपछि दिएको एक टिप्पणीसँग जोडिएको छ ।

पत्रकारहरूले ट्यांकर र त्यसको तेलको के हुन्छ भनेर सोध्दा ट्रम्पले भनेका थिए– मलाई लाग्छ हामी त्यो तेल राख्नेछौँ ।

तर अमेरिकी अधिकारीहरूले मादुरो सरकारविरुद्ध गरिएका कदमहरू देशको अप्रयुक्त तेल भण्डारमा पहुँच प्राप्त गर्ने प्रयास नभएको दाबी गर्दै आएका छन् ।

भेनेजुएलासँग विश्वकै सबैभन्दा ठूलो प्रमाणित कच्चा तेल भण्डार छ । तेल क्षेत्रबाट हुने आम्दानीले सरकारको आधाभन्दा बढी बजेट धान्छ ।

तर प्रतिबन्ध, लगानीको कमी र राज्य–नियन्त्रित तेल कम्पनीभित्रको अव्यव्स्थाका कारण यसको निर्यात प्रभावित भएको छ ।

अमेरिकी ऊर्जा सूचना प्रशासनका अनुसार २०२३ मा भेनेजुएलाले विश्वको कच्चा तेल उत्पादनको केवल ०.८ प्रतिशत मात्र उत्पादन गरेको थियो ।

हाल भेनेजुएलाले प्रतिदिन करिब ९ लाख ब्यारेल तेल निर्यात गर्छ, र चीन यसको सबैभन्दा ठूलो खरिदकर्ता हो ।

(बीबीसीमा प्रकाशित सामग्रीमा अधारित)





Read More