― Advertisement ―

मार्वलको वोल्भरिनमा एक्स-मेन अवस्थित छैन किनभने म्युटेन्टहरू यस संसारमा सुरक्षित छैनन्, इन्सोम्नियाक भन्छन् – ‘हामी मानिसहरूलाई सम्झाउन चाहन्छौं कि म्युटेन्टको लागि अस्तित्व सुरक्षित छैन।...

Insomniac मा खेलहरू अवस्थित छन् भन्छन्। Marvel's Wolverine किनकि म्युटेन्टहरू यस संसारमा सुरक्षित छैनन्कथा निर्देशक वाल्ट विलियम्स भन्छन् कि म्युटेन्टहरू बाहिरका हुन्, र लोगानको...
HomeLatest newsभावी प्रधानमन्त्री को ? – KhabarHost

भावी प्रधानमन्त्री को ? – KhabarHost



११ मंसिर,काठमाडौं । आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । तोकिएको मितिमै चुनाव भयो भने अबको तीन/चार महिनापछि देशले नयाँ प्रधानमन्त्री पाउने छ । तर, प्रश्न अनुत्तरित नै छ– देशले अब कस्तो प्रधानमन्त्री पाउला ?

लोकतान्त्रिक देशहरूमा प्रायः चुनावअघि नै भावी प्रधानमन्त्री वा राष्ट्रपतिको सम्भावित उम्मेदवार थाहा हुन्छ । राजनीतिक दलहरूले चुनावमा जाँदाखेरि नै फलाना नेता सरकार प्रमुख बन्नेछन् भनेर जनतासँग भोट माग्छन् ।

जस्तो– छिमेकी भारतमा बीजेपीले गत वर्ष पनि नरेन्द्र मोदीलाई नै भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर चुनाव लडेको थियो । भारतीय कंग्रेसले राहुल गान्धीलाई प्रधानमन्त्रीका रूपमा अघि सारेर भोट मागेको थियो । जापानमा हालै सम्पन्न चुनावमा को नेता प्रधानमन्त्री बन्दैछ भन्ने जनतालाई लगभग पूर्वानुमान थियो ।

नेपालमा ०५१ सालको मध्यावधि चुनावमा एमालेले मनमोहन अधिकारीलाई ‘भावी प्रधानमन्त्री’का रूपमा प्रस्ताव गरेको थियो । एमाले ठूलो दल बन्यो र ९ महिना अल्पमतको सरकार चलायो । मनमोहन अधिकारी पहिलो कम्युनिस्ट प्रधानमन्त्री बन्न सफल भए । केपी ओली त्यसबेला गृहमन्त्री बनेका थिए ।

आफ्नै सरकार ढलेर मध्यावधि चुनावमा गएपछि गिरिजाप्रसाद कोइराला अलोकप्रिय बने । ०५१ सालको मध्यावधि चुनावमा कांग्रेस दोस्रो दलमा खुम्चियो । अन्ततः ०५६ को चुनावमा कांग्रेसले कृष्णप्रसाद भट्टराईलाई ‘भावी प्रधानमन्त्री’ घोषणा गरेर जनतासँग मत माग्यो र बहुमतको सरकार बनाउन सफल भयो ।

पहिलो संविधानसभा चुनावमा माओवादीले प्रचण्डलाई भावी प्रधानामन्त्री मात्र होइन, भावी राष्ट्रपतिकै रूपमा प्रचार गर्‍यो र होडिङ बोर्डहरू बनायो । यही कारण माओवादीका आलोकचकहरू कहिलेकाहीँ ‘भित्ते राष्ट्रपति’ भनेर प्रचण्डलाई जिस्क्याउँछन् । भलै, त्यसयताका सबै चुनावमा माओवादीले प्रचण्डलाई नै भावी प्रधानमन्त्रीका रूपमा अगाडि सारेर चुनाव लड्दै आएको छ ।

नेकपा एमालेले पनि करिब १० वर्षदेखि अध्यक्ष केपी शर्मा ओलीलाई नै ‘भावी प्रधानमन्त्री’का रूपमा अगाडि सारेर चुनाव लड्दै आएको छ । कांग्रेसले यसअघि शेरबहादुर देउवालाई ‘भावी प्रधानमन्त्री’ का रूपमा प्रस्तुत गर्दै आएको छ । यद्यपि ०७९ सालको चुनावमा गठबन्धन गरेका कांग्रेस–माओवादीले भावी प्रधानमन्त्री आलोपालो गर्ने भनेर भोट मागेका थिए ।

अब को बन्ला प्रधानमन्त्री ?

आगामी चुनावमा कुन पार्टीले कसलाई ‘भावी प्रधानमन्त्री’का रूपमा प्रस्तुत गरेर जनतामा भोट माग्लान् ? यो प्रश्न अहिलेसम्म अनुत्तरित नै छ ।

नेपाली कांग्रेसले शेबहादुर देउवालाई नै भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्छ या अरू कोही व्यक्तिको नाम अगाडि सार्छ ? कि कांग्रेस अझै पनि नेतृत्वको सवालमा अस्पष्ट नै बनेर चुनावमा जान्छ ?

अहिले युवाको हस्तक्षेप बढेका बेला कांग्रेसले गगन थापाको पुस्ताका नेतालाई ‘भावी प्रधानमन्त्री’ गर्न सक्छ ? अथवा, शेरबहादुर या पूर्णबहादुरलाई प्रधानमन्त्री बनाउनका लागि मत देऊ भनेर जनतालाई अपील गर्छ ?

हुन त कांग्रेसमा पार्टी शेखर कोइरालाले चलाउने, सरकार गगन थापाले चलाउने गरी छलफलसमेत चलिरहेको नेताहरू बताउँछन् । डा. शेखर कोइराला आफैं पनि प्रधानमन्त्रीका दाबेदार हुन् ।

नेकपा एमालेमा निरपेक्षरूपमा भावी प्रधानमन्त्री केपी शर्मा ओली नै अगाडि सर्ने निश्चित छ । तर, ओलीको नाम लिएर चुनावमा जाँदा भोट घट्छ भन्ने मत पनि एमालेभित्र छ । यदि ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अघि नसार्ने हो भने एमालेले देखाउने भावी प्रधानमन्त्री को ? विद्या भण्डारी ? ईश्वर पोखरेल ? या अरु नै कोही ?

अहिलेसम्म एमालेले केपी ओलीको भरपर्दो विकल्प दिन सकेको देखिँदैन । तर, भर्खरै सत्ताबाट बाहिरिएको एमालेका लागि केपी ओलीकै ‘फेस’ लिएर चुनावमा जाँदा सजिलो भने देखिँदैन । केपी ओलीलाई मन पराउनेहरू धेरै छन् तर थपिएका ८ लाख मतदातामा ओली अलोकप्रिय बनेका छन् । उनको लोकप्रियता ०७४ र ०७९ सालको जस्तो छैन ।

कतिपय मानिसहरूको अनुमान के छ भने आगामी चुनावमा कांग्रेस र एमाले मिलेर अघि बढ्ने सम्भावना छ । घोषित गठबन्धन नगरे पनि गुम्न लागेको शक्ति बचाउनका लागि चुनावमा एकले अर्कालाई सघाउने र चुनावपछि कांग्रेस–एमालेकै सरकार बनाउने तयारीमा पनि ओली र देउवा लागिरहेको सूत्रहरूको दाबी छ । तथापि दुवै पार्टीमा ओली–देउवाले सोचेको जस्तो नहुन पनि सक्छ ।

माओवादी भन्ने पार्टी यतिबेला छैन । माधव नेपाललगायतका दलसँग मिलेर ‘नेपाली कम्युनिस्ट पार्टी’ बनेको छ । यो पार्टीका नेता प्रचण्ड ‘भावी प्रधानमन्त्री’का अर्का दाबेदार हुन् । तर, यो दलमा प्रचण्डसँगै माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, भीम रावलजस्ता नेताहरू पनि छन् ।

प्रधानमन्त्रीमा नयाँ अनुहार खोजिरहेका जनतालाई यो पार्टीले अब नयाँ प्रधानमन्त्रीको नाम प्रस्ताव गर्नेछ या उनै प्रचण्डको नाममा चुनाव लड्ने छ ? यो स्पष्ट भइसकेको छैन । के नेपाली कम्युनिस्ट पार्टीले भावी प्रधानमन्त्रीका रूपमा नारायणकाजी श्रेष्ठ, भीम रावल वा अरु कसैलाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि सारेर भोट माग्न सक्ला ? कि प्रचण्डलाई नै विकल्प मानेर चुनावमा जाला ? यो प्रश्न पनि अनुत्तरित नै छ ।

तर, जनताले शेरबहादुर, ओली र प्रचण्डलाई एउटै डालोमा हालेर आलोचना गरिरहेको तथ्य पनि अविस्मरणीय नै छ ।

गत चुनावमा चौथो शक्ति बनेको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि चुनावमा भाग लिँदैछ । यो पार्टीले जेलमै रहेका रवि लामिछानेलाई नै भावी प्रधानमन्त्रीका रूपमा भोग माग्ने छ या डा. स्वर्णिम अथवा अरु कसैलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्ताव गर्ने छ ? यो पनि स्पष्ट भइसकेको छैन ।

विगतमा के पनि चर्चा चल्ने गरेको थियो भने बालेन र रवि लामिछाने मिल्नेछन् । तर, अहिलेसम्म त्यस्तो दृश्य अगाडि आइसकेको छैन । जेनजी आन्दोलनपछि बालेन शाहको अलोकप्रियता शुरु भएको छ । तैपनि उनी राजनीतिको खेलभन्दा बाहिर छैनन् ।

भदौ २४ पछि सुशीला कार्कीको ठाउँमा बालेनलाई नै प्रधानमन्त्री बनाउनुपर्छ भन्ने आवाज पनि नसुनिएको होइन । आगामी चुनावपछि ‘बालेनलाई प्रधानमन्त्री बनाउनुपर्छ’ भन्ने आवाज पनि सुनिन सक्छ, तर यो आवाज कुन दलले उठाउँछ, स्पष्ट छैन । रास्वपाले बालेनलाई बोक्छ या बोक्दैन, त्यो पनि खुलिसकेको छैन । रवि लामिछाने कहिले जेलमुक्त होलान्, त्यो पनि स्पष्ट छैन ।

जेनजी आन्दोलनपछि राजनीतिमा आएको ध्रुवीकरणबाट केही नयाँ पार्टीहरू बनेका छन् । यसै सिलसिलामा माओवादीबाट अलग बनेका जनार्दन शर्मा, राम कार्की र सुदन किरातीहरूले डा. बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीसँग एकता गरेर प्रगतिशील लोकतान्त्रिक पार्टी बनाएका छन् ।

सम्भवतः यो दलले डा. बाबुराम भट्टराईलाई नै भावी प्रधानमन्त्रीका रूपमा प्रस्ताव गर्ने सम्भावना देखिन्छ । तर, यहाँ पनि बाबुराम नै किन ? जनार्दन शर्मा या अरु कसैलाई विकल्पमा रूपमा अघि सार्दा के हुन्छ भन्ने प्रश्न पनि उठ्न सक्छ अहिलेको परिस्थितिमा ।

जेनजी आन्दोलनपछि पनि जेनजीहरूको दल यही नै हो भनेर स्पष्ट भइसकेको छैन । नयाँ–नयाँ पार्टीहरू त खुलेका छन् तर आगामी चुनावमा जेनजीको आधिकारिक प्रतिनिधित्व कुन दलले गर्ला ? यो स्पष्ट छैन ।

तथापि कुलमान घिसिङले बिजुलीको चिम चुनाव चिन्ह राखेर खोलेको ‘उज्यालो नेपाल पार्टी’ नै जेनजीको असली प्रतिनिधि पार्टी बन्ने सम्भावना देखिन्छ । त्यो अवस्थामा कुलमान घिसिङको नाम ‘भावी प्रधानमन्त्री’ का रूपमा अगाडि आउने सम्भावना देखिन्छ ।

चुनावमा जान निर्वाचन आयोगमा दल दर्ताको लागि ४ दिन समय थप गरिएको छ । रास्वपा र उनेपाबीच चुनावी सहकार्यदेखि पार्टी एकतासम्म हुने गृहकार्य अझै नरोकिएको खबरहरू पनि आइरहेका छन् ।

यस्तोमा लामिछानेलाई एकीकृत पार्टीको अध्यक्ष र घिसिङलाई प्रधानमन्त्री उम्मेदवारको रूपमा अगाडि सार्ने सम्भावना पनि अझै सकिएको छैन ।

आगामी चुनावले कस्तो शक्ति सन्तुलन बनाउने छ भन्ने स्पष्ट छैन । कांग्रेस र एमालेले फेरि पनि आफूहरू नै ठूलो दल बन्ने सोचेको देखिन्छ । कसैको पनि बहुमत आउँदैन भनेर विश्लेषण गर्नेहरू पनि उत्तिकै छन् । तर, पुरानाहरू कमजोर हुने र नयाँ शक्तिको उदय हुने अनुमान पनि गरिँदैछ ।

यो स्थितिमा नेपाली जनताको परिवर्तनको चाहनालाई आगामी चुनावलेअनुमोदन गर्‍यो भने सिंहदरबारमा प्रधानमन्त्रीको कुर्सीमा विगतको भन्दा बेग्लै अनुहार नआउला भन्न सकिँदैन ।

पुरानै पार्टीबाट आइहाले पनि नयाँ व्यक्ति आउन सक्ने सम्भावनालाई पनि अस्वीकार गर्न सकिँदैन । ओली, देउवा वा प्रचण्ड नै पो फेरि पनि आउने हुन् कि ? चुनावपछि नै थाहा हुनेछ ।

आखिर, जोसुकै आए पनि राजनीतिक दलहरूले जनतासँग भोट माग्न जाँदा दुईवटा चिज कोसेलीका रूपमा लिएरै जानुपर्ने हुन्छ– एउटा नीति, अर्को नेतृत्व ।

चुनावमा जाँदा घोषणापत्र लिएर जानैपर्ने हुन्छ । आगामी चुनाव जितेर के–के गर्ने ? देशलाई कुन बाटोमा लैजाने ?मतदानअघिदलको प्रतिवद्धतासहितको घोषणापत्र हेर्नुपर्ने हुन्छ ।

र, अर्को हो– नेतृत्व । जनतासँग भोट माग्ने पार्टीको नेतृत्व कस्तो छ ? उसले प्रत्यक्ष र समानुपातितर्फ कस्ता उम्मेद्वारहरू, कसरी छानेको छ ? ‘नेपोबेवी’ प्रयोग गरेको छ या योग्य एवं इमान्दारलाई उम्मेद्वार बनाएको छ ?अनि चुनावपछि सरकारको नेतृत्व कसले गर्नेवाला छ ? यी विषयहरू नेतृत्वसँग जोडिएका छन् ।

अब दलहरूको नीति र नेतृत्व दुवै हेरेरजनताले मतदान गर्ने छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More