राष्ट्रिय
समाचार.
- सल्लाघारीमा एमाले महाधिवेशनका सहभागीहरू स्थानीय नेताको अनुरोधमा आएका थिए र धेरैजसो तराई भेगका मान्छे थिए।
- महाधिवेशनमा एआई सिर्जित फोटो भाइरल भएपछि पार्टीको भिड कम देखिएको सन्देश बाहिरियो तर कार्यकर्ताको चहलपहल बाक्लै थियो।
- भृकुटीमण्डपमा भएको मतदानमा ओली पक्षको भारी बहुमत रहँदा महासचिवमा ईश्वर पोखरेलले जिते र ओलीले अध्यक्षमा ह्याट्रिक गरे।
यी मान्छे ल्याइएका हुन् कि आफैं आएका ? सल्लाघारीमा एमाले महाधिवेशनका सहभागीलाई लिएर सन्देह चल्दै थियो । ११औँ महाधिवेशनको उद्घाटन सत्र अवलोकनमा आएकाहरूको अनुमान थियो, ‘पक्कै ल्याइएका हुन् ।’
त्यसको आधार थियो, सहभागीहरूको अवोधपन । उनीहरूको जीवनमा पार्टी नेतृत्व कसको हातमा हुन्छ भन्नेले तात्विक फरक नपार्ने बुझाइ थियो । बरु गाउँकै स्थानीय नेताहरूको अनुरोध मुताबिक सल्लाघारीमा उपस्थित भएका देखिन्थे । यसमा सबैभन्दा धेरै बाहुल्यता तराई भेगका मान्छेको थियो ।
चाहे ७० वर्षीया लरवती मण्डल हुन् या ७५ वर्षीय सर्जुक दास, सबै खेतीपाती छाडेर रातभरको यात्रा गरी काठमाडौं आएका थिए । जबकि, महाधिवेशनबारे उनीहरू त्यति जानकार थिएनन् । बरु टोलका नेताले भनेपछि सबै जना आएको हामीसँगको कुराकानीमा सुनाइरहेका थिए । यसरी अन्य पार्टीका कार्यक्रममा पनि आफूहरू आउने उनीहरूको भनाइ थियो ।
‘खेतबारीको काम छोडेर आएका हौँ । टोलका सबै जाने भने त्यसैले आएको हो,’ बिहान ५ बजे सिराहाबाट भक्तपुर आइपुगेका सर्जुक दासले भने ।
कतिपय कार्यकर्ता यस्ता पनि भेटिए, उनीहरूलाई केन्द्रमा केपी ओलीको व्यवहार ठीक लाग्दैन । तर स्थानीय नेताको अनुरोधमा ओली नै भन्न बाध्य थिए । काभ्रेबाट आएका एक कार्यकर्ताले अनौपचारिक कुराकानीमा आफूले नेतृत्वमा परिवर्तन चाहेको बताइरहेका थिए । जेनजी आन्दोलनले अप्रिय सत्ता बहिर्गमन झेलेका ओलीलाई पार्टीले पुनः अनुमोदन गर्न नहुने आसयमा हामीसँग कुराकानी गरिरहेका थिए ।
सायद मिडियाको कार्ड हाम्रो घाँटीमा झुण्डिएको देखेर होला, स्थानीय नेता आएर उनीप्रति हेर्दै ‘के बोल्दैछ यो ?’ भनेर सोधिहाले । चलाख उनले हतारहतार ‘त्यस्तो केही हैन हजुर’ भन्न भ्याइहाले । ती स्थानीय नेता रहुन्जेल बोली फेरेर ओली भनेका उनले जानासाथ निरीह हुँदै भनिहाले, ‘के गर्ने ? यस्तै छ । यस्तै चल्छ । हामीले पनि गाउँमा बाँच्नैपर्यो ।’
स्थानीय नेताका अगाडि खुलेर बोल्न उनी किन त्यति साह्रो डराइरहेका थिए, उनै जानुन् । तर यसले व्यवस्था फेरेर गणतन्त्रसम्म आइपुगे पनि ‘मुखिया प्रवृत्ति’को अन्त्य अझै भइसकेको छैन भन्ने स्पष्ट बुझाउँछ ।
यसरी हामी गत शनिबार दिनभर एमालेको उद्घाटन सत्रको रिपोर्टिङमा व्यस्त थियौँ । दिउँसो एकाएक एउटा फोटो भाइरल बन्यो, भरिभराउ सल्लाघारी चौर देखाइएको थियो । एमाले नेता महेश बस्नेतले नै पोस्ट गरेपछि त्यो फोटो झन् भाइरल बन्यो । फिल्डमा रहेका हामीलाई त्यो फोटो एआई सिर्जित रहेको पुष्टि गर्न कुनै प्राविधिक जाँच गर्नुपरेन ।
मैदानमै रहेका केही सहभागीले भन्दै थिए, ‘मान्छे त ठीकै थिए त । यति साह्रो किन गर्नुपरेको ? यसले पार्टीलाई झन् घाटा गर्ने भयो ।’
नगरोस् पनि किन ? त्यस दिन राम्रै सहभागी रहँदारहँदै पनि एमालेको कार्यक्रममा मान्छे नै नभएको सन्देश बाहिर गएको थियो । जबकि, ल्याइएका वा आएका जे भने पनि सल्लाघारीमा कार्यकर्ताको चहलपहल बाक्लै थियो । यद्यपि, एमालेको चितवन महाधिवेशनका साक्षीहरू भन्दै थिए, ‘त्यहाँको तुलनामा यहाँ निकै थोरै मान्छे आए । चितवनमा त नारायणी पुलमा समेत टेक्ने ठाउँ थिएन ।’
जेहोस्, सल्लाघारीका व्यापारीका लागि उक्त भिड ठीकठाक थियो । जुम्लाका टोपीदेखि खुद्रा व्यापारसम्म त्यहाँ देखियो । वरपरका रेस्टुरेन्ट दिनभर व्यस्त बने ।
यसरी झाँकी र सांस्कृतिक कार्यक्रमसहित उद्घाटन सत्र गरेको एमालेको भिड भृकुटीमण्डपमा आइपुग्दा केही खुम्चियो । भृकुटीमण्डपमा ढिला गरी मतदान गरेको एमालेले त्यहाँ लिइएको स्थान भाडाको समेत म्याद थप्नुपर्यो । तयार गरिसकेको बुथ नै सारेर भृकुटीमण्डपकै अर्को छेउ लानुपर्यो ।
विभिन्न कारणले महाधिवेशन यत्रो समय लम्बिँदा पनि कार्यकर्तामा उत्साह घटेको थिएन । आफ्ना पक्षका नेताका लागि मत माग्न व्यस्त थिए । सिर्जनशिलताले भिजेको थियो, भृकुटीमण्डप । कोही नाचगानमा व्यस्त थिए, कोही देउडामा भाका हाल्दै । जेहोस्, ओलीप्रतिको माहोल र क्रेज सुरुवाती दिनबाटै देखिन्थ्यो । जतिसँग हामी ठोक्किन पुग्थ्यौँ, ती महाधिवेशन प्रतिनिधि ओली जिताउनुपर्ने पक्षमा थिए । नभन्दै नतिजा पनि त्यस्तै आयो ।
सल्लाघारीमा भएकोभन्दा ठूलो भिड देखाउन एआईको सहारा लिएको एमालेले भृकुटीमण्डपमा भएकै भिड सम्हाल्न भोलेन्टियर फोर्सको सहारा लिनुपर्यो । यतिसम्म कि, भृकुटीमण्डपको गेटदेखि भित्रैसम्म उनीहरू थिए । सुरक्षाका लागि सरकारले खटाएको प्रहरीलाई समेत उनीहरूले आदेश दिइरहेको दृश्य बेला मौकामा देखिन्थे ।
भोलिन्टियर फोर्स भन्दै खटिएकाहरू अलि आक्रामक थिए । यदि त्यहाँ तलमाथि केही भइहाले सबै जिम्मेवारी आफूहरूले लिनुपर्ने भएकाले कडाइ गरिएको बताउँथे । तर कडाइ गर्ने नाममा उनीहरूको व्यवहार र कार्यशैली भने कतिपय अवस्थामा हास्यास्पद र उदेकलाग्दो देखियो । प्रेस पासकै हकमा पनि उनीहरूका लागि सूचना विभागको कार्डभन्दा पनि मिडिया हाउसले नै दिने रंगीन कार्ड वास्तविक लाग्थ्यो ।
‘कहाँ यस्तो कार्डले हुन्छ ?,’ सूचना विभागको कार्ड देखाएकालाई उनीहरूले आदेश दिए, ‘ऊ त्यो भाइको जस्तो कार्ड बोक्नू ।’ उनीहरूले भनेका ती भाइ स्वयं म थिएँ । म अफिसले दिएकै कार्डको आधारमा ओहोरदोहोर गरिरहेको थिएँ ।
भृकुटीमण्डपको गेट प्रवेश गर्नासाथ मिडिया सेन्टर थियो । त्यसबाट भित्र छिर्न पनि अर्को जुक्ति लगाउनुपथ्र्यो । एक पटक त मिडिया सेन्टर अगाडि रहेका अधिकांश पत्रकारले भित्र प्रवेशको लागि अनुरोध गरे । तर भोलेन्टियर फोर्सका अधिकारीलाई सुरक्षाको चिन्ता थियो । माथिको आदेशविना डेग चल्नेवाला थिएनन् । त्यसैले भनिहाले, ‘पहिला माथिबाट कमान्डरको आदेश लिएर आउनुस् ।’
उनीहरूले कमान्डर भनेको व्यक्ति विवादित पृष्ठभूमिका पुष्पराज श्रेष्ठ हुन् वा अरू कोही थिए, उनै जानुन् । यसरी भोलेन्टियर फोर्सले जिम्मेवारी पूरा गर्दै गर्दा उनीहरूको शैली भने जिम्मेवार थिएन । बेलाबेला त अलि आक्रामक र उरन्ठेउलो व्यवहार देखाइहाल्थे । पत्रकारलाई पनि राम्रा कुरा मात्र देखाउन दबाब दिन्थे । एक जना पत्रकारले त यही कारण दुव्र्यवहार नै खेप्नुपर्यो । यद्यपि, उनै पत्रकारले यसबारे समाचार लेखाउन अनिच्छा देखाएपछि उक्त कुरा बाहिर आएन ।
तर, यो भोलिन्टियर फोर्स ईश्वर पोखरेलको सुरक्षामा भने देखिएन । एकतर्फ ओली भोलिन्टियर फोर्सले घेरिँदा कार्यकर्तालाई भेट्नसमेत हम्मे थियो भने अर्कातर्फ पोखरेल खुल्लमखुला थिए । त्यो भोलेन्टियर फोर्स एमालेको भन्दा पनि केपी ओलीको मात्र भएको भान हुन्थ्यो ।
कतिपयलाई यो दृश्य स्वाभाविक लागे पनि उत्तिकै अनुभव बोकेका पुराना नेता, त्यसमाथि एघारौँ महाधिवेशनका प्रतिस्पर्धी ईश्वर पोखरेल र ओलीबीच फरक थियो । जसरी ओलीलाई सुरक्षा चाहिएको थियो, त्यसरी नै अघिल्लो महाधिवेशनको तुलनामा संस्थापनलाई राम्रै काउन्टर दिएका पोखरेललाई पनि कम्ती चुनौती थिएन होला ।
भलै महाधिवेशन शान्तिपूर्ण रह्यो । यसको श्रेय एमालेकै कार्यकर्तालाई जान्छ । सौहार्द वातावरणमा लाइन लागेर मत हाल्न बसेका कार्यकर्ता हेर्दै कतिपयले व्यंग्यात्मक शैलीमा भनिरहेका हुन्थे– बल्ल एमाले लाइनमा आयो ।
महाधिवेशन प्रतिनिधिसमेत नरहेकी गायिका ज्योति मगरलाई भने महाधिवेशनस्थलमा ओहोरदोहोर गर्न कुनै अवरोध थिएन । सायद कमान्डरले उनी एमाले महाधिवेशनको अघोषित ‘ब्रान्ड एम्बेसेडर’ रहेको कुरा भोलेन्टियर फोर्सका कार्यकर्तालाई भनिसकेका थिए ।
बुधबार मतदान चलिरहँदा उनी त सिधै भृकुटीमण्डपको चौर भित्र केपी ओलीसँग बातचित गरिरहेकी थिइन्, त्यो पनि विष्णु पौडेल, शंकर पोखरेल लगायत नेतालाई साक्षी राखेर । यही माहोलमा उनीहरूको पछाडि उभिएर फोटो खिचाउन महाधिवेशन प्रतिनिधिले किन छाड्थे ? फोटो सेसनमै केही समय भ्याइनभ्याइ भयो ।
मंगलबार गायिका ज्योति मगर केन्द्रीय सदस्यका उम्मेदवार पूर्णबहादुर गुरुङलाई मत माग्दै भृकुटीमण्डपबाहिर सडकमा प्रकट भएकी थिइन् । बुधबार ज्योति मगरसहित अन्य कार्यकर्तासँग फोटो सेसन गराएपछि ओलीले सुटुक्क विष्णु पौडेलसँग कानेखुसी गरे । ‘अब निस्कनुपर्ला,’ भन्दै पौडेलले ढिला हुने जनाउ दिएपछि ओलीले घोरिएर घडी हेरे । त्यसपछि चौरबाट लामबद्ध प्रतिनिधि भेट्दै भृकुटीमण्डपबाट बाहिर निस्किए ।
निस्कँदै गर्दा ओलीको ‘सेन्स अफ ह्युमर’ले माहोल थप रोचक बनाइरहेको थियो । एक कार्यकर्ताले आएर आफूलाई देउवाको जिल्ला डडेलधुरास्थित गन्यापधुराको भन्दै चिनाएपछि ओलीले सोधिहाले, ‘ए… अनि त्यो बाजेको खिर पसलको के छ नि ? चलिरहेको छ ?’
ती महाधिवेशन प्रतिनिधिले ठीक रहेको जनाउ दिएपछि खिरको स्वाद मिठो रहेको वर्णन गरे । त्यसपछि अर्की खुलातर्फ केन्द्रीय सदस्य लडेकी एक नेताले आफूलाई भोट दिन ओलीसँग अनुरोध गरिन् । भर्खरै एक घण्टा १० मिनेट लगाएर मतदान सकेका ओलीले जवाफ दिइहाले, ‘अब भोट त हालिसकियो । यतिबेला मागेर हुन्छ ?’
त्यसपछि केहीबेर हासोको माहोल बन्छ ।
सुरुमा त ओलीसँग फोटो खिच्न आउनेलाई भोलेन्टियर फोर्सले रोकिरहेका थिए । अघिल्लो दिन भोलेन्टियर फोर्सले नै घेरिएका ओलीलाई त्यस दिन पनि छोडेका थिएनन्, जसले कार्यकर्ताले सिधै उनलाई भेट्न असहज बनिरहेको थियो । तर एकाएक भृकुटीमण्डप भित्र देखा परेका ओलीसँग फोटो खिचाउन उत्साही कार्यकर्ता देखेपछि भने उनीहरूको व्यवहार फेरियो । उक्त सुरक्षा समूह भित्रका कमान्डरले भोलेन्टियर फोर्सका अन्य कार्यकर्तालाई भनिहाले, ‘आज बालाई प्रतिनिधिसँग छोडिदेओ । धेरै नघेरओ । आजलाई हामीले छोडिदिऔँ ।’
त्यसपछि बल्ल प्रतिनिधिले सहजै भेट्न र सेल्फी लिन पाए । यद्यपि, यसरी ओलीलाई ‘स्वतन्त्र छाड्ने’ आदेश ती भोलेन्टियर फोर्सले कुन कमान्डरबाट लिए, थाहा भएन । तर त्यसपछिको माहोल झन् रोचक बन्यो । मोबाइल तेर्साउँदै आएका प्रतिनिधिलाई ओलीले क्यामेरातर्फ देखाउँदै भन्न थाले, ‘हत्तेरी, यसले भन्दा ऊ त्यो क्यामेराले राम्रो आउँछ क्या । त्यसले खिचौँ ।’ अनि छेउबाट कसैले थपिहाल्थ्यो, ‘भरे यी फोटा बालकोट पेजमा आउँछ । त्यहाँबाट लिनू ।’
यसरी बुधबार दिउँसो भृकुटीमण्डपबाट ओली बाहिरिए पनि ईश्वर पोखरेल त्यहीँ थिए । उनी महाधिवेशन प्रतिनिधिसँग भोट मागिरहेका थिए । तर ओलीका भोलेन्टियर फोर्स उनीसँग भने थिएनन् । उनी निस्फिक्री आफैँ हात जोड्दै मत मागिरहेका भेटिन्थे । महासचिवका उम्मेदवार शंकर पोखरेल पनि मतदानस्थलमा बाक्लै भेटिन्थे । उनका प्रतिस्पर्धी सुरेन्द्र पाण्डे भने भृकुटीमण्डपको मिडिया सेन्टर भएतिर भने कमै देखिए । मध्यारात मतदान चलिरहँदा टिकटक हलमा नेता कार्यकर्ता भेला भएर नाचगान गरिरहेका थिए । भोलिपल्ट भोट हालेपछि छुट्टिने निश्चित भएका उनीहरू भाका हाल्दै दोहोरी गाउँदै छमछम नाचिरहेका थिए– ‘बस कमरेड रेलिमाई मानेर हर्ष, फेरि भेट हुँदैन पाँच वर्ष ।’
मत माग्दै गर्दा त्यहाँ रहेकाहरूको अनुमान थियो, सायद प्रदीप ज्ञावालीलगायत केही नेता बिच्किँदा पोखरेलले महासचिव गुमाउँछन् । तर त्यो अनुमान फ्लप खायो । महसचिवमा पोखरेलले नै जिते । योगेश भट्टराई र गोकर्ण विष्ट बाहेकका पदाधिकारी सबै ओली प्यानलकै आए । पद्मा अर्याल पदाधिकारी जित्ने एक मात्र महिला बनिन् । केन्द्रीय सदस्यमा पनि दुई तिहाइ हाराहारी बहुमत ओलीकै पक्षमा आयो ।
यसरी जितेपछि ओली पहिलाभन्दा झन् आक्रामक सुनिए । जाँदाजाँदै उनले पञ्चायती निरंकुशताविरुद्ध खुबै घन्किएको गीत गाए, ‘गाउँगाउँबाट उठ, बस्तीबस्तीबाट उठ… यो देशको मुहार, फेर्नलाई उठ ।’
यद्यपि, एमाले अध्यक्षमा ह्याट्रिक गरेका ओलीको यो आह्वानमा आमनागरिकले कत्तिको साथ दिन्छन् र देशको मुहार फेर्न एमाले नै रोज्छन्/रोज्दैनन् भन्ने कुरा आगामी निर्वाचनले पक्कै देखाउला ।
जेहोस्, जेनजी आन्दोलनपछि पार्टी रिफर्म खोजेका जनतालाई एमालेले आफूहरूलाई यथास्थिति नै ठीक छ भन्ने सन्देश दिएको छ । एमालेको यो सन्देश आमनागरिकले कत्तिको रुचाउँछन् भन्ने हेर्न फागुन २१ कुर्नुको विकल्प छैन ।
‘


